म एक महिनाजति काठमाडौँ बस्नुपर्ने भयो ।

मेरो डेरा बालुवाटारकै सेरोफेरोमा थियो । चिनियाँ दूतावासदेखि उत्तरतर्फबाट पूर्वतिर एउटा गल्ली जान्छ । त्यही बाटो भएर म डेरा जान्थेँ । त्यही बाटोमा एकपल्ट चिया खाने क्रममा म एउटा पसलमा छिरेको थिएँ । पसलको नाम ‘दिदीबहिनी खाजा पसल’ थियो । पसल सञ्चालक दुईटी दिदीबहिनी रहेछन् । तीमध्ये दिदी अलिक मोटी, खुट्टा खोच्याएर हिँड्ने । बहिनी दिदीभन्दा किञ्चित अग्ली र पातली । उनको देब्रे हातका तीनवटा औँला रहेनछन् । दिदीबहिनी दुवै जना राम्रा र बान्की परेका थिए ।

म अक्सर चिया वा खाजा खान त्यहीँ जान थालें ।

अघिल्ला भेटघाटमै उनीहरूसँग चिनाजानी भएको थियो, बिस्तारै बातचीत पनि हुन थाल्यो । थाहा भयो, उनीहरूको घर रामेछाप जिल्लाको कोलोन्जोर रहेछ । माओवादी जनयुद्धताका दुवै दिदीबहिनीलाई माओवादीले सेनामा लगेको रहेछ । उनीहरू माओवादी सेनामा गएको पन्ध्र दिन नबित्दै उनीहरूको बाउलाई शाही सेनाले लगेछ । त्यसपछि बाबु मरे–बाँचेको खुटखबर केही रहेनछ । यिनै छोरीहरूले आफूले पाउने तलबको केही भाग घरमा पठाउँदा रहेछन् । त्यसैबाट घरमा रहेकी आमा र तिनको भाइको गुजारा चलेको रहेछ ।

माओवादी सेनाको बैठकले गाउँकै पिप्ले चौतारीमा उनीहरूको बाउ वीरबहादुर सुनुवारको सालिक राख्ने निर्णय गरेको रहेछ । यो कुरा यी दिदीबहिनीले आमालाई सुनाएका रहेछन् । आमा खुशी भएकी पनि थिइन् रे । बाउलाई मारेकै भए तापनि युगौँ–युग बाँच्ने भए भन्ठानेर यी दिदीबहिनीहरू पनि खुशी नै भएका थिए । कहिलेकाहीँ उनीहरू पनि युद्धमा माओवादीले जितेपछि ठूलो जागिर पाउने सपना देख्थे ।

यस्तो सपनाले ती दिदीबहिनीलाई अझै जोश दिलाउँथ्यो र पार्टीले दिएको जिम्मेबारी पूरा गर्न हौसला बढाउँथ्यो । एकपल्ट एउटा कमान्डरले भनेको पनि थियो रे – “युद्धमा हाम्रो पार्टीले जितेपछि क. जुनालाई उचित सम्मानका साथ रोजगार दिनुपर्छ ।”

घरमा उनीहरूको खासै राम्रो नाम थिएन । माओवादी पार्टीबाट जेठीले जुना र कान्छीले तारा नाम पाएका थिए । यी दुवै जनयुद्धमा माओवादी पार्टीलाई विजय गराउन दिलोज्यानले लागेका पनि थिए ।

जनयुद्धका क्रममा होलेरीमा नेपाली सेनाले माओवादीको पूरै बटालियनलाई घेरा हालेको थियो । त्यो घटनामा धेरै जनमुक्ति सेना मारिएका थिए । संयोगवश त्यहाँबाट भाग्न यी दिदीबहिनी सफल भएका थिए । जुनाको तिघ्रामा गोली लागेको थियो । यही युद्धमा ताराले देब्रे हातको पन्जा गुमाएकी थिइन् । केही महिनाको उपचारपछि उनीहरू पुनः जनमुक्ति सेनामा सरिक भएका थिए ।

नेपालका असी प्रतिशत गाउँ माओवादी नियन्त्रणमा भइसकेका थिए । शहरमा पनि व्यापक रूपले माओवादी सेना घुसिसकेका थिए । विजय त्यति टाढा छैन जस्तो लागेको थियो – उनीहरूलाई । दिदी कमान्डर पनि भइसकेकी थिइन् ।

ठाउँ–ठाउँबाट माओवादीको जीतको खबर आउँथ्यो । यस्ता खबर सुन्दा उनीहरू थप उत्साहित हुन्थे । तर यो उत्साह र खुशी धेरै दिन रहेन । एकाएक माओवादी पार्टीले जनयुद्ध अन्त्य भएको घोषणा गरेछ र हतियार र सेना संयुक्त राष्ट्र संघको जिम्मा लगाएर पार्टी संसदीय राजनीतिमा प्रवेश गर्ने भएछ । देशभरिका जनमुक्ति सेना शिविरमा एकत्रित गराइएछन् र झन्डै एक वर्षजति शिविरमा रहेपछि माओवादी सेना विघटन नगरी पार्टीले संसदीय चुनावमा भाग लिन नपाउने अवस्था आएको रहेछ । निर्वाचनमा भाग लिन २०६४ साल मङ्सिरतिर जनमुक्ति सेना विघटन गरियो । यस क्रममा केही जनमुक्ति सेना नेपाली सेनामा समायोजन भएछन्, जुना र तारालाई भने केही पैसा दिएर घर फर्काइएको रहेछ ।

माओवादी जनयुद्धबाट बिदा भएर घरमा पुग्दा यी दिदीबहिनीले न आमालाई भेटे, न भाइसँग भेटघाट भयो । घर पनि भत्किसकेको रहेछ ।
गाउँलेले भनेछन् – तिनकी आमा त्यहाँ बस्न नसकेर माइत गइन् ।

यी दिदीबहिनी मावली पनि गएछन् । थाहा भयो, जिन्दगी काट्न गाह्रो हुन्छ, त्यसैले उमेर मिल्दो मान्छेसँग माइतीले आमाको विवाह गरिदिएका रहेछन् ।

भाइ बेपत्ता भएछ ।

त्यसपछि यी दिदीबहिनी सामु आमासँग जाने विकल्प रहेन । मावली बस्न पनि मनले मानेन ।
यता क. प्रचण्ड प्रधानमन्त्री भइसकेका थिए । उनले केही न केही गरिदेलान् भन्ने आशले यिनीहरू काठमाडौँ आए ।

काठमाडौँमा माओवादी कमान्डरहरूको घर बन्दै थियो, कसैले घरै किनेका थिए । जताततै माओवादी नै माओवादी थिए । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म माओवादी थिए । सबै शक्तिमा थिए । जुना र ताराले सबैजसो माओवादीको घरघर चाहारेछन् । तर कसैले पनि काममा लगाइदिन चाहेनन् वा सकेनन् ।

त्यसपछि केही उपाय नलागेर यिनीहरूले यो चिया–खाजाको पसल खोलेका रहेछन् ।

मैले विवाह सम्बन्धी प्रश्न गर्दा जुनाले भनेकी थिइन् – “म त अब बिहे गर्दिनँ । बुढी भएर के बिहे गर्नु र ताराले चैँ गर्न पाए हामी बुढी भएपछि टेक्ने लौरो हुन्थ्यो कि भन्ने लागेको छ ।”

===

मेरो काठमाडौँ बसाइँ सकिएको थियो । त्यसपछि लामो समयसम्म मेरो काठमाडौँ जाने काम परेन । एकैचोटि बहत्तर साल माघमा काठमाडौँ गएँ । यहाँ आएपछि रातभरि जुना र ताराको सम्झना आइरह्यो । बिहानै पसलमा भेट्न गएँ । उनीहरूले पसल गरेको ठाउँमा अर्कैले किराना पसल गरेको रहेछ । बुझ्दै जाँदा थाहा भयो – जुना पक्षघात भएर बितिछन् । तारा भने लाम्टिङ मार्गको चोकमा कठघरामा मकै पोलेर बेच्दिरहेकी रहिछन् ।

भेट गर्न गएँ । ताराले बिहे गरिछन् । अब ताराको श्रीमान् र एउटी छोरीसहितको परिवार रहेछ । श्रीमान् राम्रोसँग बोल्न सक्दारहेनछन् । निरन्तर धुँवामा बसेर पनि होला, ताराको आँखा कमजोर भएर अलिअलि मात्र देख्दिरहेकी रहिछन् ।
कुराकानीबाट थाहा भयो – ताराको सर्वाधिक इच्छा भनेको छोरीलाई पढाउनु रहेछ । श्रीमान् यदाकदा लेबरको काम पनि गर्दारहेछन् । काम नपाएको बेला दुवै जना मकै पोल्ने र बेच्ने काममै व्यस्त रहन्छन् ।

यही भेटमा परस्परमा हालखबर लिन–दिनका लागि ताराको परिवार र मेरा बीचमा फोन नम्बर आदानप्रदान भयो ।

===

पछि काठमाडौँमा बालेन साह मेयरमा निर्वाचित भए भन्ने सुनियो । उनले काठमाडौँ सफा गर्ने अभियान अन्तर्गत फुटपाथमा पसल गर्नेहरूलाई हटाउन थाले रे भन्ने पनि खबर आयो । यसमा तारा पनि परिन् होला भन्ने मलाई लाग्यो । अहिले तारा र उनको परिवार के गर्दै होला भन्ने धेरै तर्कवितर्क मनमा खेलिरह्यो । पछि थाहा भयो, ताराका बुढाबुढी घर निर्माणमा लेबरको काम गर्दारहेछन् । छोरी पढ्दै रहिछ ।

समय बित्दै गयो । देशमा चरम कुशासन थियो । भ्रष्टाचार, बेथिति, कालोबजारी र तस्करीले जनता आक्रान्त थिए । देशमा बेरोजगारी थियो र लाखौँको संख्यामा युवाहरू विदेशिइरहेका थिए । यस्तोमा देशमा रहेका सचेत युवाहरूले सामाजिक सञ्जालमार्फत अवस्था परिवर्तनका लागि आवाज उठाए । त्यसको खासै प्रभाव सरकारमा परेको थिएन । युवा आवाजलाई सकारात्मक रूपमा लिएर सत्ताधारीहरूले सच्चिनुपर्ने थियो, तर उनीहरूले सच्चिनुको उल्टो सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे ।

यसबाट युवाशक्ति आन्दोलित भयो । काठमाडौँमा मात्र नभई आन्दोलन देशैभरि फैलियो । पहिलो दिनमै सरकारले शान्तिपूर्ण जुलुसमा गोलाबारी गर्‍यो । जसमा बीस जना युवा ठहरै भए भने हजारौँको संख्यामा गम्भीर घाइते भए ।

तेह्र पुगेकी र भर्खर चौध टेकेकी ताराकी छोरी दीपा चुप लागेर बस्न सकिनन् । उनी पनि आन्दोलनमा दौडिन् । दीपा पहिलो दिनको गोलाबारीमै सख्त घाइते भइन् । उनलाई जसोतसो अस्पताल पुर्‍याइयो ।

यो खबर सुनेर म मर्माहत भएँ । मैले काठमाडौँ जाने निर्णय गरें । जसोतसो म काठमाडौँ पुगेर सोझै अस्पताल गएँ । दीप निभिसकेको रहेछ, अर्थात दीपा अमर शहीद भइसकेकी थिइन् ।

म त्यहाँ थेग्न सकिनँ र बाहिर निस्किएँ । बाटाभरि केही देखिएन, केवल ताराको मर्मस्पर्शी रोदन टाढाटाढासम्म सुनिँदै थियो ।