
इतिहास होस या ग्रन्थ
गाथा जहिले सत्ताकै आउँछ
किन बाँच्न सकेनन् हरेक युग
शिल्पी ज्यामी र चमारहरु
बडा माहाराजहरुले
भूगोल बिस्तार गर्दै गर्दा
किन हराउँछन बिसे नगर्चिहरु
सीमा भित्रकै कथाहरूमा
किन कोरिएनन् नामहरु
शिलापत्रहरुमा
नालापानीमा ओइरिएका
स्वास्नीमान्छे र केटाकेटीहरुको
भाइ भारदार
कोतपर्व मै मात्र काटिएका हुन र
किन न्याय दिएन इतिहासले
आइतहाङ्गको जार तिर्न जादा
भञ्ज्याङमै छप्किएका लमिहरुलाई !
किन स्तुतिगान गाइएन
मण्डलाहरुमा
कोसिको भेलमा
यात्रा चलाउने माझीहरुको !
भो अब त धेरै भयो
दरबारको कौसीमा बसेर गाइएको
राजा रानी प्रभु र स्वामीका भजनहरु !
इतिहासको त्यो कालो रातबाट ब्युझिएर
म कोर्दै छु केही कथाहरू
खेतबारीमा सुन फलाउने
श्रमजीवी हातहरुको !
धरान -उपमाहानगरपालिका धरान



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 





