कथा एक रातबाट सुरु हुन्छ । त्यसो त मसँग धेरै रातका कथाहरू छन् तर त्यो रात केही हुन्छ—जसले अन्योल, अनिश्चितता र अन्धकार उन्मुख मेरो जीवनमा एउटा आवर्तन ल्याउँछ । सायद अरिस्टोटलले भनेका हुन् — “हरेक चिज हुनुमा एउटा कारण हुन्छ—कुनै पनि घटना तथा अनुभवहरू मान्छेलाई आकार दिन, परिभाषित गर्न र सबल बनाउन सिर्जित हुन्छन् । जेब्रा क्रसिङगको त्यो दुर्घटना टुक्रिएर छरिएको मलाई एकत्रित गर्ने कडी बन्छ । जिन्दगीले अर्को पारी खेल्ने मौका पाउँछ ।
कृष्णपक्षको रात त होइन, तर कालो बादलले आकाश ढाकेकाले अन्धकार थियो । एकैछिनमा पानी पनि दर्किन थाल्यो । लगनखेलबाट चक्रपथतर्फ बढेँ । सातदोबाटो चोकमा गाडी दायाँतर्फ मोड्दा जेब्राक्रसिङमा अचानक एउटा मानवाकृति सामुन्नेमा आयो । झ्याप्प ब्रेक हानेँ— तर गाडी अनियन्त्रित भएर त्यसलाई छोयो र त्यो ढल्यो । म हत्तपत्त गाडीबाट ओर्लिएँ । भयले शरीरभरि काँडा उम्रिएजसरी खतराको सामुन्नेमा पर्दा दुम्सीको शरीरमा काँडा उम्रिन्छ— जसरी चराका भुत्लाहरू ठाडा हुन्छन् । त्यसै भनिएको होइन—सबै जीवका पुर्खा साझा थिए भनेर । शरीर सल्याकसुलुक चिसो भयो । सेलफोनको उज्यालोमा देखेँ— एउटी युवती रहिछिन् । अनुमान गरेँ— उमेर त्यस्तै तीसको आसपास हुनुपर्छ । उनका पहिरन सीमित थिए—कटीप्रदेशमा ‘रिप्ड डेनिम हाफ-प्यान्ट’ अर्थात् च्यातेर झ्याङप्वाल पारिएको जिनको छोटो कट्टु , वक्षस्थल मात्र मुस्किलले छोपिएको कसिलो ‘ट्याङ्क-टप’ र त्यसमाथि पातलो जालीदार लामो ‘कार्डिगन’ । उनका यौवनका पुष्ट अवयवहरू उनका छोटा र टिमिक्क परेका पोसाकहरूबाट अटेसमटेस गर्दै बाह्य दुनियाँ चियाइरहेका थिए । ओठमा लिपिस्टिक ललपतिएको थियो । गाजल बगेर गालासम्म धर्सा बनेका थिए । उनको गहिरो, सुन्दर नाभिमा पत्थरजडित मुन्द्रा झुन्डिएको थियो । शरीरमा कुनै चोट भने देखिन । नाडी छामेँ— मुटुको चाल ठिक थियो । श्वासप्रश्वास चलिरहेकै थियो । मैले उनलाई झकझक्याएँ । गालामा हल्का प्याट-प्याट पारेँ । उनले आँखा खोलिन् । केही चलमलाइन् ।

पोस्तक श्रेष्ठ (अमेरिका)
“म कहाँ छु?!”
उनको आवाजसँगै मदिराको गन्ध पनि आयो । इन्द्रियहरू पनि अचम्मका हुन्छन्—गन्धको स्रोत आन्तरिक हो कि बाह्य छुट्याउन सक्छन् । नशामा त म पनि थिएँ तर आफैँले पिउँदाको गन्ध महसुस भएको थिएन । उनी भने ह्वास्स गनाइन् ।
“तिमीलाई ठिक छ? अस्पताल लैजाऊँ?”
“पर्दैन । म ठिक छु । ”
“कहाँ बस्छौ? म पुर्याइदिन्छु”
उनी उठ्न खोजिन् । मैले सहारा दिएँ । गाडीको पछाडि पट्टिको ढोका खोलेँ । गाडीमा चढ्न खोज्दा उनी धरमराइन् । उनको कम्मरमा समातेँ र गाडीभित्र उक्लिन मद्दत गरेँ । बत्ती बालेँ । उनका आँखाहरू बन्द थिए । शरीर अलमस्त थियो । ‘डाई’ गरेका उनका कर्ल्याङकुर्लुङ केशराशिबाट पानीका थोपाहरू तपतप चुहिरहेका थिए । भिजेका वस्त्रहरू शरीरमा चपक्क टाँसिएका थिए ।
“कहाँ पुर्याइदिऊँ?” गाडीको पछाडि हेर्ने सिसा मिलाउँदै प्रश्न गरेँ ।
उनले जबाफ दिइनन् । फेरि दोहर्याएर सोधेँ—“तिमी कहाँ जान्छौ ?”
“तिमी जहाँ लैजान्छौ ।”
“हँ !?
उनको उत्तरले म झस्किएँ । मैले सिसामा हेरेँ— उनका आँखाहरू अझै बन्द थिए । मध्यरात, मदिराको नशामा धुत्त अर्धनग्न निशाचर युवती, उनीबारे जे अनुमान गरेको थिएँ—गलत होइन रहेछ । कहिलेकाहीँ लाग्छ, म बढी नै पूर्वाग्रही हुन्छु । अब के गर्ने? उनलाई लिएर जाऊँ? कि सडकमै छोडिदिऊँ? म असमञ्जसमा परेँ । पानी दर्किरहेकै थियो । उनी अर्धबेहोसी अवस्थामा थिइन् । उच्च जोखिममा थिइन् । मैले त्यत्तिकै छोडिदिए थाहा छैन उनको हविगत के हुने हो । बच्चा, अशक्त, बृद्धाहरू समेत यौनपिपासुहरूको सिकार बनेका घटनाहरू सुनेको छु—पढेको छु । प्रहरीलाई बोलाएर जिम्मा लगाऊँ? झन् लफडामा पो फसिने हो कि? मापसे गरेर गाडी चलाएको भनेर प्रहरीले कारवाही गर्ने डर छँदै थियो । केही महिनाअघि मात्र एउटा टिकट पाएको थिएँ । मनभित्र अन्तर्द्वन्द्व मच्चियो । त्यही वेला पर प्रहरीको गाडी हो वा एम्बुलेन्सको बत्ती— झल्याकझुलुक गर्यो । त्यहाँबाट तत्काल निस्कनु नै हितकर ठानेँ । ‘एक्सिलेटर’ थिचेँ । सडकघर्षणले गर्दा टायर बेजोडले चुइँकियो ।
उनलाई पाहुना कोठामा लिएर गएँ । उनका कपडाहरू भिजेका थिए । सर्दीले बिरामी पर्न सक्थिन् । आलमारी उघारेँ । शालिनीका केही कपडाहरू अझै ह्याङ्गरमा झुन्डिरहेका थिए । एउटा ह्याङ्गर तानेँ —त्यो म जयपुर जाँदा उनलाई ल्याइदिएको कुर्तासुरुवाल रहेछ । एकछिन मेरा नजरहरू ती कपडामा स्थिर भए—त्यो पहिरनमा शालिनी कति सुन्दर देखिन्थिन् । पातलो पारदर्शी निलो रङ्गको बाहुला, राजस्थानी बुट्टा भरेको गला र पारी—त्यसमाथि पोते जडिएको—हल्का हरियो रङ्गको सुरुवाल र मिल्दो रङ्गको दुपट्टा । रङ्गहरू अझै चहकिला थिए—उडेको थियो त हाम्रो मायाको रङ्ग । बुटटामा पोतेहरू अझै सज्जिएका थिए—उध्रिएको थियो त हाम्रो सम्बन्ध । खै के सोच आयो, कुर्तासुरुवाललाई आलमारीमै थन्क्याएँ । बरु मेरो एकजोर ट्रयाक-सुट निकालेँ र आगन्तुक युवतीतर्फ बढाएँ ।
“ल यो कपडा फेर । तिमी पानीमा भिजेकी छौ । चिसो लाग्ला । म केही तातो पिउने कुरा लिएर आउँछु । ”
भान्छामा गएँ । केही खाने कुरा छ कि भनेर फ्रीज खोलेँ । बियरका बोत्तलबाहेक केही देखिनँ । ‘प्यान्ट्री’ खोलेँ—यो लगभग रित्तो थियो । कहिल्यै खाना पकाएर खाने भए पो ! उनको भाग्य—वाई-वाईका केही पोकाहरू रहेछन् । त्यसैको सुप बनाएँ । सुपको कचौरा किस्तीमा राखेर पाहुना कोठामा फर्कँदा म अवाक् भएँ । उनी निर्वस्त्र थिइन् । शरीरमा एक त्यान्द्रो धजा थिएन । उनका कपडाहरू भुईँमा लत्रिएका थिए । मैले फेर्न दिएको कपडा ओछ्यानको छेउमा त्यत्तिकै थियो । नग्न स्त्री-देहसँगको साक्षात्कार मेरा लागि नवीन कुरो त थिएन तर उनको लावण्यले म चकित भएँ । लेखकहरूले प्रयोग गर्ने एउटा ‘क्लिशे’ छ— कालीगढले फुर्सदमा बनाएको सिङमर्मरको मूर्तिजस्तो । उनी त्यस्तै सुन्दर रहिछिन्—सममितीय बाटुलो अनुहार, ठुला-ठुला चहकिला आँखा, धनुषजस्ता आँखीभौँ, सुरिलो नाक, गुलाफका पत्रजस्ता ओठ, सलसलाउँदा हात-पाखुरा-खुट्टाहरू, सुडौल अनि निखोट यौवनका वक्र तथा उभारहरू, आभायुक्त, स्निग्ध अनि प्रदीप्त त्वचा । पुष्ट, मतमताउँदो, भरभराउँदो, यौवन छचल्किएको देह — महाकवि कालिदासले वर्णन गरेका शकुन्तलाजस्ती तर म राजा दुष्यन्त बन्न सकिन ।
मेरो उपस्थितिले उनलाई केही असर गरेन वा उनलाई मेरो बिलकुलै पर्वाह भएन । निर्वस्त्र त थिइन् नै— निर्लज्ज पनि रहिछिन् । मैले खोकेजस्तो गरेँ तर उनले कुनै प्रतिक्रिया जनाइनन् । उनको अनुहार भावविहीन रह्यो । सायद उनका चेतनाका संवाहक स्नायुहरू निस्तेज थिए वा हुन सक्छ, उनी मलाई उपेक्षा गरिरहेकी थिइन् ।
“तिमीले कपडा लगाउन बिर्स्यौ कि?”
उनले एकछिन मलाई निर्निमेष हेरिरहिन् ।
“बिर्सेको होइन, तिमीलाई सजिलो पारिदिएको । एकछिनमा तिमीले मलाई नङ्ग्याइहाल्छौ, किन लगाइराख्नु !”
अनपेक्षित रूपमा उनको स्वर शुष्क निस्कियो—शब्दहरूमा एक प्रकारको टर्रोपन थियो जुन उनको सुन्दरतासँग मेल खाइरहेको थिएन ।
मैले अस्वीकृतिमा शिर हल्लाएँ । उनका आँखाहरू विस्फारित भए ।
“तिमी त समलिङ्गी हौ कि क्या हो! त्यति बुढो त देखिन्नौ ?”—उनले व्यङ्ग्यमिश्रित मुस्कान छोडिन् । मेरो पुरुषत्वमाथि शङ्का गरिन् ।
“म समलिङ्गी होइन । त्यति बुढो भएको पनि छैन ।” मैले संयमित भएरै जबाफ दिएँ ।
“भाइटीका थाप्न तिमीले मलाई लिएर आएको त पक्कै होइनौ ।”—उनले मलाई अझै भड्काउन खोजिन् ।
“हेर, तिमी मेरो गाडीमा ठोक्किन आइपुग्यौ । अर्धबेहोसी अवस्थामा थियौ । यो अन्धकार रातमा तिमीलाई एक्लै छोड्न मनले मानेन । तिमी असुरक्षित हुन सक्थ्यौ । तिमीलाई लिएर आउने अरू कुनै उद्देश्य छैन । म एक्ली असहाय नारीको कमजोरीको फाइदा लिने पुरुष होइन । आजको रात तिमी पाहुना भएर बस । भोलि उज्यालो हुनेबित्तिकै जान सक्छौ ।”
उनले आँखीभौँ उचालिन् । सायद उनलाई म अविश्वसनीय लागेँ ।
उनी एकछिन मौन बसिन् । मबाट कुनै हरकतको सङ्केत नदेखेपछि उनी उठिन् र कपडा लगाउन थालिन् ।
मैले सुपको कचौरा ‘साइड-टेबल’मा राखिदिएँ र शुभरात्रि भन्दै आफ्नो कोठातिर गएँ ।
भोलिपल्ट बिहान म अलि ढिलो उठेछु । उठ्नेबित्तिकै कफी पिउने लत छ । भान्छामा गएँ र ‘कफी-ब्रुअर’मा एक कप पानी राखेँ । अघिल्लो रातकी पाहुनाको झल्याँस्स याद आयो । म एकसरो अन्डरवेयरमा मात्र रहेछु । घरमा एक्लो भएपछि कपडा लगाउन पनि हेल्चेक्रयाइँ गरिँदो रहेछ । दौडिँदै कोठामा पसेँ र टी-सर्ट र पाइजामा लगाएर निस्केँ । पाहुनाका लागि अर्को कप पानी थपेँ । ‘पावर’ बटन थिचेँ । बिजुली गएको रहेछ—‘ब्रुअर’मा बत्ती बलेन । एक थरी मान्छेहरू आश्चर्य मान्छन्—कुलमान घिसिङ प्राधिकरणमा आएपछि पनि यस्तो हुन्छ र?! ग्याँसको चुल्हो जलाएँ । धन्न ग्याँस भने रहेछ । ‘इन्स्टेन्ट कफी’ भने पनि खानुपर्यो भनेर पानी बसालेँ । कफी लिएर पाहुनाकोठातर्फ जाँदा देखेँ— ढोका त खुलै रहेछ । उनी भने भित्र थिइनन् । बाथरुममा पनि थिइनन् । उनी गइसकिछिन् ।
साइड-टेबलमा हिजोको सुपको कचौराले च्यापेको एक पृष्ठ कागज थियो—जसमा केही लेखिएको थियो । उत्सुकतावश पढ्न सुरु गरेँ—‘योभन्दा अघि सहारा दिने हरेक पुरुषले मलाई नङ्ग्याए । पराईले त हवसको सिकार बनाए-बनाए, नाता पर्नेहरूले पनि छोडेनन् । माफ गर्नुहोला—मैले तपाईँलाई पनि त्यही श्रेणीमा राख्न पुगेछु । तपाईँ फरक पुरुष हुनुहुँदो रहेछ— सज्जन हुनुहुँदो रहेछ । तपाईँले मलाई कामवासना पूर्ति गर्ने एउटा पुतलीको रूपमा हेर्नु भएन —मानवजन्य व्यवहार गर्नुभयो । धेरै धन्यवाद ।’
पढ्दै गएँ —‘मैले हिजो अवलोकन गरेँ—तपाईँले अलमारीबाट पहिला एक जोडी कुर्ता-सुरुवाल निकाल्नुभयो— जुन पक्कै पनि तपाईँकी श्रीमतीको हुनुपर्छ । त्यो कपडा मलाई लगाउन दिने कि नदिने भनेर तपाईँ दुविधामा पर्नुभयो । कपडालाई एकछिन सुमसुम्याउनुभयो र अन्ततः थन्क्याउनुभयो । लाग्छ कारणवश तपाईँहरूसँगै हुनुहुन्न तर तपाईँको हृदयमा श्रीमतीको स्थान अझै रहेछ । खुसी लाग्यो । म कामना गर्छु— तपाईँहरूको सम्बन्ध कथङ्कदाचित् टुटेको भए फेरि जोडियोस् । ’
‘म निर्लज्ज स्त्री हुँ— पुरुषहरूको अगाडि नाङ्गिँदा-नाङ्गिँदा मेरो सर्म मृतप्रायः छ तर हिजो लज्जा महसुस भयो । त्यसैले म तपाईँलाई नभेटी जाँदै छु । यो कृतघ्नताका लागि क्षमा चाहन्छु । पृथ्वी गोलो छ । यो घुमिरहन्छ, सूर्यको फन्को मारिरहन्छ । हुन सक्छ— कुनै दिन हाम्रा बाटाहरू फेरि काटिनेछन् । ’
अन्तिम वाक्य भने हाँसो उठ्दो थियो— ‘तपाईँको गन्हाउने ट्रयाकसुट वासिङमसिनमा राखिदिएकी छु ।’
उनले आफ्नो नाम भने लेखिनछन् । पहिलोपटक कुनै अन्जान युवतीबारे कौतुहलता महसुस भयो । मैले बार्दलीबाट तल हेरेँ । उनलाई देखिनँ । भर्याङबाट दौडिँदै तल झरेँ र बाहिर निस्किएँ । सडकमा फाट्ट-फुट्ट मानिसहरू हिँडिरहेका थिए । केही कुचीकारहरू सडक बढारिरहेका देखिन्थे तर उनलाई पर-परसम्म पनि देखिन । वसन्त ऋतुको महिना, राति झरेका चमेली फूलले फुटपाथ सेताम्मै थिए । हावा सुगन्धित थियो । बिचरा चमेली फूलहरू जो रातमा फक्रिन्छन् र सुवास छर्छन् —ऊषाको भोरसँगै खुम्चिन्छन् र झर्छन्— त्यसैले यसलाई रातकी रानी पनि भनिन्छ । यही फूलबाट ती अन्जान युवतीको नामकरण गरिदिएँ — निशारानी ।
‘हलवे’ मा छिमेकी शर्माजीसँग भेट भयो । उनी चहकिँदै बोले— “बिहान तपाईँको ढोकाबाट मस्तको माल बाहिरिँदै गरेको देखेँ नि । तपाईँलाई मस्ती छ, श्रेष्ठजी । आफ्नो त कर्मै……” उनले टाउको कन्याउँदै आफ्नो कर्मलाई कोसे । उनी श्रीमती-बच्चाहरूसँगै बस्छन् । परिवारवाला भनेर बाहिर उनको इज्जत पनि छ तर असन्तुष्ट छन् । अतृप्त छन् र ‘माल’हरूमा नजर पर्दा र्याल चुहाउँछन् । माल—कस्तो अचम्मको शब्द चयन —अर्थात् उपभोग्य वस्तु—जसको बजारमा माग छ । माग भएकाले नै आपूर्ति हुन्छ—आडम स्मिथको सिद्धान्त । मागकर्ताहरू त पुरुषहरू नै हुन्, तर बदनाम हुन्छन् स्त्रीहरूमात्र ।
‘योभन्दा अघि सहारा दिने हरेक पुरुषले मलाई नङ्ग्याए….’ यो हरफ मेरो मस्तिष्कको पर्दामा नाचिरह्यो । उनी एउटा शरीर मात्र होइन रहिछिन् । उनीभित्र संवेदनशीलता पनि रहेछ—भावना रहेछ—असल र खराबको चेत राख्दिरहेछिन् ।
‘तपाईँ फरक पुरुष हुनुहुँदो रहेछ— सज्जन हुनुहुँदो रहेछ । ’ उनको वाक्य फेरि सम्झिएँ । म सज्जन रे! उनको प्रशंसाले आफैँलाई कुरी-कुरी लाग्यो । अघिल्लो रात ‘तिमी’ सम्बोधन गरेकी उनले मलाई त्यो पत्रमा ‘तपाईँ’ मा पदोन्नति गरेकी थिइन् तर म उनको यो आदरको हकदार पक्कै थिइन । स्त्री शरीरलाई एउटा भोग्या वस्तुभन्दा बढी नठान्ने आम पुरुषहरूभन्दा म कहाँ फरक थिएँ र । त्यो रात त म सेफालीको अपार्टमेन्टबाट आएको थिएँ—निख्रिएको थिएँ—थकित थिएँ ।
त्यो साँझ म झम्सीखेलको एउटा बारमा थिएँ । कोरोनाका कारणले ग्राहकहरू खासै थिएनन् । भर्खरै रातको दश बज्न लागेको थियो तर कर्मचारीहरूले कुर्चीहरू टेबुलमा खप्ट्याएर राख्न थालिसकेका थिए । कोही काउन्टर पुछ्दै थिए, कोही भुईँ । म बिल तिरेर बाहिर निस्किएँ । एउटा चुरोट निकालेर सल्काएँ । तीन-चार सर्को तानेपछि चुरोट मिल्काएँ र गाडीमा बसेँ, तर कहाँ जाने ? अलमलमा परेँ । घर जाने हतार थिएन । आखिर घर पनि केलाई भन्ने? घरको प्रसङ्ग आउनेबित्तिकै मलाई यो प्रश्नले लखेट्न थाल्छ । भित्ताहरू छन्—भान्छा-कोठा छ—बैठक-कोठा छ—शयन-कक्ष छ— भौतिक संरचना-सुखसुविधा सबै छन् । छैन त तिनीहरूमा कुनै प्राण र चेतना—त्यहाँ छन् त केवल नीरवता र मेरो एकाङ्कीपन । कहिलेकाहीँ छिमेकी शर्मा-दम्पती बाझेको आवाज आउँछ । झ्याल खोल्दा गल्लीमा ककुर भुकेको सुन्छु । टिभीको आवाज, ट्वाइलेटको फ्लसको आवाज, ‘कफी-ब्रुअर’को आवाज, ढोका चुइँकेको आवाज, एसीको आवाज —यीबाहेक शून्यता नै शून्यता छ । शालिनी छोरी ईभासहित मलाई छोडेर गएकी झन्डै दशक भइसकेकोछ ।
सडकमा गाडीहरू फाट्टफुट्ट मात्र कुदिरहेका थिए । पैदलयात्रीहरू पनि त्यति थिएनन् । कुकुरहरू एकनाशले भुकिरहेका थिए— रातमा यिनीहरूलई निद्रा पर्दैन । कतै पढेको थिएँ— यिनीहरू रातमा एक्लो हुँदा बिरक्तिन्छन् र आफ्नो एक्लोपन दूर गर्न एकतमास भुक्छन् । झ्याउँकिरीहरू पनि एकनासले विरहका गाना गाइरहेका थिए । जीव-शास्त्रीहरू भन्छन्— त्यसरी आलाप गर्ने भाले झ्याउँकिरीहरू हुन् — जो साँझ परेपछि प्रणयमिलनको लागि छटपटिन्छन् र पोथीहरूलाई आह्वान गर्न आलाप निकाल्छन् । मैले आफूलाई यी जीवहरूसँग तुलना गरेँ । मानिसहरू हुन् वा जीवजन्तुहरू, एकाङ्कीपन उत्तिकै अप्रिय हुँदो रहेछ—उच्चाटिलो लाग्दो रहेछ । गाडी ‘स्टार्ट’ गरेँ र एकछिन निरुद्देश्य सडकमा कुदाइरहेँ ।
सायद सडकको शून्यतासँग बात मार्ने धित मर्यो । सेफालीलाई फोन गरेँ—‘आज फुर्सद छ?’
उनको जबाफ आयो—“हजुरका लागि त म जहिले पनि फुर्सदिली छु नि, किन चिन्ता मानि’सिन्छ? आइ’स्योस् न । कस्तो संयोग, आज हजुरलाई नै सम्झिराखेकी थिएँ ।”
कति मधुर वाणी! कविहरूको शब्द सापट लिएर भन्दा— कोकिलकण्ठी । उनले मलाई फुरुक्क पारिदिइन् । परिपाटि मिलाएर बोल्न जानेकी छिन् । विनयशीलता उत्तिकै । हुन त उनको मधुरवचनको श्रोता म मात्र थिइनँ । कृत्रिम नै भए पनि उनको आवाजमा शीतलता छ—कोमलता छ— सुन्दा राहत महसुस हुन्छ । उनी ‘सियो’ लगाएर बोल्छिन् —सम्भ्रान्त वर्गका पुरुषहरूको सङ्गतले होला । होइन—वास्तवमा उनी आफैँ कुलिन परिवारकै छोरी हुन् रे—मदिराको नशामा कहिलेकाहीँ आफ्नो कथाको पोको खोल्छिन् —व्यथा बिसाउँछिन् तर उनीबारे जान्ने मलाई कहिल्यै उत्सुकता भने भएन । म अरूको जीवनबारे चियोचर्चो गर्दिन पनि । मेरो ध्यान वृक्षभन्दा बढी फलमा हुन्छ । म मतलबी छु । वास्तवमा मलाई उनको असली नाम समेत थाहा छैन— सेफाली त मैले उनलाई बोलाउन राखिदिएको नाम मात्र हो । मैले अरू केहीलाई पनि यस्तै नाम दिएको छु— निशालिली, जुही, जाई , चमेली आदि । यी सबै नामहरू फूलहरूबाट लिएको हुँ—त्यस्ता केही फूलहरू—जो रातमा फुल्छन् र बिहानीको मिर्मिरेमै झर्छन्—जसलाई दिनको उज्यालोमा मान्छेहरू कुल्चिँदै हिँड्छन् ।
सेफालीसँग बसेर अरू केही पेग रित्याएँ । शिर भारी भइरहेको थियो । काँधका मांसपेशीहरू पनि कस्सिएका थिए । उनले मिचिदिइन् । उनको आवाजमा जस्तै स्पर्शमा जादु छ, मानौँ उनी आरोग्यकी देवी हुन् । आराम महसुस भयो । उनका औँलाहरू चञ्चल हुँदै गए र यत्रतत्र सलबलाउन थाले । उनी बेलगाम हुँदै गइन् । मुटुको ढुकढुकीसँगै श्वासप्रश्वास तीव्र भयो । आँधीबेहरी अनि चक्रवात मच्चियो । उखरमाउलो गर्मी भयो र हामी दुवै तृष्णाको तलाउमा झ्वाम्म हाम फाल्यौँ । पौडिँदै किनारमा पुग्दा दुवै थकित थियौँ । उनी एकैछिनमा मसक्क निदाइन् । म भने सिलिङतिर हेर्दै सुस्ताएँ । सिलिङमा एक जोडी माउसुली क्रीडारत थिए । फिस्स हासेँ । प्रकृतिको कस्तो अनौठो अनुष्ठान—जसमा मानवदेखि सम्पूर्ण जीवहरू लिप्त हुन्छन् । फरक यति छ —जीवजन्तुहरू स्वतन्त्र छन् । मानवजाति विकसित छन् । उनीहरूलाई बन्द कोठा चाहिन्छ, अन्धकार चाहिन्छ ।
सेफालीको शिरले मेरो छातीलाई सिरानी बनाएको थियो । उनका बायाँ हातले मलाई चपक्क बेरेकी थिइन् । उनका केशराशिहरू मेरो अनुहारभरि छरिएका थिए । मैले उनको टाउकालाई बिस्तारै सिरानीमा सारेँ पलङको ‘हेडबोर्ड’मा अडेस लगाएर बसेँ । एक खिल्ली चुरोट निकालेर सल्काएँ । धुँवा बुङबुङती उड्यो । धुवाँसँगै अनगिन्ती भावनाहरू मिसिए र तरङ्गित हुँदै विलीन भए । सायद धुवाँले होला उनलाई खोकी लाग्यो । उनले खोक्दै कोल्टो फेरिन् । कोल्टो फेर्दा कम्बल नितम्वभन्दा पनि तल सर्यो र उनको पृष्ठभाग उदाङ्गो भयो । कम्बल तानतुन पारेर छोपिदिएँ । चुरोटलाई आधाआधीमै खरानीदानीमा मिचेँ र ‘बाथरुम’मा पसेँ । म बाथरुमबाट फर्किँदा पनि उनी मस्त निद्रामै थिइन् । ‘वालेट’मा हेरेँ—नगद छैन रहेछ । सेलफोनमा ई-सेवाको ‘एप्किकेसन’ खोलेँ र केही हजार रकम उनको खातामा राखिदिएँ अनि फटाफट बाहिर निस्किएँ । ‘आज अबेर भइसकेको छ, नगइसिएला है’—उनले निदाउनुभन्दा अघि भनेकी थिइन् तर मन त्यहाँ बसेन—त्यस रात निशारानी जो मेरो गाडीमा ठोकिनु लेखेको थियो ।
०००००
निशारानीले छोडेर गएकी कागजको पन्ना मेरो साइडटेबलमा बसिरह्यो— त्यससँगै उनको स्मृति । हरेक जेब्रा-क्रसिङहरूमा गाडी रोक्दा पैदलयात्रुहरूलाई नियाल्न थालेँ । मेरा आँखाहरूले भिडमा निशारानीलाई खोज्थे । एउटै मान्छेले असल भनिदिँदा— सकारात्मक सोचिदिँदा केही फरक पर्दो रहेछ । मदिराको मात्रा घटाउँदै लगेँ । योग-ध्यान सुरु गरेँ । कार्यालयपश्चात् योग-केन्द्र, व्यायामशाला, पुस्तकालयहरूमा समय व्यतीत गर्न थालेँ— ता कि एकाङ्कीपनले मलाई नखाओस् तर असल मान्छे बन्न कठिन रहेछ । त्यसैले त संसारमा यति धेरै खराब मान्छेहरू हुँदा रहेछन् । आफूलाई व्यस्त राख्दाराख्दै पनि, तामसी रातहरूबाट पर हुँदाहुँदै पनि कुनै क्षण त्यस्तो आउँथ्यो —जुन वेला म आफूलाई नितान्त एक्लो पाउँथेँ—खिन्नता बढ्थ्यो । भित्ताहरू साँघुरिँदै च्याप्न आएको प्रतीत हुन्थ्यो । छत खसेर थिच्न खोज्थ्यो । कहिले पलङमुनिको जमिन धस्सिँदै म रसातलमा पुग्थेँ त कहिले आफूलाई आकाशगङ्गामा अनगिन्ती खगोलीय पिण्डहरूसँगै तैरिइरहेको पाउँथेँ । नजिक एउटा कालो भीमकाय दैत्यस्वरूप सुरुङ्ग हुन्थ्यो जसले एकपछि अर्को ग्रहउपग्रहरू, उल्कापिण्डहरू निल्दै जान्थ्यो । म पनि बिस्तारै त्यसतर्फ खिच्चिँदै जान्थेँ । त्यसबाट बच्न म अत्तालिँदै अपार्टमेन्टबाट बाहिर निस्कन्थेँ र मध्यरातमा सडकमा बेतहास कुद्थेँ ।
‘तपाईँको हृदयमा श्रीमतीको स्थान अझै रहेछ । खुसी लाग्यो । म कामना गर्छु— तपाईँहरूको सम्बन्ध कथङ्कदाचित् टुटेको भए फेरि जोडियोस्’
निशारानीले लेखेकी पङ्क्तिहरू मस्तिष्कमा दोहरिए । शालिनीको याद हुरहुरी आयो । त्रिचन्द्र-कलेजमा पढ्दा सोह्रखुट्टेमा डेरा थियो । इन्द्रेनी डेरीमा दूध लिन जान्थेँ । उसो त म कालो चिया पिउने मान्छे तर कहिलेकाहीँ पाहुना आउँदा भने दूध लिएर आउथेँ । एक दिन डेरीमा उनी पनि आएकी रहेछिन् तर कस्तो परेछ भने दूध जम्मा एक पोका बाँकी रहेछ । त्यो कसले लाने भनेर एकछिन हाम्रो भनाभन पर्यो । पसले चलाख रहेछन् । उनले दूध आधी-आधी बाँडेर हाम्रो झगडा साम्य पारिदिए । त्यसपछि खै मलाई दूध चियाको लत बस्यो वा उनको एक झलकको —म दिनहुँ उही समयमा डेरी धाउन थालेँ । हाम्रा नजरहरू जुध्न थाले । सुरुका दिनमा उनका हेराइ काँडाजस्ता तिखा हुन्थे । बिस्तारै ती मिठा हुँदै गए । नजर जुध्दा उनी मुस्कुराउन थालिन् । एकदिन हिम्मत गरेर उनको हातमा प्रेमपत्र थमाइदिएँ । त्यसपछि पत्रको आदानप्रदान चल्न थाल्यो । हाम्रो प्रेम झाँगिँदै गयो । केही वर्षपछि हामी विवाहबन्धनमा बाँधियौँ । वैवाहिक जीवनका सुरुआतका केही वर्ष सुखद नै रह्यो । छोरी ईभा जन्मिइन् । पछि म व्यापारमा व्यस्त हुन थालेँ । शालिनी र ईभा मेरो प्राथमिकतामा परेनन् । घरबाट लामो समयसम्म बाहिर रहन थालेँ । उनले गुनासो गर्न थालिन्—शङ्का पनि । असमझदारी बढ्दै गयो —तर मैले समाधान खोजेँ, आफैँलाई पत्थरको पर्खालभित्र कैद गरेर । गुनासा, पिर र निराशाहरूलाई मदिराका घुट्कासँग निल्न खोजेँ । मायाँ हरायो—तर मैले बजारमा खोज्न थालेँ । म दलदलमा फस्दै गएँ र एकदिन उनी गइन् छोरीलाई लिएर—सम्झौतामा जिन्दगी कति चल्थ्यो र ।
शालिनीसँग बातचित नभएको धेरै भएको थियो । त्यो साँझ उनीसँग कुरा गर्न मन लाग्यो । चार-पेग जति (यो अनुमान मात्र हो—घरमा किन पेगको हिसाब राख्थेँ र!) घाँटीबाट उत्रेपछि सायद मस्तिष्कमा भय र सङ्कोचका सङ्केतहरू उल्था गर्ने न्युरनहरू निस्तेज भए । मेरो धक खुल्यो । पाँच-छ घण्टीमा उनको फोन उठ्यो— तर शालिनी होइन, छोरी ईभा बोलिन् । अनुमान गरेँ—शालिनीले मसँग कुरा गर्न चाहिनन् । हाइ-स्कुलको अन्तिम वर्ष पढ्दै गरेकी छोरीसँग एकछिन बात मारेँ । उनको पढाइबारे सोधखोज गरेँ । कलेजका योजनाहरूबारे सोधेँ र अन्तमा उनको मम्मीसँग कुरा गर्न चाहेको बताएँ ।
“वाउ! यु वाना टक विथ मम?!”—ईभाले आश्चर्य मानिन् ।”
उनलाई आश्चर्य नमानून् पनि किन । योभन्दा अघि कहिल्यै मैले उनको आमासँग कुरा गर्ने उत्सुकता देखाएको थिइन । म लापरवाह थिएँ । औपचारीकता देखाउन पनि जान्दिनथेँ ।
‘मम, ड्याड वान्ट्स टु टक विथ यु ।’—उताबाट ईभा कराउँदै बाहिरिएकी सुनेँ ।
“हे, सुन न तिमीलाई फोन गर्न खोज्दै थिएँ, तिमीले नै फोन गर्यौ ।” शालिनीको उत्साहित स्वर सुनेँ ।
“तिमी मलाई फोन गर्न खोज्दै थियौ?” छक्क पर्ने पालो अहिले मेरो थियो ।
“अँ, तिमीसँग केही कुरा गर्नुछ तर अहिले म व्यस्त छु, जुम-मिटिङगमा छु । म भरे, अर्थात् नेपालको बिहानीको समयममा फोन गर्छु है ।” उताबाट फोन काटियो ।
०००००
नभन्दै भोलिपल्ट बिहान शालिनीको फोन आयो । केही औपचारीकता निभाएपछि उनले सोधिन्— “अँ तिमीले हिजो किन फोन गरेका थियौ ? केही भन्नु थियो? ”
म अनकनाएँ । भन्न चाहन्थेँ—‘के तिमी मलाई एउटा मौका दिन सक्छौ? के हामी जीवन एउटा नयाँ बिन्दुबाट सुरु गर्न सक्छौँ?’
तर हिम्मत भएन । मनका कुरा मुखमा आएन ।
“खास केही होइन, बरु तिमी नै भन, के भन्न खोज्दै थियौ?” मैले बोल्ने अवसर उनैलाई दिएँ ।
एकछिन फोनमा शून्यता छायो । त्यो एउटा विस्फोट पूर्वको सन्नाटा रहेछ । उनले लामो सास फेरेको फोनमा स्पष्ट सुनेँ । त्यसपछि उनी बोलिन्—
“हामी भौतिक रूपमा अलग भएको त झन्डै दशक भइसक्यो । अब औपचारिक रूपमै अलग हुने वेला आयो । म पारपाचुकेका कागजहरू पठाउँदै छु, सही गरेर फिर्ता पठाइदेऊ न, है?”
सायद मैले यो अपेक्षा गरेको थिइनँ । कान सनन भयो—मानौँ म हवाई जहाजमा उडिरहेको छु वा नदी किनारमा उभिएको छु ।
मैले केही भन्न सकिन । उनी नै बोल्दै गइन् ।
“अमेरिका आएको केही वर्षसम्म त मैले तिम्रै नामको सिन्दूर लगाएँ । तिजमा तिम्रै लागि व्रत बसेँ । तिमीले लगनमा दिएको तिलहरी नै पहिरेँ तर तिमी मप्रति बेपरवाह रह्यौ । कहिल्यै मलाई नेपाल फर्केर आऊ भनेनौ, न तिमी आफैँ आउने कुरा गर्यौ । यहाँ सम्म कि तिमीलाई मेरो सन्चो-बिसन्चोको वास्ता समेत रहेन ।”
उनी एकछिन रोकिइन्, गला सफा गरिन् र फेरि बोल्न सुरु गरिन् ।
“विगतका केही वर्षहरूदेखि म एउटा सम्बन्धमा छु । म अब तिम्री रहिनँ । हुन त तिमी उहिल्यैदेखि मेरो मात्र कहाँ थियौ र ? अब तिमीले फर्काउन चाहेर पनि फर्किन नसक्ने बिन्दुमा पुगेकी छु । अब बस्, कानुनी रूपमा मलाई छुटकारा देऊ ।”
अब मैले भन्नुपर्ने कुरो केही रहेन—भनेर पनि केही हासिल हुने थिएन । नभन्दै, केही हप्तापछि पारपाचुकेका कागजपत्रहरू आए । त्यसलाई मैले कुनै प्रतिवाद गर्न चाहिन । शालिनीले खुसी भेटेकी थिइन् । उनलाई उन्मुक्ति दिँदा नै उनीप्रति न्याय हुन्छ जस्तो लाग्यो । उनले भनेअनुसार सही गरेर फर्काइदिएँ ।
निशारानीको कामना खेर गयो । म फेरि मदिराको नशामा डुब्न थालेँ । बारहरूको चक्कर काट्न थालेँ । एकरात एउटा बारमा ‘बाउन्सर’सँग विवाद भयो र त्यसले मलाई निर्घात कुट्यो । मलाई ढोकाबाट बाहिर धकेलिदियो । पानी परिरहेको थियो । सडकपारि एउटा ट्याक्सी रोकिएको देखेँ । आवाज दिएँ तर सायद चालकले सुनेन । लडखडाउँदै जेब्रा-क्रसिङमा के पसेको थिएँ, एउटा गाडी जोड्ले ब्रेक हानेर रोकियो । म त्यसको बोनटमाथि घोप्टिएँ । बस् मलाई त्यति याद छ । ब्युँझदा मैले आफूलाई अरू कसैको कोठामा पाएँ । मेरो निधारमा पट्टी थियो । शरीर थिलथिलो भएको थियो । कोठामा एउटी युवती प्रवेश गरिन् । उठ्न खोजेँ— असीम पीडा महसुस भयो— उठ्न सकिन । मेरो नजर युवतीमा स्थिर भयो—कहाँ देखेको—कता भेटेको जस्तो महसुस भयो । उनका हातमा केही कपडाहरू थिए— जुन मेरा जस्ता देखिए । मैले कम्बलभित्र आफूलाई नियालेँ—आफूलाई प्राकृत-स्वरूपमा पाएँ र सर्मले पानी-पानी भएँ ।
“हिजो रात तपाईँ अकस्मात् मेरो गाडीसामुन्ने आइपुग्नुभयो । बेहोसजस्तै हुनुहुन्थ्यो—निथ्रुप्प भिज्नुभएको थियो । माफ गर्नुहोला—सुकाउनका लागि तपाईँको कपडा खोल्न बाध्य भएँ । चिसै कपडामा सुत्दा तपाईँ बिरामी पर्न सक्नुहुन्थ्यो ।”
सायद पहिलोपटक म कुनै युवतीसामु त्यसरी लज्जाएँ ।
“निश्चिन्त हुनुहोस्, तपाईँको इज्जत लुटिएको छैन । म एक्लो असहाय पुरुषको कमजोरीको फाइदा लिन्न”—उनी मुसुक्क हाँसिन् ।
उनले झ्याल खोलिन् । बिहानीको चिसो हावा सरसरती चल्यो । हावासँगै कोठाभित्र चमेली फूलको बास्ना भित्रियो । चमेली अर्थात्—रातकी रानी ।
“ओह माई गुड्नेस, निशारानी?!”
उनी अचम्मित भइन्—“को निशारानी?!”
यहाँबाट जिन्दगीको अर्को आवर्त सुरु हुन्छ । कथा भने यहीँ बिट मार्छु । सावधान पाठकवृन्द, जेब्रा-क्रसिङमा होस गर्नुहोला । दुर्घटनाहरू बिरलै रुमानी हुन्छन् । धुम्रपान-मद्यपान स्वास्थ्यका लागि हानिकारक छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










