(…यो मामला नै यस्तै, यो मामला ! रविशङ्कर भन्दै पनि जान्थ्यो, अनि बीचबीचमा चम्चाले कपको चिया चलाउँदै पनि जान्थ्यो । होटलको केटाले एउटा बेग्लै कपमा चिनी ल्याएर राखिदियो । रवि दुई चम्चा चिनी गमगम उभाएर आफ्नो चियाको कपमा हालेर चलाउन थाल्यो । ऊ चिनी बढी खान्छ, यो सबैलाई थाहा छ । त्यसैले कसैले केही पनि भनेन । केही क्षण त्यहाँको वातावरण कुनै तान्त्रिकले बाँधिदिएझैँ निस्तब्ध भयो- सेरोफेरो सुनसान । केवल काँटा, स्याँगी चम्चा, कप र प्लेटहरू जुद्धा निस्केको टाङ-टाङ, टुङ-टुङ स्वरले त्यसलाई अनौठो जीवन दिइरहेको थियो ।
मैले आफ्ना आँखा यो ठूलो हलको छेउदेखि पुछारसम्म दौडाएँ । त्यो बैठकको सेरोफेरो एउटा अनौठो सम्मोहनले बाँधिएझैँ त्यसमा जति मान्छे थिए ती सबका अनुहार पानी पर्न नसकेर धुम्मिएको आकाशजस्तो देखिन्थ्यो । गोपीको अमिलो निचरेजस्तो अनुहारको गम्भीरता त साँच्चै हाँसो उठ्दो लाग्दथ्यो अनि रामशरण त भरखर रोईरोई थाकेर चुप लागेजस्तै देखिन्थ्यो । यी सबैका सम्मिलित मुड भने साँच्चै कुनै अपर्झट घटनाको नटर्ने प्रतीक्षामा अडेझैँ देखिन्थ्यो ।
“….यो मामला नै यस्तै, मामलै यस्तो ।” आखिर रविशङ्करले आफै मौन तोड्यो । हामी तिखारिएको उत्सुकतालाई लिएर उसको मुखमा क्वार्क्वार्ती हेर्न थाल्यौं – यसले के
भन्छ ।)
“तिमीहरू सबैलाई थाहै छ, सत्यलालको र मनमायाको ‘लभ म्यारिज’ भएको हो । उसको सेक्समाथिको विचार पनि त कति उग्र कति भयङ्कर हगि ?” रविले भन्यो । साँच्चै सत्यलालको र मनमायाको प्रेम-विवाह भएको हामी सबैलाई थाहा थियो किनभने हामी सबैले उसको व्याहाभोजमा सामेल भएर आधुनिक रीतअनुसार केही न केही वस्तु दुलाहा दुलहीमा उपहारसमेत दिएका थियौं अनि सत्यलालको विचार पनि हामीलाई थाहा थियो ।
“सेक्स पनि मानिसको नभै नहुने जरूरत हो, दालभात डुकुभन्दा पनि नभै नहुने ।” ऊ बारम्बार साथीहरूको गोष्ठीमा दृढ स्वरले भन्थ्यो । “यस्तो वस्तुमाथि पनि कसैले नियन्त्रण गर्छु भन्छ भने कि त्यो पक्कै नपुंसक हो, कि त हावा खुस्केको !”
तर साथीहरूमा कसैलाई पनि उसको यो विचार टिकाउ होला जस्तो लाग्दैनथ्यो । त्यसैले हामी उडाउन खालको हाँसो हाँसिदिन्थ्यौँ । यसबाट ऊ झन् जोसिन्थ्यो र स्वरलाई तार सप्तकका पुऱ्याएर भन्थ्यो “तिमीहरू हाँस्छौ ? ….. हाँसिराख !… तर हेरिराखौला, कथंकदाचित् मेरो ब्याहा भयो भने, अवश्य नै हुन्छ- व्याहा भयो भने म !”
यतिखेर सत्यलालको स्वर उत्तेजनाको अधिकताले गर्दा काँपेको हुन्थ्यो तर उसको त्यो उग्र विचारले हामी सबैका कानका जरबुटा राताराता हुन्थे । हामी बोल्नु ठीक ठान्दैनथ्यौं । यस्तो थियो सत्यलालको साधारण असाधारणता ।
“…. त यही जोशमा सत्यलालले बिहा हुनुभन्दा पहिले नै मनमायासँग आफ्नो भएभरको गुप्त रहस्य खोलिदियो” रवि भन्दै गयो, “आपसमा पर्दा राख्ने हो भने त प्रेमको मतलब नै के र ! त्यसैले उसले आफ्नी प्रेमिका र आफ्नो बीचमा कुनै किसिमको भेदभाव राख्न मन पराएन । मनमायासँग प्रेम हुनुभन्दा पहिले उसको अर्का दुई केटीहरूसँग प्रेम भएको थियो । एउटीसँग त ऊ फसी पनि सकेको थियो तर बीचमा एक्कासि टुट्यो । त्यो पनि ऊ आफूतिरबाट टुटेको होइन, उनीहरूतिरैबाट टुटेको । एउटीको उसकै बाबुआमाले जबरजस्ती बिहा गराइदिए, अर्की आफै अर्कोसँग ‘लभ’ गरेर गै ।
“आफूले मात्र होइन, मनमायालाई पनि आफ्नो किरिया ख्वाएर, गुप्त भेद बताउन उसले बाध्य गरिदियो !” रविको स्वर झनझन गम्भीरतातिर बढ्दै गयो, “स्वास्नीमान्छे नै त हो, विश्वास पार्न मात्र पो गाह्रो । त मनमायाले आफ्नो प्रेमीलाई… आखिर गहुँको छ्वालीजस्तो फितलो भएभरको झिटीझाम्टा उल्टाएर देखाइदिई ।”
हामी सबै स्तम्भित भएर सुनिरह्यौँ- “सत्यलालसँग प्रेम हुनुभन्दा अघि उसको पनि अर्कैसँग प्रेम भएको रहेछ । त्यो लोग्नेमान्छेले उसलाई फस्ल्याङ फुस्लुङ पारेर डगाइदिन्छ । एक दिन हाम्रो टोलमा बेखाचाको नाच ल्याएको थियो । आमा बाहरू सबै नाच हेर्न गएका थिए । म कपाल दुखेको निहुँले नाच हेर्न गैनँ । त्यसबेला ऊ घरैमा आयो । के गर्नु अल्लारे बुद्धि । पहिले त मैले मानेको होइन, मानेकै होइन । के गर्नु
आखिर … ।” मनमायाले भनी ।
“यसरी बिचरी मनमाया भसार बुहारीको फरिया फुस्केझैँ फुस्किहाली ।” – रवि भन्दै गयो । वातावरण झन् झन् गम्भीर हुँदै गयो । साथीहरूको मनमा उत्सुकताले हुँडेलेको उनीहरूको अनुहारका रेखाले प्रष्ट बताउँथे तर कसैले पनि कुरा काटेन खालि ट्वाल-ट्वाल्ती उसको अनुहार हेर्न थाल्यौं ।
“तर सत्यलालले त्यतिखेर त्यस कुरालाई कुनै ठूलो कुरा ठानेन ।” रवि भन्दै गयो- उसले कुनै पनि असजिलो मानेन । उसले तत्कालै भन्यो- “केही होइन बुझ्यौ, यो केही पनि होइन । यो त मामुली कुरा हो । यो त एउटा शारीरिक भोक हो अनि चुक्नु त मान्छेको लक्षण हो । त्यसमाथि स्वास्नीमान्छेको भूलको जिम्मेदार त लोग्नेमान्छे हुन्छ । म यसलाई केही मान्दिनँ, बुझ्यौ, केही पनि मान्दिनँ ।”
“हुन पनि सत्यलालले त्यतिखेर त्यस कुरालाई केही पनि मानेन ।” …. रवि यहाँनिर फेरि चूप लाग्यो । विषय ज्यादै गम्भीर हुँदै गएको थियो । रेष्टुराँको मौन तर प्लेट, कपमा चम्चा र स्याँगी जुद्धा निस्केको टाङ-टाङ, टुङ-टुङ आवाजले रङ्गिएको वातावरणले मनमा के के जस्तो, धमिलो धमिलोजस्तो लाग्दथ्यो । हामी सबैको मनको खाडल कुइरोले ढाकेको बिहानको काठमाडौँ खाल्टोजस्तो लाग्थ्यो । मैले हलभरी आँखा घुमाएँ- सबै टेबिलका भलाद्मीहरूलाई त्यो विषादको सरुवा रोगले छोएजस्तो देखिन्थ्यो । हामीभन्दा दायाँपट्टिको टेबिलमा तीनजना मानिस थिए- दुई केटा र एउटी केटी । अनि पछाडिपट्टि एउटा छुचुन्द्रे अनुहारको उच्छृङ्खल केटो थियो । ऊ आफ्ना ब्वाँसाका जस्ता तीखा आँखाले एकनास त्यो अगाडिकी केटीलाई हेरिरहेको थियो ।
अनि हाम्रो बायाँपट्टिको टेबिलमा पनि बिलकुलै मौनको साम्राज्य थियो । त्यो टेबिलको वरिपरि बसेका चारजनामध्ये एक जना कोकिटाको दौरा सुरुवाल लाएको, कालो कोट र मखिबुट्टे टोपी भिरेको मान्छे चारखाल अड्डाको मुखियाजस्तो लाग्थ्यो अनि अर्को ठाडो घुँघे ज्यानमारा खोर्सानीजस्ता आँखा भएको मान्छे न्यायालयको विचारीजस्तो लाग्दथ्यो । किनभने उसको इष्टकोटको माथिल्लो खल्तीमा नेपाली कागतको एक मुठा घुसारेको थियो अनि इष्टकोटकै टाँके प्वालमा झुन्डिएको चाँदीको सिक्री तल्लो बगलीमा घुसेर त्यसमा जङ्गबहादुरको पालाको रेलवे वाच कं. को जेब घडी भएको थाहा हुन्थ्यो । यीबाहेक दुईजना अर्का, फेटा बाँधेका, आङमा राढीको बख्खु भिरेका र हातमा कठबाँसको लठ्ठी लिएका थिए । ती देख्दा पहाडिया द्वारे र जिम्मुवालजस्ता लाग्दथे, जो न्यायालयमा तारीख धान्न आएकाजस्ता देखिन्थे । यी सबका सम्मिलित मूड पनि भर्खरै काका बाबु मरेको खबर सुनेर बसेका जस्तो लाग्दथ्यो । मलाई यो वातावरण ज्यादै असह्य लाग्यो । मैले एक्कासि टेबिलमा कप बजारें- “अनि भन् न के भयो ?”
“के हुनु, अनि सत्यलालको र मनमायाको बिहा भयो !” रविले विषादपूर्ण मुस्कानको बीचमा भन्यो ।
मैले फेरि आफ्ना आँखा दायाँतिरको टेबिलमा लगें । केटी रविको स्वरको कुन चाहिँ आकर्षणले हो नारिएर उसको अनुहारमा कौतूकपूर्ण आँखाले हेरिरहेकी थिई । उसका दुईजना केटा साथीहरू चाहिँ मुखमा अमिलो अमिलो तीतो र टर्रो रस भरिएझैँ असजिलो अनुहार पारेर केटीमा र रविमा पालैपालो हेर्दथे । मलाई त्यो देखेर भित्रभित्रै अनौठो काउकुती लागेर आयो- मज्जाको काउकुती । अनि बलले रोक्तारोक्तै पनि ओंठबाट हाँसो फुत्किहाल्यो । हल एक पटक सजीव भएझैँ लाग्यो । सबैजना आँखामा प्रश्न लिएर मतिर हेर्न थाले ।
“अँ अनि भन् न ।” मैले रोक्तारोक्तैको हाँसोको बीचबाट भनें ।
“बिहाको दिन राती जब एकान्त मिलनको आशाले सत्यलालले कोठाभित्र पसेर मनमायाको दिव्य रूप देखेथ्यो, उसको मनको एउटा कुनामा के के जस्तो असजिलो असजिलोजस्तो लागेर आयो । मनको कुनै अज्ञात कुनामा एउटा रहस्यको कालो बादलको टुक्रो कता कताबाट देखा परेजस्तो । त्यो मधुयामिनीको हल्का मास-रङ्गले पोतेको कोठाको हल्का नीलो प्रकाशमा जूनझैँ खिलेकी मनमायाको प्यारो अनुहारमा उसले अपलक हेर्यो । कति उज्याली, कति हँसिली, कति प्यारी छ उसकी मनमाया । उसको एकान्त माया । उसले त्यै उज्यालो अनुहारको निर्मल सौन्दर्यले त्यो मनमा उठेको असजिलोलाई धोएर पठाउन खोज्यो तैपनि त्यो जुनेली अनुहारको पृष्ठभूमिमा कालो बादलको सानो टुक्रो घरी घरी उठेको जस्तो उसलाई आभास भैरह्यो अनि उसको छातीबाट दबाउँदा-दबाउँदै पनि एउटा चिसो सुस्केरा निस्किहाल्यो ।
“मनमायाले पनि लोग्नेको यो चिसो सुस्केराको तत्कालै आभास पाई र आफ्ना बडा-बडा निर्मल आँखाले प्रश्न गरी किन ?” यो त विवाहको पैलो रात हो !
यसमा चिसो सुस्केराले कसरी ठाउँ पायो ?
“सत्यलाल त्यो स्वास्नीका ठूला-ठूला प्यारा आँखाको निर्दोष प्रश्नले केही हड्बडाएझैँ भयो अनि समालिएर तत्काल उसलाई पलङमा तान्दै उसले बोलायो ।-
“मन ।”
“हजुर !”
“तिमीलाई नरमाइलो लाग्यो होला हगि ? साँच्चै नरमाइलो लाग्यो होला ।” मनको कुन तरङ्गमा आएर सत्यलाल बडबडायो । “तिमीलाई नरमाइलै लाग्यो होला, होइन त ?… के गर्नु, तिम्रो बिहे मसँग भन्दा उसँसँग भएको भए, के गर्नु !”
“उक्त बडबडाइले मनमायाको अन्तरको एक कुनामा रहस्यले टाउको उठाएझैँ उसलाई लाग्यो- कुनै एउटा अज्ञात दुश्चिन्ताले ढक्क ठोके झैं । यस्तो कुरा किन ? ..यो बेला त यस्तो कुराको लागि होइन । तब ?… उसले भय र कौतूहल भरिएका आँखाले लोग्नेको अनुहार हेरी । सत्यलाल आफै हाँस्ने कोसिस गर्दै थियो । उसले मनमायालाई आफूतिर तान्यो । “होइन है खालि ठट्टा मात्र गरेको । दिक्क नमान ।”
“यति भनेर उसले मनमायालाई छातीमा टाँस्यो अनि उसको मुखभरि असंख्य म्वाइँ जडिदियो । मनमाया सन्तुष्ट भै, सत्यलाल पनि सन्तुष्ट देखियो ।…”
रविले एक पटक आफ्ना आँखाले हामी सबैको अनुहारमा हेरेर मानौं प्रश्न गर्यो- कस्तो लाग्यो ? कथा टुङ्गिएन त ?
तर हाम्रो खास गरेर मेरो मनमा भने झन् उत्सुकता तिखारिन थालेको थियो । रविले जुन पाराबाट कथाको थालनी गरेको थियो र जुन छाँटको गम्भीर रहस्यको हलुका पर्दा उसको अनुहारमा टाँस्सिएको देखिन्थ्यो, त्यसअनुसार त कथाको त्यो टुङ्गो पटक्कै नसुहाउने खालको थियो । त्यसैले हामीलाई लाग्यो कथाको यो टुङ्गो त पक्कै होइन, किमार्थ होइन ! कुरा पक्कै अर्कै छ । हामी अधीर भएर उसको मुख हेर्न थाल्यौं ।
“तिमीहरूलाई कस्तो लाग्छ ? कथा टुङ्गिएन ?”- रविले मुसुमुसु हाँस्दै भन्यो ।
“कथाको त भर्खर थालनी भयो कि ?” मैले भनें ।
“वास्तवमा त्यसै हो । एक किसिमले कथाको थालनी भरखरै भयो भने पनि हुन्छ ।”- रविले शुरु गर्यो किनभने सत्यलालको मनको जटिलताको त यो भर्खर शुरू थियो । यसको विकास त दिन-दिन अनौठो छाँटबाट भएको देखियो ।
“मनको कुन लहडमा बहेर हो कुन्नि सत्यलाल हरेक दिन राती सुत्ने बेलामा मनमायासँग उसको पैलो प्रेमीको बारेमा कुरा गर्न मन पराउँथ्यो । ‘तिम्रो त्यो पैलेको प्रेमी कस्तो थियो, ऊ कहाँ बस्छ, उसको नाम के हो, अनि इलम के गर्छ ?’ इत्यादि कुराको खोजीनिती गरिरहन्थ्यो अनि कहिलेकाहीँ सोद्धथ्यो, ‘ऊ कस्तो छ ? राम्रो छ कि नराम्रो ? ऊ आफूभन्दा राम्रो कि, मनमायाले देखेको मान्छेमध्ये कोजस्तो राम्रो’ इत्यादि ।”
“पहिले पहिले त यस्ता छाँटका सोधाइहरूले मनमायाको मनमा डर, शङ्का र नरमाइलोपनाको भान हुन्थ्यो । उसलाई भित्र नरमाइलो लागेर रुन पनि मन लाग्दथ्यो तर विस्तार-विस्तार उसलाई यी सब स्वाभाविकजस्ता लाग्न थाले अनि यस्तो देखियो कि विस्तार विस्तार ऊ पहिलो प्रेमको सम्झनासँग नजिकै हुँदै जाँदै छे, पहिलो प्रेमी हरिकृष्णसँग नजिकै हुँदै जाँदै छे । ऊ दिन प्रतिदिन उसका बारेमा चाख लिँदै जान थालेकी छे- चाख मानेरै उसका बारेमा कुरा सुन्न थालेकी छे, चाख मानेरै लोग्नेको उससम्बन्धी प्रश्नको जवाफ पनि दिन थालेकी छे ।”
“यति मात्र होइन, सत्यलालले सधैं त्यै उसको पहिलो प्रेमीको बारेमा मात्र कुरा गरिरहेको पाएर उसको मनमा लोग्नेलाई खुशी तुल्याउने साधन नै कुरा हो भन्ने अठोट हुन गएको थियो । त्यसैले विस्तार-विस्तार लोग्नेले कुनै कुरै नउठाए पनि आफैँ त्यस बारेमा कुरा उठाउन थाली अँ हरिकृष्ण त बी.ए. पास गर्यो रे होइन ? …” अनि कहिले ऊ भन्थी- “पल्लापट्टिकी वसुन्धरा भन्थी मान्छे त राम्रो हो रे हरिकृष्ण । त्यो वसुन्धरा त उत्ताउली ! हो साँच्चि हो ? हरिकृष्ण राम्रो हो त ? … तपाईंलाई पनि राम्रो लाग्छ ?… ए साँच्चि त तपाईंले त देखेकै छैन हगि ?”
“मननाया भावावेशमा कुरा गर्दै जान्थी । त्यतिबेला सत्यलालको अनुहारमा कति पीडाका रेखाहरू कोरिन्थे ऊ पत्तो पाउन्नथी । ऊ आफ्नै उमङ्गमा फलाक्तै जान्थी अनि कुराको वेग रोकिएपछि ऊ लोग्नेको अनुहारमा हेर्थी । सत्यलाल अनुहारको पीडा लुकाउन एकदमै हाँस्ने कोसिस गर्दथ्यो । ‘अँ राम्रै होला…. राम्रो होला, राम्रो हुनैपर्छ ।’ यति भनेर ऊ खित्का छोडेर हाँस्थ्यो र मनमायालाई छातीमा टाँसेर उसको ओठमा असंख्य म्वाइँको छाप लगाइदिन्थ्यो । मानों ऊ यही असंख्य चुम्बन र बासनाको थुप्रोले आफ्नो मनको पीडालाई पुरिदिन चाहन्थ्यो ।
‘तर तपाईं जति राम्रो त होइन’ मनमाया भन्थी र आफै पनि उत्तेजनामा आएर लोग्नेको ओठमा ओठ जोडिदिन्थी । त्यसको केही बेरपछि दुवैजना असरल्ल परेर पिठ्यूँ-पिठ्यूँ जोडेर सुतेका देखिन्थे ।”
यहाँनिर आएर रवि फेरि एकछिन चूप लाग्यो अनि फेरि शुरु गर्यो, “यसरी प्रत्येक रात सत्यलाल आफूभित्र एउटा नौलो प्रवृत्तिलाई उक्सेको पाउन थाल्यो । प्रत्येक रात जब ऊ कोठामा पस्थ्यो र मनमायाको गोरो सुकुमारी र उज्यालो अनुहारमा उसका आँखा पर्दथे, त्यस अनुहारसँग सम्बन्धित अर्को अनुहारको कल्पित चित्र उसका आँखावरिपरि घुम्न थाल्दथ्यो । त्यो कल्पित चित्र, जसलाई उसकी स्वास्नीले पैले नै प्रेम गरिसकेकी थिई । त्यो कल्पित चित्र मनमायाको प्रत्येक अवयवसँग गाँसिएर रहेझैँ उसलाई लाग्थ्यो । प्रत्येक अवयवसँग – उसका पातला र लाल ओंठसँग उसको बान्किलो अनुहार, मिलेको जिउँडालसँग ! अनि उसका ठूला-ठूला निर्मल र कमल बान्किला आँखाका कुनाबाट त त्यो कल्पित चित्रले च्याएर आफूमाथि व्यङ्ग्यको मुस्कान फ्याँकिरहेझैँ लाग्दथ्यो, अनि केही तिर्मिराएझैँ हुन्थ्यो । … उत्तेजनाले रिङट्टाएझैँ हुन्थ्यो अनि खाटमा पल्टेर आफैलाई सान्त्वना दिन खोज्दथ्यो- “यो त केही होइन, केही कुरै होइन । यसमा के कुरा छ र !” तर लाख चेष्टा गर्दा पनि उसको अन्तरले सान्त्वना पाउन सक्दैनथ्यो । आज पनि उसकी आफ्नी स्वास्नी त्यो पैलेको मान्छेलाई सम्झन्छे, उसका बारेमा चाख दिन्छे, यतिसम्म कि बी.ए. पास गरेकी सम्म पनि थाहा पाउँछे । ऊ दयनीय आँखाले स्वास्नीको अनुहारमा हेर्दथ्यो । स्वास्नीको त्यति मीठो अनुहार पनि उसलाई जुठो लालमोहनजस्तो लाग्दथ्यो त्यो लालमोहन जसमा ऊ आफूभन्दा पहिले नै अरूले दाँत गाडिसकेको छ, त्यसको ओठको रस जो आफूभन्दा पहिले अरूले चुसिसकेको छ ।
विस्तार-विस्तार सत्यलालको मनको सङ्घर्षको छाप उसको अनुहार व्यवहारमा पनि देखिन थाल्यो । उसको अनुहारमा चिन्ताका रेखाहरू प्रस्ट कोरिन्थे, उसको व्यवहारमा भाग्ने, लुक्ने र परस्परमा हुने प्रवृत्ति प्रस्ट देखिन्थ्यो । मनमायाले पनि यो पत्तो नपाएकी होइन । लोग्नेको अनुहारमा परेको कष्ट र पीडाको छायाँले ऊ ज्याद दुःखित हुन्थी अनि लुक्ने, भाग्ने प्रवृत्तिदेखि अलि डराएजस्ती र शङ्कित पनि हुन्थी – उसबाट त केही भूल भएन ?.. तर लाख चेष्टा गर्दा पनि आफ्नो भूल कहाँनिर भएको छ भन्ने कुरालाई टुङ्गो लाउन सक्तैनथी । लोग्नेको अनुहार हेर्थी, त्यसमा पीडा, व्यथा र विश्वासको आभास पाउँथी उसलाई डर र शङ्का हुन्थ्यो-शायद हरिकृष्णलाई उसले एक दिन राम्रो भनेकी थिई, त्यसैले पो हो कि ? अनि ऊ लोग्नेको मनको भार हटाउन, उसको शङ्का हटाउन हरिकृष्णको वदख्वाइ गर्दथी । “सुन्नुभो !… त्यो हरिकृष्णे गुण्डो आजभोलि हाम्रै घरको बाटो हिँड्छ । अस्ति त म लुक्ता-लुक्तै पनि देखिहाल्यो । आँखा जुध्नासाथ म भाग्न खोजें तर उसले देखिहाल्यो । ङिसिक्क हाँस्न खोज्ने, छिः मान्छे कस्ता गुण्डा हुन्छन्, कस्ता लोफर !”
यी कुरा मनमाया यति सरल र विश्वासपूर्ण स्वरमा भन्थी कि सत्यलालको अन्तरको कता-कता एक कुनामा दया र करुणाको एउटा छाल उर्लन खोज्दथ्यो तर त्यो अपरिचित हरिकृष्णको अज्ञात भूतले उसलाई यसरी घेरेको थियो मनमायाको उक्त कुरामा पनि ऊ लुकेको प्रेम पाउँथ्यो । ऊ उसका ठूला-ठूला र निर्दोष आँखामा हेर्थ्यो । त्यसमा पनि उही अज्ञात हरिकृष्णको कल्पित चित्र च्याएझैँ उसलाई लाग्दथ्यो ।
उसको मुटु पीडाले निचोरिएझैँ हुन्थ्यो । छटपटाउँथ्यो । त्यै छटपटीलाई लुकाउन ऊ मनमायासँग सोद्धथ्यो- “उसलाई देख्दा कस्तो लाग्यो त ?… डर लाग्यो कि ?”
“मलाई केको डर !… ऊ मेरो बाजे होइन, मालिक होइन, डराउने के काम ?” मनमाया रोष झिकेर भन्थी !
“तैपनि…, तैपनि… ऊ…” सत्यलाल हाँस्ने चेष्टा गर्दथ्यो तर उसको हाँसो अत्यन्त फिका, अनाडीले बनाएको चियाको झोलजस्तो फिका देखिन्थ्यो ।
“म उसलाई पटक्कै बिर्सिदिन चाहन्छु, बिर्सिदिन चाहन्छु तर ऊ किन सधैं हाम्रै घरको बाटो अन्भरिन्छ ?… अरू बाटो छैन र ?…” मनमाया प्रायः रोएको स्वरमा आफैंसँग कुरा गरेझैँ बडबडाउँथी मानो त्यहाँ ऊ एक्लै छ । सत्यलालको छातीमा व्यथाको भार उर्लन्थ्यो उसकी स्वास्नी पहिलो प्रेमीलाई बिर्सन खोज्छे, तर सक्तिन । उसको छातीबाट चिसो सुस्केरा निस्कन्थ्यो । ऊ केही नबोली डङ्ग्रङ्ग पलङमा लडिदिन्थ्यो ।
यस्तै सिलसिलामा एक दिन बिदा परेको दिनमा मनमायाले सत्यलाललाई झ्यालमा डाकेर तल सडकमा हिँडिरहेको गोरो, राम्रो र अप-टू-डेट ठिटोलाई देखाउँदै भनी – ‘ऊ त्यै हो… त्यै हो !…. मोरो हाम्रै घरको बाटो किन हिँड्नुपरेको नि ? मारी खुट्टा भाँचिदिनु अनि उत्तिकै होस् ।’
सत्यलालले उक्त कुराको केही जवाफ दिएन, खालि उसका अनुहारमा के के रेखाहरू कोरिँदै मेटिँदै गरिरहे ।”
रवि यहाँनिर फेरि चूप लाग्यो । होटेल अब प्रायः खाली भैसकेको थियो । केवल दक्षिणपट्टि कुनामा दुइटा केटाहरू चप र चिया खाँदै थिए अनि पश्चिमपट्टिको एउटा टेबिलमा फगत एउटी आइमाई थिई । उसको आँखा घुमाइ, मुख बङ्गाई इत्यादिले ऊ कसैको कुनै शिकारको प्रतीक्षा गरिरहेको झैँ लाग्दथी । रविले हामी सबैको अनुहारमा आँखा घुमायो । सबै अल्मलिएका थियौं ।
“यस्तो बेलामा सत्यलालको ठाउँमा तिमीहरू भए के गर्दथ्यौ, यो भन !… ल भन् प्रिय… लौ तँ नै माधव !”- रविले कथालाई रहस्यमै डुबाउने पाराले भन्यो ।
“के गर्थ्यो भन्ने कुरा त परेको बेलामा मात्र हुन्छ, अहिले कसरी भन्न सकिन्छ ।” मैले भनें ।
“शायद अरू कुनै मान्छे भए आफ्नो प्रतिद्वन्द्वीलाई मारिदिन्थ्यो अथवा स्वास्नीलाई नै”- रवि भन्दै गयो- “तर सत्यलालले त हरिकृष्णसँग दोस्ती गर्यो । यो दोस्ती कहाँनिर र कसरी शुरु भयो थाहा छैन तर थोरै दिनमा नै यी दुईजना अभिन्न मित्रजस्ता देखिए । जहाँ एउटा हुन्थ्यो त्यहाँ अर्को निश्चय नै देखिन्थ्यो तर यो मितेरीका बीचमा सत्यलालले हरिकृष्णसँग आफ्नो पारिवारिक जीवनका बारेमा एक लवज पनि केही बताएन । कुनै दिन हरिकृष्णतिरबाट त्यो कुरा उठे पनि ऊ त्यसलाई अर्कैतिर मोडिदिन्थ्यो । ऊ हरिकृष्णकै पैलेको जीवनलाई कोट्याउँथ्यो-‘साँच्चै प्रेम भन्ने
वस्तु पनि अनौठो हगि ? जिन्दगीमा कति गहिरो प्रभाव पार्छ यसले । साँच्चै तपाईंको जीवनमा तपाईंको पैलो प्रेमको प्रभाव कत्तिको परेको छ हँ ?… कि मेट्टिइसक्यो ?’
‘खोइ के भनूँ, दुई महिनाअघिसम्म त मलाई त्यसको कुनै असर जिन्दगीमा छैन भन्ने लाग्दथ्यो तर मैले उसलाई बिर्सन सकेको रहेनछु ।… आखिरी कुनै दिन ऊ सम्पूर्ण मेरी थिई, के यो कुरा यथार्थ होइन र ?… त यसलाई हेल्चेक्राइँ गर्न कसरी सकिन्छ ?’- हरिकृष्ण गैह्रो स्वरमा भन्थ्यो ।
‘तपाईंलाई यस्तो कसरी लाग्न गयो त ? … के फेरि उसले तपाईंसँग सम्बन्ध जोडी र ?’- सत्यलाल अरू गहिरो जाने कोसिस गर्थ्यो ।
‘एक दिन मैले उसलाई एक्कासि देख्न पुगें… हुन त उसको बिहा भैसक्यो रे ! .. तर मलाई आफ्नो छातीको पुरानो घाउ कता कतो कोट्याएझैँ लाग्यो ।’ हरिकृष्ण भावनामा डुबेझैँ भन्थ्यो- ‘आखिर एक पटक त मैले उसलाई साँच्चै प्रेम गरेको थिएँ ।’
‘अनि उसका बारेमा तपाईंलाई कस्तो लाग्छ ?.. के उसको पुरानो भावना पनि फेरि ताजा भयो होला कि ?’ हुन त जति हरिकृष्ण कुरा गर्दथ्यो उति सत्यलाललाई भित्र पीडा हुन्थ्यो तर ऊ त्यस पीडालाई, किन र कुन प्रवृत्तिले धकेलिएर हो, झन् झन् गहिरो तुल्याउन मज्जा मान्दथ्यो र यस्तो प्रश्न सोद्धथ्यो- ‘उसका बारेमा म यसै हो भनेर त कसरी भन्न सक्छु र ! तर मलाई कता कता लाग्छ ऊ मलाई नचाहेर पनि हेर्न खोज्छे ।.. ऊ आफ्नो बिहाइता स्वास्नीमान्छेको संस्कारले मलाई घृणा गर्न खोज्दछे- मलाई देखेर ऊ लुक्न पनि खोज्दथे, उसको अनुहार नराम्रोसँग बिग्रन्छ पनि तर.. तर पनि ऊ म आउने बेलामा सधैं झ्यालमा किन देखा पर्छ ?… के सधैं काकताली परेको होला त ?…’
सत्यलाललाई यति नै यथेष्ट हुन्थ्यो । ऊ भाउन्न भएझैँ पीडा र व्यथाले ढुनमुनाउँदै पराजित अवस्थामा घर आउँथ्यो र मनमायाको काखमा सम्पूर्ण आफूलाई सुम्पेर यो सबै बिर्सिदिन चाहन्थ्यो । सबै सबै बिर्सन । ऊ आफ्ना व्यथित र करुण आँखाले स्वास्नीतिर मुखमा हेरेर निर्बल र शिथिल विश्वास आफूमा भर्न चाहन्थ्यो- ‘मनमाया केवल मेरी हो,… एकलौटी मेरी !…’ उसको अवस्था अहिले ठीक त्यो हारेको जुवाडेको जस्तो भएको थियो जो पोल्टामा धनको थुप्रो भएको कल्पना गर्दा-गर्दै बिउँझन्छ ।
यस्तै भावनाको उर्लंदो थचारिँदो छालको माझमा सत्यलालको जिन्दगी खाली डुङ्गाजस्तै डोलाउन थाल्यो । ऊ कहिले एकदम विश्वास गरेर भन्न खोज्दथ्यो- यो केही होइन अनि तत्कालै उसको अन्तरमा तीखो भालाजस्तो भएर हरिकृष्णको स्वरले घोच्दथ्यो- ‘के सधैं काकताली परेको होला
त ? … के काकताली होला त ?… काकताली…’ ऊ रन्थनिन्थ्यो अनि यही रन्थनमा एक दिन दिउँसै घर उसले आएर मनमायासँग रातीको शो सिनेमा जाने निधो सुनायो, ‘मन, मैले दुइटा टिकट बुक गरेको छु । भरेको शो सिनेमा जानुपर्छ, तिमी तयार भएर बस है ?’ यति भनेर ऊ बाहिर निस्क्यो । मनमाया आफ्नो तयारीमा लागी ।
सिनेमा शुरू हुनुभन्दा एक घण्टा अगाडि सत्यलाल घर आयो, मनमाया तयार थिई । आज ऊ साँच्चै राम्री देखिन्थी नयाँ नाइलनको सारी, लोग्नेलाई मनपर्ने स्टाइलमा कोरेको कपाल, कानमा गीनी गोल्डको रिङ सत्यलाल अपलक त्यसमा हेर्दै रह्यो अनि उसको छातीबाट एउटा दीर्घ निःश्वास निस्केर शून्यमा मिल्यो अनि उसले मनमायालाई हिँड्ने आज्ञा दियो ।
सिनेमामा पुगेर मनमायालाई सीटमा छोडेर सत्यताल हल बाहिर निस्क्यो । मनमाया उसलाई पर्खिरही तर खेल शुरु भैसकेर पनि ऊ भित्र आएन । मनमाया हडबडाई । ठीक त्यसै बेला त्यो खाली सीटमा कोही आएर बस्यो । मनमायालाई ढुक्क भयो । उसले आधारका लागि आफ्नो हात उसको हातमा दिई । ‘कति राम्री मान्छे त्यो हिरोइन ।.. त्यो मीनाकुमारी होइन ?’ उसले बडो भावुक स्वरमा सोधी ।
‘अँ, मीना हो ।’ त्यो मानिसको स्वर सुनेर मनमायालाई एउटा झट्का लाग्यो । उसले अँध्यारोमा बल गरेर हेरी यो त उसको लोग्नेको आकृति होइन ! बिजुलीको झट्कामा उसले हात थुती । को हो यो ? … उसले पर्दाबाट फर्केको प्रकाशमा चिन्न खोजी- हरिकृष्ण ! उसको कपाल रिङट्टायो, आँखा अगाडि अँध्यारो भयो । ऊ ढुनमुनाउँदै हलबाट बाहिर निस्की ।
उसको अनुहारमा मिनेट मिनेटमा असङ्ख्य भावनाका विरोधी रेखाहरू कोरिइरहेका थिए । एक्कासि मनमायालाई रगत सुकेकी, होश उडेकी झैँ ढोकामा उभिएकी देखेर सत्यलाल ओछ्यानमा उत्तानो परेर दलिन गन्दै थियो ।” रवि भन्दै गयो, “ऊ हडबडायो अनि हाँस्ने प्रयत्न गर्दै भन्यो- तिमी त सिनेमा छोडेर आइछ्यौ त ! …कि राम्रो लागेन ?…”
मनमाया केही बोलिन । मूर्ति उभिएझैँ एकटक शून्य आँखाले लोग्नेको अनुहारमा हेरिरही । उसको अनुहार भावशून्य थियो । सत्यलाल विस्तारै उठ्यो र पूर्वपट्टिको झ्यालमा गएर उभियो । बाहिर अन्धकार थियो- आकाशको विशाल अन्धकार गर्भमा असङ्ख्य ताराहरू छटपटाइरहेका थिए ।”
“हो ?” रवि चूप भयो, एउटा दीर्घ निःश्वास फेरेर । हामी अधीर भयौं- “के यत्तिकै…”
“अँ, अहिलेलाई यत्तिकै हो ।” रविले भन्यो- “तर जीवन रहेसम्म कथा कसरी टुङ्गिएला र !”
त्यसै बेला होटलको केटोले आएर भन्यो- “मालिक, रात त…. ।” हामी सबै उठेर बाहिर आयौँ । साँच्चै रात निकै गैसकेको रहेछ । आकाश आज पनि अँध्यारो थियो । आज पनि त्यसको विशाल कालो गर्भमा असङ्ख्य ताराहरू छटपटाइरहेका थिए ।
(रमेश विकलको कथासंग्रह ‘आज फेरि अर्को तन्ना फेरिन्छ’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १३ कार्तिक २०८२, बिहीबार
  
				१३ कार्तिक २०८२, बिहीबार				

 




 
																	 
																	 
																	