शहरको मुख्य चौकमा आज असामान्य भीड थियो । मान्छे होइन, अक्षरहरू थिए — ‘क’, ‘ख’, ‘ग’, ‘घ’… सबै पंक्तिबद्ध, झण्डा फहराउँदै, माइकमा नारा घोषणा गर्दै । उनीहरू लेखिएका शब्दहरूबाट स्वतन्त्र भएका थिए — किनभने शब्दहरूले अब अर्थ गुमाइसकेका थिए ।

‘लोकतन्त्र’ लेखिएको ब्यानरको अक्षर ‘ल’ अगाडि हिँड्दै थियो, थकित स्वरमा भन्यो — “हामीलाई धेरै पटक प्रयोग गरियो, तर कुनै पटक व्यवहारमा उतारिएन ।”

‘प’ अक्षरले उत्तर दियो — “हो, इतिहास बेचेर धेरैले ब्याज खाए, तर हामी अक्षरहरू मात्र टाँसिन सक्यौं, तिनीहरूको सोचमा कहिल्यै पस्न सकेनौं ।”

जुलूस अघि बढ्दै थियो — ‘न्याय’, ‘परिवर्तन’, ‘विकास’, ‘समाजवाद’ जस्ता शब्दका अक्षरहरू एक अर्कासँग ठोक्किँदै थिए । पुराना नारा थाकिसकेका थिए, नयाँ पुस्ताका आँखा अब तिनीहरूमा चमक देख्दैनथे ।

त्यो बेला आकाशमा ‘जेन्जी’ लेखिएको शब्द उड्दै आयो । त्यसका अक्षरहरू – ‘ज’, ‘े’, ‘न’, ‘जि’ – चिल्ला, नयाँ र चैतन्य थिए । उनीहरूले पुराना अक्षरहरूलाई भने, “अब हामीले शब्द होइन, अर्थ बदल्ने समय आएको छ । इतिहासका पानामा होइन, व्यवहारका गल्लीगल्लीमा लेखिने शब्द बन्ने हो ।”

‘राष्ट्र’ लेखिएको पुरानो शब्दका अक्षरहरू एकछिन मौन रहे । त्यसपछि ‘र’ अक्षरले बिस्तारै भन्यो, “हाम्रो पनि जिम्मेवारी हो—रूपान्तरण हुनु र पुस्तान्तरण गर्न सक्नु ।”

त्यसपछि शहरभर अक्षरहरूको नारा गुन्जियो— “समय गतिशील छ ! इतिहास बेचेर ब्याज खाने होइन, अब आफ्नै स्वरूप बदल्ने हो !”

अक्षरहरूको त्यो जुलूस अन्ततः कुनै पार्टीको झण्डामुनि होइन, उज्यालो भविष्यतर्फ हिँड्यो । पुराना शब्दहरू गल्दै गए, नयाँ अर्थहरू जन्मिँदै गए ।

र इतिहासको पाना पल्टिँदा लेखिएको थियो— “जब अक्षरहरूले विद्रोह गर्छन्, तब राष्ट्रको कथा फेरिन्छ ।”