१९. उत्तेजनाको रात

‘हामी चिप्लेटीको घुमाउरो बाटोमाथि पुगन सक्यौँ भने त सजिलैसँग उनीहरूको मद्दत गर्न सकिन्छ ।’ अमरले घोप्टे खोल्दै भन्यो ‘तर भकुन्डे भाइ आफै चिप्लेटीको बाटो किन तल नआएको होला, त्यो पो गजबको कुरा छ ।’

‘उसले रूखको फेदमा धेरै लालछौडाहरू देखेर डर मान्योहोला’ आशिषले भन्यो ‘तर लालछौडाहरूलाई यो घोप्टेको पत्तो छैन जस्तो छ । नत्र… ‘

अब अमरले घोप्टेको खापा उघार्यो र आशिषलाई भन्यो ‘आशिष ! तिमी यो घोप्टेको खापालाई समातिराख । म पहिले माथि चढ्छु, अनि तिमीहरूलाई पालैसँग तानुँला ।’

अमर चिप्लेटीमा उक्लन खोज्यो । तर त्यो साँच्चै चिप्लो भएकोले जतिपल्ट माथि उक्लन खोज्दथ्यो उतिपल्ट तलतिरै चिप्लन्थ्यो ।

‘सूँ-सूँ साइँ-साइँ’ नजिकैको रूखले केही भन्यो । गीताले त्यसमा कान टाँसेर सुनी । रूखले भन्यो ‘पहिले लोखर्केलाई पठाऊ ।’

‘धत्तेरिका, यति पनि बुद्धिमा नचढेको’ गीताले मुख बिगार्दै आफैसँग भनी । अनि दाजुलाई सम्बोधन गर्दै भनी ‘दाइ !… पहिले लोखर्केलाई माथि पठाएर अनि डोरी खसाल्न लगाएर हामी डोरीबाट चढ्न पो सजिलो हुन्छ, होइन र ?’

‘ओः साँच्चै त !’अमरले पनि आफ्नै खप्परमा हिर्काउँदै भन्यो ‘यति पनि मगजमा नचढेक । …ए लोखर्के भाइ ! तिमी चिप्लेटप्बाट माथि गएर भकुन्डे भाइलाई भेटेर हाम्रो लागि डोरी खसालिदिन सक्छौ ?’

‘किन नसक्नु त्यति जाबो कुरा !’ लोखर्केले भन्यो ‘मेरा खुट्टामा नङ्ग्रा छन् । त्यसैले म चिप्लन्न । …म मजासँग माथि पुग्छु । तर त्यहाँ गएर मैले के गर्ने ?’

‘तिमी चिप्लेटीबाट माथि जाऊ’ अमरले भन्यो ‘अनि भकुन्डे भाइलाई भेटेर डोरीको भर्याङ खसाल भन । …तर रूखको बाहिरतिरबाट होइन, यही चिप्लेटीबाट ।’

‘वाः जुक्ति त गजबकै हो ।’ लोखर्केले भन्यो ‘तर बिस्तारै कुरा गर । छौँडाहरूले सुनेजस्तो छ । उनीहरू रूखबाट तल ओर्लदैछन् ।’

‘अब के गर्ने ?’ गीताले हडबडाउँदै भनी ‘उनीहरूले भेटे भने !’

‘छिटो, छिटो, सबैजना घोप्टेमाथि चढ’ अमरले सबैलाई माथि चढाउँदै भन्यो ‘त्यहाँ कुनामा दुम्केर बस । ….लोखर्के भाइ, तिमी पहिले उक्लिहाल ।’

लोखर्के आफ्ना नङ्ग्राको मद्दतले सजिलै माथि चढ्यो । अमरले सबैलाई माथि उकालेपछि घोप्टेको खापा बन्द गर्यो । र सबै त्यही एउटा कुनामा दुम्केर बसे ।

त्यसै बेला तीनओटा लाल छौडाहरू रूखबाट हाम्फाले र चारैतिर छ्याप्छ्याप्ती खोज्न थाले । ‘मैले उनीहरूको आवाज सुनेको हुँ । …मलाई यसमा शङ्कै छैन ।…’

‘हामीले उनीहरूलाई रूखमा चढ्न दिएर त्यहाँका बासिन्दालाई भेट्न दिनु हुँदैन’ नाइके छौँडाले भन्यो ‘रूख चढ्न नपाएपछि उनीहरूले केही गर्न सक्तैनन्‌ । …तर तैले,साँच्चै उनीहरूको आवाज सुनेको त होस्‌ ? तँलाई भ्रम भएको त होइन कतै ? रूख सुसाएको सुनेर तैले…’

सूइँ-सूइँ स-स-स-सूइँ- साँच्चै त्यसै बेला रूखहरू ससाए। त्यो सुनेर नाइके छौँडो हाँस्यो ‘सुनिस्‌ ? त्यही सुनेर तँलाई भ्रम भयो । …बेकारमा हामी हाम्फालेर यहाँ भौंतारिन आयौं । हिंड, जाऔं रूखमाथि ।’

नाइके छौँडाले सबैलाई रूख चढ्ने आज्ञा दियो । अनि तीनओटा छौँडा फेरि रूख चढे । …अमरहरू बल्ल ढुक्क भए ।

‘साँच्चै लोखर्के भकुन्डे भाइकहाँ पुग्योहोला कि पुगेनहोला दाइ ? गीताले मास्तिर अँध्यारोमा हेर्दै भनी । तर त्यसैबेला माथिबाट केही चीज खसेर गीताको काँधमा पर्यो । गीता तर्सँदै कराई ‘सर्प !… सर्प !… अमरदाइ सर्प !

‘खोइ कहाँ छ सर्प ?’ अमरले त्यो खसेको वस्तुतिर हेर्दै भन्यो । अनि ऊ एक्कासि खित्का छोडेर हाँस्यो ‘लौ हेर डरले मरेकी कातरनी ! …हेर ! …यो सर्प होइन, बाबियोको डोरी हो । लोखर्के माथि पुग्यो कि पुगेन भनेर पिरिएकी होइनस्‌ ? …बिचरा लोखर्केले माथि गएर भकुन्डे भाइलाई भेटिकन डोरी पनि पठाइसम्यो । लौ अब यही डोरीबाट एक एक गर्दै माथि चढ । लौ गीता पहिले सबैभन्दा सानी मान्छे, तिमी नै चढ ।’

‘म त सर्प काँधमा खस्यो भनेर डरले मरिहालेकी’ गीताले पनि हाँस्तै भनी र ऊ डोरी समातेर त्यसमा सुरेली खेल्दै माथि चढ्न थाली । तर डोरीमा सुरेली खेल्दै चढ्नु त्यति सजिलो थिएन । चारैतिर अँध्यारो; देख्नु, सुन्नु केही छैन । हत्केलामा छाला गएर पोल्न थाल्यो । तर ऊ दाह्रा किट्तै एक एक अमल माथि चढ्दै आखिर चिप्लेटीको मुखमा पुगी । चिप्लेटीको मुखमा भकुन्डे भाइ एउटा लाल्टिन बालेर पर्खिरहेको थियो । …उज्यालोमा गीताले आफ्नो हत्केला पल्टाएर हेरी, त्यसमा रगत फुट्लाजस्तै भएको थियो “उफ्‌ !… क्या आपत्‌ !…’

गीता माथि पुगेपछि आशिष आयो । अनि अमर । … यसरी सबैजना जम्मा भएपछि भकुन्डे भाइ धेरै खुसी भयो । ‘मोरा भूतहरूले कस्तो दुःख दिए । … सारो बोल्न पनि हुँदैन । ढोका-ढोकामा कन्सुत्लो लागेर हिँड्छन्‌ ।’

‘भकुन्डे भाइ !… तिमीहरूलाई यसरी भूतले कैदी बनाए हगि ?’ अमरले भन्यो ‘तर तिमी चिप्लेटीबाट तल किन नझरेको ?… चिप्लेटीबाट झरेर हामीलाई भेटेको भए त… त्यो कुरा किन सोचेनौ ?’

‘सोच्न त सोच्या हुँ’ भकुन्डे भाइले भन्यो ‘तर अरू साथीहरूलाई विपत्‌मा छोडेर आफूमात्रै भागेर जानु मलाई साह्रै घटिया कुरो लाग्यो ।… त्यसैले …’

‘हो हुन त’ अमरले भन्यो ‘साथीहरूलाई बिपत्मा परेको छोडेर आफ्नो मात्र ज्यान बचाउन खोज्नु त पशुको काम हो । …तर अब हामी आइहाल्यौं ।… अब कुनै जुक्ति सोच्नु पर्छ । …अँ हिमानी खोइ नि ?… हिमानी त देखिन्न ।’

“साँच्चै हिमानी आफ्नै घरमा होली !’ गीताले भनी ‘उसलाई डाक्न पठाऊ न। …ऊ भइ भने कुनै जुक्ति सोच्छे । …ऊ बाठी छ।’

‘तर ऊ पनि आफ्नै घरमा कैद छ । …ऊ कसरी आउन सन्छे ।’

अमर दाइ !’ एक्कासि आशिषले आँखा चम्काउँदै भन्यो ‘सुन ! सुन ! मैले एउटा मज्जाको जुक्ति फेला पारेँ ।’

“कस्तो जुक्ति ?’ सबै एकै साथ चिच्याए ।

‘बित्ते हिउँमानव !’ आशिष चिच्यायो ‘पहिलो दिन भेटेका बित्ते हिउँमानव । हामीले उनीहरूलाई मद्दत गरेपछि उनीहरूले तिमीहरूलाई आपत परेको बेला हामीलाई खबर गर्नु भनेका थिए, हो तिनीहरू नै । एउटा चिठी लेखेर लोखर्केलाई पठाए कसो होला ?’

‘तर लोखर्केले उनीहरूलाई चिन्ला र ?’ भकुन्डे भाइले भन्यो ।

“चिन्न त किन नचिन्नु’ लोखर्केले भन्यो ‘मैले पनि कतिपल्ट भेटेको छु उनीहरूलाई । असल छन्‌ उनीहरू ।’

‘त्यसो भए तिमी एउटा चिठी लिएर जाऊ र उनीहरूको फौजसमेत लिएर आऊ । चिप्लेटीको बाटो हामी ती सबैलाई यहाँ जम्मा गरौं । अनि भकुन्डे भाइले ढोकाको अन्तरबाट ‘लौ तिमीहरूलाई हामी मन्त्र सिकाउँछौं’ भनेर भूतहरूलाई डाक्छ, भूतहरू मन्त्र सुन्न भनेर सबै बाहिर जम्मा हुन्छन्‌ । अनि हामी एक्कासि ढोका खोलेर जाइ लागौंला ।’

“वा: क्या गजबको जुक्ति’ गीताले ताली पिट्दै भनी ।

‘त्यसपछि हामी सबै माथिको ढोका खोलिदिन्छौँ ।’ अमरले भन्यो ‘अनि श्री के-नाम-के-रेले एकएक गर्दै ती भूतहरूलाई लाठो बजाउँदा क्या मजा हुनेछ ।-

अमरको जुक्ति सुनेर सबैजना दङ्ग परे । लोखर्कै अमरको चिठी लिएर गयो । ऊ चिप्लेटीको मुखमा बसेर सुइत्त तलतिर हुर्रियो । गीता खित्‌खिताएर ताली पिद्न लागी “यो लाखर्केलाई त तकिया-चकटी केही पनि नचाहिने, पुच्छर नै गद्दाजस्तो ।’

‘अँ, गीता !’ अमरले कुनै कुरा सम्झेर भन्यो ‘तिमीले खानेकुराहरू ल्याएकी छौँ होइन ? …लौ झिक र सबैलाई बाँड ।’

‘अँ, साँच्चै त ।’ गीताले आफ्नो झोलाबाट दिउँसो बनाएका खानेकुराहरू झिकेर सबैलाई बाँडी । सबैजना वरिपरि बसेर खानेकुरा खान थाले ।

धेरै समयसम्म त्यस्तो कुनै नौलो घटना भएन । आखिरमा भकुन्डे भाइले आफ्ना कान ठाडाठाडा पारेर भन्यो ‘सुन ! सुन ! चिप्लेटीको बाटो कोही माथि आउँदैछ । त्यो पक्कै लोखर्के होला ।’

‘कतै लाल छौँडाहरू त होइनन्‌ ?’ आशिषले शङ्का गर्दै भन्यो । तर त्यो आउने रातो छौँडो होइन, रातो लोखर्के नै रहेछ । उसले चिप्लेटीको मुखबाट कोठामा आएर सबैलाई नमस्कार गर्यो । अनि उसले भन्यो ‘सबै ठीक भयो । हिउँमानवहरू तल घोप्टेमा आएर बसेका छन्‌ । उनीहरूका लागि डोरी खसाल्नु पर्यो । जुँगेले अरू फौज लिन पठाएको छ । उसका फौजमा उनन्चास जना छन्‌ ।

भकुन्डे भाइ उठेर गयो, डोरीको भर्याङ चिप्लेटप्को मुखबाट तल खसालिदियो । एकै छिनपछि त्यो डोरी तल पुगेर तन्किएको थाहा भयो। ‘लौ सेतेहरू आउन लागे ।’

अमर र भकुन्डे भाइ मिलेर डोरी तान्न थाले । डोरी निक्कै गर्हुँगो थियो । उनीहरूले स्वाँ-स्वाँ गर्दै डोरी ताने । नभन्दै डोरीमा एकैपल्ट पाँचजना हिउँमानवहरू झुण्डिएर आएका रहेछन्‌ । ती मानवहरू कोठामा उत्रेर बडो उत्तेजित भएर कुरा गर्न थाले ।

डोरी फेरि तल खसाले । यसपल्ट त्यसबाट एकैपल्टमा छजना सेता हिउँमानवहरू चढे । अब भकुन्डे भाइको कोठा साँगुरो हुन थाल्यो । तर के गर्ने ? अरू कोठा पनि त थिएन । सबै त्यस कोठामा जम्मा भए ।

सेते हिउँमानव केटाकेटीजस्तै देखिन्थे, तर उनीहरूका लामालामा जुँगादाह्री उनीहरूको अनुहारमा विचित्र देखिन्थे । झन्‌ उनीहरूका नाइके जुँगेको त दाह्री जुँगै कुर्कुच्चासम्म लत्रन्थ्यो ।

पाँच-पाँच, छ-छजना गर्दै आखिरमा पचासै जना सेतेहरू कोठामा उत्रे । आखिर कोठा खचाखच भयो । मानिसहरू खचाखच भएर हलचल गर्न नसक्ने अवस्थामा पुगे । एक अर्काको काखमा खप्टाखप्टी गरेर बसे । यी सबै उत्तेजित थिए । यिनीहरूले उत्तेजित भएर गरेको हल्ला रूखका हाँगा-पात सुसाएफैं लाग्थ्यो ।

क्रमश…