यही दुई झुटको
बिचमा चल्छ जिन्दगीको भव्य खेल
जन्मको झुट
अनि
मृत्युको झुट
संसारकै
सबैभन्दा ठुलो झुट…
न हामी जन्मियौँ
कहिले
न त कहिले मर्यौँ
नै
तर अफसोस, ‘शाश्वत सत्य’ यसैलाई मान्छौँ सबै ।
वास्तवमा
दुई किनार मात्र रहेछन् जिन्दगीका
‘जन्म अनि मृत्यु’
यी होइनन् ‘सुरुवात र अन्त्य’
यी होइनन् ‘आरम्भ र विलय’।
यस्तो लाग्छ
कि— बाँचिरहेछौँ
यस्तो लाग्छ
कि— बाँचिसक्यौँ ।
जन्मबाट
चिप्लिएर मृत्युतिर पुग्छौँ र
यस्तो
सोच्छौँ कि अब मृत्यु आयो
हामी सकियौँ
विलीन भयौँ ।
तर
भ्रम मात्र
न हो यो सब !
चलिआएको भ्रम
सबैले
स्वीकारेको भ्रम
आपसी
समझदारीमा आत्मसात् गरेको ‘भ्रमित सत्य’।
मानवले
आफूलाई अनि एकअर्कालाई दिएको धोका
हो, यसरी नै
बाँच्छौँ हामी
यसरी नै
चल्छौँ हामी
यसरी नै
चलिरहनेछौँ हामी
सारहीन
स्वप्नमय भौतिकतामा झुटको अनन्त अङ्गालोमा बेरिएर…
के सकिएला र ? के मेटिएर जाला र ?
ऊर्जाको एक
ब्रह्माण्डीय नृत्य
अनन्त
चेतनाको असीमित अनि स्वतन्त्र प्रवाह
आकाशीय भजनहरूको
प्रतिध्वनि
अनि
ब्रह्माण्डका अलौकिक अभिव्यक्तिहरू…
हो, जिन्दगी त्यही हो
शाश्वत
कालातीत सत्य
जन्म अनि
मृत्युभन्दा पर…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 




