मूल: नट हम्सन

अनुवादः गोविन्द गिरी प्रेरणा

 

कोपेनहेगन‌मा बन्दर‌गाहको नजिक एउटा फराकिलो गल्ली छ – वेष्टरो वर्ल्ड । यो गल्ली अपेक्षाकृत नयाँ छ तैपनि कम आबाद छ । यसका किनारमा केही ग्याँस बत्तीहरू छन् । अनि त उदासी, सुनसान ! आजकाल अर्थात् गृष्म ऋतुमा पनि यहाँ एक दुई बटुवा मात्रै देखिन्छन् ।

गत साँझ मलाई यसै गल्लीमा अनौठो स्थितिसँग साक्षात्कार हुनुपर्‍यो । म गल्लीमा यताउति डुल्दै थिएँ । सहसा निपरित दिशाबाट एउटी आइमाई आइरहेकी देखें । यो गल्लीमा भर कोही पनि थिएनन् । ग्याँस बत्तीहरू बलिसककेका थिए । तैपनि राम्रै अँध्यारो नै थियो गल्ली । यति अँध्यारो कि मैले त्यो आइमाईको अनुहार प्रष्ट देख्न सकिनँ । सोचें, “ग्राहक खोज्न हिंडेकी होली !”

गल्लीको अन्त्यमा पुगेर म फर्कें र फिर्ता आउन थालें । आइमाई पनि फर्केर आई र मोडिई । म दोश्रोपल्ट उसको छेउबाट हिंडें । शायद कसैलाई पार्खिरहेकी होली । “यस्तो विचार आयो मेरो मनमा ।”

जब चौथो पटक उसको र मेरो जम्काभेट भयो, मैले आदर सहित आफ्नो टोप उचाल्दै सोधिहालें, “शुभ सन्ध्या ! शायद तपाईं कसैलाई पर्खिरहनु भएको हो कि ?”

ऊ एकदम झस्किई – “हैन !”

तर मैले पत्तो पाइहालें – ऊ अवश्य नै कसैको प्रतीक्षामा थिई । मैले सोधें, “जसलाई ऊ पर्खिरहेकी छ,  ऊ नआउन्जेल मसँग बस्न उसलाई आपत्ति त छैन !”

“छैन !” उसले अलिकति पनि आपत्ति देखाइन । उल्टो मलाई धन्यवाद दिई । साथै उसले यो पनि स्पष्ट गरी कि यस वेला ऊ कसैलाई पर्खिरहेकी छैन, केवल टहलिन मात्रै निस्केकी हो ।

डुल्दा डुल्दै मैले उसलाई आफ्नो अँगालोको आड दिने प्रस्ताव गरें ।

“पर्दैन, धन्यवाद !” भन्दै उसले टाउको झड्कारी !

यसरी डुल्नुको कुनै तुक थिएन । किनकि अँध्यारोको कारण मैले उसलाई राम्रोसँग हेर्नै पाएको थिइनँ । कति बज्यो हेर्ने बहानाले मैले सलाई बालें काँटी मास्तिर उठाउँदै उसमाथि एक दृष्टि दिएँ ।

“साँढे नौ बज्दैछ ।” मैले भनें ।

ऊ थर्थराई मानौं जाडोले कठाङ्ग्रिएकी छ । मैले यो मौकाको पूरा फाइदा उठाउँदै भनें, “तपाईंलाई जाडो भै रहेको छ । हामीले कतै रेष्टुँरामा बसेर केही पिउनु जरूरी छ । क्याफे टाइवली कस्तो होला ? अथवा नभए क्याफे नेशनल नै जाऊँ ।”

“तपाईं देख्नुहुन्न, म यो अवस्थामा कतै पनि जान सक्दिनँ !” उसले जवाफ दिई ।

अब मैले पहिलो पटक उसतिर ध्यान दिएँ । उसले अनुहारमा नकाब लगाएकी थिई । मैले क्षमा माग्दै अँध्यारोलाई नै आफ्नो गल्तीको लागि जिम्मेवार ठहर्‍याएँ । जसरी उसले तत्काल मेरो क्षमा स्वीकार गरी, यसबाट म यो निष्कर्षमा पुगें कि ऊ ग्राहक खोज्न हिंड्‌ने खालकी आइमाई हुँदै होइन ।

“तपाईं मेरो अँगालो पनि स्वीकार्नुहुन्न,” मैले विनम्रतापूर्वक भनें, “यसबाट शायद तपाईंलाई न्यानो होला !”

ऊ मेरो अँगालोमा आई ।

हामीले कैयौंपटक गल्लीको वल्लो छेउ पल्लो छेउ गर्‍यौँ । उसले मलाई फेरि अर्को पटक समय हेर्न भनी ।

“दश बजिसक्यो । तपाईं कहाँ बस्नुहुन्छ ?”

“गेमल कोनगेवीको गल्लीमा !”

मैले उसलाई सोधें, “तपाईं मलाई आफ्नो ढोकासम्म पुर्‍याउने अनुमति दिनुहुन्न ?”

“अहँ ! म तपाईंलाई …उसको… तपाईं बेकग्रेडमा त बस्नुहुन्न ?”

“तपाईंलाई कसरी थाहा भयो ?” मैले विस्मित भएर सोधें ।

“मलाई थाहा छ, तपाईं को हुनुहुन्छ ?”

केही बेर शान्ति छायो । हामी एक अर्कालाई अँगालो हालेर, मधूरो उज्यालोमा हिंडिरह्यौं । ऊ छिटछिटो हिंड्दै थिई र उसको लामो नकाब हावामा उसको पछिपछि हल्लिरहेको थियो ।

“हामीले छिटै गर्नुपर्छ ।” उसले भनी ।

गेमल कोनगेवीमा आफ्नो ढोकामा पुगेर मतिर मोडिई मानौं त्यहाँसम्म गए बापत धन्यवाद दिन चाहिरहेकी छ ।

मैले उसको ढोकाको खापा खोलिदिएँ र उसले बिस्तारै भित्र प्रवेश गरी । मैले पनि बिस्तारै टाउको ढोकाछेउ लगें र उसको पछिपछि भित्र प्रवेश गरें । भित्र उसले एकदम मेरो हात समाती । हामी कसैले एक शब्द पनि बोलेनौं ।

हामीले बिस्तारै भर्‍याङ चढ्यौं र तेश्रो तल्लामा पुगेर रोकियौं । उसले आफैंले कोठाको ताला खोली । त्यसपछि एउटा अर्को ढोका खोली र मेरो हात समातेर भित्र लगी । सम्भवतः यो बैठक कोठा थियो, किनभने भित्तामा घडीको टिकटिक आवाज प्रष्ट सुनिंदैथ्यो । कोठामा पुगेर ऊ एकछिन अडिई । त्यसपछि अचानक उसले आफ्नो दुवै पाखुरा मेरो गर्धनमा राखेर काँप्दै निकै आवेशमा आएर मलाई म्वाइँ खाई ।

“तपाईं बस्नुहुन्न ? म बत्ती बाल्छु ।” उसले भनी । म विस्मित थिएँ । साथै उत्सुक पनि । म अत्यन्तै राम्रोसँग सजाइएको विशाल बैठक कोठामा थिएँ ।

“यो कोठा कति सुन्दर छ !” विस्मित भएरै मैले भनें, “तपाईं यहाँ बस्नुहुन्छ ?”

“हजुर… यही हो मेरो राम झुपडी ।” उसले उत्तर दिई ।

“तपाईं यस घरमा सम्भवतः आफ्नो आमाबुवासँग बस्नुहुन्छ !”

“अहँ… हैन, हैन, म त अधबैंसे आइमाई हुँ । तपाईं अहिले आफैं देख्नुहुन्छ !” उसले आफ्नो नकाब फुकाली।

ऊ बाइस तेइस वर्षकी युवती थिई । त्यति राम्री थिइन । तर बैँस भने फक्रेको देखिन्थ्यो । उसले बायाँ हातमा औंठी लगाएकी थिई । स्पष्ट थियो ऊ विवाहित थिई ।

म ऊसँग एकैपल्ट कैयौं प्रश्न गर्न चाहन्थें – उ को हो ? … यदि उसको लोग्ने छ भने कहाँ छ ? यो घर कसको हो ?” तर हरेकपल्ट जब म ओठ उघार्न चाहन्थें, ऊ मसँग एकदम टाँसिन्थी र बोल्न दिन्नथिई ।

“मेरो नाउँ ऐलन हो ।” अन्त्यमा उसले स्पष्टीकरण दिँदै भनी, “तपाईं केही पिउन चाहनुहुन्थ्यो कि ? मेरो विचारमा त्यतिन्जेल तपाईं सुत्ने कोठामा बस्नुस् !”

म सुत्ने कोठामा गएँ । बैठक कोठाको उज्यालोले त्यसको केही केही भाग उज्यालो बनाइदिएको थियो । केही क्षणपछि ऐलन सुत्ने कोठामा आई तर केही क्षण ऊ ढोकामै उभिइरही । म हाम्फाल्दै ऊछेउ पुगें । ऊ हल्कासँग चिच्याई र मेरो छेउमा आई ।

यो सबै घटना गत साँझको हो ।

त्यसपछि के भयो त ? धैर्य गर्नुस्, अझै धेरै थोक भन्न बाँकी छ ।

जब म बिहान ब्युँझिएँ, घाम उदाउन थालिसके‌‌को थियो । घाम विस्तार विस्तार पर्दाबाट छिरेर कोठामा चिहाइरहेको थियो । ऐलन पनि उठिसकेकी थिई । मलाई हेरेर हाँस्दै थिई ।

दुई घण्टापछि म उठें । ऐलन पनि जुत्ता लगाएर लुगा ठीक ठाक पार्न लागी। अनि त्यसपछि…. मैले जिन्दगीको त्यो अनुभव प्राप्त गरें जसले मलाई आज पनि डरलाग्दो सपनाले झैं तर्साउँछ । म बेसिनको छेउ उभिएको थिएँ । ऐलन छेउमै केही गर्दै थिई । जब उसले त्यो कोठाको ढोका खोली, मैले टाउको फर्काएर भित्र हेरें । कोठाको खुल्ला झ्यालबाट आएको बिहानीको सिर्सिरे बतास‌ले मलाई को कँपाइ दियो । कोठाको बीचमा टेवुल थियो जहाँ एउटा खुम्चिएको मानिसको लाश प्रष्ट रूपमा देखिएको थियो । त्यो लाश सेतो कात्रोमा बेरिएको थियो । त्यो एउटा लोग्ने मानिसको लाश थियो । त्यसको कपाल फुलिसकेको थियो ।

जब ऐलन फर्केर आई । त्यतिन्जेल कपडा लगाएर निस्कन निस्कन ठीक परिसकेको थिएँ । म अब उसको अँगालोको कुनै गरिमामय जवाफ दिन सकिरहेको थिइनँ । ऊ मलाई तल गल्लीसम्म पुर्याउन आउन चाहन्थी । तर मैले उसलाई त्यसो गर्न दिइनँ ।

“लौ त बिदा !” उसले बिस्तारै भनी ।

“भोलि सम्मलाई होइन त ?” मैले उसको अभिप्राय जान्नलाई सोधें ।

“अहँ भोलि होइन !”

“किन ?… किन भोलि होइन ?”

“यति धेरै प्रश्न नगर । बिहान म मलामी जान्छु । मेरो एकजना आफन्तको मृत्यु भएको छ । ऊ त्यता.. तपाईंलाई थाहै छ ।”

“भोलि हैन भने फेरि पर्सी कसो होला त ?”

“ठीक छ ! पर्सी यही कोठामा मलाई भेट्न सक्नुहुन्छ । अब आजलाई बिदा ल !”

र म फर्केर आएँ ।

ऊ को थिई ? त्यो लाश कसको थियो ? म चिन्तित थिएँ ।

म सिधै क्याफे वरनीमा गएँ । त्यहाँ डाइरेक्टरीमा मैले गोमल केनगोवीको नाउँ खोज्न थालें र एक ठाउँमा भेटी पनि हालें । मैले केही बेर त्यहीं पर्खें । त्यतिन्जेल साँझको अखबार पनि बजारमा आयो । अनि मैले झटपट मृत्युको सूचना प्रकाशित हुने पाना हेर्न थालें । मान्नुस् त्यहाँ मैले उसको नाउँ भेट्टाई हालें । सूचिमा उसको नाउँ सिरानमा थियो र निकै ठूलो अक्षरमा छापिएको थियो । मेरो लोग्नेको, ५३ वर्षको उमेरमा, लामो बिरामी पछि आज मृत्यु भयो !”

त्यस घटनाको एकदिन पछिको कुरा हो – म धेरै बेरसम्म झोक्रिएर सोचिरहें – “एउटा मानिस विहा गर्दछ । उसकी स्वास्नी ऊभन्दा तीस वर्ष कम उमेरकी हुन्छे । त्यो व्यक्ति लामो बिरामी पर्छ । र एउटा उज्यालो दिनमा मर्छ र युवा विधवा सुखको सास फेर्छे ।”