करिब चालिस मिनेट भएको छ विमानको इञ्जिन चालु भएको, उड्ने तयारीमा । त्रिभुवन विमानस्थलको आन्तरिक धावन मार्गमा तयार रखिएको त्यो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि २४ मिनेट आकाशमा हुनेछ । यो उडान समय प्राय सबै यात्रुलाई थाहा छ ।

परिचारिकाले उड्नुअघिको अन्तिम सूचना दिइन्- “अबको पाँच मिनेटमा हामी पोखराका लागि उड्ने छौँ । हाम्रो चालक दलमा हुनुहुन्छ क्याप्टेन रोहित र सह-चालकमा अनुपमा, जसले आजको उडानको कमाण्ड गर्नु हुनेछ । हामी २४ मिनेट १६ सेकेण्डमा पोखरा विमानस्थलमा अवतरण गर्नेछौँ ।”

यस विमानका साठी यात्रुमध्ये एक युगल जोडी पनि छन् – शैलेन्द्र राना र सम्हिता गुरुङ ।

“कतिबेला घर पुगेर आमालाई भेटौँ, देखौँ भएको छ; उड्न हतारो भएको छ ।” शैलेन्द्रले अधैर्य मन प्रकट गर्यो ।

“आमालाई फोन गरौँ न- हामी उड्न तयार भएर जहाजमा छौँ भनेर ।” सम्हिताले सुझाई ।

“ए साँची है । ल मैले कल गरिहालेँ ।”

दूरभाषको अर्कोपट्टि भएकी आमालाई शैलेन्द्रले ढुक्क बनायो :  “हामी दिउँसो २: ५४ बजे पोखरा उत्रिन्छौँ अनि गाडी लिएर सिधै घर आउनेछौँ । पाँच बजे भित्र हामी घर आइपुग्छौँ होला ।“

शैलेन्द्र अमेरिकाको कोलोराडो विश्वविद्यालयको विद्यार्थी हो । दुई वर्षअघि बिहे गरेर ऊ स्नातक तहको पढाइ सक्न कोलोराडो फर्केको थियो । यो साल माघी पर्व पारेर नेपाल पुग्न सकेकोमा ऊ निकै पुलकित छ ।

सम्हिता भने काठमाडौँमा सानो जागिरसहित समाजशास्त्रको विद्यार्थी छे त्रिचन्द्र क्याम्पस रात्री सत्रको कक्षामा ।

माघको पहिलो साता । काठमाडौँको आकाश बाक्लो कुइरो र भुइँ हुस्सुले छोपेको बेला । कतै फाटेको बादलबाट घाम छिरेर चियाउँदा, न्यानोको लोभ लाग्छ । विमानस्थलमा झुलुक्क देखा परेको कलीको रोशनी विमानभित्रसम्म छिरेर धप्प उज्ज्यालो भएको थियो एकैछिन । तर बाक्लो कुइरोको पर्दाले एक मुठी रोशनीलाई केहीबेरमै ओझेल पारिदियो । विमान धावनमार्गमा गुड्न थालेपछि पर चन्द्रागिरीको टुप्पोमा लोभलाग्दो उज्ज्यालो देखियो, कपासे च्यादरबीच ।

सिमले गाउँको सिरानमा छ शैलेन्द्रको घर- जहाँ आमा एक्लै बस्छिन् । यो गुरुङ र राना मगरको सानो बस्तीमा माघी मेलाको रमझम छ । सक्रान्तिको पर्सिपल्टसम्म गाउँमा मेला लाग्छ – बुद्ध चौतारो प्राङ्गणमा । डोको र थुन्सेमा तरुलका थरि-थरि जात यहाँ बेच्न राखिन्छ । सेलरोटी, चिउरा, मासु, तरुलका तरकारी परिकार, हिमाली भेडा र चौरीको घिउ, कोदोको जाँड बेच्न्नेको बजार लाग्छ तीन दिनसम्म । शैलेन्द्रकी आमाले वन तरुलको तरकारीसँगै, सेलरोटी र चिया बेचिन् यसपाली मेलामा ।

शैलेन्द्र घर आउने खबर पाएदेखि नै आमाले घरमा चाहिने सामानको इन्तजम गरेकी छन् ।” अब त बुहारी पनि छ, आफ्नु इज्जत राख्नु पर्यो । छि ! भन्ने हुनुभएन ।” यो इज्जतको कुरा मनमा खेलिरहन्छ- खानदानको इज्जत, एक्ली आमाले हुर्काएको शैलेन्द्रको इज्जत र आफ्नै इज्जत जो त्यो समाजमा स्थापित छ ।

पुषको अन्तिम सातातिर थाक्छो खोल्साको पुछारमा बनाएको पानी घट्टमा फापर र कोदो लिएर पिस्न गएकी थिइन्- काइँली मगरनी । पिपलथोक टोलकी कोरुङ्गिनी बजूसँग त्यहाँ भेट भयो ।

बोजूले कुरा कोट्याइन्, “कहिले आउँछ तिम्रो छोरा ?”

“खै, माघको सात गते आइपुग्छु भन्छ ।”

“बुहारी लिएर आउँछ होला नाइ । हाम्रोतिर पनि देखाउनु लेऊ न ल काइँली ।” बोजूको प्रेमपूर्ण आग्रह थियो ।

हुन पनि शैलेन्द्रले यी कोरुङ्गिनी बोजूसँग सानैदेखि हेलमेल गरेको हो, आफ्नै बज्यैजस्तै गरेर । “खुबै देख्नु मन छ शैलेलाई र उसको केटीलाई ,” बोजूले थपिन् ।

“फापरको ढिँडो ज्यादै मन पराउँछ शैलेन्द्रले । त्यही भएर अलिकति पिसाउन आएको ।”

“अँ हो त । सानोमा हाम्रो घरमा आएको बेला तामाको अचारसँग फापरको ढिँडो मज्जाले खान्थ्यो । ”  बोजूले स्मृतिको भित्री तहबाट झिकिन् शैलेन्द्रको गुण ।

घर रङ्गाउन कमेरो लिन जाँदा बाटामा जयवीर जमदारले सोधेका थिए – ” कहिले फर्किन्छ रे काइँली तिम्रो छोरा ? अब त बुहारी पनि आउने होला नि !”

काइँली मगरनी अर्थात् शैलेन्द्र रानाकी आमा एकल महिला हुन् ।

अधबैँसे उमेर छ अझै- झन्नै बयालीस पैंतालिस पुगेकी । उनको लोग्ने एक समय लाहुर गएर फर्केका । द्वन्द्वकालमा उनको मृत्यु भयो, आकस्मिक मुडभेडमा परेर ।

शैलेन्द्र र उसकी बहिनीलाई जसोतसो हुर्काइन्, पढाइन् । अब दुवैजना गरिखाने भएका छन् ।

शैलेन्द्रको बिहे पछि थाप्लोको बोझ निकै हलुका भएको महसूस छ उनलाई । बुहारी सम्हिताको पुर्ख्यौली घर डुम्रेमा हो तर आधी परिवार ललितपुरमा घर किनेर बसेको छ । ऊ पनि आफ्नै कमाइ खान्छे । तेसैले काइँली मगरनीलाई आफ्नो गाउँको घर मात्र हेरे पुग्छ ।

ooo

पोखरामाथिको आकाशमा एउटा जहाज निकै फन्का घुमिरहेथ्यो । कहिले निकै तल झरेर त कहिले बतासिएर डाँडा माथि माथि हानिन्थ्यो ।

रुपाकोटका गाउँले बासिन्दा चोकमा चिया पिउँदा गफमा जहाजको यो अनौठो चालाको चर्चा गर्दैथिए ।

“आज यो प्लेन किन फनफनी घुमिरहेछ ? अलि अनौठो किसिमले उड्दै छ । कतै खस्ने पो हो कि ?”

“यो सिकारुले उडाए जस्तो छ ।”

“हवाईजहाज उडाउने कुरामा पनि हेल्चेक्रो छ नेपालमा”  यस्तै यस्तै गफ सुनिन्थ्यो ।

सहायक कप्तान अनुपमाले पोखरा विमानस्थलको टर्मिनल निर्देशन पर्खेर छेउछाउ उडिरहनु पर्यो । अवतरण गर्ने निर्देशन नआएसम्म उनलाई आकाशमै जहाज राख्नुपर्ने बाध्यता थियो ।

पिस प्यागोडा गुम्बामा घुम्न गएका पर्यटकले हेर्दा हेर्दै जहाज सेतीको खोंचतिर मोडियो ।

अकस्मात् विष्फोटको भयङ्कर आवाज आयो दक्षिण पूर्व दिशाबाट । पोखरा वरिपरिका अग्ला ठाउँबाट मानिसहरूले आकाशमा आगोको लप्कासँगै धुवाँको मुस्लो  देखे । ज्वालामुखी फुटेजस्तो आवाज थियो त्यो ।

केही घण्टामै उद्धार गर्न भन्दा रमिता हेर्नेको घुइँचो लाग्यो घटनास्थलमा । साठीजना यात्रु बोकेको त्यो विमानको थोरै मात्र पुर्जाहरू बाँकी थिए । यात्रुको त कुनै एउटा सग्लो जीउ पनि फेला परेन ।

सम्हिता र शैलेन्द्र यतै कहीं हराए, कालो धुवाँमा बिलाए । उनीहरूको प्रेमील सपना यतै वाष्पीकरण  भयो,  दुई आत्माको कलिलो बन्धन यति छोटो कालचक्रमै छिन्न भिन्न भयो ।

आमाको मन हो- कति छिया छिया भएको हुँदो हो सन्तानको यो हालत हुँदा । समाचार सनसनी फैलियो – “सेती नदीको खोँचमा झरेर विमान ध्वस्त भयो । विमानमा सवार सबै यात्रुको ज्यान गएको छ ।”

काइँली मगरनीको खुशी र आशाको त्यो पोयो एकाएक फुक्यो र च्वाट्ट चुँडियो । कति अल्पकालीन खुशी ! कति कच्चा आशाको त्यान्द्रो ! मान्छे हो जन्मन्छ मर्छ, तर यसरी मर्नु त अकाल हो, दुर्गति हो । उनी हानिएर पोखरा पुगिन् तर मान्छे सग्लो भेटिएको खबर छैन । होश गुमेको जस्तो भयो, आफ्नै प्राण निस्केर  जालाजस्तो लाग्यो ।

काइँली मगरनीको आशाको दियालो सदाका लागि निभ्यो, भरोसाको टेको भाँचियो र चित्तको पर्खालमा धाँजा फाट्यो । अब उप्रान्तको जीवन फगत एक्लो हुने भो । घर भूतले तर्साउने मसान घाट जस्तै हुने भो ।

छोरा बुहारीको घर फर्किने साइत पर्खेकी आमाले कुन चित्त बोकेर रित्तो घर फर्किने ?

शैलेन्द्र र सम्हिताको शरीरको कुनै अंश पनि चिनिने वा भेटिने आश मरेपछि जयवीर जमदारको सहायताले उनी घर पुगिन् । अब सहारा भनेका तिनै छिमेकी र केही आफन्त मात्र बाँकी थिए ।

धेरैपछि …

काइँली मगरनीलाई भेटेर चिन्नेहरूले भने – काइँली बुढी देवघाटको वृद्ध आश्रममा साधवीको भेषमा बसेकी छन्  ।