
तपाईं धेरै दिनपछि आज मासु पसल जानुभयो । एउटा लामो दाह्री पालेको, शरीर मासुले भरिएको बलियो, आँखा राताराता गरेको कसाईले मासु मिलाएर ग्राहकलाई दिँदै गरेको देख्नुभयो । दयामाया नै नभएको मासुको थुप्रो मात्रै केही मानिसले देखेको तस्वीर ऊ हुनसक्छ । ऊ एकदमै लाग्ने हतियारले फरकफरक अङ्गलाई छुट्याउँदै मासुको अलग अलग थुप्रो पारिरहेको थियो । मासु, रगत र बोसोले हातमा चिप्लो बढेकाले सुती कपडाले हात पुछ्दै गर्थ्यो भने हतियारको बोसो हटाउँदै र साँध लाउँदै गरेको हुन्थ्यो । ऊ कति कठोर, निर्दयी र हिंस्रक ! तपाईंलाई लाग्थ्यो ।
बाहिर डोरीले बाँधिएर मृत्युलाई पर्खिरहेका धेरै निरीह र कमजोर जनावर तपाईंले देख्नुभएको छ । उनीहरू चेतनाले कमजोर भएर मानिसले फाइदा उठाएको हो कि मानिसको वाध्यता र विवशताको कुण्ठा कमजोर जनावरप्रति पोखेको अथवा मानिस सर्वाहारी भएर हो । के यिनीहरू मानिसको पवित्र- अपवित्र हृदयको लेखाजोखा गर्न सृष्टिमा बलिदान हुन तयार रहेका न्यायका तराजु हुन् ! कि यिनीहरूको जीवनको कुनै गुढार्थ छ ?
दुनियाँमा मासु काट्ने स्वचालित मेसिन कतिकति छन् र यसको व्यवसाय गर्ने कत्राकत्रा सानाठूला उद्योगहरू कति छन् । यसलाई मानिसको रुचि वा स्वादअनुसारको बनाउने फरफरक परिकार निर्माणका अनगिन्ती शिल्पी हातहरू छन् । के यी सबै सांसारिक अति आवश्यकीय व्यावहारिक गतिविधिलाई मानवताको चश्माले हेरी हेरीकन प्रश्नचिह्न लगाउनु अतिरञ्जित गर्नु हो अनि अति संवेदनशीलता हो वा मुर्ख्याइँ पनि हो ?
बजार किनमेल गर्न जानेहरू गइरहेका थिए । कोही मासु पसलतिर पिलिक्क हेरेर हिँड्नेहरू खुशीखुशी आफ्नै मनको व्यस्ततालाई सामान्य बनाउँदै अघि बढिरहेका थिए । केही कुकुरहरू पसल वरपर मासुको गन्धमा रमिरहेका थिए । केही हड्डी टोकिरहेका थिए । बाहिरपट्टिको खोरमा मृत्युको पर्खाइमा बसेका दुईचार प्राणी बाँकी नै थिए । बाहिरको प्राणीलाई उसले भित्र लगेर कति छिटो माऱ्यो र भुत्ल्यायो, तपाईंले पत्तै पाउनुभएन । उसले त्यसलाई भुत्लाविहीन सफा र चिल्लो बनाएर लडायो । “यसले चाहिँ मेरो व्यवसायको धर्म थाम्छ कि !” ऊ निधारको पसिना टकटक्याउँदै हँसाइको मुद्रामा बोल्यो- “३५ केजी कसो नहोला ।”
तपाईं त्यो बाटो प्रायः हिँड्दा आँखा जुधेमा ऊ मुसुक्क हाँस्छ । उसको मुखमा चुरोट हुन्छ । त्यो अवस्थामा तपाईं जहिल्यै उसलाई देख्नुहुन्छ । तपाईं उसको मासु पसल गएको बेलामा नबोलीरहन भने सक्दैन ।
“धेरै पछि आउनुभयो, कति लानुहुन्छ ?” सोध्यो ।
“एक केजी ।”
“पर्खनुस् है एकछिन् ।”
मानिसहरू पालो पर्खिएर बसेका छन् भनेर तपाईंले बुझ्नुभएको थियो ।
प्लास्टिकमा अर्डरअनुसारका तौल भएका पोकाहरू लिएर जानेहरू गइरहेका थिए । थपिने फाट्टफुट्ट थिए । कसाईका सहयोगीहरू आआफ्नै काममा तल्लीन थिए । सबैका हात, लुगा र अनुहारका भागमा रगतका टाटा देखिन्थे ।
ऊ बम्कियो – “मासुमा हड्डी, छाला, बोसो मिसिएको हुन्छ । कि हड्डी र छालाबिनाको पाल्नुपऱ्यो कि प्रकृतिसँग प्रार्थना गर्नुपऱ्यो ।”
“ए भाइ सानो स्वरले बोल न ।” कुनै ग्राहकले बोल्यो ।
“अघिदेखि यताको उताको, त्यो होइन यो चाहियो भन्दै ल्याङल्याङ गरेको मलाई मन परेन । राम्रो मासु दिएको छु । सबैलाई मिलाएर र पुऱ्याएर दिनुपर्छ । कसैलाई घटीबढी हुँदैन ।” ऊ फेरि बोल्यो ।
“तिमी मात्रै छौ यहाँ मासु पसले ! अरू चाहिँ छैनन् र । खूब ठूलो कुरा गर्छौ । काम नै कसाई ! स्वभाव पनि त्यस्तै !”
उसले आफूमाथि भएको छेडखानी र व्यङ्ग्य मिश्रित भनाइलाई बेवास्ता गरी रिसराग बिना बोल्यो – “सबैलाई राम्रै चाहिन्छ । तर यिनीहरूको जैविक बनोटमा सब मिसिएको छ । त्यसैले आँखाअगाडि सबैले देख्ने अनि थाह पाउने गरी मिलाएर दिइरहेछु त ।” उसले फेरि थप्यो – “मैले लुकाएको छैन ।
यति भनाभन हुनु अगावै तपाईं त्यहाँबाट हिँडिसक्नुभएको थियो ।
ग्राहकहरू पनि कल्याङमल्याङ गर्न थाले । ग्राहकले लिएर हिँड्न लागेको पोको कसाईले बाहिर आएर झ्वाट्ट तान्यो – “खै पैसा ? मासु लगेर पैसा दिनु पर्दैन ? पैसा नदिई बाटो लाग्ने ? खै ग्राहकको धर्म ? तिम्रो स्वभाव चाहिँ कसाईको रहेछ । अरूको पेसा व्यवसायलाई मार्ने, आँखाअगाडि दिउँसै लुट्ने !” कसाई चोक थर्किने गरी करायो ।
“हँ” – गोजी छाम्यो । “के रे, पैसा दिइन रे !” अनकनाउँदै अकमकिँदै बोल्यो – “मेरो गोजीमा छैन पैसा, दिइसकेँ ।”
कसाईले ग्राहकको हातबाट एउटा नोट तान्यो – “यो के हो ? यो हजारको नोट ।”
झगडा गर्न खोज्ने ग्राहक अक्क न बक्क भयो । ऊ लाजसरमले रातोपिरो देखियो । कसाईले पुनः हजारको नोट ग्राहकको गोजीमै हाल्दियो । उसले मासुको पोको भने अघि तानिसकेको थियो ।
पन्ध्र दिनपछिको कुरा हो । उसलाई बिहानै कुनै किराना पसलमा तपाईंले देख्नुभयो । उसका वरिपरि चारपाँचओटा त्यही चोकबजारका सानाठूला भुस्याहा कुकुर थिए ।
ऊ भन्दै थियो – “ला खा ।” उसको हातहातैबाट कुकुर अलि लामा प्रकारका बिस्कुट तान्दै थिए । “तँ उता जा । यो उसलाई हो । तँलाई त्यहाँ छ, खाइनस् भने तेरै भुँडी भोको हुन्छ ।” ऊ यस्तै गनथन उनीहरूसँग गर्दै गरेको तपाईंले देख्नुभयो ।
“आज शनिवार हो, मेरो पसल बन्द हुन्छ । तिमीहरू कहाँ छौ, के गर्दै छौ भनेर हेर्न आएको, खाए खाओ नखाए नखाओ ।” ऊ भन्दै थियो – “तिमीहरूलाई हड्डीमासु मात्रै पुऱ्याउन त कहाँ सक्छु र ! कहिलेकहीँ खस्रो मसिनो पनि स्वीकार्नु पर्छ जसरी म तिमीहरूलाई स्वीकारिरहेछु ।” उनीहरू पुच्छर हल्लाईहल्लाई खाइरहेका थिए ।
तपाईं उसको नजिकै जानुभयो । उसको स्वस्फुर्त मानसिक, शारीरिक अवस्थाको पलभरमै अवलोकन गर्नुभयो । ऊ मुसुक्क हाँस्यो ।
“कति छन् यिनीहरू ?” तपाईंले सोधिहाल्नुभयो ।
“अहिले मसँग ६/७ ओटा छन् ।” ऊ खुरुखुरु बोल्न थाल्यो – “उ: त्यो अस्ति सुत्केरी हुँदा मरिसकेकी थिई । मैले घरबाट गाँस कटाएर मासुभात दिएर बँचाएँ । नगरपालिकाले बन्ध्याकरण गर्ने कार्यक्रममा छुटिछे । यसलाई बोकेर लगेर भए पनि गराएँ । अहिले सबै फेरिएका छन् । मैले खाने गरेका दुईचार खिली सुर्ती यिनीहरूले खाइदिने हुन् । जीव हुन्; बाँच्ने अधिकार छ । यो पृथ्वी यिनीहरूको पनि हो ।”
ऊ बोलिरहँदा तपाईंले कुरा काटेर प्वाक्क बोल्नुभयो – “अनि प्रत्येक दिन तिमीले मासु बनाएका जीवनको मूल्य, अस्तित्व र अधिकारको कुरा चाहिँ बिर्सियौ ?”
ऊ गम्भीर भएर बोल्यो – “जीवनयापनका क्रममा मैले मार्ने जीवहरू साधन हुन् व्यवसाय चाहिँ साध्य हो । तपाईं पढेलेखेको मान्छे, मेरो कुरा बुझ्नुभयो होला । मलाई जीव मार्ने अधिकार मात्रै छैन, बँचाउने पनि कर्तव्य छ । मेरो काम भनेको मासु बेचेर समाजसेवा गर्ने र आफ्नो पनि पेट पाल्ने उद्देश्यमा केन्द्रित छ । जसले जीवलाई हिंसा गर्छ, बँचाउँदैन वा निरीह जीवप्रति समभाव राख्दैन, त्यो चाहिँ मनुष्य होइन हिंस्रक हो ।”
उसले यसो भनिरहँदा तपाईं कुकुरका छाउरा र बिरालाका न्याउरासँग हुर्किनुभएको जस्तै लाग्ने दिनहरू सम्झनुभयो । आज पनि पचास वर्षे छेउछाउको उमेरमा घरबाहिर म्याउँ म्याउँ गर्दा वा कुनै प्राणी भोकाएको आभास हुँदा कहिले दूध दहीभात, मोही चिउरा, उब्रिएका हड्डी खुड्डी जहिल्यै राखिदिने गरेको याद ताजा भएर आयो । पाल्तु होस् या फाल्तु दिनमा दुईचार प्राणीको बाँच्न पाउने अधिकार नागरिकका तर्फबाट गरिने कर्तव्यको बोधले तपाईंलाई हर्षविभोर बनायो ।
ऊ बोल्दै थियो – “यसले मेरो मासु पसल कहिल्यै छोड्दैन । सानो छ तर ठूलालाई आउनै दिँदैन । उः त्यो सन्तोकी छ, जति दिए पनि सरक्क खान्छ, लोभ गर्दैन, आश गर्दैन । उः त्यो अर्कोलाई चाहिँ एउटा हड्डी फ्याँकिदिनु पर्छ, ङ्यार्र ङुर्र गरेर हैरान लगाउँछ, तमासा देखाउँछ ।”
“कुकुर पालेर खूब ठूलो कुरा गर्छौ त कसाई भाइ ! घरआँगन बाटोघाटो बिस्ट्याएर केही छैन । यी भुस्याहा कुकुरले हैरान लाइसके । केको नाक फुलाउँछौ ?” एक जना लट्ठी टेकेका सत्तरी वर्ष जतिका चन्दन घसेका घाँटीमा मसिनो गुटीको माला लगाएका ब्राह्मण कुर्लिए र ढुङ्गो टिपेर कुकुरलाई हान्न तयार भए ।
आफूले परिवारका सदस्य जतिकै माया गरेर पालेको विषयमा छेडेर बोल्दा उसलाई झनन्न रिस उठ्यो तर सम्हालिएर बोल्यो – “के रे बा ! बिस्ट्याए रे । तपाईंले राती ट्वाइलेट जानको गाह्रोले प्लास्टिकमा बिस्ट्याएर बाटातिर मिल्क्याउनुभएको बिर्सनुभयो ? अहिले पनि यो बाटोमा कुकुरको भन्दा बढी मान्छेको बिस्टा बढी कुल्चँदै हिँड्नुपर्छ । खूब सभ्य र शुद्धताको ढोँगी कुरा गर्नुहुन्छ ! त्यो हातको ढुङ्गा छोड्नुहोस् बा ।”
उसले यति भनेपछि ब्राह्मण पनि उच्च रक्तचापका बिरामीझैँ रातोपिरो भएर थरथरी काम्न लागे । यसले त्यो आफूलाई अप्ठ्यारो परेको रातको घटनालाई आँखैले देखेजस्तो गरी कसरी भन्यो भन्ने कुराले उनको अन्तर हृदयलाई च्वास्सै घोच्यो । रिसले चुरचुर भएर बोली निस्किँदै, फुस्किँदै र अड्किँदै हुन थाल्यो उनको । यही मौकामा तपाईंले पनि थप्नुभयो – “ए बुबा त्यसरी आवेशमा नआउनू न । तपाईंलाई थाह छ, महाभारतमा गौरव पाण्डवको लडाइँपश्चात् युधिष्ठिरसँगको स्वर्गको यात्रामा कुकुर पनि थियो भनेर । त्यसैले कुकुर र मानिसको मित्रता वा सम्बन्ध आजको मात्रै होइन, पौराणिक काल देखिकै हो ।” ब्राह्मणले मेरो मुखमा पुलुक्क हेरे ।
कसाई भाइले सुर्ती मजाले माडेर मुखमा चेप्न मिल्ने पहेँलो बनाइसकेको थियो, राख्यो । उसलाई फेरि बोल्ने मुड आएछ क्यारे, ब्राह्मण बातिर हेरेर बोल्न थाल्यो – “तपाईंले तिहारमा यिनै कुकुरलाई यमराजको दूतका रूपमा पूजा गरेर तिनै हातले टीका र माला लगाइदिनुभएको होइन ? मलाई यी निरीह र बोल्न नसक्ने प्राणीप्रति गलत व्यवहार गरेको मन पर्दैन ।”
किराना पसले भाइले सब कुरा सुनिरहेको थियो । उसलाई पनि बोल्न खसखस लागेछ – “हामीले साइन्समा पढेका थियौँ; पहिलो पटक अन्तरिक्षमा मानिससँगै कुकुर पनि गएको थियो । जसको नाम लाइका थियो ।”
बुढा अघिदेखि रिसाएर कसाई भाइलाई पिलिक्क पिलिक्क हेर्दै थिए । बिहान छ बजेको समय भएर पनि रातजस्तै अन्धकार थियो । आकाश तुवाँलोले ढाडिएर ढपक्कै ढाकेको थियो । उत्तरतर्फ जाने गाडी आधा घण्टाअगाडि ट्याँट्याँ कराउँदै हुत्तिएर अघि नै गुड्किसकेको थियो । पश्चिमतर्फ जाने गाडीको हर्न अलिअलि गर्दै टड्कारो हुन थालेको थियो । पसलमा एकदुई जना ग्राहकको आगमनले पसले भाइ उतै व्यस्त थियो । कसाइ भाइ एउटा कुकुरको टाउको सुमसुम्याउँदै आँसु पिर्लिक्क पिर्लिक्क झार्दै थियो; बाँकी बिस्कुट पनि दिएर घर जाने जस्तो छाँटकाँट उसको देखिन्थ्यो ।
अचानक त्यहाँ ड्याम्म ड्याम्म गरेर ठूलो आवाज आयो । कसाई भाइ ब्राह्मणको लौरो खाएर पूरै उत्तानो परेर ऐया ! ऐया ! भनेर कराइरहेको थियो । कुकुरहरूले पनि एकदुई डन्डी भेटिसकेकाले काइँकुइँ गरेर यताउता भाग्न लागे । उनीहरू हाहु . . . . गरेर आफ्नो मालिक कुटिएकोमा विलाप गर्न थाले । त्यहाँ एकदुई जना मानिस थपिइसकेका थिए । उसले घुँघरुको लौराले तीनचार पटक खाइसकेको थियो ।
‘लु खा !’
‘ला !’
‘कसाई !’ भनी भनी हान्न थालेपछि र हान्न नछोडेपछि कसाई भाइले लौरो च्याप्प समात्यो र बिस्तारै उठ्यो । उसले ब्राह्मणको हातबाट लौरो सजिलै खोस्यो र भन्यो – “ब्राह्मणलाई हात लाउन हुँदैन भनेर गरिएको शास्त्रसम्मत कुराको पालना गरेर मात्रै म सहिरहेको थिएँ ।”
ब्राह्मण रिस र गोदाइको बल प्रयोगले शक्तिहीन जस्ता भएर थुरथुर काँपिरहेका थिए । यस्तो अवस्था देखेर उसलाई ब्राह्मणदेखि उल्टै दया लागेर आयो । फेरि कसाई भाइले ब्राह्मणलाई लौरो फर्काइदियो । हातमा लौरो नसमातिएपछि उसले दुवै हातले ब्राह्मणको लौरो हातमा समातिन सघाएर जमीनमा टेकाइदियो र हात जोडेर भन्यो – “अझै रिस मरेको छैन भने कुट्नुस् बा ! मलाई कुट्नुस् तर यी निरीह प्राणीलाई नकुट्नुहोस्, माया गर्नुहोस् ।”
ब्राह्मणले कसाई भाइको बायाँ आँखीभौँ मास्तिरबाट झर्दै गरेको रगतको मसिनो डोरो देखे । गहिरा आँखामा कुनै प्रतिशोध, हिंसा र घृणाको लेस पनि बाँकी रहेको देखेनन् । कुनै अद्भुत बुद्धत्व शक्ति छताछुल्ल पोखिएको शान्त, स्थिर र ज्ञानी परमात्माको दर्शन गरेको अनुभूति हुँदै गर्दा पश्चात्ताप र ग्लानिले उनको गला अवरुद्ध भई बिस्तारै थरथराउँदै लौरो टेक्दै आफ्नै घरतिर अघि बढे । कसाई भाइले उनलाई देखिउन्जेल टाढासम्म उनमा कुनै विचित्र परिवर्तनको क्षीण आशाले बारम्बार निर्निमेष हेरिरह्यो ।
ब्राह्मण हिँडेपछि उनीद्वारा डराइएका र तर्साइएका कुकुरहरू कसाईको छेउछाउ पुच्छर हल्लाउँदै एकछिन यताउता गरेपछि ढुक्क भएर नजिक आएर बसे ।
यिनीहरू यति धेरै स्वामीभक्त छन् कि वर्षौंपछि पनि आफ्नो मालिकलाई सुँघेर चिन्छन् र खुशीले लडीबुडी गर्छन् । जासूसी कामका लागि झन् तालिम दिँदा भाषा बुझेर यिनीहरू अनुसन्धानका काममा समायोजन हुन्छन् मनुष्य समाजमा । यति धेरै उपयोगी जीवलाई सदुपयोग गर्न नसकेको या नजानेको हो कि ठूलाठूला भौतिक महत्वाकाङ्क्षाको पछि कुदेर प्रकृतितर्फ फर्कने भित्री आँखा बन्द भएका हुन् मानिसका ! नत्र यो जीवप्रति असहिष्णु बन्नुपर्ने कारण के छ ?
तपाईं यी सब घटना मुढोजस्तो बनेर देखिरहनु भएको थियो स्थावर झैँ । कसाई भाइप्रतिको गलत विश्वास अघि नै हृदय र मस्तिष्कको अन्तरकुन्तरबाट निस्केर विलुप्त भैसकेको थियो । यो घटना देख्ने हेर्नेहरू पनि आफ्नो जीवनको पुनर्परिभाषा भारी हृदयको कुनाकानीतिर खोज्दै हिँडेको आभास हुन्थ्यो ।
= = =
यो घटना भएको रातदेखि ब्राह्मण राम्ररी निदाउन सकेनन् ।
उनको मन अथवा समग्र दिनचर्या अस्थिर रह्यो । जीवनको दैनिकी अनौठो बन्यो । सहनै नसक्ने खटपटी र बेचैनीले उनलाई सताउन थाल्यो । सपनामा कुकुरहरू आएर टोक्न र लुछ्न लागेकाले उनी भोक न तिर्खा भए । श्वास निस्केर गए त ढुक्कै तर न श्वास तान्न सके न फ्याँक्न; श्वास छातीमै अड्केर सास न बासका भए । श्वास छातीमै गाँठो परेर हल न चल हुँदै गए तर उडेर सधैँका लागि गएन । परिवारका सदस्यहरू पनि बुबामा देखिएको असामान्य व्यवहारदेखि दुखित भइरहेका थिए । समस्या झनझन बढ्दै गएकाले कान्छा छोरा अलि पढेलेखेका र बुबाको समस्यालाई नजिकबाट नियालिराखेका हुनाले मनोचिकित्सककहाँ लगेर देखाए । ब्राह्मणले कसाईसँगको झगडालाई बेलिबिस्तार लगाए । चिकित्सकको परामर्शअनुरूप बाबुलाई लिएर कान्छा छोरा घर आए ।
घर आएको पन्ध्र दिनपछि चोकमा अनौठो घटना देखियो ।
कसाई भाइले तपाईंलाई फोनबाट भन्यो – “चोकमा अनौठो घटना देखियो; तपाई तुरुन्तै आउनुपऱ्यो ।”
तपाईं झन् साथीभाइ भन्ने बित्तिकै हुरुक्क भएर घर गृहस्थीका जिम्मेवारी छोडेर कुदिहाल्ने मान्छे अझ त्यसमा अनौठो घटना थपिइसकेपछि उडेर त्यहाँ पुग्नुभयो । उसले चिया आधा रित्याएको थियो भने चुरोट चाहिँ पूरै तर तपाईंको गुलियोरहित एक कप चिया सेलाउन अलिकति बाँकी नै थियो । तपाईंले एक सुरुप लगाइहाल्नुभयो । उसले इशारा गरेर पूर्वतिर मुन्टो घुमाउँदै गर्दा तपाईंको पनि आँखा त्यतै घुम्दै गयो ।
हो रहेछ, त्यो विचित्र घटना नै थियो तपाईंहरू दुवैका लागि । अझ कसाई भाइका लागि यो घटना मर्मस्पर्शी, आशातीत र अविस्मरणीय थियो ।
ब्राह्मण बा आफ्नो वरिपरि भुस्याहा कुकुर जम्मा पारेर तिनीहरूलाई खानेकुरा दिँदै उनीहरूसँगै बात मारिरहेका थिए । प्रेमपूर्ण हाउभाउका साथमा जिस्कँदै र सुमसुम्याउँदै बिस्कुट र रोटी हातहातै खुवाइरहेका थिए । के साँच्चै अन्य निरीह जीवप्रति गरिने नकारात्मक व्यवहारले उनीहरूको आत्मालाई भड्काउँछ र त्यसको असर वा दोषको हिसाबकिताब बोकेर चित्र गुप्त बसेको हुन्छ । के मानिस निरीह जीवसँग प्रतिशोध लिएर मनमस्तिष्कमा नकारात्मक ऊर्जालाई शरीरभरि सञ्चय गरिराख्छ ! के मनुष्य बेसहारा मानवेतर जीवनको सहारा बन्न सक्दैन र ! कि मनुष्यलाई निरीहतासँग घृणा छ र जोसुकै कमजोरलाई शोषण र विभेद गर्न उद्धत छ ।
ऊ र तपाईं दुवैले यो घटनालाई अपलक, निर्द्वन्द्व र मुक्त हृदयले अघाउन्जेल हेर्नुभयो ।
= = =
यो घटना भएको एक महिना पछि माघ मध्य उताको दिन हुनुपर्छ । रातभरि कुकुर कराइरहे । उनीहरू अनेकौँ विलापमय आवाज निकाल्दै कहिले बजारको ओल्लो छेउ र पल्लो छेउ गरिरहे । जुनेली रात भईकन पनि आकाशमा बादल ढाडिएर औँसी घोप्ट्याएको महसूस हुन्थ्यो । कुकुरहरू हुँ . . . हुँ गरेर मान्छे रोएकै लयमा रातभरि कराइरहे । के यो जीवमा मानिसको हृदयविदरक क्षणको भविष्यवाणी गर्नसक्ने अन्तर्दृष्टि हुन्छ भनेर आँकलन गर्न सकिने आधारहरू केही छन् ? किन यिनीहरू मानिसको मनमस्तिष्क हल्लिने गरी कुनै अपशकुनको एकोहोरो शङ्ख धुन उरालेर आफ्नो व्यवहार र चरित्र देखाउँछन् ? के यिनीहरूलाई थाह हुन्छ मृत्युको रहस्य !
ब्राह्मणको प्राणपखेरु सजिलै बोल्दाबोल्दै उडेर गएछ । अब उनी यस धर्तीमा रहेनन् – रातभरि कुकुरहरू कराएको रहस्य यस्तो थियो ।
बा खसेको थाहा पाउने बित्तिकै कसाई भाइ कुदेर गयो । वरिपरिबाट घेरिएर मृत्युलाई आत्मसात गरिसकेको पार्थिव शरीरलाई उसले नियाल्यो र घाट लैजानका लागि तयारी गरिरहेका छिमेकीहरूसँग ऊ पनि मिसियो ।
तपाईं एक हप्तापछि बिहानी चिसोमा घुम्न निस्कँदा कसाई भाइ कुकुरहरूसँगै थियो ।
रतुवामाई – ८, मोरङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

