मेरो घर
केवल घर थिएन।
मेरा बा, आमाको आशा,
भरोसा र विश्वासको धरातल थियो।
मेरा बा भन्नुहुन्थ्यो: “एउटा चराले
जसरी सिन्का सिन्का जोडेर,
एउटा मौरीले रस रस बोकेर,
कुमालेले भाँडा बनाए जसरी,
एउटी आमाले अबोध बालक हुर्काएसरी,
परिवारको सपनाको धरोहर थियो।
” मेरा बा ले मेरी आमालाई,
मैले मेरी ऊनीलाई भित्र्याएको यही घरमा हो।
हामी बाँचेकै एकअर्काको भरमा हो।

घर बा पनि थियो,
आमा पनि थियो।
थाकेको वेला शिर राखी आराम दिने काँध थियो।
दुःखकष्ट पर्दा लुकेर रुने
अनि अठोटको बाँध पनि थियो।
गलत गर्दा बा देख्छन् कि
भन्ने त्यही घरको मनमा डर हुन्थ्यो।
मेरो विश्वास, इमानदारी र आँधीबेहरीसँग लड्ने भर हुन्थ्यो।
बा गएको धेरै वर्ष भइसक्यो।
बा जस्तै, बा को सम्झनाको त्यो घर थियो।
अब त त्यो घर पनि गयो।

घर सन्तान पनि हो।
बा ले जस्तै वर्षौँ लगाएर दिमागमा पालेको।
आमाले जस्तै पेट मारी-मारी ज्योति बालेको।
आँगनमा सबै सन्तानको खेल्ने थलो थियो।
बा-आमाले सोचेको त सबैको भलो थियो।
यसपाला त बा-आमाको सन्तान मात्रै गएन।
आशा गयो, भरोसा गयो, बुढेसकालको सहारा पनि गयो।

मैले भन्थें— घर धर्म हो, संस्कृति हो।
पारिवारिक परम्परा अनि मन्दिर हो।
अबोध मेरो छोरोले सोध्यो “बा, घर मन्दिर हो भन्नुहुन्थ्यो,
यो मन्दिर किन तोडेको?
हाम्रो जिन्दगी अनायासै दिशाहिन किन मोडेको?
बा, घर तोड्नेको के घर हुँदैन?
के यो संसारमा कसैको भर हुँदैन?”

मैले भनेँ “बाबु, नयाँ घर बनाउन हो पुरानो घर तोडेको।”