“चोर….. चोर…. चोर….”

यो आवाज सुनेर घरको बार्दलीमा आएर हेर्दा नेपाल सरको घरसँग जोडिएको खाली जग्गामा मानिस जम्मा भइसकेका थिए । हेर्दाहेर्दै त्यहाँ छिमेकीहरूको भीड नै लाग्यो । म पनि त्यतै लागें ।

“हेर्नुस् न ! यो त मेरो घरको कम्पाउन्डमा पसिसकेको थियो । पानी तान्ने मोटर चोर्न आएको होला ।” नेपाल सरले भने । भीडको बीचमा एउटा केटो घोसेमुन्टो लगाएर उभिइरहेको थियो ।

“हैन, के भएको यस्तो ? समसाँझै चोरी लाग्न थाल्यो हाम्रो टोलमा ।” कसैले भन्यो ।

हुलमुलको फाइदा लिएर एकदुई जानाले त्यो केटोमाथि हात हाल्न शुरू गरेका थिए । एनजिओमा काम गर्ने बाबुरामले कानून हातमा लिनुहुँदैन भनेर रोके ।

“त्यसै चोर नभन्नु न ! म चोर हैन ।” कुटपिटबाट जोगिएपछि उसमा केही साहस आएजस्तो थियो ।

“अनि मेरो कम्पाउन्डबाट हाम फालेको हैन तँले ?” नेपाल सर कड्किनु भयो ।

“गल्लीको कुकुरले टोक्न खोजेर पो त्यहाँ चढेको थिएँ त ! त्यसै आरोप लगाउनु हुन्छ ! मान्छे हेर्नु न ! पल्लो टोलमा बस्छु । स्नो ह्वाइट कलेजबाट प्लस टु गरेको छु । विदेश जान खोजेको नमिलेर पो यहीं अड्किरहेको छु । तपाईंहरू त्यसै…”

मानिसहरूले ऊतिर ध्यान दिए । भेस्ट, पाइन्ट र जुत्ता त राम्रो लाएको रहेछ । अनुहार हेर्दा पनि मातापिता परिवारको जस्तो देखिन्थ्यो । बोली पनि त राम्रो रहेछ । उसलाई अपराधी साबित गर्न तम्सेको हाम्रो जमातमा कतै आफैंबाट अपराध त हुन लागेको छैन भन्ने भावना जागृत हुन लागेको थियो ।

एक छिन थप कल्याङमल्याङ भयो तर निष्कर्ष केही निस्केन ।

“त्यसो भए जाऊ त ! गज्याङगुजुङ गर्ने हैन नि फेरि ।” नेपाल सरले नै उसलाई छाडिदिए । केही चोरी भइसकेको पनि त थिएन । आशङ्का मात्रै थियो । यति भएपछि प्रहरीलाई फोन गर्न तम्सेका ओझा सरले पनि आफ्नो मोबाइल गोजीमा राखे ।

म पनि घर फर्केर सुतें ।

बेलुका हल्लाखल्ला सुनेर सुतेको म बिहान पनि हल्लाखल्ला सुनेर नै उठें । फेरि त्यहीँ हल्लाखल्ला चलिरहेको थियो । टोलको सरोकारमा आफ्नो उपस्थिति मैले पनि देखाएँ ।

ओझा सरको पानी तान्ने मोटर राति चोरी भएछ ।

हिजोको घटना वृत्तान्त फेरि दोहोरियो ।

“ए त्यो केटो यहाँ आएको थियो ?” हिजो नदेखिएको एउटा अनुहारले केटाको हुलिया बताउँदै प्रश्न गर्‍यो । सबैले ‘हो’ भने ।

“लागूपदार्थको लतमा परेको केटो हो त्यो । जे भेट्यो त्यही टिपेर हिंडिहाल्छ । नसक्नुको छ । त्यसैले लग्यो होला ।”

“हो र !” शायद म नै धेरै छक्क परेको थिएँ क्यारे ।

“पहिला त राम्रो केटा थियो नि । अहिले बिग्रियो । मान्छे बिग्रिन के बेर लाग्छ र । विगत हेरेर त मान्छे चिन्नै सकिन्न नि । दूध, लिटो, जाउलो खाँदै हुर्केको मानिसले एक दिन रक्सी पनि खाला भन्ने त के सोचिन्छ र ! तर खान्छ, म नै खान्छु  ! हा.. हा… !!”

उसको हाँसोले मलाई विस्मयमा पार्‍यो । मेरो मानसपटलमा विभिन्न पात्र र चरित्र घुम्न थाले । को को कति बदलिए हँ ???