मैले गीतकार सीता अर्याललाई भौतिक रूपमा देखे/भेटेको छैन । तर मेरा सहकर्मी मित्र साहित्यकार राजेन्द्र अर्याल उनको पति भएकाले पनि नजिकिएको छु । भलीभाँती परिचित छु । विशेषगरी साहित्य साधनाका सन्दर्भमा भने उनको कथाकार व्यक्तित्वसँग झन् परिचित छु । तर ‘अनुपमा’ गीतसंग्रह भएकाले यति बेला म सीता अर्यालको गीतकार व्यक्तित्व तथा कृतित्वका बारेमा केही हरफ लेख्ने धृष्टता गर्दैछु । उनका गीतमा पाइएका हृदयसौन्दर्यमा पल्लवित हुने मेरो जुराइ रहेको छ ।

खासगरी नेपाली साहित्यको कथा विधामा सीता अर्याल (२०१८ विसं) चम्किलो तारा हुन् । नेपालको तनहुँ जिल्लाको बन्दीपुरमा जन्मिएकी सीता हाल सपरिवार अमेरिकाको म्याडिसन, विस्किन्सनमा बसोबास गरिरहेको कुरा मलाई प्रत्यक्ष नै थाहा छ । माता हरिलीला भट्टराई तथा पिता हरिराज भट्टराईकी छोरी हुन् सीता । स्नातकोत्तर तहको अध्ययन गरेकी हुनाले उनमा सम्पादन तथा अध्यापन कार्य गरेको विशिष्ट अनुभव पनि छ । पति अर्यालसँग साहित्यिक/असाहित्यिक सहकार्य गरिरहेकी हुनाले साहित्यमा रमेको प्रतीत हुन्छ । बिहेपूर्व नै साहित्यमा सघन रूपमा सहभागी भएकी हुनाले उनका हालसम्म ‘मृगतृष्णा’, ‘उपमा’, ‘पुस्तान्तर’—संयुक्त, ‘उपहार आँसुको’ शीर्षकका कथासंग्रहहरू प्रकाशित भएका छन् । प्रस्तुत विचरण हुन आँटेको पुस्तक चाहिँ उनको गीतसंग्रह ‘अनुपमा’ हो । साहित्यको सघन साधना गरेबापत् उनले विविध पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन् । यसैगरी उनको व्यक्ति तथा कृति वा कृतिका बारेमा त्रिविबाट सात वटा भन्दा बढी शोधकार्य सम्पन्न भइसकेका छन् । यसरी उनी नेपाली साहित्यको फाँटमा स्थापित नाम हो । त्यसमाथि पनि कथाविधा त उनको प्रिय हो ।

अब उनको गीतसंग्रह ‘अनुपमा’ तिर लागौँ । पुस्तकको आवरण पृष्ठको माथिपट्टि गीतकारको नाम छ भने त्यसको ठीकमुन्तिर ‘अनुपमा’ कृति शीर्षक राखिएको छ । २०७८ सालमा बिएन पुस्तक संसारले प्रकाशन गरेको सो पुस्तकको आवरण निकै आकर्षक छ । पुस्तकको पश्च भागमा गीतकार सीता अर्यालको तस्बिर र सोमुन्तिर प्रखर गीतकार राजेन्द्र थापा तथा प्रकाश सायमीका पुस्तक सम्बन्धी विचारहरू छन् ।

पुस्तकभित्र गीतइतर पानामा सीता अर्यालको मनका कुराले स्थान पाएको छ । गीतकारका मनमा स्वर्गीय पिताको प्रेरणा, झझल्को, बह तथा विधिविधानको नियति नाचिरहेको देखिन्छ । गीतकार बाल्यकालदेखि नै सङ्गीतप्रेमी रहेको खुलासा पनि यसै शीर्षकमा छ । प्रसिद्ध गीतकार प्रकाश सायमी र राजेन्द्र थापा द्वयको भूमिकाले गीतसंग्रहको शालिन रौँचिरा पारेको छ । त्यसपछि आएको विषयसूचीले ८१ ओटा गीत सङ्गृहीत भएको सूचना दिन्छन् । समग्रमा पुस्तकको आवरण सुन्दर बनेको छ ।

सामान्यतया गीतको वृत्त पूरा गर्न शब्द, सङ्गीत तथा अभिनयको दरकार पर्छ । अभिनयलाई नजरअन्दाज गर्ने हो भने पनि शब्दको सामर्थ्य र सङ्गीतको सुरम्यको मिलनपछि गीत कर्णप्रिय र हृदयसौन्दर्यलाई पल्लवित गराउने खालका हुन्छन् । त्यसै पनि गीत/सङ्गीत भन्नु प्रेम, विरह, विछोडको पीडा, मिलनको आनन्द, संवेदना, भावना, शृङ्गार तथा रतेच्छालाई प्रकटीकरण गर्ने सुललित माध्यम हो । यी एकअर्काका परिपूरक पनि हुन् । अभेद्य हुन् । अभिव्यक्त गर्न नसकिएका,  मनभित्र गुजुल्टो परेर बसेका र निस्सासिने कुराहरू गीतको माध्यमबाट नै व्यक्त गर्न सकिन्छ ।

गीत हृदयको स्पन्दनबाट लेखिन्छ । दिमागले होइन । दिमागले त अन्य कुरा लेख्छ । हृदयले लेखिएको साहित्य नै खसोखास साहित्य हो । दिमागले लेख्यो भने कम साहित्य तथा बढी रिपोर्ताज भइदिन्छ । विवरण भइदिन्छ । त्यसमाथि गीत त शतप्रतिशत हृदयले नै लेख्नुपर्छ । हृदयसौन्दर्य सुवासित हुनुपर्छ । हृदय पल्लवित भएका बेला लेखिने/गाइने कुरा हो गीत । अर्थात् प्रेमस्वर गीतको प्रधान भावभूमि हो । त्यो प्रेम प्रेमिकासँग वा आमासँग वा देशसँग वा आफन्तसँग जोसँग, जेसँग पनि हुन सक्छ । यही आधारबाट सीता अर्यालको ‘अनुपमा’ भित्र रहेको हृदयसौन्दर्यको पहिचान गर्ने तथा पर्गेल्ने प्रयत्न गरिरहेको छु ।

म यहाँ उभिएको यस्तो परिचर्चाकार हुँ जसले गीत कहिल्यै लेखेको छैन । गीतका अन्तरा, स्थायी, नोट, कोरस आदिका बारेमा कहिल्यै पढेको वा बुझेको छैन । सङ्गीत कहिल्यै सिकेको र जानेको छैन । पूर्वीय परम्परामा रहेको सङ्गीतका सात स्वर सारेगामापाधनि सा — साद्जमा (टोनिक) मयुर, रि वा रे —रिसव (साँढे), गा— गन्धर्व, (बाख्रो), मा —मध्यमा, (सारस चरो) पा— पन्चमा (कोइली), ध—द्येवता (घोडा), नि—निसाद (हात्ती) तथा पाश्चात्य परम्परामा रहेको सात स्वर डो,रे,मि,फा,सो,ला,टी, का बारेमा गहन अध्ययन छैन । त्यसैले गीतलाई संगीतमा लयबद्ध गर्ने सिप छैन । गाउनलाई गला छैन । इच्छा पनि छैन । रियाद पनि छैन । त्यसैले म बाथरूम सिंगर हुँ । नेपाली मानकमा भन्ने हो भने म वनजङ्गलका अनकन्टारका कन्दराहरूमा एक्लै चर्को स्वर निकालेर गाउने गायक हुँ । त्यस्तै अभिनय मेरो विषय होइन । म पटक्कै जान्दिनँ । तर पनि गीतसङ्गीत मेरो अभिन्न मित्र हो जोबिना मेरो जीवनयात्रा असम्भव छ । म आफू युट्युवमा गीतसङ्गीत नसुनी सिर्जना गर्न सक्दिनँ । मेरो मुडअनुसारको गीत सुन्छु । यो लेखिरहेका बखत म अबिदा परविनको सुफी गीत सुन्दैछु ।

अब पुस्तकभित्र प्रवेश गरौँ —

मानवको दिमागको दाहिनेपट्टि इमोसन हुन्छ । देब्रेपट्टि तर्क, बुद्धि हुन्छ । दाहिने दिमाग सक्रिय हुँदा मानिसमा प्रेमको अवतरण हुने हो । दाहिने दिमागले हृदयलाई अह्राएपछि मात्र हृदय पल्लवित हुने हो । झङ्कारित हुने हो । गीतसंग्रहभित्र पस्यो भने प्रेम नै प्रेम छ । प्रेममा तर्क, बुद्धि तथा ज्ञानको केही काम हुन्न । त्यहाँ त केवल हृदय बोल्छ । त्यसैले प्रेममा त्याग, समर्पण, दान, आदि हुन्छ । प्राप्ति हुन्न । विद्वेष हुन्न । आन्दोलन हुन्न । मृत्युको पनि परवाह हुन्न । साँचो प्रेम भन्नु दुई शरीर एक आत्मा हो । तर्क, बुद्धि तथा ज्ञानको प्रयोग गरेर गरिने वा हिसाब किताब राखेर गरिने भनिएको प्रेमचाहिँ स्वार्थ हो । आग्रह वा मागसहित गरिएको प्रेम चाहिँ कुटनीति हो । जबर्जस्ती लोग्नेस्वास्नीका बिचमा प्रेम हुनुपर्छ भनेर गरिने घडघडो विचार सामाजिकता मात्र हो, प्रेम होइन ।

यस कुरालाई गीतकार सीता अर्यालले मजाले बुझेको अनुभूति हुन्छ । ‘अनुपमा’ भित्र प्रेमातुर स्वर छ्याल्लब्याल्ल भएको देखिन्छ । प्रेममा छटपटी, आशा, भरोसा, बैँस, प्यास, मुस्कानलाई प्राथमिकतामा राखेर प्रेमातुर स्वर निकालिएको छ । प्रेमको आवाज परैबाट सुनिन्छ । केही उदाहरण हेरौँ —

साह्रै मीठो मुस्कान तिम्रो बिर्सनलाई गाह्रो भयो

गोधुलीमै आउँछु लिन पर्खनलाई साह्रो भयो (स्वर्गसरी, १९)

 

हेर्न मन लाग्दो रैछ बोल्ने आँट नभएनि

आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनि (आँखा प्यास, २०)

 

कहिले आऊँ लिन तिम्लाई पाउन्नौ है भाका सार्न

मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न (मिर्मिरेमा पँधेरीमा, २१)

 

जान्छ क्या हो बैँस मेरो कसैलाई कुर्दै

आशारुपी पानसमा तेल बत्ती थप्दै (एक्लो यात्रा, २३)

 

सँगसँगै हामी यो जिन्दगीको उकाली चढौँला

प्रीतको सागर स्नेहको भण्डार प्रेमले भरौँला (गालामा कोठी, २७)

 

माथि उल्लिखित गीतहरूलाई गौण गरेर हेर्यो भने प्रेमलाई प्राप्तिको आशाको नजरबाट हेरिएको छ । मिलनको चाहना छ । मिलनको अवसर पनि छ । यसले गीत सुन्ने स्रोतालाई सजिलैसँग सम्मोहन गर्छ । आनन्द प्रवाह गर्छ । यो कुरालाई अर्को तरिकाले भन्ने हो भने अद्वैतवादले भने झैँ हाम्रो शरीरको आनन्दमय कोशलाई सक्रिय गराउँछ, जसले बाँच्नुको अर्थ प्रवाह गर्छ ।

गीत सम्मिलनको मात्र सामल होइन । प्राप्ति वा मिलन मात्र होइन, बरु विछोडमा पनि सानदार प्रेम प्रकट हुन्छ । बिछोडले विरह जन्माउँछ र विरहले सुन्दर गीतको निर्माण गर्छ । हृदयमा कम्पन भएका बेला निस्कने गीत प्राय विरह वा बिछोडबाट जन्मेका हुन्छन् । अर्यालको ‘अनुपमा’ पर्याप्त मात्रामा विरह र बिछोडबाट उत्पन्न हुने प्रेमको प्रकटीकरण भएको छ । यस्तो कोटीको प्रेममा आँसु, चित्कार, आस तथा पर्खाइ हुन्छ, जसले प्रताडना तथा कहर दिए पनि त्यसको सम्झनाले मात्र पनि आनन्द प्रवाह गर्छ । केही उदाहरणहरू हेरौँ —

बाध्य छौ तिमी परदेश जान म रोकूँ कसरी

हेर न प्रिय यी आँसु भेल म छोपूँ कसरी (भुरूरू उडी, २९)

 

परबाट जो आए नि तिमी आयौजस्तो लाग्छ

उतै फर्की उभिएर हेरिरहूँजस्तो लाग्छ (परबाट, ३१)

 

मर्स्याङ्दीको शान्त लहर सुसेलीको रन्को

चुल्ठोभरि सिउरी दिएँला गुराँस रानीवनको (सुसेलीको रन्को, ४२)

 

हिमालसरी उज्यालो मुहार हीरा झैँ खुलेको

के आशा गर्नु प्रीतको ओत अन्तै ऊ भुलेको (प्रीतको ओत, ८४)

माथिका गीतका टुक्राहरू हेर्दा लाग्छ परिवेशले प्रेमलाई बिछोडिन बाध्य पार्छ । बिछोडले आँसु निकाल्छ । आँसुले प्रेम तथा विरह व्यक्त गर्छ । यसरी बिछोडबाट उत्पन्न हुने विरहमा पनि सीता अर्यालले सुन्दर गीत सिर्जना गरेको कुरा नकार्न सकिन्न ।

प्रेम नै गीतको आधार भएपछि सम्मिलन मात्र खोजिनु पनि हुन्न । किनकि प्रेम गर्दा धोका, बिछोड, विग्रह, तडपन आदि पनि समान रूपले प्राप्त हुन्छ । यो पनि हृदय झङ्कारित भएकै बेला हुने हो । सीता अर्यालले आफ्नो गीतकृति ‘अनुपमा’ मा प्रेमभित्र आइलाग्ने यस्तै खाले धोखाधडी, बिछोड, विरह, विग्रह, तडपन, पीडा अनवरत प्रतीक्षा जस्ता विषयलाई प्रस्तुत गरेको देखिन्छ । केही उदाहरण हेरौँ —

धोका दिई जानु रैछ थाहा पाइनँ मैले

दोधारेका स्वार्थी कुरा के बुझूँ र मैले (सपनीमा, ३७)

 

भाका सारिरह्यौ तिम्ले भरै पर्न गाह्रो

मनमुटु किन पार्‍यौ ढुङ्गाभन्दा साह्रो (फूलहरू, ३८)

 

मेरो कोमल हृदयमा कुल्चिएर गयौ तिमी

हेर्दाहेर्दै घरै टाढा, टाढा भई गयौ तिमी (कोमल हृदय, ४०)

 

सागरपारि—महासागर साँघु भेटिएन

सम्झनाका तरेलीले न्यास्रो मेटिएन (माइती गाउँ, ४९)

 

तिमी मेरो जीवनको प्राप्ति भन्थ्यौ पहिले

त्यै आशाले पीडैपीडा भोग्नु पर्‍यो अहिले (कोमल मुटु, ८२)

 

वास्तवमा विपरीत लिङ्गी प्रेमको आकर्षणको आधार रतिभाव हो । मैथुनको इच्छा हो । रतिभावले सिर्जना गर्ने शृङ्गार हो । गीतहरूमा पाइने ज्यादातर विषय नै रतिभावका शृङ्गार हुन्छ । प्रणयको चाहना हुन्छ । सम्मिलनको विचार आगर हुन्छ । स्पर्श तथा चुम्बनका इच्छा प्रबल हुन्छन् । गीतकार सीता अर्याललाई यो कुरा थाहा छ । त्यसैले उनी आफ्ना गीतमा रतिभाव प्रकट गर्न तथा शृङ्गार प्रस्तुत गर्न सफल भएको देखिन्छ । केही उदाहरण हेरौँ —

सपनाका कुरा छाड बिपनामा भेटौँ अब

दुई मुटु एउटै धडकन मनको प्यास मेटौँ अब (भावनाका रङ्गहरू, ४३)

 

आउँदाजाँदा द्यौरालीमा पर्खिएर बस

मान्छ्यौ भने भागौँ आजै लौन कम्मर कस (तन टाढा, ६६)

 

अवसर छोप समयले  सधैँ पर्खिँदैन

रोए पनि हाँसे पनि बेला फर्किँदैन (सिमलुको भुवा, ७२)

 

ओठको मुहान, मधुर वाणी सरस्वती बसेको

मायालु स्वर त्यो कण्ठबाट अमृत खसेको (रूपको बयान, ७९)

 

गीतकार सीता अर्यालको बसोबास केही वर्षदेखि अमेरिकामा छ । यो परिस्थितिले गीतकारभित्र स्वदेश प्रेम तथा डायस्पोरिक पीडा जन्माएको छ । स्वदेशमा बसेकाको भन्दा जे कारणले भए पनि स्वदेश त्यागेर विदेशमा बस्ने नेपालीको स्वदेश प्रेम जब्बर हुन्छ । किनकि ऊबाट देश गुमेको हुन्छ । परिवेश गुमेको हुन्छ । जसरी आमा नगुमेकालाई आमाको महत्त्व जुन तहमा बोध हुनुपर्ने हो, त्योभन्दा ज्यादै धेरै आमा गुमाउनेलाई आमाको माया बोध हुन्छ । हो, यो कुरा देश गुमाएकाहरूमा हुन्छ । यस्तो बेलामा देशको जब्बर सम्झना आउँछ । अर्थात् स्वदेश प्रेम प्रबल हुन्छ । सीताका गीतमा यो स्वदेश प्रेम पनि देखिन्छ ।

अर्कोतिर विदेशमा बसिरहेका बखत कागजी रूपमा एक नम्बर नागरिक भए पनि मनोवैज्ञानिक रूपमा दुई नम्बर बोध हुन्छ । यो बोधले डायस्पोरिक पीडा जन्माउँछ । विदेशमा बसेको नेपाली परिवेश तथा आवश्यकताको कारणले विदेशमा बस्न बाध्य हुन्छ । फेरि जुन देशमा बसेको हो त्यहाँ उसलाई भौतिक तथा मनोवैज्ञानिक विभेद हुन्छ । यही कुरा डायस्पोरिक पीडा हो । सीता अर्यालका गीतमा यस्ता खाले डायस्पोरिक पीडा पनि मजाले अभिव्यक्त भएका छन् । उदाहरण हेरौँ —

परिश्रम गरी पसिनासँग अन्नपात साटौँ कि

गर्वले देश शिरमा राखी स्वदेशमै नाचौँ कि (धरतीको माया, ८९)

 

टुङ्गो केही हुन्न रैछ विदेशको ठाउँमा

रमाएर बस तिमी आफ्‌नै प्याो गाउँमा (नपर्ख है माया, ३४)

 

ऋणको भारी थाप्लोमा बोकी परदेश लागेको

धर्तीको माटो माथमा लगाई आशीर्वाद मागेको (परदेश लागेको, ५९)

 

डायस्पोरिकमा राष्टवादी — शिरको उच्च सगरमाथा नबिर्स तिमीले

यी लालीगुराँस, यी डाँफे मुनाल नभुल तिमीले (सगरमाथ, ६२)

 

मनमुटु मिलेपछि भयौँ हामी सराबरी

परदेशको साइत गर्‍यौ मन रोयो धरधरी (साइत, ७४)

श्रीमान् श्रीमती दुवै साहित्यकार हुनु पनि सुखद संयोग हो । वातावरणीय जस पाउनेमा उहाँको श्रीमान् राजेन्द्र अर्याल हुनु पनि सुखद संयोग हो । नत्र त यस्तो संयोग कमै पाइन्छ । बरु साहित्यसाधनामा बाधा हुन्छ । विशेषताका रूपमा हेर्ने हो भने उनका प्राय गीतमा समर्पण भाव छन्, लेनदेन छैन । प्राप्तिलाई प्रेमको कोटीमा राखिएको देखिँदैन । तलको गीतले त्यही कुरा अभिव्यक्त गर्छ ।

 

तिम्रो लागि ईश्वरसँग आशिष् मागेँ मैले

सयौँ वर्ष बाँच भनी फूल चढाएँ मैले (तिम्रो लागि,२५)

 

तिमीलाई सम्झी अनेक याम कल्पेर बिताएँ

म हारूँ—जितूँ केवल तिम्रो उन्नति चिताएँ (मायाको चिनो, ९९)

 

गीतकार सीता अर्यालले आफ्ना गीतमा प्रचुर मात्रामा विम्ब, प्रतीक, सादृश्य, अलङ्कारको प्रयोग गरेको देखिन्छ । विम्बको उदाहरण हेरौँ —

नहोस् हाम्रो जिन्दगानी शिशिरको रूखजस्तै

गुँडविहीन निरीह ती आकाशका पन्छीजस्तै (विश्वास, ४१)

माथि उल्लिखित गीतांशमा शिशिरको रूखसँग जिन्दगीलाई तुलना गरिएको छ । गुँडविहीन आकाशका पक्षीको विम्ब देखाएर मानिसको घरजमको अवस्थालाई चित्रण गरिएको छ ।

उनका गीतकारिताका विशेषतामा हेर्दा असफल प्रेम वा अलिखित, अबोलित प्रेम प्रकट गर्ने आँट गरिएको छ । उदाहरण —

भागौँ भन्दा मान्या भए कस्तो हुन्थ्यो आज

पिरतीको बगैँचामा चल्थ्यो  हाम्रो राज (याद, ५३)

यस गीतले कलेज जीवनका अव्यक्त, अलिखित, अबोलित तथा सुन्दर प्रेमको आवाज बोकेको छ । प्रस्तुति, पात्र, परिवेश अश्लील, उत्तेजक र अराजक छैनन् । कठोर, विद्रोही तथा अधिकार खोज्ने खालका छैनन् । प्रेममा समर्पित, त्यागी, बलिदानी छन् पात्रहरू । शालीन र सरल छ प्रस्तुति । सकारात्मकता कृतिको प्रमुख रुझान हो ।

कमीकमजोरी नभएको कुनै पनि सिर्जना वा सृष्टि छैन संसारमा । तर्कका आरनमा राखेर हेर्‍यो भने भगवान्‌मा पनि त कमीकमजोरी छ । कृतिभित्र कमीकमजोरी हुनु सनातनीय प्रक्रिया हो । यस बुँदाबाट हेर्दा ‘अनुपमा’ भित्र नारी स्वर मत्थर छ । गीतकार नारी भएकाले कृतिमा नारीको स्वर अझ उचालिएको भए हुने भन्ने पनि लाग्छ । पात्रहरू परम्परावादी छन् । विद्रोही छैनन् । आफ्नो रूपलाई पनि शत्रु मान्नुपर्ने परम्परावादी सोच गीतमा देखिन्छ । यसैगरी गीतभित्र विपर्यास भाव प्रकटीकरण भएको छ । कथ्यभाव दोहोरिएका तेहरिएका छन् । अथवा विषयवस्तुमा पर्याप्त विविधता देखिन्न । प्रेमकै पनि समग्र पाटोलाई गीतले अभिव्यक्त गर्न सकेको छैन । गीतका पात्रहरू भाग्यवादी, आदर्शवादी, परापूर्वको चरित्रवादी देखिन्छन् । समाज परिवर्तन भएसँगै ती कुराका मान्यतामा पनि परिवर्तन आउनुपर्ने हो ।

यसैसन्दर्भमा भूमिकाकार राजेन्द्र थापाको शब्द पैँचो लिएँ — ’शैली सहज भए पनि आजको आधुनिक सङ्गीतकमा आवश्यक लिरिकल भेरियसन अर्थात् गीति सङ्गीतको उपर, निचे या मोडहरू दिएर सङ्गीत र गायन गर्न भने यी गीतहरूले सहयोग नगर्लान् । गीत भन्नु सङ्गीत, गायन, प्रदर्शन तथा श्रोता दर्शकको खपत र चाहनाकै लागि हो’ । राजेन्द्र थापाको यो हरफ पढेपछि मलाई पनि सोही कुरा लाग्यो ।

भूमिकामा गीतकार द्वयले कृतिको निष्कर्ष निकालेका छन् । नेपाली गीत परम्पराको स्केच नै छ । त्यो भित्र सीताको स्थान तथा भूमिकाको पहिचान गरिएको छ । पुछारमा पुग्दा फेरि भूमिकाकार राजेन्द्र थापाका शब्द ‘यसमा थरीथरीका प्रेम—फूलहरू छन् । धेरैजसो रतीरागरूपी प्रेम छन् भने कुनै कुनै कुनाको ड्याङमा अचानक ममता प्रेमको र कतै पाखामा जन्मभूमि प्रेमका । गीतहरू कोमल छन् । नरम शब्दहरूकै उपयोग छ । आफ्‌नै वरिपरि हामी सबैले देखी जानिरहेकै बिम्ब र प्रतीकहरूको उपयोग छ । झ्याउरे लय पनि छन्‌ । र, मेरो निष्कर्षमा म यत्ति मात्र भन्छु कि मेरा लागि यी गीत ज्यादै सुन्दर छन् । मन पर्‍यो । किनकि प्रेम विषयमा लेखिएका गीतले प्रेमिल मान्छेको मन नछुने कुरै भएन । मेरो मन छोएको छ । एकदम शालीन शब्द छन् । शालीनतामा प्रेम अभिव्यक्त भएको छ । रतिराग पनि प्रस्तुतिमा उच्छृङ्खल छैनन् । गीतसंग्रह ‘अनुपमा’ र गीतकार सीता अर्याल दुवैको उत्तरोत्तर प्रगतिको कामना गर्छु ।

हाल-: सान मार्कोस, टेक्सस