पुरानो महल

मूलः फ्रान्सिस एमिल सिल्लापा
अनुवादः गोविन्द गिरी प्रेरणा

सेल्मा कोल्जास‌लाई उसका साथीहरू राम्रोसँग बुझ्न सक्दैनथे। विशेष रूपले ती युवाहरू जो जवान थिए र रोमान्स गर्न रुचाउँथे । उसले यस्तो प्रभाव पारेकी थिई, मानौं ऊ दुनियाँको सबैथोकमा निपुण केटी हो। आफ्नो सम्मोहक आँखाले ऊ यस्तो जादू फ्याँक्दथी जसको फलस्वरूप कुनै पनि कवि प्रेम कविता लेख्न आतुर हुन्थे ।

मानिसहरुलाई यसमा आश्चर्य थियो कि उसले किन विवाह गरिन, उसको बारेमा गाउँमा कुनै पनि किसिमको किस्सा – कथा फैलिएन । ऊ हरेक दृष्टिले अत्यन्तै आकर्षक थिई। ऊ निकै राम्रोसँग नाच्न जान्दथी र सुरुचिपूर्ण कपडा लगाउँथी। यी सब गुणहरूसँगै उसको निश्चल आँखा यस्तो थियो कि कसैको पनि ऊ दिल जित्न सक्दथी।

एक साँझ एउटा नाचमा अत्यन्तै आश्चर्यलाग्दो घटना घटयो । सेल्मा पनि त्यहाँ उपस्थित थिई । यस्ता कार्यक्रमह‌रू‌मा युवतीहरू प्रायः आफ्ना आमा अथवा मान्यवरका संरक्षणमा आउने गर्थे। यस्तै संरक्षिका म्याडम लितुका, जो एउटा अत्यन्त धनी व्यापारीकी पत्नी थिई, आफ्नी छोरी एल्मा र सम्भावित ज्वाईसँग त्यहाँ आउने गर्थी। त्यो केटो एउटा गरीब विद्यार्थी थियो जो समय समयमा त्यही व्यापारीको मद्दतले आफ्नो गुजारा गर्थ्यो र समाज उसलाई तल्लो दृष्टिले हेर्थ्यो ।

जब एल्मा आफ्नो भावि पतिसँग नाच्थी, कयौं परिचितहरूका दृष्टि र फुसफुसाहट उसकी आमासम्म पुग्द‌थ्यो। तर आज लागिरहेथ्यो कि एल्माको पूरै समय एक्लिएर नै बित्नेछ । किनभने उसको भावि पति अहिलेसम्म आइपुगेको थिएन । व्याकु‌लताले छटपटिनुपर्ने स्थिति काटिरहेको अवस्थामा ऊ प्रकट भयो। सेल्माले साथ पाई र उनीहरू नाच्न चाले ।

रिसले रातो-पीरो भएर नीली भएकी व्यापारीकी पत्नी झडङ्गिएर उठी र सम्पूर्ण शिष्टाचार बिर्सेर ढोका बाहिर निस्किई । उसकी छोरी एल्मा जसलाई प्रेमको बारेमा सिर्फ त्यति मात्र थाहा थियो, जति उसकी आमाले बताएकी थिई । आफ्नी आमा उठेकी देखेर उठी र हच्किंदै हच्किंदै पछिपछि लागी । त्यस अपमानजनक स्थितिलाई लिएर उसकी आमाका तिखा शब्दहरू उसका कानमा वज्रिरहेका थिए।

यसैबीच एउटा द‌यालु महानुभावले त्यस विद्यार्थीको कानमा फुसफुसाएर म्याडम लितुकाको रिसको बारेमा बताइदिए ।

त्यस अभागी युवकले कयौं किसिमले आफ्नो स्पष्टीकरण दिने कोशिश ग-यो तर उसको क्षमा याचनामाथि म्याडम लितुकाले कुनै ध्यानै दिइन ।

अर्कोतिर सेल्माले इल्मारी सेलोनासँग नाच्न शुरू गर्नासाथ आफ्नो यो नयाँ सम्बन्धलाई लिएर पुनर्विचार नै गरिन । यस किसिमको सम्बन्धलाई लिएर ऊ धेरै सोच विचार गर्दिनथी। ऊ बिहानसम्म नाची रही, त्यसपछि आफ्नो भाइबहिनीसँग त्यस साँझको आनन्दबाट सन्तुष्ट भएर घर गई।

+ +

कोल्जास परिवारको घर निकै रमणीय स्थानमा बनेको थियो। घर छेउबाट हिंड्ने प्रत्येक मानिस कैयन् दृष्टिले त्यसको प्रशंसा गर्दथे । आफ्नो उपभवन समेत यसको आकार निकै नै मोहक थियो । वर्षापछि त यो झन् मोहक लाग्द‌थ्यो । सेतो पोतिएको भित्ता माथि लगाइएको रातो रङले लतपतिएको छत वरिपरि जताततै हरियाली, त्यसमाथि नीलो आकाश, त्यससँगै हिंडेका काला बादलका टुक्राहरूले त्यसको रूप सौन्दर्यलाई दोब्बर नै तुल्याइदिन्थ्यो ।

कुनै पनि छात्र, माथि वर्णित चाहिँ होइन, जब त्यसको छेउबाटबाट हिँड्‌थे भने, त्यसको ढोकाछेउ पुग्ने लोभ संवरण गर्न सक्दैनथे चाहे बाटो लामो र घुमाउरो किन नहोस् ! ऊ स्कूल जाने सेल्मा कोल्जास र उसकी सानी बहिनीलाई अनुहारले चिन्दथ्यो र ढोकाबाट चिहाएर ऊ यो अनुमान लगाउँथ्यो कि यो पुरानो महलमा कतै न कतै घुमफिर गर्दै होली। ऊ उसको भाइ उर्तो कोल्जासलाई अलिअलि चिन्दथ्यो, जो डाक्टरी पढ्‌दैथ्यो ।

त्यस विशेष दिन त्यहाँ कोही पनि देखिएनन् । यहाँसम्म कि गुलाफ तथा अङ्गुरका विरुवा जसको लहरा कौशीसम्म पुगेको थियो, तिनीहरू पनि रुखा देखिएका थिए।

घर पछाडिबाट पशुपंक्षीहरू ठूलो तलाउतर्फ गइरहेका देखिन्थे । एउटा सानो घटनाले घटनाहरु‌को सिलसिला शुरु गरिदिएको थियो । जसरी एउटा फूल फुल्नेबित्तिकै बास्नाको लहर लहरिन थाल्दछ, तलाउको लहरझैं सिलसिलाबद्ध ।

चोटाको झ्यालमा सेल्मा एकैक्षण देखा परी। तर त्यो एकै क्षण नै उसको लामो कपालयुक्त आकृति चिन्नको लागि प्रशस्त थियो । हावासँग बात मारिरहेका सेता र नीला पर्दालाई ठीक पारेर एकछिनको लागि विचारपूर्ण दृष्टिले बाहिर छरपष्टिएको शान्ति र सौन्दर्य पान गरी।

यही एउटा घटनाको उमेदले त विद्यार्थी कोल्जास निवास बाहिर आएर बस्दथ्यो नि !

बायनो कोल्जासको सोह्रौं जन्मोत्सव मनाएको दुई दिन बितिसकेको थियो तर त्यस अवसरमा दिइएको भोजको चिनो अझै बाँकी थियो ।

हुन त घरमा फेरि दैनन्दिन कामकाज शुरू भइसकेको थियो तापनि सेल्मामाथि त्यस उत्सवले छाडेको प्रभाव अझै बाँकी थियो ।

उसको भाइसहित सबै पाहुना गइसकेका थिए । बाहिरबाट झिकाइएको हलुवाई आफ्नो सारा सामान लिएर फर्किसकेको थियो । भान्सामा चिरपरिचित गन्ध आउन थालिसकेको थियो । र, भान्सेले आफ्नो काम सम्हालिसकेको थियो ।

वायनोलाई पहिले झैं टाढा पार्कमा बनेको पुतलीघरमा घण्टौं बसिरहने बानी परिसकेको थियो।

०००

जुलाईको त्यो गरम मध्याह्नमा त्यस पुरानो महलको हरचिज सुतिरहेको निदाइरहेको झैं देखिन्थ्यो ।

समय एउटा भारीझैं झुण्डिरहेथ्यो र आवाजहीन अगाडि बढिरहेथ्यो। सेल्मा कुर्सीको हातमा बसी र सोच्न लागी, “वायनो सोह्र वर्षकी भइसकी, प्रशस्त बढी सकी ऊ र म अट्ठाइस वर्षकी भएँ त यसमा के सरोकार ? अर्थात् मैले यति वसन्त देखिसकें र अब दुई वर्षपछि म तीस वर्षकी हुनेछु। म कति खुशी छु ! के यतिमै बूढी भै हाल्न सम्भव छ र ! अहँ ! म सोच्दिनँ त्यसै होला !” उसले आफूले आफैँलाई भनी ।

जब ऊ आफ्नो बारेमा सोच्थी, यस्तै विचारले उसको दिमाग भरिन्थ्यो । उसका धेरैभन्दा धेरै विचार अस्पष्ट नै हुन्थे, मानौं उसको दिमाग अनेक वस्तुले भरिएको माग्नेको ट्‌वाक हो । ऊ आफ्नो जीवनको खुशीको महत्त्व जान्दथी । ऊ जे चाहन्थी, त्यो पाउँथी । ऊ सुन्दर थिई, लोकप्रिय थिई, तर एउटा सानो चिज कुनै यस्तो थियो जो उससँग थिएन.. त्यो के हो, ऊ जान्दिनथी !

वायनोको जन्मदिन बितिसकेको थियो तर दिदी चाहिँ कुनै आशाले बसिरहेकी थिई । कुनै असामान्य घटनाको एउटा अस्पष्टझैं प्रतीक्षा थियो उसलाई।
घरकी मालिक्नी हुनुको नाताले उसलाई पार्टीको सफलताको लागि अवश्य खुशी लाग्नु पर्ने थियो । तर यसको ठीक उल्टो ऊ निरुद्देश्य घरको एक कोठाबाट अर्को कोठामा गर्दै थिई र दैनन्दिन कामलाई मानौं, टारिरहेकी थिई । ऊ पार्टीमा बाधा परेको र कुनै कुराको अभावको कारण रोमान्चित थिई ।

त्यहाँ बस्दा बस्दै सेल्माले एउटा पुरानो गीतको धुन गुन्गुनाउन लागी। हुन त, पार्टीमा त्यो धून बजेको थिएन ।

फेरि उसलाई एउटा यस्तो सपनाले घेराउ ग-यो, जुन यति सजीव थियो, मानौं त्यो वास्तविकझैं नै लागिरहेथ्यो। उसलाई लाग्यो, ऊ जुलाईको अन्तिम दिनहरूमा कुनै पार्कमा बसिरहेकी छ।

हरेक चिज उसलाई वास्तविक लागिरहेथ्यो। सङ्‌गीतको धाराझैं उसको शिरदेखि पाउसम्म झम्झमाइरहेथ्यो । उसको मस्तिष्क त्यसैमा सरोवर भैरहेथ्यो र लाग्थ्यो प्रकृतिका हरेक चिज त्यसको नै प्रतिध्वनित गर्दैछन् ।

०००

आफ्ना सारा प्राकृतिक उपहारसहित जुलाइको महिना अत्यन्त राम्रो हुन्छ । मध्य गृष्मको यो समय वर्षभरिको सबभन्दा समृध्द महिना हुन्छ । पूर्व मजाले तातेको हुन्छ र दिन पनि सबभन्दा लामो हुन्छ, जुन फिनल्याण्ड जस्तो जाडो देशमा वरदानसरह हो र पनि दिन यसरी बित्छ जसरी हाम्रो जीवन बित्छ र साल साल बित्छन् ।

जुलाईको त्यसदिन एउटा अपरिचित कोल्जास निवासमा आयो, वरिपरि कोही थिएन । विशाल प्रवेश कक्ष खाली थियो र उसको स्वागतका लागि त्यहाँ कोही थिएनन् । तैपनि त्यो पुरानो महलको स्वागतको भावना नै उसको लागि पर्याप्त थियो । त्यस महलसँग ऊ राम्ररी परिचित थियो र त्यस भित्रको रमाइला सम्झनाहरू उसको दिमागमा घुमिरहेको थियो।

ऊ एउटा कोठाबाट अर्को कोठा गर्दै बन्द कोठामा आयो । ऊ त्यहाँ उभिएर सामुन्नेको दृष्य प्रशंसापूर्ण दृष्टिले हेर्न थाल्यो । घडीको टिकटिक सँगसँगै निकै पुरानो सम्झना ताजा भएर आयो । उसले कुर्सीमा बिछ्याइएको बुनेको मेचपोस र पियानोलाई स्पर्श ग-यो । सबथोक शान्त चूपचाप थियो । आगन्तुकलाई लाग्यो, उसको हृदयको धड्‌कन यो शान्त जीवनसँगै एक स्वर भएको छ । सबैथोक उस्तै थियो, जस्तो उसले कल्पना गरेको थियो ।
अचानक ढोका खुल्यो र त्यो युवक तथा उसको चाहनामा बसेकी युवती आमने सामने थिए ।

एउटा अत्यन्त सानो समय प्रेम त्यत्तिकै बीचमा झुण्डिरह्यो। तिनीहरू एक्लाएक्लै साथ साथ थिए। त्यस युवतीबाहेक सबै मानिस खेतमा गएका थिए ।
आधा खुलेको ढोकाको संघारमा उभिएकी सेल्मा इल्मारी सेलोनेको हात समातेर अवचेतन अवस्थामै चुम्वनको प्रतीक्षा गर्न लागी। बिस्तारै उसले मीठो चुम्वन ग-यो । त्यस क्षणदेखि नै तिनीहरू एकअर्काका भए । सेल्माको जीवनका खुशीहरू गर्मीका कुनै सुन्दर फूल या फलझैं साँच्चै नै फक्रन थालेका थिए ।

यो क्षण उसको सपनाको वास्तविकतामा बदलिएको स्वरूप थियो।

प्रेमले सेल्माको दिलमा कब्जा गरिसकेको थियो र त्यसको पूरै असर उसको अस्तित्वभरि फैलिएको थियो । उसको जीवनको सबभन्दा ठूलो इच्छा पूरा भएको थियो ।

यो सेल्माको जीवनको सबभन्दा महत्त्वपूर्ण क्षण थियो । जब ऊ दैनिक काममा लागी, तब पनि उसलाई लाग्यो मानौं ऊ सपना देखिरहेकी छ ।
संघारमा इल्मारीसँग कुराकानी हुनुभन्दा पहिला उसलाई लागिरहेथ्यो, मानौं ऊ घरमा एक्ली छ र उसका बाबुले बनाइदिएका यो छतको मुनि ऊ पूर्ण रूपले सुरक्षित छ । तर अब ऊ एक्ली थिइन र उसलाई कुनै पनि किसिमको असुविधा भइरहेको थिएन ।

जब ऊ मेचमा चिया राख्दै थिई त उसलाई नयाँ किसिमको सनसनी अनुभव भयो । यो कस्तो भावना थियो – के आगन्तुक उसको लागि स्वीकार योग्य शेष रहेको थिएन र ? सेल्माले त्यो परिवर्तन अनुभव गर्न सकिन, जुन उसको भित्र आएको थियो । उसको यो सपना अर्को सपनासँग विलिन हुन लागेको थियो । आफ्नो सम्बन्धमा पूर्णता नपाइकनै, तिनीहरू अतीतमा विचरण गर्न लागिरहेका थिए । ऊ इल्मारी सेलोनेलाई मन त पराउँथी तर अहिले अपरिचितझैं लागिरहेथ्यो । छिटै नै ऊ कोठामा फर्केर आयो। बैठक कोठामा बसेर उनीहरू मीठा मीठा प्रेमपूर्ण गफ गर्दै कफी पिएर त्यतिन्जेल बसिरहे जतिन्जेल उसका पिता खेतबाट फर्किएनन् । साँझसम्म तिनीहरूका कुराकानीले मोस्यो कोल्जास र इल्मारीका बीच सम्वादको रूप लिएको थियो । इल्मारी आफ्नो आतिथ्यदातालाई भविष्यमा योजनाहरू र सफलताका बारेमा बताउँदै थियो। उसलाई लागेको थियो, सबैजना उसका कुराहरू सहानुभूति पूर्वक सुनिरहेका छन् र उसको उत्साहमा सह‌भागी छन्।

जे जति कुरा ऊ भन्दै थियो, सबभन्दा धेरै सेल्मा नै सुनिरहेकी थिई । हुन त, कुरा सुन्दासुन्दै पनि ऊ घरको कामकाज पनि भ्याइरहेकी थिई । ऊ महसूस गर्दै थिई, यो व्यक्ति जुन केही घण्टा अघिसम्म उसलाई यति प्रिय थियो, कति कामको मानिस थियो र कति प्रेमी थियो…!

दिन बितिसक्ने बित्तिकै त्यो पुरानो भोजन कक्षमा पनि साँझको हल्का अँध्यारो सिधासादा ढङ्‌गबाट प्रवेश गर्दै थियो। खाना सकिएपछि नोकर चाकरहरुलाई बिदा दियो र केही क्षण पश्चात् नै पाहुनाले आतिथ्यदातासँग शुभरात्री भनेर बिदा लियो ।

०००

त्यस साँझ सेल्मा आफ्नो ढोका अर्ध खुल्ला राखेर बाहिर सल्बलाइरहेको साँझको आनन्द लिहरहेकी थिई । इल्मारी सँगैबाट हिँड्‌दै थियो । ढोका खुल्ला देखेर ऊ भित्र पस्यो ।

“ऊ आउँदैछ,” ऊ आफू आफैंसँग गुनगुनाई, “अब ऊ मलाई आफ्नो अँगालोमा बाँध्नेछ, तब मैले के गर्ने होला ?” जवाफ ऊ जान्दथी तर त्यस‌लाई स्वीकार्नेछ । ऊ जान्द‌थी, ऊ उसकै लागि हो। उसलाई लाग्यो कि कही नयाँ र सुकुमार उसको दिलको भित्री भागमा जन्म लिइरहेछ र जबस‌म्म त्यसले पूर्ण आकार लिंदैन त्यसलाई दबाई राख्नुपर्छ ।

इल्मारी सेलोने सोच्दथ्यो, ऊ आइ‌माईलाई बुझ्ने क्षमता राख्द‌छ तर त्यस साँझ उसले महसूस ग-यो, यो मामलामा उसले धेरै सिक्न बाँकी छ । निकै समयदेखि ऊ सेल्मालाई आफ्नो भावि जीवनसाथीको रुपमा कल्पना गर्दै आइरहेथ्यो। आज साँझ जब ऊ भन्याङ चढ्‌दै थियो, ऊ सोचिरहेथ्यो, उसको जीवनको श्रेष्ठत्तर सुखको दिन आएको छ । जुन हावामा उसले सास फेर्दैछ, लाग्दथ्यो, यो भावना उसमा व्याप्त छ । उसलाई लाग्यो, ऊ हावामा उड्‌दैछ।

यसै मनस्थितिमा उसले आफ्नी प्रियत‌मालाई अँगालोमा बाँधेर चुम्बन ग-यो । ऊ भने उसको अगाडि झुकेर मुस्कुराइरहेकी थिई। फेरि उसले इल्मारीलाई अँगालोमा लिई र इल्मारीले भन्यो, त्यो मित्रता र जादूको नाउँमा जुन यो साथले हामीलाई प्रदान गरेको छ।”

आफ्नो प्रेमीको अँगालोमा रमाउँदै सेल्माले अस्पष्ट आवाज निकाली तर त्यस आवाजको कुनै अर्थ थिएन। मात्र भित्री आवेग बाहिर निकाल्दै थिई, मानौं निकै ढिलो प्राप्त भोजनको आनन्द लिइँदैछ ।

जब इल्मारी त्यहाँबाट गयो, सेल्माले पछिल्लो घण्टाको घटनाहरू सम्झँदै, त्यसमाथि पुनर्विचार गर्दै बसिरही। यो समय उसको लागि कति प्रवल थियो। उसलाई लाग्यो – छोटो समयमै ऊ अचानक हलक्क बढेकी छ । तर जब उसलाई निद्रा लाग्यो, तब निद्रामै पनि उसलाई आश्चर्य लाग्यो- यी सबसँग आफूलाई कति उदासीन पाइरहेकी छ।

०००