‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार – २०८१’ का लागि ५ गैरआख्यान कृतिको छनौट भइसइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा समालोचक विनयकुमार भण्डारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । उत्कृष्ट ५ मा छनोट भएको कृति ‘धौलागिरि छायामुनि’को स्रष्टा छविलाल पाठकसँगको संवाद प्रस्तुत गरिएको छ ।

 …

१. छ दशकको मध्यान्हमा यात्रारत रहँदा तपाईँको पहिलो कृतिका रूपमा संस्मरण धौलागिरि छायामुनिप्रकाशनमा आयो, र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?

निकै खुशी लागेको छ । आगामी दिनमा अरु साहित्यिक सिर्जना गर्ने हौसला मिलेको छ ।

२. यो उमेरमा आएर कुन तत्त्वले तपाईँलाई  साहित्य लेख्न बाध्य गरायो ?

सानै उमेरदेखि मैले साहित्यमा रुचि राख्दथेँ । भेटेसम्म र समयले भ्याएसम्म त्यस्ता कृतिहरू पढिरहन्थेँ । तर, साहित्यिक पुस्तक लेख्ने, प्रकाशित गर्ने कुनै सोच थिएन । बा बितेको ३७ वर्षपछि आमा बित्नुभयो । त्यसको १४ वर्षपछि जेठो दाइ र अर्को साल माइलो दाइले पनि छाड्नुभयो । त्यसपछि मेरो मनमा निरन्तर पुराना कुराहरूले घेरा हाल्न थाले- बाआमासित बिताएका पलहरू, मलाई माया गरेर हुर्काएका र आफूहरू अनपढ भएर पनि मलाई पढ्न हौसाइरहने दाइहरूका झझल्काहरू मेरो मनमा तँछाडमछाड गरेर दौडिन थाले । अनि, बच्पनमा खेलेका गरा-काल्लाहरू सम्झिएँ, पाखा-पकेराहरू सम्झिएँ, मेलै सानो छँदा बोल्ने भाषिकाहरू सम्झिएँ- आइच्च, गइच्च, खाइच्च । यिनै झझल्काहरू लिपिबद्ध गर्दै जाँदा यो पुस्तक तयार हुनगयो ।

३. तपाईँले जिएको जीवनलाई फर्केर हेर्दा जीवन र उमेरको अन्तर्सम्बन्ध कस्तो पाउनु हुन्छ ? अनि, जीवन र साहित्यको ?

जीवन मृत्यु पर्खाईको रङ्गमञ्च हो भन्ने लाग्दछ मलाई । त्यो रङ्गमञ्चमा सुख देखिन्छ, दुःख देखिन्छ, हाँसो देखिन्छ, आँशु देखिन्छ, पीडा देखिन्छ; सङ्घर्ष देखिन्छ, जीत देखिन्छ, हार देखिन्छ । मेरो जीवनमा यी सबैले मलाई सुम्सुमाए । उमेर ढल्कदै गर्दा रङ्गमञ्चका माथि उल्लेखित पाटाहरू हरेक प्राणीका जीवनका अभिन्न अङ्ग हुन भन्ने बुझेपछि त झन उमङ्गमय लाग्दो रहेछ जीवन । जन्मने अवसर पाएको थिएँ र त मैले यो उमेरसम्म जिउन पाइरहेको छु ।

मानव सृष्टिसँगै साहित्य सृजित हुन थालेको हो भन्ने ठान्दछु मैले । खोलाको गड्गडाहट, नदीको सुस्साइ, पहराको थर्काइ, आकाशको गर्जाइ, हावाहुरीको हुँकार, समुन्द्रको छाल; चिवेको चिरविर, कोइलीको गीत, कौवाको काका; पाखाहरू, भीरहरू, हिमचुलीहरू, रुखहरू; स्याल, बाँदर, बाघ, हात्ती, सर्प, चमेरो, सूर्य, चन्द्रमा, तारा आदिका गाथाहरू हजारौँ वर्षदेखि मौखिक रूपमा वर्णित भए- केही गीतका रूपमा, केही कथाको रूपमा, केही सबाइको रूपमा, केही कविताको रूपमा, केही चुटकिलाको रूपमा, केही उखानटुक्काको रूपमा । विभिन्न जाति, भाषा र क्षेत्रमा विभक्त मानिसहरूले आ-आप्नै शैली र ढङ्गमा सुनाउँदै जाँदा पुस्ता-दरपुस्ता ती हस्तान्त्रित हुँदै गए । अक्षरको आविष्कारसँगै ती लिपिबद्ध हुन थाले । यसरी प्रकृति, जीवन र जगतको बुझाइ र तिनको कलात्मक बयान नै साहित्य हो भन्ने ठान्दछु । साहित्य छ र त जीवन छ ।

४. पुरस्कारको छोटो सूचीमा तपाईँको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईँले ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

पुरस्कार, मानसम्मान र अर्थोपार्जनको आशमा यो पुस्तक सिर्जना भएको होइन । मेरो आगामी साहित्यिक यात्रामा पुरस्कार पाउनु र नपाउनुले तात्त्विक फरक पार्ने छैन । तर, आफ्नो सिर्जनाबाट पुरस्कृत हुने अवसर पाउँदा को पो खुशी नहोला र ! पुरस्कारले मेरो साहित्यिक यात्राको बाटो अलि फराकिलो भने बनाइनेछ ।

मैले ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ प्राप्त गरेँ भने प्राप्त राशिमा केही रकम थपगरी मैले जस्तै गरीबीले थिचेर पढ्न धौधौको अवस्था भोगिरहेका केही बच्चाहरूलाई शिक्षा आर्जनमा प्रोत्साहनको लागि योजना बनाएर खर्च गर्नेछु ।

५. अन्त्यमा, तपाईँका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न ।

जीवन छउन्जेल र सकुन्जेल निरन्तर साहित्यिक पुस्तकहरू पढ्ने र लेख्ने मेरो लक्ष्य हो । मेरा भोगाइहरू र जीवन कथाहरूको बयान अझै अधुरो छ । पढाइ, जागिर र राजनीति समेटिएको संस्मरणको लेखन अन्तिम अवस्थामा छ- पुस्तकको रूपमा छिट्टै निकाल्ने प्रयास गर्नेछु । कोलम्बसले ‘इन्डिया’ भनेर पत्ता लगाएको भनिएको ‘ल्याटिन अमेरिका’, त्यहाँका आदिबासीहरू; तिनको कत्लेआम, तिनको भाषा संस्कृतिको विनास र हाल त्यसको विरोधमा उठ्दै गएको विद्रोही आवाजका बारेमा अध्ययन गरिरहेको छु । १०० पेजजति आफ्नै शैलीमा लेखेको छु । यसलाई पनि किताबका रूपमा अन्तिम रूप दिने प्रयास गर्नेछु । यो भने मेरो मौलिक कृति हुनेछैन । सकेँ भने बचपनका मेरा नजिकाका छिमेकी मगर जाति र हालका छिमेकी थारू जातिको भाषा, संस्कृतिको बारेमा अध्ययन गर्ने र लेख्ने काम गर्नेछु ।