२०७६ सालको पुष महिना ! पूर्वाधार विकास कार्यालय पाँचथर फिदिमको जागीरबाट छुट्टीमा घर फर्किंदै थिएँ । छुट्टीमा घर आउँदा जाँदा म बाइकमै ओहोरदोहोर गर्थें । बीचबीचमा रमणीय स्थलहरूतिर बिसाउँदै फिदिम पुग्दा थाकेर लखतरान नै भइन्थ्यो । झापा-फिदिमको त्यति लामो, करीब ५ घण्टाको बाटोमा एक्लै यात्रा गर्नु मलाई पट्यारलाग्दो नै लाग्थ्यो । घर बिदाबाट ड्युटीमा फर्किनु त्यसै पनि जाँगर नचल्ने । त्यो दिन पनि बिहानको खाना खाएर करीब १२ बजेतिर म घरबाट निस्किएँ । इलाम पुग्दा पौने ३ भएको थियो । इलाममा एकछिन खाजा खान रोकिएँ । लगभग साढे ३ बजेतिर पुवा खोला पुगेँ । नेपालटार आउन लागेकाले मनमा अनेक कुरा खेलाउँदै म आफ्नै सुरमा उक्लिँदै थिएँ ।  कारण के भने नेपालटारदेखि मंगलबारेसम्मको पहिलो कालोपत्रे गर्ने काममा म ठेकेदार कम्पनीबाट इन्जिनियर थिएँ र पटकपटक काठमाडौँबाट त्यहाँ जान्थेँ । कम्पनीको बोलेरोमा हिलो सहीतको त्यो बाटो धेरै चोटी ओहोरदोहोर गरेको, जाँदैपिच्छे हप्ता दिन लगभग बस्ने निर्माण कार्यको सुपरिवेक्षण गर्ने नापजाँच गर्ने र बिल बनाउने काम सकाएर म काठमाडौँ फर्किन्थेँ । त्यति बेलाका तितामिठा सम्झनाहरूमा डुब्दै गर्दा नेपालटार चोक कट्नासाथ एकजना करीब ६० जतिका मतवाली अनुहार परेका बुढा मान्छेले बाइक रोक्ने इशारा दिए । उनको छेवैमा करीब १६, १७ वर्षकी रातोपिरो अनुहार गरेकी युवती थिइन् । मेरो पुरुष मनले ती बुढालाई भन्दा पनि युवतीलाई देखेर सहजै बाइक रोक्यो ।  पक्कै लिफ्ट नै माग्न खोजेको भन्ने मैले अन्दाज गरिहालेँ, तर दुईमध्ये कसलाई लिफ्ट दिने भन्ने थाहा भएन ।  

बुढाले नरम हुँदै लिम्बु लवजमा भने – “हाओ सर कहाँसम्म पो जानुहुदेछ ?”

“म फिदिमसम्म” पुलुक्क युवतीको अनुहारतिर लोभी नजर दौडाउँदै मैले छोटो उत्तर दिएँ । 

“ए लु हाओ भैगोनी आज लास्ट गाडी पनि उम्किगोएछ की सर हाम्रो छोरीलाई फिदिमसम्म पो लग्दिनुहुन्थ्यो कि भनेर पो रोकिपठाको हाओ ?” 

मैले तुरुन्तै भनेँ – “ए भैहाल्छ नि बुवा, बस्नु बैनी म फिदिमै जाने त हो !”

उराठलाग्दो एकोहोरो यात्रामा तरुनी युवतीलाई लिफ्ट दिएर लगभग ३ घण्टाको बाटो सँगै यात्रा गर्न पाउँदा मेरो पुरुष मन भित्रभित्रै फुरुङ्ग भएको थियो । युवतीसँग गफगाफ गरेर फोन नम्बर वा फेसबुक आइडी लिने सम्मको योजना बनाइसकेको थियो मनले ।  

उनी चुपचाप केही नबोली बसेपछि मैले नै बिस्तारै कुरा शुरु गरेँ । 

“बैनीको घर नै फिदिम हो ?”

“हजुर”

“ए अनि यता चैं के आफन्तकोतिर आउनुभाको थ्यो कि ?”

“हजुर त्यस्तै …….”

“ए ..ए..”

त्यति बोलचाल भएर एकैछिन सन्नाटा छायो । उनले मेरो बारेमा केही सोधिनन्, म भने के कुरा निकालेर बोलुम् भनेर जुक्ति सोच्न थालेँ । 

“अनि के पढ्नुहुन्छ कि जब गर्नुहुन्छ?”

“हजुर…”

उनको दोश्रो जवाफ पनि त्यति मात्रै आयो, उनी लजालु खालकी भन्ने मैले थाहा पाइसकेपछि एकछिन केही सोधिनँ । 

मंगलबारेदेखि अलिक मास्तिर लाग्नासाथ बाटो पुरै हुस्सेले ढाक्यो अनि निकै चिसो पनि भयो । एकान्त जंगलको बाटो छ, घरहरू पातलो छ । राँके पुगिएको छैन । बोल्न खोज्दा युवतीले खासै बाल नदिएपछि म कताकता हिस्स पनि भएँ । “यस्तो बोल्दै नबोल्ने केटीबाट कसरी फेसबुक आइडी फोन नम्बर पाउने ?” मनमनै यस्तो सोच्दै थिएँ तैपनि उनको मौनता तोड्छु नै भन्ने लाग्दैथ्यो । 

“तपाईंको चैँ घर ? अनि यता के गर्नुहुन्छ ?”

अचानक उनको प्रश्नले म केही आशावादी भएँ र त्यति छोटो प्रश्नको लामो उत्तर दिँदै आफ्नो घर झापा भएको र यता सरकारी अड्डामा इन्जिनियर काम गर्ने गरेको बताएँ । उनले नसोधी फिदिममा आफू कहाँ बस्ने घर कति कति दिनमा झर्ने अनि साइटहरू गैरहने सबै बताएर त्यस्तै इलामतिर वा झापातिर जानुपर्यो भने म झर्नेबेला लग्दिन्छु नि सम्म भन्न भ्याएँछु । उनले मेरो उत्तरप्रति खासै वास्ता गरिनन् । मेरो छिटो छिटो अनि अस्वाभाविक र अनावश्यक प्रश्नहरूले उनी अलिक अनौठो र झर्को मानेजस्तो लागेपछि म मौन भएँ । 

मैले यो बिचमा नेपालटारदेखि मंग्लबारेसम्मको बाटो मैले नै बनाको भनेझैं सबै सुनाइसकेको थिएँ । उनले “ए…” भन्दा धेरै केही कुरामा पनि प्रतिक्रिया दिन्नथिन् । 

एक ठाउँमा अलिक एकलासमा पिसाब फेर्न रोक्ने भन्दा पनि उनले अलिक अप्ठ्यारो मानेपछि मैले राँके मै पुगेर खाजा खाने प्रस्ताव गर्ने र त्यहीँ पुगेर पिसाब फेर्ने सोचेर अघि बढेँ । 

मैले कसो कसो गरेर फेसबुकको प्रसङ्ग निकालेँ । नाम थर सोध्ने प्रयत्न गरेँ । घरिघरि अलिक अगाडि सर्नुस् न पनि भन्थें, उनी पर अलग्गै बस्थिन् । ब्रेक लाग्दा पनि मलाई नछोई शरीर हुत्तिन दिन्न थिइन् । 

मैले निकै नै घुमाएर “फेसबुकमा चैं के नाम लेख्नुहुन्छ ?” सम्म भनेपछि उनले अप्ठ्यारो माने झैं गर्दै भनिन् – “त्यस्तो फेसबुक चलार बस्ने फुर्सद नै हुँदैन दाई हाम्रो, पार्टीमा लागेको मान्छे !’

उनलाई बीचैमा रोक्दै मैले सोधें – “पार्टीमा भन्नाले ?”

“विप्लव…”

उनले निकै लामो मौनता तोड्दै निडर भएझैँ गर्दै बोलिन् । 

मैले बिलकुल नसोचेको उत्तर आएपछि म आश्चर्यचकित भएँ । 

“ए हजुर विप्लव माओवादीमा पो हुनुहुन्छ ?” मैले अलिक हच्के जस्तो गरेर भनेँ । 

“हजुर दाई यता पार्टीकै प्रशिक्षण कारेक्रम थ्यो मंगलबारेमा अनि त्यसैमा गोएर आको दाई…. मेरो पार्टीको नाम चैं कमरेड ज्वाला ”

कताकता आफ्नो अगाडिको व्यवहार सम्झेर मेरो सातोपुत्लो उडेजस्तो भो । मैले त्यसपछि उनको बिहे भाको नभाको कुरा सोधेँ । 

उनले भनिन् – “पार्टीकै सिसिएम लेबलको कम्रेडसँग मेरो बिहे हुने कुरा छ दाई वहाँ चैँ उता खोटाङ्ग को राई हो”

“अनि पार्टीमा त एकदम कडा अनुशासन हुन्छ होला है हजुरहरूको ?” मैले तपाईंबाट अघि नै हजुरमा पुर्याइसकेको सम्बोधनले, उनी पनि अलिक खुलेर बोल्न थालिन् ।”

“हजुर कडा नै हुन्छ नि दाइ…मलाई महिला विभागको इन्चार्ज बनाको छ”

राँके पुगियो ।  म त्यहाँ प्राय कफी चिया खान्थेँ, खाजा इलाम मै खाइसकेको हुन्थेँ । त्यो दिन चैं मैले निकै भोक लागेको झैं गरेर उनलाई खाजा खाने प्रस्ताव गरेँ, आफू जैले यहीँ खाजा खाने गरेको झुटो कुरा बताएँ तर उनले निकै अप्ठ्यारो मानेझैं गर्दै भनिन् – “अब १ घण्टामा पुगी त हालिन्छ दाई म त खाजा भर्खर खाएर हिनेको, नखाऊँ होला हौ सरासर जाऊँ न ल”

म अक्क न बक्क भएँ, आखिर मैले पनि खाजा त इलाम मै खाइसकेको थिएँ । 

“हुन्छ त्यसो भा…” यति भनेर म सधैं खाजा खाने होटेलमा पिसाब मात्र फेरेर हिन्न खोज्दा साहुजीले जिस्काए झैं गर्दै सोधे – “के हो सर आज त पेसेन्जर दह्रो भेट्नु भएछ नि…अनि चिया सिया केही नखाई जाने आज ?” उनले भनेको ती युवतीले सुन्लिन् भनेर म डरले मरिगएँ…अझ उनले भनेको “दह्रो पेसेन्जर” भन्नाले उनले पनि ती युवतीलाई चिन्दारैछन् भन्ने जस्तो पर्न गयो र म आज नखाऊँ हजुर चिया भनेर म हतार हतार निस्किएँ ।

त्यसपछि मैले धेरै गफगाफ गर्ने जमर्को गरिनँ । मैले त्यसपछि विप्लव आफूलाई धेरै मन पर्ने भएको र देशलाई चाहिने नेता भएको कुरा बताएँ । केही महिना अघि हाम्रो कार्यालयमा विप्लवको मान्छे भन्दै चन्दा माग्न आएको मलाई थाहा थ्यो तर मैले त्यो कुरा बिलकुल उक्काइन ।  

मलाई विप्लवको चन्दा आतंक पट्टक्कै मन पर्दैनथ्यो तर त्यो कुरा कमरेड ज्वालाको छेउमा निकाल्दै निकालिनँ । 

अब म एउटा सोझी सिधा ठानेको गाउँले अल्लारे युवती हैन विप्लव माओवादीको महिला कमाण्डरलाई लिफ्ट दिइरहेको थिएँ । मैले उनीसँग नजिकिने, फोन नम्बर फुत्काउने फेरी फेरी पनि लिफ्ट दिने कुरा सबै दिमागबाट हटाइसकेको थिएँ । कतिबेला फिदिम आइपुग्छ भन्ने भाको थियो । उनीसँग खासै थप कुरा केही भएन । 

केहीबेरमा फिदिम पुगियो । उनले आफ्नो घर कहाँ नेर भन्ने पनि बताइनन् , मैले सोध्ने आँट पनि गरिनँ । उनले लिम्बुवान गेटमै रोकिदिन भनिन् , उत्रेपछि उनी यसो हाँसेजस्तो गरेर बिदा भइन् …उनले धन्यवाद पनि भनिनन् । 

करीब १ हप्ता पछाडीको कुरा हो । म बिहान नजिकैको तरकारी पसलमा तरकारी किन्न पुगेँ । त्यहाँ तिनै युवती तरकारी किनिसकेर पैसा दिएर मलाई नदेखे झैं गर्दै हतार हतार गरेर ओरालो लागिन् । मैले तरकारीको पैसा दिँदै पसले साउजीलाई सोधेँ- “यो बहिनी त विप्लवको कमाण्डर पो रैछिन् है अङ्कल ? कहाँ नेर रैछ यिनको घर ? अस्ति मैले इलामबाट बाइकमा लिफ्ट देको थिएँ ।  विप्लवको कत्तिको प्रभाव छ यता अङ्कल ?” निकै नजिककै चिनजान भैसकेका साहुजीलाई मैले खुलेर सोधें । 

“हन को भन्नुभाको हौ सर ? यो केटी कताको विप्लवको कमाण्डर हुनु हौ ? यै तलतिर चेम्जोङ्ग जेठाको छोरी पो त, भर्खरकी केटी के को विप्लवको कमाण्डर हुनु हौ ! कोल्ले भनो सरलाई ?…यसपाली हाम्रो छोरीसँगै एस ई ई दिन आँटेकी छ । तपाईं झुक्किनुभो होला सर …तेस्तो विधि पहिला जस्तो उत्पात आतंक त छैन हौ सर विप्लवको अचेल भरि….”

सब्जी पसले अङ्कलको कुराले म छाँगाबाट झरेझैं भएँ । पसलमा भिड बढ्यो म त्यहाँबाट बिदा भएँ । 

२ दिनपछि भेट्दा सब्जी पसले अंकलले फेरि कुरा कोट्याए । मैले आफू झुक्किएको, अर्कै अनुहार मिल्ने युवतीलाई लिफ्ट दिएको रैछु अङ्कल भनेर टारें । अंकलले पनि ठोकुवा गरे – “त्यो तपाईंले लिफ्ट देको केटी यो हुँदै हैन । झुक्कीनुभो अनुहार मिल्थ्यो होला !” 

यति वर्षसम्म पनि मैले पत्तो पाउन सकेको छैन कि ती चेलीले मलाई किन त्यसरी ढाँटिन् ?

जंगलको बाटो, हुस्से लागेर दिउँसै अँध्यारो जस्तो हुने त्यो मंगलबारे – फिदिमको बाटो सम्झिनासाथ मलाई कमरेड ज्वालाको याद आउँछ ।