भालुहरूको लडाइँ, अन्तिम अंश

मैले छाप्रोको ढोका घच्घच्याएँ । भित्रबाट जवाफ आएन । ढोका खोलेर भित्र पसेँ । भित्र कोही थिएन । यहाँ केही अँध्यारो पनि थियो । यहाँ एउटा टेबिल थियो । टेबिल वरिपरि तीनओटा मेच थिए । टेबिलमाथि मैनबत्ती र सलाई थिए। हलुवाका तीनओटा कचौरा पनि थिए । मैले टेबिलमाथि राखेको सलाई कोरेर मैनबत्ती बाले । अनि सबैभन्दा ठूलो मेचमा बस्न खोजेँ । तर त्यो धेरै ठूलो भएकोले म त्यसमा डुबे । मझ्यौलामा बस्न खोजेँ । तर त्यसमा गद्दैगद्दा भरिएका थिए आखिर म सबैभन्दा सानो मेचमा बसेँ । त्यो भने मलाई ठिक्क भयो । तर म बस्नासाथ त्यसको पीध भाँच्चिएर गाम्राङगुम्रुङ खस्यो ।

मैले ठूलो कचौराको एक टुक्रा हलुवा चाखेँ । त्यो ज्यादै तातो भएर जिब्रो डाम्यो । म रन्थनिएँ। अनि मझौला कचौराबाट एक टुक्रा झिकेर खाएँ। यो चाहिँ ज्यादै गुलियो थियो । आखिरमा सानो कचौराको हलुवा मलाई मिठो लाग्यो र त्यो सबै खाएँ ।

अनि मेरा आँखा निद्राले झकाए । म सुत्ने कोठामा पसेँ र सबैभन्दा सानो खाटमा सुतेँ । यो खुब नरम र आराम दिने रहेछ । यसमा म तुरुन्तै निदाएँ। …लडाइँ गर्ने तिमीहरू भन्ने थाहा पाएको भए म भाग्ने नै थिइनँ ।’

“लौ भैगो अब । …हामीलाई त असाध्य भोक लागेको छ। तिमीलाई पनि भोक लागेको होला । …केही भए खान जाऔं ।’ गीताले भनी ‘केही खानेकुरा छैन सुनकेस्रा ?…’

“छ, भान्छामा केही हलुवा र दूध छ। …त्यहाँ न्यानो पनि छ । हिँड उतै जाऔँ’ सुनकेस्राले भनी । यसरी नचिताएको तरिकाबाट अमरलाई भेटेर सबै खुसी हुँदै भान्छातिर गए। सुनकेम्राले सबैलाई नीला कचौरामा हालेर हलुवा र गिलासमा दूध दिई । सबैजना हाँसो-रमाइलो गर्दै दूध-हलुवा खान थाले ।

क्या रमाइलो सफर भयो’ अमरले भन्यो ‘…यस्तो खतराको सफर त कहिल्यै भएको थिएन । …तर रमाइलो पनि भयो, होइन ?’

“हो हुन त’ भाले भालुले अलि दिक्क मानेर भन्यो ‘तर सेता भालुहरू हाम्रा मामाका छोराहरू हुन्‌ । …उनीहरू हाम्रा आफन्त थिए । उनीहरूसँग लडाइँ हुनु चाहिँ राम्रो भएन । …बित्थामा उनीहरू शत्रु बने ।’

‘त्यो कुरा त हो।’ सुनकेस्राले भनी ‘अब बरु उनीहरूले हाम्रो घर पो फेला नपारे हुन्थ्यो । …भुकन्डे भाइ ! …तिमी फेरि चटक गरेर यो घरलाई हिउँ-दानवको धरतीबाट जङ्गलमै लान सक्तैनौ ?’

“लान त किन नसक्नु तर केको हतार ? …पख न खान त दे” भकुन्डे भाइले हलुवाको बुजो हाल्दै भन्यो । तर सुनकेस्रा झ्यालतिर हेरेर कराई ‘कसरी हतार नगर्ने ?…ऊ त्यो झ्यालबाट कसैले चियाएर गयो । …नपत्याए हेर ।’

“के कुरा गर्छिन्‌ यिनी ! …तिमी सिल्ली त भइनौ ? …डरले तिम्रो होस त उडाएन ? …कसले चियाउँछ यहाँ ?’ भकुन्डे भाइले सुनकेस्राको खिल्ली उडाउँदै उठेर झ्यालतिर गयो । झ्यालबाट बाहिर हेर्यो । बाहिर हिउँ उडेर केही देखिँदैनथ्यो । ‘खोइ, म त केही देख्दिनँ ।’

त्यसैबेला ढोका हल्लन थाल्यो । भाले भालु उफ्रुँदै ढोकातिर गयो । ऊ ताला छिराउने प्वालबाट हेरेर चिच्यायो “सेतो भालु ।… बाहिर सेता भालुले घेरेका छन्‌ । …उनीहरू ढोका खोल्न खोज्दैछन्‌ । …लौन के गर्ने ?…’

भकुन्डे भाइ उफ्रेर ढोकामा पुग्यो । उसले ढोकाको गजबार हाल्यो । ढोका बेसरी हल्यो । कसैले ढोकामा घनले हिर्काउन थाल्यो । तर गजबार बलियो भएकोले ढोका खुलेन । तर सबै डराए ।

‘ढोकाको गजबार बलियो छ ।’ भुकन्डे भाइले भन्यो ‘त्यो खोलेर कोही भित्र पस्न सक्तैन ।’

खबरदार॒ !’ अमर चिच्यायो ‘बाहिर जो भए पनि भित्र आउन दिन्नौं । कोही भित्र आयो भने यही केतलीले टाउको फोरिदिन्छौं ।’

अमर ! …त्यो केतलीमा तातोपानी छ । …खोइ त्यो यता लेऊ । कोही झ्यालबाट पस्न खोज्यो भने म तातोपानीले खुइल्याइदिन्छु’ भकुन्डे भाइले उम्लेको पानीको केतली अमरको हातबाट खोसेर नाच्तै तातोपानीको धारो लाउन थाल्यो । ‘को आउँछ भित्र ? :..लौ आइज ।!’

“गीता खाटमुनि लुक, खाटमुनि । यो भकुन्डे भाइ त भालुभन्दा पनि खतरा रहेछ’ सुनकेस्राले भनी । सबैजना डरले उत्तेजित भइरहेका थिए ।

सबैका आङका आङका रौँ ठाडा ठाडा भैरहेका थिए-अब के हुनै हौ । …अब के हुने हो ।…

‘ढ्वाङ…ढ्वाङ..-ढ्वाङ…’ । ती अजङ्गका सेता भालुहरूले बाहिरबाट जोड जोडले धक्का दिन थाले । तर ढोकाको गजबार धेरै नै बलियो भएकोले ढोका खुलेन । त्यो ढोका फुट्न पनि फुट्दैन । भालुहरू निराश भए । तर एक्कासि एउटा भालुको आँखा धुरीमाथिका ठूलो चिम्नी (धुवाँ निकास) मा पर्न गए ।

“ए त्यहाँ !… त्यहाँ ।… त्यो धु्वाँ निकास’ एउटा भालु करायो । यो पुरानो खाले भएकोले प्वाल ठूलो थियो । त्यसबाट भित्र पस्न सकिन्थ्यो ।

नभन्दै ती भालुहरू एक-एक गर्दै छानामा चढेर बाटो कोठामा हाम्फाले । पहिले एउटा, अनि अर्को, अर्को गर्दै चारओटा सेता भालु कोठाभित्र पुगे ।…

‘समर्पण !…’ नाइके भालु करायो “ढोका खोल । .. (हाम्रो मालिक हिउँ- दानवलाई भित्र पस्न देऊ !… खबरदार !… भाग्ने वा लड्ने जमर्को नगर ।

यसरी एक्कासि सेता भालुहरूले हमला गर्दा भित्र भएका अमर र उसका साथीहरू डरले काम्न थाले । यसरी यो धुवाँनिकासको बाटो यिनीहरू कोठामा पस्लान्‌ भनेर त कसैले चिताएकै थिएन, कस्तो दुर्भाग्य ।

सेतो नाइके भालु ढोकातिर बढेर गजबार खोल्न थाल्यो । त्यो देखेर घरपट्टी भालु डरले उसकहाँ गएर बिन्ती गर्न थाल्यो- ‘भाइ !… त्यो दानवलाई भित्र नहुल !… तिमी र हामी त दाजु-भाइ तै हौं नि !… तिम्रा बा मेरी आमाका दाजु हुनुहुन्थ्यो । …एउटा दुष्ट दानवका लागि हामी दाजु-भाइले किन शत्रु बनेर लडाइँ गर्ने ?… तिमी-हामी केटाकेटीमा कसरी मिलेर खेल्थ्यौं !… मामा -माइज्यूले हामीलाई कसरी माया गरेर मीठा-मीठा खाने कुरा दिनुहुन्थ्यो, सम्झ त ।’

घरपट्टी भालुको कुराले सेता भालुहरू टक्क रोकिए। नाइके भालु एक्कासि खुसीले चिच्याउँदै उनीहरूतिर दगुर्यो । अमरले हमला गरेको ठानेर कुनाको कोदालो उचाल्यो । …तर अचम्म ! सेतो भालुले त घरपट्टी भालुलाई अँगालो मारेर म्वाइँ पो खान थाल्यो । उसका आँखाबाट आँसुका धारा पो लागिरहेका थिए । ऊ गद्गद्‌ स्वरमा भनिरहेको थियो ‘ओ । मेरा भाइ !… कत्रो भूल भएछ ! हामीले शत्रु ठानेर लडाइँ गरेका त आफ्नै भाइहरू पो रहेछन्‌ !… भाइ हामीलाई माफ गर !… हामीले जानेर त्यसो गरेका होइनौं ।’

‘दुःख नमान भाइ !’ पोथी भालुले आफ्नो बाहुलाले सेतो भालुको आँसु पुछिदिँदै भनी “बरु त्यो ढोका नखोल !… त्यो दुष्ट भित्र पस्यो भने…।’

सेतो भालुले अगिबाटै आधी गजबार खोलिसकेको थियो । त्यसको कसैलाई हेक्का भएन । अनि त हिउँ-दानव एक्कासि ढोका जोडसँग खोलेर अटेसमटेस गर्दै भित्र पस्यो । उसका साथै मुटु छेड्ने हिउँको सिरेटो पनि भित्र पस्यो । भित्र भएका सेता भालुहरू पनि उसलाई देखेर हिउँ जमेजस्तै भए ।

“त तिमी मेरा कमाराहरू पनि अब मेरा दुस्मनहरूसँग मिल्यौ होइन ?… मैले तिमीहरूलाई हिउँको एकै ढिका बनाइदिएँ भने के भन्छौ ?…’ दानव गर्ज्यो । कसैले जवाफ दिन सकेन । सबै डरले थरथर काम्न थाले । तर भकुन्डे भाइले चाहिँ खुसुक्क गएर ढोकामा फेरि गजबार हाल्यो । अनि कसैले नदेख्ने गरी चुल्होतिर खस्केर बलिरहेको आगोमा तीनओटा बडे-बडे सुकेका मुढा हाल्यो, गीताले कर्के आँखाले उसतिर हेरी । …उसले आँखा झिम्क्याएर केही सान गर्यो । देख्ता देख्नै चुल्हामा दन्दन्ती आगो दन्कन थाल्यो । के गर्न लाग्यो भकुन्डे भाइले ! गीता छक्क परी ।

“अझ बोल्दैनौ ?… के तिमीहरूको जिब्रो खोटोले टाँस्सियो ? भन, मेरा शत्रुसँग मिलेका होइनौ तिमीहरू ?’ हिउँ-दानव सेतो भालुको नाइकेको कठालो समातेर झाङ्गलभुङ्गल पार्दै गर्ज्यौ। तर भकुन्डे भाइले त्यति बेलासम्म चुह्लोमा बेस्सरी आगो चर्काइसकेको थियो । कोठा अब एकदम रन्कन थालेको थियो । अमरले भुवाको कोट फुकाल्यो । भकुन्डे भाइ चुल्होमा मुढाहरू थप्दै थियो । … अमरले भकुन्डे भाइसँग आगो ओझाउनू भन्न खोज्यो । तर भकुन्डे भाइले आँखा झिम्क्याएर उसलाई केही सान गर्यो । यो भकुन्डे भाइ पक्कै पनि कुनै अनौठो जुक्ति गर्दैछ !

हिउँ-दानव कोठाभरि उफ्रँदै सबैलाई तर्साउँदै थियो । उसलाई भकुन्डे भाइको चलाखीको पत्तै भएन । ऊ घमन्डले अगेनाछेउको मेचमा गएर आगोतिर पीठ फर्काउँदै बस्यो र हुकुम चलाउँदै गर्ज्यो ‘लौ, अब यो घर मेरो भयो ।… तिमीहरू सबै बाहिर निस्क ।’

“तर हामी बाहिर हिउँमा जमेर मर्छौँ हजुर !’ अमरले भकुन्डे भाइको चलाखी बुझेर मनमनै खुसी हुँदै बडो नरम भएर भन्यो ।

‘तिमीहरू जमेर मर, तिमीहरूका लागि यही सजायँ ठीक हुन्छ ।’ दानवले आँखा चिम्ल्यो । अनि भकुन्डे भाइबाहेक सबै कोठाबाट निस्के । बाहिर सेता

भालुहरूले तुरुन्त एउटा हिउँको कोठा खडा गरेर सबैलाई त्यहाँ लगेर राखे । हिउँको पर्खालले स्याँठ छेकेर अब खुब न्यानो भयो । उनीहरू त्यहाँ खुब आनन्दसँग बसे । किनभने उनीहरूले भकुन्डे भाइको चलाखी बुझिसकेका थिए। भकुन्डे भाइ आगो बालेर हिउँ-दानवलाई पगाल्न चाहन्थ्यो ।

अमरहरू बाहिर हिउँको कोठरीमा पर्खेर बसे । घरमा धूवाँ निकासबाट आगाको मुस्लो निस्केर आकाश छोइरहेको देखिन्थ्यो । भित्र भकुन्डे भाइ अगेनामा मुढा जोत्तै आगो चर्काउँदै होला भन्ने सबैले अड्कल काटे । क्या बाठो भकुन्डे भाइ !… सुनकेस्रा र भालु बच्चो त हाँसो रोक्न नसकेर मरीमरी हाँस्न थाले।

अनि त्यत्तिकैमा ढोका जोडसँग खुल्यो र भकुन्डे भाइ ढोकामा देखा पर्यो । उसको नाङलाजत्रो बाटुलो अनुहार चन्द्रमाजस्तै चम्किरहेको थियो ।

‘अब सबै भित्र आए हुन्छ । भित्र कुनै खतरा छैन’ भकुन्डे भाइले कराएर भन्यो । अनि सबै हुरिँदै भित्र पसे । साँच्चै भित्र हिउँ-दानव थिएन । बरु मझेरीभरि पानी बगिरहेको थियो । तलाउ जमेको थियो ।

दानव त चाँडै नै पग्ल्यो’ भकुन्डे भाइले हाँस्तै भन्यो । केटाकेटी र सेता भालुहरू खुसी भएर नाच्न थाले । आखिर केही बेर रमाइलो गरेपछि सेता भालुहरूले उठेर बिदा माग्दै भने “लौ अब हामी जान्छौँ पनि । यो घर आराम दिने त छ, तर हामी हिउँमा बस्नेलाई बढी गर्मी छ । हामी बराबर आऔंला । मौका परे तिमीहरू पनि आऔ है ?… नमस्कार !’ |

सेता भालुहरू गएपछि भकुन्डे भाइले ढोका बन्द गर्यो । अनि उसले मझेरीमा एउटा नीलो खरीले गोलाकार बनायो । उसले भालुलाई नजिकै डाक्तै भन्यो ‘लौ, अब हामी यस घरलाई फेरि जङ्गलैमा लैजाऔं ।’

तीनओटै भालुलाई उसले त्यस नीलो घेराभित्र बसाल्यो र आफूचाहिँ चारैतिर नाच्तै, घुम्दै मन्त्र फलाक्न थाल्यो ।

‘जन्तर मन्तर….’

देख्तादेख्तै त्यहाँ अँध्यारोले ढाक्यो । एकै छिनपछि फेरि बिस्तारै अँध्यारो हटेर हावा पनि थामियो । झ्यालबाट बिहानको उज्यालो छिरेर सबै कुरा देखिने भयो । गीता एक्कासी खुसीले कराई ‘हामी त फेरि जङ्गलमा फर्क्यौँ ।

सबैले झ्यालबाट हेरे । बाहिर हिउँको धरतीको नामनिसान थिएन । त्यहाँ चारैतिर फूल फुलेको हरियो धरती फैलिएको थियो । रूख, पात, झडी र बुट्यानले ढाकेको ।

‘ओ ! रात गजबको घटनाले बित्यो’ भकुण्डे भाइले भन्यो । ‘उज्यालो हुनै लाग्यो । अब तिमीहरू घरतिर गइहाल । नत्र तिम्रा बाआमाले तिमीहरू रातभर बेपत्ता भएको थााह पाएर….’ सबैले हाँस्तै बिदा लिए । सुनकेस्रा मैयाँ र भालुहरू ढोकामा उभेर हेरिरहे । भकुन्डे भाइ गल्लीतिर दगुर्यो । अमरहरू पनि गल्लीबाट निस्केर
रेल-बिसाउनीमा पुगे । सबैजना मोहिनी वनमा पुगे ।

“लौ त फेरि भेटौंला’ भकुन्डे भाइले भन्यो र डोरीको भर्याङ चढ्दै इन्द्रजाली रूखका हाँगाबीच हरायो । अमरहरू पनि घरतिर दगुरे । आमा-बा उठ्नुभएको थिएन । उनीहरू पछिल्तिरको ढोका खोलेर सुटुक्क आफ्नो कोठामा पसे र सिरक ओढेर ओछ्यानमा गुदुमुटु भए ।

एक घण्टापछि आमाले आएर उनीहरूलाई घच्घच्याउनु भयो- ‘अमर !… आशिष !… गीता !… यति बेलासम्म पनि नउठेर ।… रात-रातभर सुत्तैनन्‌, अनि बिहान उठ्न… ‘

आमाको स्वरले अमरहरू हडबडाउँदै उठे । …गीतालाई दानव पग्लेको कुरा सम्झेर अझै हाँसो उठिरहेको थियो । ऊ खित्‌खित्‌ गर्दै हाँस्न थाली ।

‘किन हाँस्छे यो, ताल न सुरसँग’ आमा झर्कनुभयो ‘लौ खुरुक्क उठेर मुखसुख धोऔ र …चियासिया खाऔ ।’

अनि उनीहरू उठेर मुखसुख धोएर चिया खाए । त्यस दिन दिनभरि नै उनीहरूलाई झुपुझुपु निद्रा मात्र लागिरह्यो ।