दिनभर खेतको कामले लखतरान जिउ लिएर पहलमान ओछ्यानमा पल्टिन्छ । मधुरो टुकीको प्रकाशले जुनेली बिहानको जुनझैँ धपक्क बलेकी छे । ओछ्यानको छेउमै थचक्क आएर बस्छे । मेथी फुराएको तेलले पहलमानको खुट्टाको औँलादेखि कम्मरसम्म मालिस गरिदिन्छे । जुनेली मसिनो स्वरमा खुसुमुस कुरा गर्छे । पहलमान दोहोरो जवाफ नफर्काइ अँ र नाइँ को जवाफ मात्रै दिन्छ । केही प्रतिक्रिया नै नआएपछि पहलमानलाई घच्घचाउँछे । ऊ त कतिखेर भुसुक्कै निदाइसकेछ । जुनेली मनमनै फतफताउँछे । “जहिल्यै मनको कुरा गर्ने बेला निदाइ हाल्न पर्ने । बिहे भएको पनि नौ वर्ष भो । मनको एउटा कुरा सुनाउन पाएकी छैन । ” बाकस माथिबाट च्यादर झिक्छे । सेतो रङको च्यादर धुवाँले कालो भइसकेको हुन्छ । जुनेली श्रीमानलाई ओढाइदिन्छे ।

तातेताते गर्दै खेलिरहेको बालक आँगनमा घरी यता दौडिन्छ घरी उता दौडिन्छ । जुनेलीलाई कचौरामा बोकेको कोदोको लिटो खुवाउन हम्मे हम्मे पर्छ । फेरि दौडिँदै बाको काखमा लुट्पुटिन्छ । आमालाई दुःख दिन पाएकामा खित्का छोडेर हाँस्छ । जुनेली निधारमा मुजा पर्ने गरी एकोहोरो बालकलाई हेर्छे । बालक लाहाडे पल्टेर आमाको फरिया समातेर एक फन्को मार्छ । त्यति नै बेला जुनेली बालकलाई पक्रन सफल हुन्छे । एक गाँस लिटो “को खाइ को खाइ” गर्दै खुवाएर पुलपुल्याउँछे । बालकले मुख आँ गर्छ अनि ग्वाम्म लिटो खान्छ । ऊ सन्तोषको श्वास फेर्दै खुसीले पहलमानको अनुहारलाई चियाउँछे । डोको बुन्न लागेको पहलमान जुनेलीको अनुहार हेर्दै मुसुक्क मुस्कुराउँछ । फूल झैँ फक्रिएको छोरोलाई देखेर उनीहरू दुवै जना खुसी छन् । त्यो बालक यसरी हुर्कियो कि उसको विकासक्रमले मानव विकासक्रमको एउटा नयाँ अनुसन्धानको विषय बन्दै थियो । सर्वगुण सम्पन्न बालकलाई देखेर गाउँलेहरू अचम्मित थिए । अरुले आफ्नो छोराको बयान गरेको देखेर पहलमान र जुनेली मख्ख हुन्थे । जति छोरो हुर्किँदै जान्छ, उति बाआमाको उमेर बढ्दै जान्छ । गाउँकै विद्यालयमा माध्यमिक तहको परीक्षा उतीर्ण गरेपछि छोरोको सहर पढ्न जाने कुराले जुनेलीलाई चिन्ता पर्न थाल्छ । भएको एक्लो छोरोलाई सहर पठाएर घरलाई शून्य बनाउने चाहाना दुवै जनाको थिएन । जुनेलीले छोरालाई सहर नजाऊ यतै गाउँकै विद्यालयमा पढ भनेर धेरै सम्झाउन खोजी तर छोरो गाउँमै बस्ने कुरामा सहमत भएन । अन्ततः सहर जाने दिन आयो । पहलमान र जुनेलीले छोरालाई टीका लगाइ आशीर्वाद दिए । जुनेलीले छोरालाई अँगालो बेरेर ठुलो स्वरमा रुन थाली । 

जुनेलीको रुवाइले पहलमान बिउँझियो । जुनेलीले आफूलाई अङ्गालो हालेर रोएको देख्दा ऊ आत्तियो । जुनेली जुनेली भन्दै उसलाई झक्झकायो । तब मात्रै जुनेली झसङ्ग भई । आँसुले सिरानी निर्थुक्क भिजेको थियो । रुँदा रुँदा आँखाको आँसु रित्तिएर उसका आँखाका गेडी बाहिर निस्किएलान् झैँ भएका थिए । उनले सिरानमा राखेको एक अम्खोरा पानी एक स्वासमै पिई । पहलमानका आँखामा डरत्रास प्रष्ट झकिन्थ्यो । उसले अवाक भएर जुनेलीको अनुहार हेर्यो । जुनेली बिस्तारै बोली, “कस्तो सपना देखेको ?” उसले बल्ल कुरा बुझ्यो । जुनेली सपनामा रोएकी रहिछ । उसले सपना चाहिँ के थियो भनेर बुझ्ने इच्छा पनि जाहेर गरेन ।

बिहानको मिर्मिरे उज्यालो भइसकेको थियो । पहलमान भैँसी दुहुन गोठतिर लाग्यो । बिहान खाने खानाको जोहो गर्नका लागि एक डालो गहुँ लिएर जुनेली जाँतो पिस्न गई । जाँतोमा पिसिएको गहुँभन्दा मनभित्रको सपनाको जाँतो धेरै पीडादायिक थियो । केही सपनाहरू सुखद भए पनि विपनामा कति घोच्न सकेका ? बिहे गरेको नौ वर्ष भए पनि खाली रित्तो काखले अहिलेसम्म यति धेरै पीडा पहिलो पटक दिएको थियो । आमा बन्ने रहर भएर मात्रै नहुने रहेछ । जन्मिएको छैँठो दिनमा भावीको लिखतमा आमा शब्द नपरेपछि कसको के लाग्छ ? ऊ आफ्नै भाग्यलाई दोष दिन थाल्छे । 

भोलिपल्ट खेतको रोपाइँको दिन थियो । त्यस दिन खेतमा बीउ निकाल्ने चटारो थियो । खेतमा पानीको जोहो गर्नु, बाउसे र रोपाहार खोज्नुु, यस्तै कामले असारको चटारोमा उनीहरूलाई भ्याइ नभ्याइ थियो । दुवै मिलेर ब्याडबाट बीउ झिक्न व्यस्त थिए । पहलमानको मनमा राति सपनामा जुनेली किन रोएकी होली भन्ने कौतुहलता जाग्यो । अप्ठ्यारो मानेरै पनि प्रसंग झिक्यो, “जुनु, तिमी किन रोएको राति सपनामा ?” उसले जुनेलीलाई प्रेमपूर्वक “जुनु” भन्ने गर्थ्यो । “खै के भन्नू र ? जसको भाग्यमा आमा बन्ने लेखेकै छैन । उसलाई सन्तानको रहर धेरै हुने रहेछ ।” जुनेलीले सपनाको इतिवृत्त सुनाई । एकपटक लामो स्वास तानी । “अब त आश पनि छैन, जतिसुकै जडिबुटी गर्दा, झारफुक गर्दा पनि आमा बन्न सकिएन । उसले निधारमा दश मुँजा पारी । पहलमानको अनुहारमा पनि निराशाका रेखा प्रष्ट देखिए । “हेर्नुस् बुढो, अब एउटै विकल्प छ, मस्टो देवता काँ गएर भाकल गरौँ । त्यति गर्दा नि भएन भने हजुरले अर्को बिहे गर्नू । म आमा नबने पनि तपाईंलाई बा बन्न रोक्ने छैन ।” एकपटक मौनता छायो । “मैले सुनेको, खर्ककी चन्द्रिकाको बिहे भएको एघार वर्षपछि मस्टोको आशीर्वादले जुम्ल्याहा जन्मिएका हुन रे ! अहिले हेर्नुस् त कस्ता राजकुमार र राजकुमारी जस्ता छन्, उनीहरूका सन्तान !” जुनेलीका अनुहारमा आशाका सुनौला किरण बिहानी सुर्यका प्रकाशझैँ यत्रतत्र छरिए । एकाएक अनुहारमा कान्ति छायो । पहलमानले हातमा भएको बीउको मुठो समातेर सोच्यो तर केही बोलेन । दिनभर खेतकै काममा  दुवैजना दत्तचित्त भएर खटिए । अर्को दिन, रोपाइँ समयमै सकियो । यो वर्षको रोपाइँ समयमै सकिएकामा दुवैजना दङ्ग थिए । गाउँमा रोपाइँ सक्नु भनेको अर्को वर्षको अन्नको जोहो गर्नु पनि हो ।

जुनेलीको निन्द्रा खुल्दा पहलमान ओछ्यानमा थिएन । उसले उठेर टुकी सल्काई । पहलमानलाई कतै देखिन । यतिका बिहानै उठेर कता गए होलान् भनेर सोच्दै थिई । दुध दुहुने भाँडो बोकेर पहलमान घरभित्र टुप्लुक आइपुग्यो । “यति बिहानै ?” जुनेलीले सुस्तरी बोली । “उम, आज कतै जानुपर्ने छ । तिमी अब उठेर नुहाइहाल ।” जुनेलीले उसले के भन्न खोजेको कुनै भेउ पाइन । “किन कहाँ जाने हो र बिहानै नुहाएर ?” “टाढा जानु छ । ल ल उठेर नुहाऊ ।” जुनेली गाग्री र एक जोर फेर्ने कपडा बोकेर धारामा गई । ऊ गाईवस्तुका लागि दिनभरको घाँसको जोहो गर्न बारीतिर लाग्यो ।

पारी डाँडामा घाम झुल्कियो । एक माना चामल र पाँच रुपैयाँ भेटी पछ्यौरामा बाँधेर पहलमान अघिअघि, जुनेली पछिपछि घरबाट निस्किए । छिमेकी नैनकला भाउजूलाई गाईवस्तुलाई पानी र घाँस हाल्दिन आग्रह गर्दै उनीहरू उकालो लागे । बाटो लागिसक्दा पनि जुनेलीलाई गन्तव्यबारे भने केही थाहा थिएन । अलिअलि अनुमान भने गरेकी थिई । स्पष्ट हुने इच्छाले पहलमानलाई सोधी । उसले मस्टो देवता कहाँ बिन्ती बिसाउन जान लागेको कुरा भन्यो । यो कुरा सुनेपछि त्यस्तो टोपी खस्ने उकालोमा जुनेलीका पाइला पहलमानका भन्दा दुई कदम अघि बढ्न थाले । करिब दुई घण्टा उकालो हिँडेपछि बल्ल पानी भएको ठाउँ भेटियो । कलकल बगिरहेको पानीले प्यास मेटेर पिपलको छहारीमा केही समय विश्राम गरी उनीहरू तेस्रो बाटो लागे । बाटोमा होटेलहरू थिएनन् । त्यसैले खानाको जोहो आफैँ गर्नुपर्ने भएकाले मकैको रोटी र साग बोकेरै हिँडेका थिए । बिहानको खानामा त्यही रोटी खाए । बेलुका झन्डै पाँच बजे शेरा मस्टो देउताको झाँक्रीको घरमा पुगेँ । संयोग पनि कस्तो भने झाँक्रीकी श्रीमती त्यही दिन मात्रै सुत्केरीबाट चोख्याउने काम भएको रहेछ । एक दिन अगाडि मात्रै त्यहाँ पुगेको भए झाक्री नबस्ने रहेछन् । जुठो र सुत्केरीको बेला झाक्री नबस्ने परम्परा रहेछ । धन्न, त्यसै दिन एघारौँ दिन भएकाले सुत्केरी चोख्याइसकेकाले दुःख पाउन परेन । नत्र दुई दिन यतै बस्न पर्ने थियो । मसिनो स्वरमा बुढाबुढीकोे खासखुस चल्यो । झाँक्रीलाई सबै आफ्नो समस्या सुनाए । झाक्रीले फूलपातेलाई (डाङ्री) टाढादेखि हेराउन (बिन्ती बिसाउन) आएको खबर पठाए । साँझ मस्टो देवता भएको घरमा फुलपाते लगायतका अन्य भक्तजन जम्मा भए । त्यहाँ अन्य ठाउँबाट मस्टो देवतालाई आफ्नो बिन्ती बिसाउन आउनेको लर्को थियो । केही मान्छे दुई तीन दिनदेखि त्यतै बास बसेका थिए । राती नौँ बजे मात्रै देउता बस्ने सुरसार भयो । 

गाईको गोबरले लितपोत गरेर झाँक्रीको आसन तयार पारियो । शुरुमा झाँक्रीको शरीरमा देउता चढेन । फूलपातेले गौमुत्र घर वरिपरि छर्किएपछि मात्रै करिब दस बजेतिर झाँक्रीमा काम छुट्यो । भक्तजनको भीडको कारणले जुनेलीको एक बजे पालो आयो । दुवैजना गएर भेटी र चामल चढाए । झाँक्रीले मस्टो देवताको बेवास्ता गरेका कारण क्षति बेहोर्नु परेको, आफ्नो शरणमा आएकाले अब मनोवाञ्छित हुने कुरा आश्वासन दिए । मस्टोको आशीर्वादले सन्तानप्राप्तिको आशा बोकेर भोलिपल्ट घर फर्किए । 

जुनेलीका जोडीले सुनौलो आगतको कल्पनामा दिनहरू बिताइरहेका थिए । केही समयपछिको एका बिहानै जुनेलीलाई वाकवाकी लाग्यो । बिस्तारै उसलाई खान मन नभएको, रिँगटा लागेको जस्तो महसुस हुन थाल्यो । शारीरिक रुपमा स्तन र पुठ्ठापट्टिको भागमा आएको परिवर्तनले गर्दा उनी दुई जीउकी भएको सहजै अनुमान लगाउन सकिने भयो । मस्टोको आशीर्वादले दुई जीउकी भएकोमा उनीहरूले मस्टो देवतालाई धन्यवाद दिए । बच्चा सकुशल जन्मेमा एउटा कालो घोर्ले बोको चढाउने र झाँक्रीलाई अठन्नी (आठा आना) सुन चढाउने भाकल गरे । 

वैशाख महिनाको अन्तिमतिरको एक साँझ जुनेलीलाई व्यथा लाग्यो । पहलमानले चौबाटाकी माइली आमालाई बोलाएर ल्यायो । घरभित्र जुनेली प्रसव पीडाले चिच्याउँदा बाहिर उसको मुटु काँप्थ्यो । एक दशकपछि काखमा सन्तान खेलाउन पाउने कल्पनाले क्षणभरमै उसको पीडा बिर्साइदिन्थ्यो । ऊ रातभर जाग्राम बस्यो । एकक्षण पनि निदाउन सकेन । बिहान उसका आँखा थाकेर आँखा बिसाउनै लाग्दा भित्रबाट बच्चाको आवाजले झसङ्ग भयो । माइली आमाले भित्रबाट आएर एउटा छोरा र अर्की छोरी भएको जानकारी दिइन् । जुनेली र पहलमानका खुसीका आँसुले भुइँ छोए । 

तेस्रो दिनमा छोराछोरीको न्वारान गरियो । मस्टोको आशीर्वादले जन्मिएकाले छोराको नाम आशीर्वाद र छोरीको नाम श्रद्धा राखियो । छैटौँ दिनमा घरमा छैटीको कार्यक्रम भयो । आफन्त, इष्टमित्रलाई बोलाइयो । पञ्चेबाजा घन्कियो । रत्यौली खेलहरू बिहान नौ बजेसम्म नै चले । घरमा खसीहरू ढले, उनीहरूको खुसीमा पुरै गाउँ नाच्यो, खेल्यो, रमायो । सबैले सानोतिनो उत्सव नै मनाए । 

आशीर्वाद र श्रद्धाको जन्मले घर नै उज्यालो भयो । पहलमानले मस्टोलाई गरेको भाकल अनुसार कालो घोर्ले बोको र अठन्नी सुन चढायो । श्रद्धा र आशीर्वाद बाआमाका सारथी बन्न थाले । हुर्कन पनि समय नै लागेन । रोगव्यादीका नाममा रुघाखोकी पनि लागेन । दुवै बच्चा चार वर्षमै विद्यालय जान थाले । उनीहरू इमानदार, अनुशासित र तीक्ष्ण बुद्धिका भएकाले मस्टोको आशीर्वादले यस्तो भएको भनेर गाउँभर चर्चा चल्थ्यो । 

वसन्त ऋृतुको आगमनसँगै कोइलीको गीतले वनैभरी संगीतमय बनेको थियो । नयाँ पालुवाले वसन्त ऋृतुलाई स्वागत गरिरहेका थिए । एकाबिहानै पहलमान हटारु डोकोमा एक महिनालाई पुग्ने सामल लगायत ओढ्ने ओछ्याउने हालिरहेका थिए । आशीर्वाद र श्रद्धा भने बाले के गरेको होला भनेर कौतुहलताका साथ हेरिरहेका थिए । जुनेलीले मस्टो र कालिकालाई धुप बत्ती ठिक पारी पहलमानले भैँसीको घाँटीमा ठूलो आवाज आउने घण्ट लगाइदिए । डोको बोक्नै लाग्दा छोराछोरीले बाको बाटो छेकेर रुन थाले । आफूहरूलाई पनि लिएर जान भने । तर पहलमानले भने भोलि आउँछु भन्दै टारे । मेरो चिन्ता नगर्नू छोराछोरीको ख्याल गर्नू भन्दै ऊ लेकतिर लाग्यो । भैँसीको घाँटीबाट दाम्लो खोलेर अघि लागेपछि भैँसीलाई धपाउन परेन । भैँसी पहलमानकै पछि लाग्यो ।   

त्यसपछि हरेक दिन छोराछोरीले बा गएको बाटो हेर्थे । बा कहिले फर्किनुहुन्छ भन्दै आमासँग अनेक प्रश्न गर्थे । जति सक्दो जुनेलीले उनीहरूलाई थाम्थुम पार्ने उत्तरमा भोलि आउँछन् भन्दै टार्थी । एक महिना कट्दा पनि पहलमान घर नफर्किएपछि भने जुनेलीको मनमा समेत अनेक आशङ्का सल्बलाउन थाल्यो । अब त सामल पनि सकियो, उनी आउनपर्ने हो भन्दै उसले मनमनै गुनासो गर्थी । एकतीस, बत्तीस हुँदै क्रमशः छत्तीस दिन बितिसक्दा मनमा अनेक डर पैदा हुन थाल्यो । यतिका दिनसम्म त छोराछोरीलाई पनि सम्झिनुपर्ने हो । कस्तो कठोर मान्छे रहेछन् ? के खाएर बाँचे होलान् भन्ने सोच्थी । 

सैँतिसौँ दिनमा केही माना चामल, पिठो, दाल र सातु बोकेर बिहानै जुनेली लेकतिर लागी । खर्क भएको ठाउँ पुग्दा दस बजेको हुँदो हो । त्यहाँ पुग्दा भैँसीहरू खुल्ला थिए । उसलाई देखेर भैँसी कराए । त्यहाँ हेर्दैमा उराठ लाग्दो शून्यता भरिएको थियो । गोठभित्र सामानहरू छरपस्ट थिए । कयौँ दिनदेखि अँगेनामा आगो बलेको थिएन । यो दृश्यले मनमा भय उत्पन्न भयो । जुनेली ठूलो स्वरमा कराएर पहलमानलाई बोलाई । त्यो अनकन्टार जङ्गलमा चराको बाहेक अरू कुनै आवाज आएन । यताउती हेरी । फेरि जोड जोडले चिच्याई । अहँ, कतै पनि कोही बोलेनन् । उसको निधारभरी चिट्चिट पसिना आयो । मुटु फुट्लाझैँ भयो । कतै पनि केही खबर नपाएपछि निराश मन लिएर ऊ घर फर्की । 

घरमा पुगेपछि छोराछोरीको बा खै भन्ने प्रश्नले मुटु नै चुँडायो । गाउँमा पहलमान बेपत्ता भएको खबर भुसको आगोझैँ फैलियो । सबै मान्छे जुनेलीको घरमा जम्मा भए । जुनेली घरीघरी बेहोस हुन्थी । अबोध बालबालिकाले भने के भएको हो भन्ने भेउ नै पाएनन् । केही युवा राति नै पहलमानको खोजीमा लेकतिर लागे भने अन्य वृद्ध, महिलाहरू भोलिपल्ट उज्यालो भएपछि हिँडे । तीन दिनसम्म जङ्गलमा सबै ठाउँ खोजे तर कतै भेटिएन । अब सबैको आशा मरिसकेको थियो । 

एकाएक माथिबाट उजीर चिच्यायोे, “यहाँ एउटा कङ्काल भेटियो ।” खर्कबाट झन्डै डेढ किलोमिटर उत्तरपट्टी खोलामा एउटा कङ्काल भेटिएको थियो । गाउँलेहरू सबै त्यतै कुदे । हरियो रंगको सर्ट पहलमानको हो भन्ने निश्चित भएपछि उसैको कङ्काल हो भन्नेमा गाउँलेहरूमा दुविधा रहेन । 

कङ्कालहरू प्लास्टिकमा जम्मा पारेर घर ल्याइयो । जुनेली पुरै बेहोस अवस्थामा थिई । छोराछोरी चुपचाप त्यो सबै हेरिरहेका थिए । हिन्दु परम्परा अनुसार दाह संस्कार गरियो । जुनेलीको सिन्दुर पुछियो, चुरा फुटाइयो । हिन्दु परम्परा अनुसार नै तेह्रौँ दिनमा काजकिरिया सकियो । क्रमशः आफन्त आउने क्रम घट्यो । 

आशीर्वाद र श्रद्धा दुवैले आमालाई उही प्रश्न गर्थे, “आमा ! हाम्रा बा कहिले आउँछन् ? उहाँ कहाँ बस्छन् ?” अब जुनेलीलाई सङ्कट आयो । कङ्काललाई तिमीहरूका बा त्यही हो भनेर कसरी बुझाउन सक्थी बिचरी ! अबोध बच्चाको अनुहारमा हेरेर गहभरी आँसु पार्दै उसले पारीको चन्द्रमालाई देखाउँथी । “तिम्रा बा ऊ त्यहाँ बस्छन् । उनी भगवानका प्यारा भैसके ।” उनहरू पुनः प्रश्न गर्थे । “हामी त्यहाँ कहिले जाने ? आमा भगवानका प्यारो कहिले हुन मिल्छ ?” जुनेली टोलाएर बस्छे । “आमा भन्दिनू न भगवानलाई, हाम्रा बालाई जस्तै हामीलाई पनि प्यारा बनाउनु भनेर ।” जुनेली भक्कानिन्छे । अनि दुवै छोराछोरीलाई गम्लङ्ग अँगालो मार्छे । ऊ डाँको छोडेर रुन्छे । “त्यस्तो नभन, म तिमीहरूलाई भगवानको प्यारो हुन दिन्न । तिमीहरू मेरो मुटुका टुक्रा हौ । मेरो प्राण हौ । मलाई सधैँ तिमीहरूसँगै हुनु छ ।”