एउटै देशमा बसेर छरिएका हामी नेपाली,
आज दल, पार्टी र वर्गका नाममा टुक्रिने गर्छौं।
भगवान् बुद्धको शान्तिको सन्देश त्यागेर,
हत्या, हिंसा, अशान्ति र कोलाहल सुनिन्छन्।
त्यसैले, लागौँ अब हामी, यो देश बनाउन।

प्रातःकालको किरणसँगै देशलाई ब्युँझाउँदै,
शान्तिको सन्देश फैलाउन।
विद्रोहको तुफान आइपरे पनि,
पर्वतको चट्टान बनी छेक्न।
नेपाल चार जात,
छत्तीस वर्णको साझा फूलबारी हो,
अनेकतामा एकताको बल खोज्न,
त्यसैले, लागौँ अब हामी,
यो देश बनाउन।

आवश्यक छ यहाँ,
शान्त नेपालको!
पुर्खाको बलिदानलाई जोगाइराख्न,
हरेक शिलामा नौलो बिहान कोर्न,
हामी सबै एकजुट भई हातमा हात जोडौँ।
राष्ट्रियताको भावना गाँस्नलाई,
ती पुर्खाको वचन राख्नलाई,
विभेदविरुद्धको आवाज खोज्नलाई,
अनि “हामी नेपाली एक हौँ” भन्नलाई,
त्यसैले, लागौँ अब हामी, देश बनाउन।

हिमालदेखि तराई, र पूर्वदेखि पश्चिमसम्म,
असमानताको दृष्टिजालो च्यात्दै,
सिङ्गो नेपाल फेरि समृद्ध बनाउनलाई,
आवश्यक छ यहाँ ‘जेन-जी’ शक्तिको।
त्यसैले, पृथ्वीनारायण शाहका भक्त बनी,
अब उजागर गर, देशका लागि केही गर्न।
हातमा हात समाई अघि सर,
देशको मुहार बदल्न,
ध्वस्त भएका सम्पदा फेरि उठाउन,
पुराना नायकहरूलाई सत्तामा नआउन,
अराजकता र भ्रष्टाचार हटाउन,
देशको समृद्धि बढाउन,
अन्धकार हटाई ज्योति फैलाउन,
अनेकतामा एकताको शक्ति देखाउन,
देशमा युवा एकताको बल ल्याउन
त्यसैले, लागौँ अब हामी, यो देश बनाउन।