
बालसाहित्यको सम्बन्ध वयस्कहरूसँग भन्दा पनि नितान्त बालबालिकासँग रहेको हुँदा यसको उद्देश्य बालोपयोगी नै हुनपर्दछ । बालबालिकाले नै मन पराउने, उनीहरूको जिब्राले पचाउन सक्ने र दिक्क नमानीकन पढ्न खोज्ने भाषाशैलीको प्रयोग गरेर उनीहरूलाई प्रत्यक्ष रूपमा मनोरञ्जन या आनन्द र अप्रत्यक्ष रूपमा ज्ञान वा उपदेश दिनु नै बालसाहित्य लेखनको उद्देश्य हो ।
वास्तवमा बालसाहित्यका अध्येता मूलतः बालबालिका नै हुन् । बालबालिकाले आफूले पढ्ने बालसाहित्यसँग सम्बद्ध सामग्री रमाइलाका लागि मात्र पढ्ने गर्दछन् न कि शिक्षाप्राप्त गर्नका लागि, बरु त्यो साहित्य पढिसकेपछि उनीहरूले आफै शिक्षा पाउँछन् । बालसाहित्यका सर्जकले नैतिक मापदण्डमा आधारित भएर लेखे पनि बालपाठकले बालसाहित्य पढ्नुअघि नै सर्जकको उद्देश्य उपदेशात्मक या अर्तीमूलक छ भन्ने थाहा पाए भने बालसाहित्य पढ्दा जुन किसिमको आनन्द प्राप्त गर्नुपर्ने हो त्यो आनन्द प्राप्त हुँदैन । उदाहरणका लागि नेपाली लोकबालसाहित्यमा केटाकेटीले दसैंको बेला पिङ खेल्दै गाउने एउटा रमाइलो गीतलाई आधार मानेर यसको चर्चा गर्न सकिन्छ, जुन यसप्रकार छः
कान्छी औँला भन्छः दशैँ आयो
साहिँली औँला भन्छः खाउँला-पिउँला
माझी औँला भन्छः कहाँ पाउँला
चोरी औँला भन्छः चोरी ल्याउँला
बूढी औँला भन्छः धत् पापी ! म त छुट्टै बसुँला !
माथि उल्लेखित बाल-लोकगीतले केटाकेटीलाई प्रत्यक्ष रूपमा ठाडो अर्ती-उपदेश नदिए पनि अप्रत्यक्ष रूपमा मीठो सल्लाह दिएको छ । चोर्नु हुँदैन, चोर्नु पाप हो, चोर्न खोज्ने चोर र पापीहरूसँग नजिकै बस्नु पनि हुँदैन भन्ने कुरा यस बालगीतले उपेदशका रूपमा प्रत्यक्ष सिकाएको छैन, बरु अप्रत्यक्ष रूपमा सल्लाह भने दिएको छ । यसबाट अरूले नसिकाईकन केटाकेटी आफैले यसको अर्थ खोज्ने, सिक्ने र बुझ्ने काम गरेका हन्छन् । चोर्नु हुँदो रहेनछ, चोरलाई माया गर्नु हुँदो रहेनछ भन्ने प्रेरणा प्राप्त गर्दछन् ।

रमेशचन्द्र घिमिरे
प्रसिद्ध हिन्दी साहित्यकार द्वारिकाप्रसाद माहेश्वरीका अनुसार अनशासन र नैतिकताका नाममा उपदेशात्मक शैलीमा प्रत्यक्ष प्रस्तुत गरिने बालसाहित्यसँग सम्बद्ध सामग्री बालपाठकका लागि उपयुक्त हुँदैन तर यसका लागि आवश्यक मूल्यहरूलाई ध्यानमा राख्दै यदि रोचक कथा, कविता या नाटक आदिका माध्यमबाट उनीहरूमा संस्कारको बीजारोपण गर्न सकियो भने सहज रूपमा नै बालकको हृदयमा घुस्न सक्छ । नेपाली बालसाहित्यको इतिहास हेर्ने हो भने सुरुका कतिपय साहित्यकारहरूले विशुद्ध अर्ती-उपदेश मात्र दिने उद्देश्यले बालसाहित्यिक रचनाहरू लेखे अर्थात् बालकका लागि बालसाहित्य नभएर बालकका लागि प्रौढसाहित्य लेखे । पछिकाले अर्ती-उपदेशलाई भन्दा पनि मनोरञ्जनलाई बढी जोड दिएर त्यस्तै खालका रचनाहरू लेखे । त्यसो त ओखती र अर्ती-उपदेश अवश्य नै तीतो हुन्छ । यसो भनेर तीतो हुन्छ भन्दैमा ओखती नै नखुवाउनु पनि राम्रो होइन र तीतो ओखती जबर्जस्ती खुवाउनु पनि राम्रो होइन । यसका लागि जसरी एक गिलास पानीको सहायताले एक चक्की तीतो औषधि निल्न लगाइन्छ र प्रत्यक्ष रूपमा औषधिको स्वाद थाहा नपाए पनि अप्रत्यक्ष रूपमा त्यो औषधिले शरीरमा जसरी काम गर्दछ त्यसरी नै बालसाहित्यमा पनि अज्ञानता, अशिक्षा र अन्योलको स्थितिबाट शिक्षा र ज्ञानको अनि नैतिकताको मार्गमा डोर्याउनका लागि प्रत्यक्ष रूपमा नभएर अप्रत्यक्ष रूपमा अर्ती-उपदेश नभए पनि सल्लाह दिनु राम्रो हन्छ । बालबालिकालाई राम्रो बाटोमा हिँडाउनका लागि प्रेरणा नै नदिने हो भने उनीहरू कसरी सत्मार्गमा लाग्न सक्छन् त ? यो कुरा राम्ररी विचार गरिनुपर्दछ । मुखले सीधै सिकाउने र अह्राउने काम गाली गरेजस्तो हुन्छ र यसो गर्दा अभिभावकहरू थाकेका हुन्छन् । उनीहरूका अभिभावकको भनाइलाई सत्यता दिनका लागि बालसाहित्यकारहरूले मनोरञ्जक बालोपयोगी सामग्रीमार्फत अप्रत्यक्ष रूपमा सल्लाह दिँदा आफ्नो बानी सुधार्नुपर्ने कुरा उनीहरूले थाहा पाउँछन । तसर्थ बालसाहित्यकारले आफ्ना रचनामा उपदेशलाई नाराका रूपमा लिने खालको आग्रहीकरणको भाषा प्रयोग गर्नुहुँदैन । यसको सट्टामा त्यो रचना पढिसकेपछि बालबालिकाहरू आफैले सत्-असत् र राम्रो-नराम्रो छुट्टयाउन सक्ने खालको नाटकीकरणको भाषा प्रयोग गरिएका रोचक बालसाहित्य मात्र बालबालिकालाई दिनु राम्रो हुन्छ । यस्ता सामग्रीहरू पढेर बालबालिकाले एकातिर मनोरञ्जन प्राप्त गर्दछन् भने अर्कातिर राम्रो चरित्रलाई हेरेर प्रेरणा र नराम्रो चरित्रलाई बझेर नैतिक सन्देश पनि प्राप्त गर्दछन् ।
बालबालिकालाई अर्ती दिइनुपर्दछ तर नाराका रूपमा होइन, मनोरञ्जन दिनुपर्दछ तर सस्तो र हल्का मनोरञ्जन मात्र पनि होइन भन्ने तथ्य पनि बालसाहित्यका सर्जकहरूले विचार गर्नुपर्दछ । अर्को शब्दमा भन्ने हो भने मनोरञ्जनलाई घोलेर दिएको अर्ती अर्थात् अप्रत्यक्ष रूपमा मीठो सल्लाह दिनु नै बालसाहित्य लेखनको उद्देश्य हो । स्पष्ट रूपमा भन्नुपर्दा बाल-बालिकालाई मनोरञ्जक खुराक दिनु, बालसाहित्यिक रचनामा आएका जिज्ञासाहरूको समाधान गरिनु, औपचारिक या अनौपचारिक रूपले शिक्षा वा ज्ञानको प्रबर्द्धन गरिनु, चेतना र सोचको विकास एवम् परिष्कार गर्न लगाइनु, सिर्जनशीलताको विकास गर्नेतर्फ अभिप्रेरित गराइनु, बालबालिकाको भाषिक क्षमताको विकास गर्न मद्दत पुर्याइनु तथा चारित्रिक सुधारका लागि महत्त्व दिइनु नै बालसाहित्य लेखनका विविध उद्देश्यहरू मानिन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










