सेप्टेम्बर क्रान्तिसँगै
रगतले लतपतिएको एउटा जुत्ता
आज बलिदानको कथा बनेर
चोकमा उपस्थित छ।
यसमा पोतिएको रातो रगतमा
जेन-जीको स्वाभिमान
रूपान्तरणको आलोकमा प्रतिबिम्बित छ।
हिजो मौलाएका भ्रष्टाचारका
विषाक्त सोलीहरू,
निर्मम गोलीहरू र
बर्बर आदेशका कठोर बोलीहरू
यही जुत्ता देखेर आज भयभीत छन्।
यो जुत्ताको रङ
भ्रष्टाचारीको निधारमा कलङ्कित छ,
आमाको आँखामा आँसुको
धारा बनेर सिञ्चित छ
र रूपान्तरणको इतिहासमा रक्तरञ्जित छ।
यो एउटा जुत्ता
छ दर्जन जीवनको
आलो रगतले पोतिएर
तीन करोड सपनाको सगरमाथा बनेको छ।
इमान र सत्यको पक्षमा उभिन
खबरदारी गर्ने २८ घण्टे
‘सेप्टेम्बर क्रान्ति’को गौरव गाथा बनेको छ।
यो एउटा जुत्ताले
भ्रमको साम्राज्यलाई पोस्टमा छिराएको छ।
हेरेको हेर्यै भएका छन्
गोलकिपर र डिफेन्डरहरू।
पुराना खेलाडीहरूलाई
जुत्ताको हावाले
सासै फेर्न नसक्ने गरी मैदानमा गिराएको छ।
पत्तै नपाई आएको आँधीले
कहिल्यै पीडाको सुस्केरा नसुन्ने कानहरूभित्र
तातो सुइरो छिराएको छ।
दिउँसै रात पार्ने साम्राज्यमा
पारदर्शिताको उज्यालो फिराएको छ।
नेपाली मौलिकताको
‘सेप्टेम्बर क्रान्ति’ले
घुसपैठको जिम्मा नलिने भनेको छ।
आँधी चलेको बेला
आगोको फिलुङ्गो उफार्ने शिकारीलाई र
धमिलो पानीमा
निर्दोष माछा मार्ने अधिकारीलाई
पटक्कै मुक्ति नदिने भनेको छ।
यो एउटा जुत्ताले
जेन-जीको भविष्य बर्बाद हुने यात्रा
भोलि पनि कसैलाई हिँड्न नदिने भनेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

