मूलः इवान बुनिन

अनुवादः गोविन्द गिरी प्रेरणा

 

त्यति बेला म पुरानो डच तरिकाले बनेको एउटा होटेलमा बसेको थिएँ । त्यसको वरिपरि चारैतिर नरिवलका रूखहरू थिए । सँगै टाढा टाढासम्म फैलिएको समुद्रको किनार थियो ।

… एक बिहान होटेलको चोकमा, मेरो दृष्टि एउटी स्त्री माथि पर्‍यो । त्यसपछि त हरेक दिन म उसलाई हेर्न थालें । बरन्डा भन्दा अलिक पर हलुका न्यानो छायामा ऊ एउटा वेतको कुर्सीमा आरामसँग शरीर फैलाएर बस्थी । एउटा अग्लो कदको पहेंलो अनुहार, अरुचिकर साना आँखा भएको मलायावासी नोकर सेतो ज्याकेट पेन्टमा सजिएर, आफ्नो नाङ्‌गो पयर‌ले रोडा ढुङ्‌गा कुल्चिए‌को आवाज सहित आउँथ्यो, उसको कुर्सीसँगैको टेबलमा एउटा ट्रेमा पारदर्शी, सुनौलो रङको चियाको कप राखेर अदबसँग उभिन्थ्यो । आफ्नो सुकेको, पातलो ओठ नखोलेरै निकै विनम्रतापूर्वक केही फुस्फुसाउँथ्यो र फेरि झुकेर अदबसाथ फर्किन्थ्यो ।

…..र त्यो अर्ध सुतेकी स्त्री, हातमा ताडका पातहरू‌को पङ्‌खा हल्का हल्का हल्लाउँदै त्यसै बसिरहन्थी । उस‌को विस्तार विस्तार अद्भुत तरिकाले झिम्कने आँखाबाट मखमलको जस्तो हल्का कोमल तरल जगमगाहट फैलिन्थ्यो ।

सुदृढ तर पनि विवश, कफीको रङ जस्तो र काँध देखि हात र छातीसम्म ऊ नग्न थिई । उसको खुट्टामा क्यै थिएन । जाँघदेखि कम्मरसम्मको भाग हरियो हरियो प्रकारको कपडाले लपेटिएको थियो र हल्लिरहन्थ्यो । काठका पहेंला खडाउको रातो रातो रङमा उसका सुन्दर खुट्टाका सुकोमल गोरा औंलाहरू र नङ प्रष्ट देखिन्थे । निधारमा एकत्रित कपाल केही दरा लाग्थे र यो कपालसँग उसको वालिका प्रकारको कोमल अनुहार मेल खाँदैनथ्यो । उसका कानमा सुनका झुम्काहरू झुन्डिरहेका हुन्थे । उसको कालो आँखा अविश्वसनीय रूपले लामो र पातलो थियो। तिनीहरू झिमझिम गर्दा हिन्दुस्तानको अनुपम फूलमा जादू भरिएको झैं लाग्ने दृष्य र तिनमा फुलिरहेका पुतलीको सजीवता देखिन्थ्यो । सौन्दर्य, बुद्धिमत्ता र मूढता यी मध्ये कुनै पनि विशेषण उसमा लागु हुँदैनथ्यो । मानवको सहज भाषामा उसको वर्णन गर्न दुष्कर लाग्थ्यो । साँचै नै कुनै देवलोकबाट पृथ्वीमा उत्रिएकी झैं अनुभव हुन्थ्यो ।

क्यै पनि नबोली जस्ताको तस्तै निश्चल बसिरहन उसलाई मन पर्थ्यो । पुतलीको पखेटा झैं उसको आँखा हरदम चञ्चल देखिन्थ्यो र संगीतको तालमा झैं तिनीहरू लयपूर्वक हल्लिरहन्थे । ऊ भने बिलकुल शान्त भएर बसिरहन्थी…

एक बिहान सबेरै रिक्सा होटेलको सामुन्ने रोकिएको थियो र म हमेशा झैं शहर घुम्न जान त्यसमा चढ्‌नै के लागेको थिएँ ।… ठीक त्यति नै बेला बरन्डाको सिंढीमा त्यो मलायावासी नोकर मेरो सामुन्ने उपस्थित भयो, अदबसाथ झुकेर मसिनो विनम्र आवाजमा भन्यो – “एक सय रुपैयाँ, साहेब ।”