डे वान

अप्रिलको महिना । सिड्नीको प्रचण्ड गर्मी सकिएको छ भने जाडो अझै सुरु भैसकेको छैन । नेपालतिर दसैँ र तिहारको बीचको मौसमजस्तो, चाखलाग्दो । कहिल्यै नसकियोस् जस्तो । सधैँ चलिरहोस् जस्तो ।

अस्ट्रेलिएन राष्ट्रिय विश्वविद्यालयको परिसरमा उति चहलपहल छैन । प्रायः विद्यार्थी घर फर्किसकेका छन् । नर्सिङ विषयको एउटा कक्षा भर्खरै सुरु भएको छ । दिनको अन्तिम कक्षा भएकाले अरू बेलाभन्दा बढी हल्ला छ, सबैलाई घर फर्किने हतार छ । लेसन प्लानअनुसार सुप्रिया लेक्चरको सामग्री तयार गर्दै छे । शिक्षकका रूपमा सुप्रियाको यो दोस्रो सेमेस्टर हो । धेरै वर्षअघि ऊ पनि यिनै कक्षाकोठामा देखिने गर्थी, छात्राको भूमिकामा तर समय न हो बितिहाल्दो रहेछ । थाहै नपाई । खबरै नगरी ।

कक्षाकोठाको एक कुनाबाट खासखुस आवाज आउँछ । एकछिन रोकिएजस्तो हुन्छ तर पुनः सुनिन्छ । हरेक पटक पहिलेभन्दा केही चर्को । तीन जना छात्राहरू फोनमा केही हेर्दै डर र उत्तेजनामिस्रित भावमा कुरा गर्दै छन् । हल्लाले कक्षाका अरू विद्यार्थीको ध्यान पनि त्यतै खिचिएको छ ।

कुमार शर्मा

‘ह्वाट्स द म्याटर ?’ सुप्रिया ती छात्राहरू नजिक गएर अलि कडाइका साथ प्रस्तुत हुन्छे । छात्राहरू एक अर्कालाई मुखामुख गरे पनि उनीहरूको ओठबाट आवाज निस्किँदैन । आवाज ननिस्के पनि उनीहरूको अनुहारमा पोतिएको डर बिस्तारै चुहिने क्रममा हुन्छ ।

‘डिड समथिङ ह्यापेन ?’ सुप्रियाको प्रश्न फेरि तेर्सिन्छ ।

‘म्याम…अ बिग अर्थ क्वेक…स्ट्रक आवर नेसन….’ अन्ततः एउटी छात्राको मुख खुल्छ, ‘वि आर भेरी वरिड !’

सुप्रिया आफ्ना विद्यार्थीहरूसँग एउटा निश्चित दूरी कायम राख्छे । कक्षाकोठामा मात्र होइन, बाहिर पनि नेपाली हो भनेर थाहा पाएपछि विद्यार्थीहरू बोल्न आउँदा पनि ऊ अङ्ग्रेजीमै कुरा गर्छे । मानौँ अङ्ग्रेजी भाषा उसको सुरक्षाकवच हो । नेपाली हुनुको पहिचान र नेपाली भाषा उसको कमजोरी हो ।

नेपाल र नेपाली भाषा भनेपछि ऊ अलि परै बस्न रुचाउँछे भन्नेहरू उसलाई घमन्डी पनि भन्दा हुन् तर उसले कायम गर्न खोजेको दूरीको आफ्नै कारण छ । बेग्लै कथा छ ।

चिन्तित विद्यार्थीहरू नेपाली नै हुन् भन्ने लगभग अनुमान हुँदाहुँदै पनि उसको मुखबाट फुत्त प्रश्न निस्किन्छ- ‘वेर आर यू पिपल फ्रम ?’

यसपालि तीनै जना छात्राको सुकेको ओठबाट एउटै उत्तर निस्किन्छ-

‘नेपाल ।’

***

यतिका वर्ष, मिहिनेत र परिश्रम लगाएर नेपालसँग बडो जतनका साथ कायम राखिराखेको दूरी आज किन भत्किन खोज्दै छ ? समुद्रपारि त्यति पर गएको भूकम्पको झट्का समुन्द्रवारि यति पर किन महसुस हुँदै छ ? भावशून्यताको इन्धन भरेर कठोर बनाएको मन आज किन अचानक विचलित हुन खोज्दै छ ? साँझ घर फर्किँदै गर्दा यस्तै प्रश्नहरूसँग सुप्रियाको भलाकुसारी चलिरह्यो, नचाँहदा नचाँहदै ।

नुहाएर आएपछि अमेरिकाबाट बहिनीको दुईओटा मिस्ड कल देखेर पनि उसले कल ब्याक गर्ने जाँगर देखाउँदिन । न त भाइबरमा आएको म्यासेज नै हेर्छे । बरु ग्लासमा वाइन लिएर कौसीतिर लाग्छे । फेसबुक डिएक्टिभेट गरेको उसले करिब महिनादिन पुगिसक्यो । ऊ बेला-बेलामा यस्तो गरिरहन्छे । नत्र दिउँसाको खबरबारे उसले केही मिनेटमै जानकारी पाउँथी तर उसलाई दिउँसाको घटनाबारे जानकारी राख्नु छैन । मन विचलित छैन । थोरै अस्थिरमात्रै छ । अस्थिर मन उसको नजिकको साथी हो । यो सुप्रियालाई राम्रोसँग थाहा छ । नजिकको साथीसँग किन डराउनु ?

तर मन न हो! सधैँ जित्न र काबुमा राख्न कहाँ सकिन्छ र !

सुत्नुअगाडि सुप्रियाले आइफोनको सफारीमा गएर टाइप गर्छे- ‘नेपाल अर्थ क्वेक’ र लगत्तै एउटा शीर्षकमा गएर उसको आँखा अडिन्छ । शीर्षक यस प्रकार हुन्छ ।

‘नेपालमा ७.८ रिक्टर स्केलको विनाशकारी भूकम्प, धरहरा पनि ढल्यो’

पूरा समाचार नपढी पहिले सुप्रियाले आफ्नो मोबाइल बन्द गर्छे र त्यसपछि बत्ती । उसलाई आज सुत्नु छ । आराम गर्नु छ । मनलाई अलि शान्त बनाउनु छ । भोलिबाट मनलाई काबुमा जो राख्नु छ ।

       डे टु

फोनको निरन्तर आवाजले भोलिपल्ट सुप्रियाको आँखा अरू बेलाभन्दा चाँडै खुल्यो । फोनको स्क्रिनमा उसले देखी—अमेरिकाबाट बहिनीको एक लट मिस्ड कल्स र भाइबरमा पढिनसक्नु म्यासेजको बाढी !

लामो हाई काढ्दै अन्ततः उसले बहिनीलाई कल ब्याक गरी । दुई घण्टीमै फोन उठ्यो ।

‘हेलो ! के हो तपाईँको पारा ?’ उताबाट रिस मिसिएको आवाज सुनियो । सुप्रियाले अर्को लामो हाई काडी ।

‘किन ? के भयो र ?’ केही थाहा नपाएजस्तो गरी उल्टै सुप्रियाले प्रश्न गरी ।

‘हिजो त्यति चोटि फोन गरेँ, न त फोन उठ्यो न त म्योसेजको रिप्लाई नै आयो ! अरू त के हुनु !’

‘ए….हिजो अलि थकाइ लागेको थियो । कामबाट फर्किनेबित्तिकै सुतेँ । फोन पनि चार्जमा थियो ।’

‘नेपालको खबर त थाहा पाउनुभयो नि ?’

‘अँ सुनेकी थिएँ ।’

केही बेरको मौनतापछि सुप्रियाकी बहिनीले सोधी- ‘घरमा मम्मीलाई फोन गर्नुभयो कि नाइँ नि ?’

‘छैन । मैले भनेँ त हिजो म चाँडै सुतेँ’ ,बहिनीको प्रश्नले सुप्रियालाई हल्का रिस उठ्यो ।

‘होइन कहिलेसम्म चल्छ यसरी ? त्यत्रो भूकम्प गएर हजारौँ मान्छे मर्दा आफ्नी आमा सकुशल छन् कि छैनन् भन्ने चिन्ता पनि हुँदैन हो तपाईँलाई ?’

बहिनीको प्रश्नमा सुप्रिया मौन रही । उसलाई बिहानबिहानै झगडा गर्नु छैन । बहिनीको प्रश्नको स्पष्ट उत्तर ऊसँग छैन ।

‘दिउँसो फुर्सद भयो भने फोन गर्छु । चिन्ता नगर् ।’

‘फुर्सद भयो भने ?’

सुप्रियाको तर्फबाट तुरुन्त प्रतिक्रिया नआएपछि बहिनीले फेरि सोधी-‘ के तपाईँलाई अझै पनि लाग्छ कि चार वर्षअघि जे भयो त्यो केवल दुर्घटना नभएर आमाको गल्तीको परिणाम थियो ?’ पछिल्लो चार वर्षमा सुप्रियाले यस प्रश्नको धेरैचोटि सामना गरेकी थिई तर ऊसँग यस प्रश्नको जबाफ अझै पनि थिएन ।

‘अहिले मलाई हतार छ । तयार भएर काममा जानु छ । म पछि कुरा गर्छु है’ ,वाक्य सकिन नपाउँदै सुप्रियाले फोन काटिदिई ।

***

हरेक शुक्रवारको दिन स्कुल सकिएपछि उसलाई लिन आर्मीको पोसाकमै आउँदा बुबाको अनुहारमा पोतिएको मुस्कान र खुसी सुप्रियालाई अझै पनि याद छ । यतिका वर्ष बित्दा बुबाको त्यो स्मृति धुमिल जरुर भएको छ तर कमजोर भएको छैन । सुप्रियालाई हिजोजस्तै याद छ—बुबाको बलिष्ठ पाखुराले उचालेर माथि फाल्दा आफ्नो ओठबाट छुट्ने हाँसोको लामो लहर र पाखुरामा फेरि फर्किँदा महसुस हुने सुरक्षाको प्रत्यनुभूति । आफ्नो कपाल प्रेमपूर्ण र अनौपचारिक ढङ्गले कोरेर बाटिदिने बुबाका खस्रा तर पनि मुलायम हातहरू । सुप्रियालाई सबै याद छ ।

बुबाको बडेमानको शरीरलाई बाँसको ओछ्यानमा लेटाएर शङ्ख फुक्दै क्षितिजपारि विलीन भएका चार निन्याउरा अनुहार पनि कता-कता याद छन् । त्यस असामायिक घटनापश्चात् हप्ताको पूरै ६ दिन स्कुल सकिएपछि सुप्रियालाई कुरिरहने आमाको हाँसो हराएको मलिन अनुहार पनि उसलाई याद छ । बिहान स्कुल छोड्ने क्रममा आफ्नो कपाल हतार-हतार, औपचारिक ढङ्गले कोरेर बाटिदिने आमाको मुलायम तर खस्रा हातहरू पनि सुप्रियालाई याद छन् जसरी याद छन् ती हरेक क्षणहरू जो हलुका भएर पनि सधैँ बोझिल लागिरहे ।

दोस्रो दिन लेक्चर चाँडै सकिए पनि सुप्रिया विश्वविद्यालयको पुस्तकालयमै केही पढेर बसिरही । फुर्सद भएर पनि न त उसले बहिनीलाई फोन गरी न त हालखबर सोध्न नेपालमा रहेकी आमालाई नै सम्पर्क गर्ने प्रयास गरी । सुप्रियालाई राम्रोसँग थाहा छ कि यो दूरी सधैँ कायम गर्न सम्भव छैन र न त आमासँगको यो भावशून्यता आफैँमा ठीक नै हो तर तत्काललाई यो दूरी उसलाई सबैभन्दा प्यारो छ ।

‘भूकम्पमा मर्नेको सङ्ख्या हजारौँ पुग्यो, लाखभन्दा बढी प्रभावित’

बिबिसी नेपाली सेवाको यो समाचार शीर्षक पढिसकेपछि सुप्रियाले पूरा समाचार पनि पढी । पछिल्लो चार वर्षमा उसले नेपालबारे पढेको यो पहिलो रिपोर्ट थियो ।

***

डे थ्रि

प्लस टु दोस्रो वर्षको अन्तिम परीक्षा दिएर घर फर्किँदा सुप्रियाको मनमा बेग्लै खुसी थियो । परीक्षा सकिएको खुसी त आफ्नो ठाउँमा थियो नै तर त्योभन्दा बेग्लै खुसी थियो आफ्नो सपनासँगको पहिलो साक्षात्कार । हात फैलाएर बसेको, आफूले रोज्न गैरहेको भविष्यसितको पहिलो अङ्कमाल । उसको सपनाले उसलाई पहिलोचोटि स्पर्श गऱ्यो जब सहरको नाम चलेको रेडियो स्टेसनमा प्रशिक्षणका लागि ऊ छनोट भई । वास्तविकता र सपनाबीचको रेखा बिस्तारै धमिलो हुँदै थियो । परीक्षाको नतिजा आउन लाग्ने दुई महिनाको समय रेडियो स्टेसनमा प्रशिक्षण गरेर त्यसपछि स्नातक तहमा सञ्चार माध्यमको अध्ययन गर्ने तयारी उसले मनमनै गरिसकेकी थिई । मात्र बाँकी थियो आमालाई यसबारे बताउन । मैले रोजेको भविष्यको बाटो सुनेर आमा कति खुसी हुनुहुँदो हो, यो सोचेर सुप्रियालाई मनमनै काउकुती लाग्यो ।

आमा साँझ घरमा आउनेबित्तिकै सुप्रियाले उत्साह भरिएको आवाजमा भनि- ‘मम्मी! आई ह्याब अ गुड न्युज !’

‘परीक्षा सकिएको कुरा ?’ आमाको प्रश्न सोधाइमा न कुनै उत्साह थियो न कुनै उत्सुकता । यसले सुप्रियालाई अलि निराश पनि बनायो ।

‘ह्या…त्यो होइन के । अर्कै कुरा छ ।’

‘मलाई पनि तिमीसँग एउटा कुरा गर्नु छ । म फ्रेस भएर आउँछु अनि बसेर कुरा गरौँला नि, हुन्न ?’

‘हस् ।’

‘अनि बहिनी खोइ त ?’

‘आफ्नो कोठामा छे ।’

डिनरमा सुप्रियाले भविष्यप्रतिको आफ्नो योजना उत्साहकासाथ सविस्तार सुनाई । दिदीको कुरा सुनेर बहिनी प्रिया पनि उत्तिकै उत्साहित भई । रेडियो स्टेसनमा प्रशिक्षणका लागि छनौट भैसकेको कुरा आफूलाई अहिलेसम्म किन नबताएको भनेर दिदीसँग केही बेर ठुस्स परेजस्तो पनि गरी तर आमाबाट भने कुनै प्रतिक्रिया आएन । इसारा-इसारामै दिदीबहिनीले एक अर्कालाई प्रश्न गरे- आमाको व्यवहार आज किन यस्तो ? दुवैले एक नजर आमातिर दौडाए तर आमाको अनुहारमा भने कुनै किसिमको भावना थिएन ।

कस्तो अचम्म!

एउटा सन्तानले आफ्नो भविष्यको खाका आफ्नै अगाडि उत्साहले कोर्दा पनि अभिभावक किन भावशून्य ? के सुप्रियाकी आमाले उसका लागि सोचिराखेको भविष्यको योजना फरक थियो ?

‘यो त एकदम राम्रो कुरा सुनायौ छोरी तिमीले’ ,केही क्षणको मौनतापछि अन्ततः आमाको आवाज सुनियो । सुप्रियाले अलिकति भए पनि आरामको सास फेरी ।

‘तर मलाई पनि एउटा कुरा भन्नु थियो’ ,केही अप्ठ्यारो मानेजसरी आमाको मुखबाट शब्द खसे, बन्द मुठ्ठीबाट पानीको थोपा तपतप चुहिएजस्तो, उकुसमुकुस ।

‘भनिस्यो न, के कुरा हो’ ,दुवै छोरीले एकैचोटि आग्रह गरे।

‘प्रिया त अहिले अलि सानै छे । म सोचिरहेकी थिएँ सुप्रियाको बिहे गरिदिऊँ । एउटा राम्रो घरबाट कुरा पनि आएको छ । मलाई पनि एउटा ठूलो जिम्मेवारी निभाएजस्तो हुन्थ्यो ।’

अकस्मात् आमाको मुखबाट यस्तो कुरा सुन्दा सुप्रियाले केही सोच्नै सकिन । दिमाग शून्य भयो ।

‘जिम्मेवारी निभाएजस्तो हुन्थ्यो कि पूरै जिम्मेवारी एकैचोटि पन्छाएजस्तो हुन्थ्यो ?’

आफ्नो कोठाको ढोका जोडसँग लगाइसकेपछि पनि जाँदाजाँदै सुप्रियाले छोडेको प्रश्नरूपी आक्रोश कोठामा रहिरह्यो, निकै बेरसम्म ।

‘सुप्रिया ?’

‘सुप्रिया…..?’

आमाको मुखबाट लामो सुस्केरा छुट्दा प्रिया पनि केही नबोली आफ्नो कोठातिर लागिसकेकी थिई । कोठामा अब बाँकी थियो त केवल मौनता जो मलिन अनुहार लिएर धुम्म बसिरह्यो । बसिरह्यो निःशब्द ।

***

आफ्नो प्रश्न गर्ने बानीले सुप्रियालाई सधैँ अप्ठ्यारामा पारिरह्यो । उसलाई आफूलाई चित्त नबुझेका हरेक कुरामा प्रश्न गर्नुपर्थ्यो ।

‘महिनावारी हुँदा किन नछुने भएजस्तो व्यवहार गर्नुपर्ने ? पूजा कोठा र भान्सा कोठामा किन प्रवेश निषेध हुनुपर्ने ?’

‘जुत्ता सिलाउने दाइले खाएको भाँडा माझिसकेपछि पनि किन अलग्गै राख्नुपर्ने ? त्यसमा हामीले खान किन नहुने ?’

‘हरेक वर्ष विनाअर्थको तीजको वर्त किन बस्नुपर्ने ?’

आमाबाट यस्ता प्रश्नहरूको चित्तबुझ्दो उत्तर नआएपछि हरेक दिनजसो आमाछोरीबीच केही न केही विषयमा झगडा परिरहन्थ्यो । मानवशास्त्रमा पिएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउने आफ्नी पढेलेखेकी आमाको प्राचीन विचार र रुढीवादी सोच देख्दा सुप्रियालाई अचम्म लाग्थ्यो । लाग्थ्यो उनी पढेलेखेकी अनपढ हुन् !

अक्षर नचिन्ने साक्षर हुन् ! शिक्षित गवार हुन् !

आफूले स्नातकोत्तरको पढाइ सकेर २७-२८ को उमेरमा, आफ्नै मर्जीमा बिहे गरेर पनि आधुनिक समाज र आधुनिक समयकी आफ्नै छोरीलाई १९ वर्षको उमेर, त्यो पनि उसको मर्जी विपरीत बिहे गर्न बाध्य पार्ने आफ्नो आमाको चरित्र सुप्रियाले लाख कोसिस गर्दा पनि बुझ्न सकिन । अन्ततः उसको बिहे आमाले भनेकै ठाउँमा, भनेकै समयमा भै छाड्यो ।

आमाको ढिपीसामु छोरीको याचना कमजोर भैदियो । आमाको जीत भयो, छोरीको हार ।

तर सन्तानको हारमा अभिभावकको जीत कसरी हुन सक्छ ? वास्तवमा यो उनीहरू दुवै जनाको हार थियो । यदि विजयी कोही थियो भने त्यो उनीहरूबीचको दूरी थियो जुन त्यसपछिको दिनमा क्रमशः बढिरह्यो ।

तेस्रो दिनको साँझ उसले काठमाडौँमा बस्ने आफ्नी सानीआमासँग फोनमा कुरा गरी । विगत चार वर्षमा नेपालमा भएका कुनै पनि आफन्तसँग सुप्रियाले कुरा गरेको यो पहिलो अवसर थियो । त्यताको सन्चो बिसन्चो, भूकम्पले पारेको प्रभावका साथै आफ्नी आमाको हालखबरबारे अप्रत्यक्ष रूपमा जानकारी लिएपछि सुप्रियाले केही हल्का महसुस गरी । सुत्नुअघि उसले अमेरिकामा रहेकी आफ्नी बहिनीसँग पनि कुरा गरी ।

***

डे फोर

सुप्रियालाई हम्मे-हम्मे परिरहेको थियो । हप्ताको पाँच दिन काम गर त्यो पनि अस्पतालमा नर्सको ड्युटी- कहिले बिहानको काम, कहिले दिउँसोको त कहिले रातिको काम । बिहानको सिफ्टमात्र गर्छु भन्न नपाइने । त्यसमाथि पाँच वर्षको आफ्नो छोरो, जो भर्खरमात्र स्कुल जान थालेको थियो, लाई एक्लै हेर्नुपर्ने । विदेशको जीवन, सहयोग गर्ने न कोही साथीभाई न त नजिकका इष्टमित्र । जसले सहयोग गर्नुपर्ने थियो, जो जिन्दगीको दुःखसुखको आधा-आधा भागिदार हुनुपर्ने थियो—ऊसँग सुप्रियाको साथ छुटिसकेको थियो । त्यस बिर्सनलायक छोटो सहयात्राबाट सुप्रियाले बिर्सनै नसकिने सुन्दर उपहार भने पाएकी थिई । छोरा सुयसका रूपमा ।

सुप्रियालाई त्यतिखेर पनि हम्मे-हम्मे परेको थियो जब छोरा सुयस जन्मिसकेपछि ऊ पतिको घरमा थिई । बाथकी रोगी सासूआमा भित्रबाहिर गर्न सक्दिन थिइन् । न त चुलोचौको नै गर्न सक्थिन् । आमाको माइती घरमा सिन्को पनि नाभाँची बसेकी सुप्रियालाई बिहे भएपछि घरायसी कामको सम्पूर्ण जिम्मा आफू एक्लैले उठाउनुपर्दा निकै कठिन भएको थियो । एक मनले आमासँग रिस पनि उठेको थियो– कमसेकम भान्साको सामान्य काम त सिकाउनुपर्ने थियो ! महिला भएर जन्मिसकेर बिहेघर गैसकेपछि यदि नयाँ बुहारीबाट घरका सारा काम गर्ने अपेक्षा आम रूपमा राखिन्छ भने हामीलाई माइती घरमा किन राजकुमारीजस्तो गरेर राखेको होला ? बिहेपछिका सुरुवाती दिनमा सुप्रियाले आफ्नी आमालाई यो प्रश्न बारम्बार गरी, आमने सामने होइन, आफ्नै मनभित्रको कुनै कुनामा । अब प्रत्यक्ष प्रश्न गर्नुको कुनै अर्थ थिएन ।

भान्साको सारा काम सिक्दै जाँदा उसले परिवारका सदस्यहरूका रुखा टिप्पणी पनि बिस्तारै पचाउँदै गई तर सुत्केरी भएर बसेको अवस्थामा पनि सुप्रियाले कुनै राहत पाइन । चुलोचौको गरि नै रहनुपऱ्यो र एकदिन उसको दयनीय अवस्था देखेर घरका सदस्यले नै उनलाई सुझाए– केही दिनको लागि माइत जाऊ भो, तिमीलाई यहाँ गाह्रो भयो । सुत्केरी अवस्थामा अन्ततः केही आराम पाउने कुराले राहतको लामो सास फेर्नै लागेकी सुप्रियालाई गहिरो झट्का तब लाग्यो जब उनकी आमाले आफू कलेजमा व्यस्त भएको र तत्काल उनको सुत्केरीसेवा गर्न असमर्थ रहेको कुरा व्यक्त गरिन् ।

घरमा दुःख पाएर आफू सुत्केरी बस्न आउँछु भन्दा आमाले अस्वीकार गरेको कुरा सुप्रियालाई पचाउन गाह्रो भयो । केही समयपछि सुप्रिया सुत्केरी बस्न माइत फर्कन त फर्किइ तर यस दौरान आमाछोरीबीचको खाडल अरू गहिरिइसकेको थियो ।

***

यस अप्ठ्यारो पृष्ठभूमिको सेरोफेरोमा उसले आमासँग सल्लाह गरेर केही समयका लागि छोरालाई काठमाडौँमा आफूसँग राखेर पढाइदिने सहयोग मागेकी थिई, नचाहँदा नचाहँदै । यसपालिको अनुरोध भने सुप्रियाकी आमाले सहर्ष स्वीकार गरेकी थिइन् । सायद उनलाई विगतको गल्तीको पश्चात्ताप थियो जुन उनी वर्तमानमा सच्याउन चाहन्थिन् । आफू र छोरीबीचको भावनात्मक दूरी कम गर्न चाहन्थिन् । जसअनुरूप छोरा सुयस केही महिनादेखि आफ्नी हजुरआमासँग काठमाडौँमा बस्दै आएको थियो ।

त्यसपश्चात् सुप्रियालाई काममा जान आउन धेरै सजिलो भएको थियो । साथसाथै काममा मन लगाएर आफ्नो क्षमताअनुरूप कार्यसम्पादन गर्न पनि उसलाई केही सहज भएको थियो ।

करिब ६ महिनापछि उसले अब पहिलेजस्तो दिउँसो र रातिको सिफ्ट नगरे पनि हुने भयो । बिहानको मात्रै ड्युटी गर्दा धेरै कुरा सहज हुन्थ्यो । आफू काममा हुँदा छोरा स्कुल हुन्थ्यो भने काम सकेपछि उसलाई स्कुलबाट ल्याउँदा सबै कुरा मिलिहाल्थ्यो । अर्को महिना केही दिनको छुट्टी मिलाएर काठमाडौँबाट छोरालाई बापस लिएर आउने उसले मनमनै निर्णय लिई ।

***

साउनको महिना । हिजोदेखि लगातार पानी परिरहेको छ । पानी रोक्किने कुनै सङ्केत छैन । हिजो त बरु शनिबार पानी परे पनि केही थिएन । स्कुल, कार्यालय सबै बन्द तर आज सुप्रियाको आमालाई विश्वविद्यालयमा नगई नहुने काम छ । नाति सुयसलाई स्कुलमा छोड्नु छ ।

पानी हेरेर घरमै बसिराखेर पनि त भएन । अन्ततः अरू बेलाजस्तै नातिलाई स्कुल छोडेर आफू विश्वविद्यालय जाने कुरा भयो । छाता, रेन कोट र सुयसका लागि गम बुट छँदै थियो । स्कुल पनि घरबाट खास पर थिएन । पाँच-दस मिनेटमा हिँडेरै पुगिन्थ्यो, सिनामङ्गल पुलपारि ।

सधैँ आवतजावत गर्ने सिनामङ्गलको पुल पुरानो भएर जीर्ण भएको थियो । नजिकै आधुनिक पुलको मर्मतकार्य चलिरहेको थियो । पुरानो पुलबाट सवारी आवागमनमा रोक लगाइएको थियो, जीर्ण पुललाई थप भार नहोस् भनेर । पैदल यात्रु र साइकल मात्र आवतजावत गर्न सक्थे । पुलमाथिबाट हिँड्दा पुल केही बाङ्गिएको जस्तो लाग्थ्यो तर भत्किहाल्ला जस्तो भने लाग्थेन ।

नाति सुयसलाई सम्झाईवरी, आफू स्कुल सकिने बेलामा लिन आउने वाचा गरेर सुप्रियाकी आमा विश्वविद्यालयतिर लागी । पानी रोकिने अझै पनि कुनै सङ्केत थिएन । अरू जोडसँग परिरहेको थियो ।

***

चौथो दिन सुप्रियालाई उसको एउटा मिल्ने साथीको फोन आयो । विश्वविद्यालयमा सँगै नर्सिङ पढ्दादेखिको साथी उनीहरू ।

‘हेलो, के छ तेरो हालखबर ?’

‘ठिकै छ ।’

‘नेपालतिर सबै ठिकै छ नि ? भूकम्पमा कोही त परेन नि ?’

‘अहिलेसम्म त्यस्तो खबर त आएको छैन । हिजै कुरा गरेको ।’

‘खासमा म पर्सि नेपाल जाँदै छु के । गैरआवासीय नेपाली संस्थाको एक स्वयंसेवक टोली सिड्नीबाट पर्सि काठमाडौँ जाँदै छ, उद्धार कार्यमा सहयोग गर्न । डाक्टर र नर्सहरूमात्र छन् । तँ पनि जाने हो भने म कुरा गर्दिन्छु ।’

सुप्रियाको तर्फबाट तत्काल कुनै जबाफ आएन । सायद ऊ केही सोचिरहेकी थिई ।

‘भन् न के गरम ?’

‘म तलाईँ साँझसम्ममा खबर गर्छु है, आई निड सम टाइम टु थिङ्क ।’

‘ए ल ल, तर साँझ खबर गर है । भोलिसम्ममा टिकट बुक गर्नुपर्छ के ।’

***

विश्वविद्यालयको काम सोचेभन्दा चाँडै सकियो । सुप्रियाको आमालाई बजारतिर किनमेल गरेर समय कटाउनुभन्दा बरु घरै गएर एक छिन भए पनि आराम गर्नु उचित लाग्यो । पानी पनि केही थामिएको थियो । हातमा तातो चिया लिएर सोफामा ढल्किँदा करिब २ बज्दै थियो । नातिलाई लिन जानको लागि अझै समय थियो । स्कुल ३:३० नभै छुट्टी हुँदैनथ्यो । लगातारको वर्षाले चिसिएको मौसम र बिहानभरिको धपेडीको थकानले होला सायद, एकै छिनमा उनलाई लामो लामो हाई आउन थाल्यो । चिया पिएर सकिनुअघि नै निद्राले उनका आँखा बन्द भैसकेका थिए ।

***

दिनभर सोचिसकेपछि सुप्रियाले साँझ अघि दिउँसो फोन गर्ने साथीलाई टेक्स्ट पठाई ।

‘मेरो नाम पनि कन्फर्म गर्दे है । आई विल कम विथ यु टु काठमाडौँ !’

यतिका वर्ष र यति समय लगाएर बनाएको दूरीपश्चात् अचानक काठमाडौँ जाने निर्णय लिनु सजिलो काम थिएन सुप्रियाका लागि तर यसपालि ऊ काठमाडौँ जान चाहन्थी । केही हिसाबकिताब मिलाउन चाहन्थी । केही कुरा भन्न चाहन्थी । केही कुरा सुन्न चाहन्थी र उसलाई यो पनि थाहा थियो कि यदि यसपालि ऊ नेपाल गइन भने भविष्यमा कहिले पनि फर्केर जाने छैन ।

***

डे फाइभ

आँखा खुल्दा पौने चार भैसकेको थियो । हस्याङफस्याङ गर्दै स्कुल जान बाहिर निस्किँदा पानी जोडसँग परिरहेको थियो । हतारमा रेनकोट पनि नलगाई छातामात्रै लिएर सुयसको स्कुलतर्फ जाँदा सुप्रियाकी आमाको मनले एउटै कुराको मात्र कामना गरिरह्यो– सुयस स्कुलमै कुरिराखेको होस् । यताउता कतै नगएको होस् । पहिले एक दुईचोटि लिन जाँदा ढिला हुँदा सुयसलाई उसले घरनजिकै बस्ने साथीहरूसँग पुल नजिक आउँदै गर्दा भेटेको स्मृति अहिले उसको दिमागमा ताजा भयो । यससँगै उनको पाइलाको रफ्तार बढ्यो ।

सिनामङ्गल पुलनजिक केही मान्छेको भिड लागेको थियो । हल्लाखल्ला पनि थियो । त्यसमाथि अविरल वर्षाको एकोहोरो आवाजले थप अन्योल सिर्जना गरेको थियो । आफूलाई हतार नै भए पनि के भएको रहेछ एकचोटि बुझौँ भन्ने मनसायले उनका खुट्टा पुलतिर अघि बढे । पुलनजिक पुगेपछिको दृश्य केही भयानक थियो । पुल बीचबाट दुई फक्ल्याट परेको थियो भने उतापट्टिको भाग लगभग पूरै जमिनमा भासिएको थियो । यतापट्टिको भाग भने ठिङ्ग हावामा तैरिरहेको थियो । हेर्न जम्मा भएका मान्छेहरू आआफ्नै अनुमान लगाऊदै थिए ।

‘ज्या….. कसरी भासिएछ । हिजोदेखि परेको यै अलच्छिना पानीले गर्दा हो !’

‘पुलमात्रै भासिए त बरु केही थिएन । मैले त सुनेको २-४ जाना मान्छे पनि परे रे !’

‘मैले नि त्यस्तै सुनेको । त्यो पारिको स्कुलमा पढ्ने २ जना बच्चाहरू त भासिएर भित्रै पुरिएको एउटाले आफ्नै आँखाले देखेको कुरा गर्थ्यो ।’

‘अभिभावकहरू पनि कस्ता ! यस्तो पानी परेको दिन त कमसेकम यो थोत्रे पुल प्रयोग नगरेको भए हुन्थ्यो !’

मान्छेका कुरा सुनेर सुप्रियाकी आमालाई त्यहीँ चक्कर आउलाजस्तो भयो । टाउको फनफनी घुम्यो । खुट्टा थरथर काँपे । अलिकति होस थामिएजस्तो भएपछि उनका पाइला फेरि स्कुलतिर बढे ।

***

पाँचौँ दिन सुप्रियाले कामबाट दश दिनको छुट्टी मिलाई । भूकम्पको उद्धार कार्यमा सहयोग गर्न जाने कारण भएकाले कामबाट छुट्टी लिन उति अप्ठ्यारो पनि भएन । नेपाल जाँदा लाने सुटकेस र अरू समान मिलाइसकेपछि उसले अन्तमा बहिनीलाई यसबारे खबर गरी जुन कुरा सुनेर बहिनी प्रियाले राहतको लामो सास फेरी ।

‘अनि मम्मीलाई खबर गर्नुभयो त ?’

‘खबर त गरेकी छैन । सोच्दै छु- एकैचोटि गएर भेटौँ ।’

‘म खबर गर्दिम् ?’

‘पर्दैन । तँ केही नभन् । लेट इट बि अ सर्प्राइज !’

***

पुलपारि पुगेर स्कुलतिर मोडिनै लाग्दा एम्बुलेन्सको चर्को आवाजले त्यहाँको वातावरणमा अरू खैलाबैला ल्याइदियो । सुप्रियाका आमाका खुट्टा टक्क अडिए । केही स्थानीय बासिन्दाको सहयोगमा प्रहरी जवानहरूले पुल भासिएको ठाउँबाट लास एम्बुलेन्समा लैजाँदै थिए । कसैको हातमा लासको खुट्टा थियो भने कसैको हातमा लासको हात ! अन्तमा आएका दुई जवानले भने हातमा केही सग्लो वस्तु बोकेर आए र टक्क एम्बुलेन्सभित्र मिलाएर राखे । सुप्रियाकी आमाको नजर रातो रङ्गको बिरालो आकारको पानी पिउने बोतलमा गएर अडियो, जुन सग्लो वस्तुको घाँटीमा बेरिएको थियो । यो दृश्य देखिसकेपछि बिस्तारै उनका आँखा बन्द भए, खुट्टाले जमिन थेग्न छोड्यो र उनी त्यहीँ बेहोस भएर लडिन् ।

आँखा खुल्दा उनीले आफूलाई अस्पतालको बेडमा पाइन् । वरिपरि राता आँखा लिएका आफन्तजन र नातेदार थिए । न त उनको मुखबाट कुनै शब्द निस्कियो न त अरू नै केही बोले । मौनताले सबैलाई डसिरह्यो ।

पर्सिपल्ट सुप्रिया र प्रिया दुवै काठमाडौँ आइपुगे । छोरा सुयसको अन्तिम संस्कारभरि आँसुको खोलो बग्यो, रोदनको चीत्कार पर परसम्म गुन्जियो तर सुप्रियाको आँखाबाट न त एक थोपा आँसु बग्यो न त कुनै चीत्कार नै सुनियो । अरू परिवारजनभन्दा ऊ शान्त देखिन्थी । लाग्थ्यो ऊ रुन त चाहन्थी तर ऊभित्रको आँसु सायद कतै जमेको थियो । कतै बरफ भएर बसेको थियो ।

अन्तिम संस्कार सकिएको भोलिपल्ट ऊ आफ्नो सुटकेस बोकेर एकाएक कसैसँग एक शब्द पनि नबोली त्रिभुवन विमानस्थलतर्फ लागेकी थिई । उसलाई रोक्ने प्रयास नभएको होइन तर ती प्रयास आफैँमा केवल प्रयासमात्र थिए । तिनमा कुनै आवाज थिएन, कुनै संवाद थिएन । ती प्रयासमा कुनै आशा थिएन । थियो त केवल समवेदना जुन सुप्रियालाई त्यतिखेर रोक्नका लागि पर्याप्त थिएन ।

***

डे सिक्स

छैटौँ दिन सुप्रिया बिहान ९ बजे आफ्नो सुटकेस र अरू सामानसहित सिड्नी अन्ताराष्ट्रिय विमानस्थल पुगी । उसकी साथी र गैर आवासीय टोली उसलाई पर्खिराखेको थियो । साथीले उसलाई गम्लङ्ग अँगालो हाली । सुप्रिया केवल मुस्कुराई मात्र । चेक इनका लागि भित्र जाँदै गर्दा उसकी साथीले भनि- ‘ए मैले त भन्नै बिर्सेको ! हामी काठमाडौँ पुग्दा राति हुने भएकाले आज रातका लागि होटलको व्यवस्था भैसकेको छ है । भोलि होटलबाटै सिन्धुपाल्चोक जाने योजना छ ।’

‘म सिनामङ्गल घर नै जान्छु । बरु भोलि बिहान होटलमै भेट्छु सबै जनालाई ।’

सुप्रियाको उत्तर सुनेर अलि आश्चर्यमिस्रित आवाजमा उसले सोधी- ‘आर यु स्योर ?’

सुप्रियाले मौन सहमतिमात्र जनाई ।

बरफ भएर चार वर्ष जमेको आँसु बिस्तारै हलचल गर्दै थियो । अन्ततः निकास खोज्दै थियो र सुप्रियालाई थाहा थियो– त्यो निकास कुनै होटलको कोठामा होइन, सिनामङ्गलको घरमा मात्र सम्भव थियो ।

विमानस्थलमा अध्यागमनको लामो लाइन पार गरेर अगाडी बढ्दा सिनामङ्गलको घर उसलाई पर्खिरहेको थियो, चार वर्षको लामो अन्तरालपछि । मौनताको एउटा लामो र कठिन अध्यायपछि ।

***

राति १० बजे त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल उत्रिसकेपछि सुप्रिया ट्याक्सी लिएर सिधै सिनामङ्गलतिर लागी भने टोलीका अरू सदस्य नजिकैको होटेलतिर लागे । ट्याक्सीमा सिनामङ्गलतिर अघि बढ्दा बाल्यकालका स्मृति उसका आँखाअघि आइरहे । केही बेरमै गन्तव्य आयो । ट्याक्सीलाई पैसा तिरिसकेपछि ऊ घरतिर अघि बढी । उसले परैबाट देखी– घरअगाडि केही मानिस जम्मा भएका थिए भने दुई प्रहरी जवान भित्रबाहिर गर्दै थिए ।

रातको यस बखत मान्छेको भिड अनि पुलिस ? सुप्रियालाई अनौठो लाग्यो । उसका पाइला अरू तेज भए । जम्मा भएका मान्छेहरूले उसलाई हेरिरहे तर कोही केही बोलेन । यथार्थ बुझ्न उसले एउटा प्रहरी जवानलाई आफ्नो परिचय दिँदै उनीहरू आउनुको कारणबारे सोधी । जवानले उसलाई एकछिन हेरिरह्यो र अन्तिममा आफ्नो पछि आउनू भन्दै घरभित्र छिऱ्यो । अहिलेसम्म मन्द गतिमा हिँडिरहेको उसको मुटु अब एक्कासि दौडिन थाल्यो ।

दोस्रो तल्लामा पुगेपछि उसले सुप्रियालाई त्यहीँ उभिन भनेर आफू एक तलामाथि उक्लियो । केही बेरमा उसले सुप्रियालाई माथि तेस्रो तल्लामा आउन सक्ने इसारा गऱ्यो । सुप्रियाले देखी– तेस्रो तल्लामा भएको आमाको बेडरुमको ढोका खुल्ला थियो । नजिक जाँदा दृश्य अरू खुल्दै गयो । भित्तामा भएको पङ्खाबाट एउटा लामो डोरी झुन्डिरहेको थियो । भुईँमा आमाको शरीर लम्पसार परिरहेको थियो । आँखा बन्द थिए ।

एउटा जवान आफैँसँग कुरा गरे जसरी भन्दै थियो- ‘यी आमैलाई पनि त्यस्तो के परेको होला त । त्यत्रो भूकम्प जाँदा केही नभएर अहिले हेर यसरी जानुपरेको !’

र यसपटक सुप्रियाका आँखाले उसलाई धोका दिएनन् । आँखाका कुनाबाट आँशु क्रमशः बर्सिए । बर्सिरहे ।

***