चुँडाइ लग्यो दैवले नि मेरी मनकी रानी,
गाह्रो भयो पाउन पनि पियासमा पानी ।
बुढ्यौलीले च्यापेपछि आँखाहरू बन्द भए,
कानले पनि सुन्न छाडे, हातगोडा मन्द भए ।
ओछ्यानमै दिसा-पिसाब छताछुल्ल, र्याल-सिँगान,
जताततै झिँगा भन्के, दुर्गन्ध भो घरआँगन।
दम-खोकीले गाल्दै गयो, कस्तो जिन्दगानी!
गाह्रो भयो पाउन पनि पियासमा पानी।
बुहारीले सत्तोसराप गर्छे सधैँ झर्किँएर,
छोरो पनि हिँडिदिन्छ परपर तर्किएर।
मुटु काम्ने सिरेटोमा घाम नछिर्ने कोठा,
दैव! धेरै नतड्पाऊ, खोल्देऊ मुक्ति-ढोका।
छिट्टै जाओस् भन्दै धूप हाल्छन् बोझ ठानी,
गाह्रो भयो पाउन पनि पियासमा पानी।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 




