मोन्टेनेग्रो जाने कुरा पक्का हुनासाथ मलाई अचानक मेरो एक पुरानो साथीको याद आयो । म्यासेन्जरमा कुरा हुँदा थाहा भयो, उनी अहिले टान्जानियामा व्यापारमा निकै व्यस्त रहेछन् । केही वर्षअघिसम्म हाम्रो रेस्टुरेन्ट नजिकै उनको गाडी धुने ग्यारेज थियो । उनले केही नेपालीहरूलाई पनि काममा राख्ने गर्थे । आफ्ना हुर्किसकेका चार छोराहरूसँग उनी प्रायः लन्चको लागि हाम्रो रेस्टुरेन्ट आउँथे भने कहिलेकाहीँ त पूरै परिवार र साथीभाइ मिलेर डिनर गर्न पनि आउने गर्थे । देश आउँदा-जाँदा उनी जिस्कँदै भन्थे, “तिम्रो जस्तो राम्रो रेस्टुरेन्ट यदि मोन्टेनेग्रोमा चलाउन पाए त कति मज्जा हुन्थ्यो!”

कोसोभो पार गर्दै हाम्रो बस मोन्टेनेग्रोतर्फ अघि बढ्दै गर्दा बाहिरको दृश्य बिस्तारै बदलिँदै गयो । पहाडहरू नजिक आउँदै थिए, सडकहरू साँघुरा र घुमाउरा बन्दै गए, अनि कता–कता टाढाबाट एड्रियाटिक समुद्रको एउटा मधुरो झलक देखिन थाल्यो । त्यही बेला गाइडले अचानक मोन्टेनेग्रोका मानिसहरूको स्वभावबारे कुरा चलाए । उनको शैलीमा ठट्टा र अनुभव दुवै मिसिएको थियो । उनले भन्न थाले, “यहाँ समय घडीले होइन, मान्छेको मनले चलाउँछ । काम त सुरु हुन्छ, तर कहिले सकिन्छ भन्ने कुरा कुनै योजनाले होइन, परिस्थिति र मान्छेको मुडले तय गर्छ ।”

शुरूमा हामी सबैले सामान्य रूपमा सुनिरहेका थियौँ, तर गाइडले कथा सुनाउने शैली बदल्दै जाँदा माहोल नै रमाइलो भयो । उनले ठट्टा गर्दै भने, “यहाँ घर बनाउने कुरा गर्नु भनेको भविष्यको काल्पनिक कथा सुनाउनु जस्तै हो ।” बाहिर
ठूला-ठूला भवनहरू निर्माण भइरहेका थिए । कतिपय अधुरा थिए, कतिपय आधा मात्र बनेका, त कतिपय त यति धेरै समयदेखि बनिरहेका थिए कि स्थानीयहरूले त त्यसलाई जिस्क्याउने विषय नै बनाइसकेका रहेछन् । गाइडले हाँस्दै भने, “यो घर बनाउन सुरु भएको कति वर्ष भइसक्यो, तर अहिलेसम्म यसलाई ‘लगभग सकिन लागेको’ नै भनिन्छ ।” यो सुनेपछि बसभित्र सबैजना गलल हाँसे ।

अर्को ठाउँमा सडक मर्मत भइरहेको थियो, जहाँ काम निकै सुस्त गतिमा भइरहेको देखिन्थ्यो । गाइडले फेरि चुटकिला हाल्दै भने, “यहाँ सडक बनाउनु भनेको योजना बनाउनु होइन, बरु सम्बन्ध गाँस्नु हो । काम कहिले सुरु हुन्छ भन्ने त थाहा हुन्छ, तर कहिले सकिन्छ भन्ने कुरा त इतिहासले मात्र थाहा पाउँछ ।” हामी हाँसिरहेका थियौँ, तर त्यो हाँसोभित्र एउटा गहिरो सत्य पनि लुकेको थियो । यो देशको जीवनको गति नै बेग्लै छ, जहाँ दौडिनुभन्दा पनि धैर्य गर्न सिक्नुपर्छ ।

बस अझै अगाडि बढ्दै जाँदा गाइडले मोन्टेनेग्रोको जीवनशैली बुझाउन केही रमाइला कुराहरू सुनाउन थाले । उनले यसलाई ‘दस अटल नियम’ भने, तर ती कुनै कानूनी नियमभन्दा पनि जीवनलाई सहज बनाउने एउटा सामाजिक दर्शन जस्तो सुनियो । उनले भने, “मान्छे थकित भएर जन्मिन्छ, त्यसैले जीवनको मुख्य उद्देश्य नै आराम गर्नु हो । दिनभरी आराम गर ताकि राती मजाले सुत्न सकियोस्, काम जीवनको केन्द्र होइन, जीवन त एउटा लामो विश्राम हो । यदि कोही आराम गरिरहेको छ भने उसलाई बाधा पुऱ्याउनु त अपराध नै हो । यदि कसैलाई अचानक काम गर्ने इच्छा जाग्यो भने पनि त्यसलाई तुरुन्तै गम्भीरतापूर्वक नलिनु किनकि केही बेर पर्खियो भने त्यो भावना आफैँ हराएर जान्छ ।”

उनले थप्दै गए, “अरूले खाँदै-पिउँदै गरेको देखियो भने नजिक जानु तर कोही काम गरिरहेको छ भने बाधा नपुग्ने गरी टाढै बस्नु, आफ्नो ओछ्यानलाई आफ्नै शरीर जस्तै माया गर्नु, धेरै काम गर्दा मान्छे बिरामी हुन्छ, चाँडै मर्नु त राम्रो होइन, तर आराम गर्दा अहिलेसम्म त कसैको मृत्यु भएको छैन !”

कोसोभो काटेर मोन्टेनेग्रो प्रवेश गर्दा सडक किनारमा साना-साना गाउँहरू देखिन थाले । कतै मानिसहरू कफी पसलमा बसिरहेका थिए त कतै सडक छेउमा चुपचाप गफ गरिरहेका । त्यहाँ कुनै हतारो थिएन, कुनै दौडधुप थिएन, जीवन आफ्नै शान्त लयमा चलिरहेको थियो । गाइडले भने, “यहाँ मान्छेहरू समय बचाउन होइन, समयसँगै रमाउन सिक्छन् । यहाँ कफी पिउनु भनेको केवल कफी पिउनु मात्र होइन, जीवनलाई केही बेर रोकेर नियाल्नु पनि हो ।”
बस अगाडि बढ्दै जाँदा सडक किनारमा हिँडिरहेका केही युवाहरू देखिए । उनीहरू असाध्यै अग्ला देखिन्थे । मैले गाइडलाई जिज्ञासापूर्वक सोधें । उनी हल्का मुस्कुराउँदै भने, “बाल्कानका मानिसहरू स्वभावैले अग्ला हुन्छन्, तर मोन्टेनेग्रोका पुरुषहरू त युरोपमै सबैभन्दा अग्लामध्ये पर्छन् ।” गाइडले थपे, यसबारे विभिन्न अध्ययनहरू पनि भएका रहेछन् । डिनारिक आल्प्स क्षेत्रमा बसोबास गर्ने मानिसहरूको औसत उचाइ युरोपकै शीर्ष स्थानमा पर्छ भन्ने निष्कर्ष धेरै अनुसन्धानहरूले देखाएका रहेछन् ।

केही बेरपछि बस फेरि पहाडको मोडतर्फ मोडिँदै जाँदा गाइडको स्वर फेरि रमाइलो बन्यो । उनले हाँस्दै भने, “तपाईंहरूले दौड प्रतियोगिता, पौडी प्रतियोगिता वा साइकल दौड त सुन्नुभएको होला, तर मोन्टेनेग्रोमा त सुत्ने प्रतियोगिता पनि हुन्छ ।”

उनले थपे, “यहाँ जो सबैभन्दा लामो समयसम्म पल्टिएर बस्न सक्छ, उसैले जित्छ ।” शुरूमा यो मजाक जस्तो लाग्यो, तर पछि थाहा भयो यो साँच्चै हुने एउटा अनौठो प्रतियोगिता रहेछ, जसलाई यहाँको आरामप्रेमी जीवनशैलीको प्रतीकको रूपमा पनि हेरिन्छ । गाइडको कुरा सुन्दा लाग्थ्यो, मोन्टेनेग्रोमा जीवनलाई दौड होइन, विश्रामको रूपमा बुझिन्छ । यहाँ सफलता हतारमा होइन, धैर्यमा खोजिन्छ । र सायद यही कारणले यहाँका मानिसहरूलाई संसारले “आरामप्रेमी” भनेर चिन्ने गरेको रहेछ ।
उक्त दिन यात्राको अन्त्यमा बास बस्ने ठाउँमा पुग्नुअघि गाइडले बिदा माग्दै भने, “मोन्टेनेग्रो एउटा सानो देश हो, तर यसको वास्तविक जीवन बुझ्न भने निकै ठूलो धैर्य चाहिन्छ ।”

ऐतिहासिक रूपमा हेर्दा, मोन्टेनेग्रोले सदियौँसम्म ओटोमन साम्राज्यको दबाब र प्रभावका बीच पनि आफ्नो धार्मिक, सांस्कृतिक र राजनीतिक अस्तित्व जोगाइराख्ने संघर्ष गर्दै आएको देखिन्छ । यहाँको कठिन पहाडी भू–भागका कारण बाहिरी शक्तिहरूले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकेनन् र जनताले आफ्नो स्वतन्त्र चेतना कहिल्यै डगमगाउन दिएनन् ।

यही पृष्ठभूमिमा लामो समयसम्म धार्मिक नेतृत्व र राज्यशक्तिको मेलबाट बनेको ‘थियोक्रेटिक’ शासन प्रणाली विकसित भयो । यही ऐतिहासिक कालखण्डमा पेटार द्वितीय पेट्रोभिच-न्येगोस जस्ता प्रभावशाली व्यक्तित्वहरू देखा परे, जसले शासन मात्र होइन, साहित्य र दर्शनमार्फत राष्ट्रिय चेतनालाई पनि गहिरो रूपमा आकार दिए । उनको कृति ‘The Mountain Wreath’ आज पनि मोन्टेनेग्रोको राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवको प्रमुख प्रतीक मानिन्छ ।

आधुनिक राजनीतिक इतिहासमा मोन्टेनेग्रोको यात्रा उतारचढावपूर्ण रह्यो । सन् १९१८ मा यो सर्बियासँग मिलेर युगोस्लाभियाको हिस्सा बनेपछि यसको छुट्टै राष्ट्रिय पहिचान ठूलो संघीय संरचनाभित्र केही हदसम्म ओझेलमा पर्यो । यद्यपि, स्वतन्त्रताको चाहना कहिल्यै कम भएन ।

अन्ततः सन् २००६ को जनमतसंग्रहमार्फत देशले निकै कम अन्तरले शान्तिपूर्ण रूपमा पुनः पूर्ण स्वतन्त्रता प्राप्त गर्‍यो । बाल्कान क्षेत्रका अन्य धेरै देशहरूमा देखिएको हिंसात्मक विघटनको तुलनामा मोन्टेनेग्रोको यो प्रक्रिया निकै शान्त र व्यवस्थित भएकाले अन्तर्राष्ट्रिय जगतले यसलाई एउटा सकारात्मक उदाहरणका रूपमा हेरेको थियो ।

स्वतन्त्रता प्राप्त गरेदेखि नै मोन्टेनेग्रो युरोपेली संस्थाहरूसँग नजिकिँदै आएको छ । अहिले यो देश युरोपेली संघको सदस्यता पाउन उत्सुक उम्मेदवार राष्ट्र हो भने सन् २०१७ देखि  ‘नेटो’को पूर्ण सदस्य पनि बनिसकेको छ । सन् २०११ मा युरोलाई आधिकारिक मुद्राको रूपमा अपनाएपछि यहाँको आर्थिक स्थिरता बढेको छ र युरोपेली बजारसँगको सम्बन्ध पनि निकै बलियो भएको छ । यद्यपि, आन्तरिक राजनीतिमा युरोपेली एकीकरण र राष्ट्रिय पहिचानको सन्तुलनलाई लिएर बहस अझै कायमै छ, जसले गर्दा यहाँको राजनीतिक वातावरण जटिल भए पनि निकै गतिशील छ । हामीले भ्रमण गरेका चार बाल्कान राज्यहरूमध्ये सम्भवतः यसले सबैभन्दा पहिला नै ईयू (EU) मा प्रवेश गर्नेछ ।

भौगोलिक हिसाबले हेर्दा मोन्टेनेग्रो एकदमै रोचक र विविध देश हो, जहाँ एकैतिर समुद्रको किनार त अर्कोतिर अग्ला पहाडका शृङ्खलाहरू भेटिन्छन् । ‘मोन्टेनेग्रो’ नामको अर्थ ‘कालो पहाड’ हो । यो नाम इटालियन भाषाबाट आएको हो, जहाँ ‘मोंटे’ भन्नाले पहाड र ‘नेग्रो’ भन्नाले कालो भन्ने बुझिन्छ । स्थानीय भाषामा यसलाई “Crna Gora” भनिन्छ, जसको अर्थ पनि त्यही हो । समुद्रबाट हेर्दा यहाँका घना जङ्गलले ढाकिएका पहाडहरू कालो देखिने हुनाले यो नाम राखिएको मानिन्छ ।

एड्रियाटिक तटमा रहेको ‘बे अफ कोटोर’ विश्वकै सुन्दर प्राकृतिक खाडीहरूमध्ये एक हो, जसलाई युनेस्कोले पनि विश्व सम्पदा सूचीमा राखेको छ । कोटर र बुड्भा जस्ता ऐतिहासिक तटीय शहरहरूमा मध्ययुगीन वास्तुकला र आधुनिक पर्यटनको एउटा अद्भुत संगम देख्न सकिन्छ । यहाँका पुराना बस्तीहरूलाई अझै पनि ऐतिहासिक किल्लाहरूले घेरेर राखिएको छ, जसले गर्दा यी ठाउँहरू आज पनि पुरानै स्वरूपमा झल्किन्छन् । साथै, यहाँका सडकहरूमा यताउता दौडिने असंख्य बिरालाहरू पनि पर्यटकका लागि एउटा छुट्टै आकर्षण बनेका छन् ।

आर्थिक रूपमा मोन्टेनेग्रो मुख्यतया पर्यटन र सेवा क्षेत्रमा आधारित छ । यहाँका मनमोहक दृश्य, समुद्री तट र ऐतिहासिक सम्पदाले हरेक वर्ष लाखौँ पर्यटकलाई आकर्षित गर्छन् । विशेषगरी गर्मी महिनामा यहाँ स्थानीय भन्दा बाहिरका पर्यटकहरूको चहलपहल बढी हुन्छ । पर्यटनका साथै ऊर्जा, रियल इस्टेट र साना–मझौला व्यवसायहरू पनि अर्थतन्त्रका बलिया आधार बनेका छन् । तर, औद्योगिक उत्पादनको कमी, बेरोजगारी र पर्यटनमा मात्रै धेरै निर्भर हुनु जस्ता चुनौतीहरू अझै बाँकी छन्, जसले गर्दा अर्थतन्त्रमा मौसम अनुसार उतारचढाव आउने गर्छ ।

करिब ६ लाखको जनसंख्या भएको यो देश जातीय रूपमा निकै विविधतापूर्ण छ । यहाँ मोंटेनेग्रिन, सर्ब, बोस्नियाक, अल्बानियन र क्रोएसियन समुदायका मानिसहरू मिलेर बसेका छन् । यो सांस्कृतिक विविधताले यहाँको सामाजिक संरचना र राजनीतिलाई निरन्तर प्रभाव पारिरहेको छ ।

राजधानी पोडगोरिका देशको प्रशासनिक र आर्थिक केन्द्र हो, जहाँ शहरीकरण निकै तीव्र गतिमा भइरहेको छ । १३,८१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मोन्टेनेग्रो युरोपकै साना देशहरूमध्ये एक भए पनि यसको प्राकृतिक सुन्दरता भने निकै विशाल छ । युनेस्को सूचीमा परेको डर्मिटर क्षेत्रका अग्ला हिमालहरू र तारा नदीको गहिरो गल्छीले यो देशलाई प्रकृतिको वरदान दिएको छ । विशेषगरी तारा नदीको क्यान्यन युरोपकै सबैभन्दा गहिरा क्यान्यनहरूमध्ये एक हो, जसको गहिराइ करिब १,३०० मिटरसम्म पुग्छ ।

खानपान र पाहुना सत्कारको कुरा गर्दा मोन्टेनेग्रोको आफ्नै मौलिक शैली छ । नेगुश्की प्र्शुत (सुकाइएको ह्याम) र स्थानीय पेय राकिया (रक्सी) यहाँका परम्परागत स्वाद हुन् । यहाँको सामाजिक संस्कृतिमा पाहुनालाई आदर गर्नु निकै महत्त्वपूर्ण मानिन्छ; आगन्तुकलाई भोजन र पेय पदार्थ दिएर स्वागत गर्नु यहाँको एउटा अनिवार्य परम्परा जस्तै हो ।

सांस्कृतिक रूपमा बाल्कान क्षेत्रमा प्रचलित ‘स्लाभा’ परम्परा यहाँ निकै महत्त्वपूर्ण छ । यसमा परिवारहरूले आफ्ना संरक्षक सन्तको सम्मानमा वार्षिक रूपमा पूजा र भोजको आयोजना गर्छन् । यो केवल धार्मिक अनुष्ठान मात्र नभई पारिवारिक एकता र आफ्नो पहिचान जोगाउने एउटा माध्यम पनि हो ।
वर्तमान समयमा राम्रो अवसर र कमाइको खोजीमा धेरै युवाहरू निर्माण, सेवा र पर्यटन क्षेत्रमा काम गर्न जर्मनी, इटाली र स्लोभेनिया जस्ता युरोपेली देशतर्फ पलायन भइरहेका छन् ।

अर्कोतर्फ, गर्मीयाममा पर्यटन बढ्ने भएकाले होटल र रेस्टुरेन्टहरूमा काम गर्न अल्बानिया, सर्बिया र बोस्नियाबाट कामदारहरू यहाँ आउँछन् । केही मात्रामा भारत, नेपाल, फिलिपिन्स र उत्तर अफ्रिकाबाट पनि सिजनल कामदारहरू आउने गर्छन्, तर उनीहरूको संख्या खासै ठूलो भने छैन । यहाँको बेरोजगारी दर युरोपेली संघका अन्य देशको तुलनामा मध्यमदेखि उच्च (करिब १२-१५%) छ ।

मोन्टेनेग्रोको यात्रा गर्दै गर्दा मलाई बारम्बार एउटा कुरा महसुस भयो । यो देशलाई तथ्याङ्क, नक्सा वा इतिहासका पुस्तकबाट मात्र बुझ्न सकिँदैन । यसलाई साँच्चै बुझ्न यहाँका पहाडहरू, समुद्र, पुराना गल्लीहरू, कफी पसलहरू र मानिसहरूको जीवनलाई नजिकबाट महसुस गर्नुपर्छ । सायद यही कारणले गर्दा बाल्कानको यो सानो देश संसारका धेरै पर्यटकहरूका लागि एउटा अचम्मको गन्तव्य बनेको छ ।