मुटु त केवल शरीरको यान्त्रिक ढोल हो,
तर हृदय — भावनाको अनन्त महासागर!
जहाँ प्रत्येक तरङ्गमा
मायाको मणि, करुणाको किरण, र आत्माको गीत तरङ्गित
र अनुरणित हुन्छ।

डाक्टरको स्टेथेस्कोप धातुको कान,
सुनिन्छ केवल रगतको ताल,
तर हृदयको ध्वनि
त्यो त केवल शान्त आत्माले मात्र सुन्न सक्ने सङ्गीत हो।
त्यो त अनाहत नाद हो।

शरीरभित्र बग्ने रगत त उसले नाप्छ,
तर हृदयभित्र बग्ने वियोग र प्रतीक्षाको नदी
उसको विज्ञानले मापन गर्न सक्दैन।
हृदयको संसारमा
संवेदना प्रयोगशालाको रिपोर्ट होइन,
आत्माको अनुभूति हो —
अमापनीय र अव्याख्येय!
शब्दातीत र भावातीत !

मुटुको चाल असन्तुलित भयो भने
डाक्टर लेख्छ
“ब्लड प्रेसर, एन्जाइना, टेन्सन।”
तर हृदय भन्छ —
“ओ निश्चेत विज्ञान!
यो मुटुको विद्रोह होइन,
यो आत्माको रोधिएको रोदन हो,
यो शून्यमा गुञ्जिएको अधैर्यताको प्रतिध्वनि हो।”

कसैको एक मृदु आवाजले,
कसैको एक शीतल दृष्टिले,
कसैको एक मधुर शब्दले पनि
मुटुको चक्रवात थामिन्छ;
तर त्यो हृदयको चमत्कार
स्टेथेस्कोपले सुन्न सक्दैन।

डाक्टर,
श्वेत कोटमा आवृत एक यान्त्रिक प्रतिविम्ब,
आँखामा केवल औषधि छन्,
तर प्रेमले ओतप्रोत सजल नेत्र छैनन्;
हातमा नाडी छ,
तर सूक्ष्मान्वेषी आत्मा छैन।
स्टेथेस्कोप कानमा टाँसेर
ध्वान सुस्तरी सुन्छ-
धातुको कानले मुटुको ताल,
तर हृदयको निःशब्द राग-विरागलाई
छाम्दैन,

उपकरणले प्रतिध्वनिलाई प्रगेल्दैन।

हृदय —नीलकमलजस्तो कोमल, भावनाको अभिराम वर्षामा निथ्रुक्क भिजेको,
वियोग र करुणाको शीतलताले हल्लिएको,
सपना र कल्पनाको रसमा चुर्लुम्म डुबेको,
तर डाक्टरको यान्त्रिक मन
प्याथोलोजिकल क्याल्कुलेसन र कमिसनका संख्यामा ब्रुडित हुन्छन्।
हैट्!
विज्ञानको मरुभूमिमा हराएको मानवता !

हृदयको अँध्यारो कुनामा,
एक मधुर स्वर मन्द गुन्जिन्छ-
“ओ डाक्टर!
तिमीले मुटुको चाल त नाप्यौ,
तर हृदयको धड्कन
माया,करुणा र वियोगको
ध्वनि विज्ञानको होइन,
आत्माको गहिरो मौनताको प्रकाशन हो।
यहीँ छ स्निग्धताको छुट्टै चैतन्य!

तिमी औषधि लेख,
तर हृदयको ओखतीमूलो चाहिँ
शब्दले होइन — स्पर्श चाहिन्छ,
रिपोर्ट होइन — रहस्यको सुगन्ध चाहिन्छ।