अभिघात भन्नाले मान्छेको अन्तर्हृदयमा पारिने अदृश्य तर असीम पीडादायी मानसिक घाउलाई जनाउँछ । यो कहिले अकाल मृत्यु, कहिले दङ्गा, कहिले युद्ध वा महाविनाशका दृश्यसँग साक्षात्कार हुँदा उत्पन्न हुन्छ । भदौ २३ र २४ गते काठमाडौंमा घटेका घटनाले मेरो मानसपटलमा त्यही प्रकारको गहिरो चोट पुर्‍यायो ।

पहिलो दिनको अभिघात : भदौ २३

काममा व्यस्त भइरहँदा समाचार र दृश्यहरूमा आफ्नै छोराछोरीसरह देखिने युवाहरूका विभत्स लासहरू देख्नुपर्‍यो । उनीहरूको उमेर, अनुहार, जीवनप्रतिको सम्भावना— सबै अचानक माटोमा लतपतिएको देख्दा मन गहिरो पीडाले चिरियो । ती शवहरू हेर्दा आफू अभिभावक भएको नाताले आफ्नै परिवारका सदस्यहरू त्यही अवस्थामा देखिनसक्ने भयले समातेको थियो । मैले त्यस दिन वानेश्वर वरपर बस्ने मेरा भाइबुहारी र भतिजाभतिजीको सुरक्षाको चिन्ता लिएँ । अभिघात सिद्धान्तअनुसार यो आन्तरिक अभिघात हो— किनकि आफ्नै अस्तित्व र परिवारसँग सीधा सम्बन्धित भय र पीडा मानसिक घाउका रूपमा अनुभव भयो ।

दोस्रो दिनको अभिघात : भदौ २४

त्यसको भोलिपल्ट काठमाडौं खरानी हुने गरी जलिरहेको देख्दा अर्को तहको त्रास थपियो । धुवाँ र आगोका चित्रहरू हेर्दा हृदयमा यस्तो लाग्यो कि मेरो आफ्नै बासस्थान पनि कुनैबेला जलेर खरानी हुनेछ । यो अवस्था बाह्य अभिघात हो— नृशंशता, महाविनाश र आगलागीले सिर्जना गर्ने भयावह परिदृश्यसँग प्रत्यक्ष साक्षात्कार । यति नजिकै महाविनाश सम्भव छ भन्ने अनुभूतिले स्थायित्व र सुरक्षाको आधार नै हल्लिएको छ ।

मानसमा परेको प्रभाव

यी दुई दिनका घटनाले मलाई दिनहुँको सामान्य जीवनप्रतिको विश्वास नै हल्लाइदिएको छ । मृत्यु, विनाश र असुरक्षाका दृश्यहरूसँगको साक्षात्कारले निद्रा, काम र सम्बन्धहरूमा समेत अशान्ति ल्याएको छ । अभिघात सिद्धान्तले भनेजस्तै यो अनुभव नदेखिने तर गहिरो घाउ बनेर मानसमा टाँसिएको छ ।

भदौ २३ र २४ का घटनाहरू केवल समाचार वा दृश्य मात्र भएनन्, तिनीहरूले मेरो अन्तरहृदयमा अमिट घाउ कोरे । आफ्नै छोराछोरी जस्तै युवाको मृत्यु दृश्य र आफ्नै घर खरानी हुने डरले सिर्जना गरेको पीडा साहित्यिक परिभाषामा अभिघात हो । यसले देखाउँछ— मानिस केवल प्रत्यक्ष पीडामा मात्र नभई, परको पीडा र सम्भावित विनाशसँगको साक्षात्कारबाट पनि गहिरो मानसिक घाउको शिकार हुन्छ ।