मैले छोरीलाई ठाँटले भन्नु पर्नेछ – हरिणलाई बाघले नखाए सिंहले खानेछ । नभए ब्वाँसाले खानेछ । नभए कुनै व्याधा पापी मान्छेले नै खानेछ । शिकार हुनै त हरिण जन्मिन्छ ।
===
म घरमा फर्किएको लगभग तीन महिना पुग्ने आँट्यो । धन्दा मेरो केही छैन । छोरीको त्रैमासिक परीक्षा चलिरहेको छ । “छोरीलाई सिकाउनुस् है” भन्दै श्रीमतीजी स्कुलतिर लागिहाल्छिन् । उनका थुप्रै तुनेला हुन्छन् । ट्युसन, कोचिङ, त्यसपछि विदेशीभाषाको तयारी । जागिर दिने ठाउँकै उठिबास लागेपछि मेरो पनि लाग्यो; हेर्नुस् । कोरोनाकालपछि नयाँ धन्दा गर्न आँट आएको छैन । फाल्तु हुँदा अन्टसन्ट सोचका गुजीहरू जाद्रै सल्बलाएका छन् । खाली दिमाग शैतानको कार्यशाला भन्थे, मेरो दिमाग विद्रुप कार्यशाला बनेको छ । श्रीमतीजीका कुरा आज्ञालाई शिरोपर गर्दै छोरीलाई अभ्यास गराउने क्रममा उनका कापीमा लेखिएका कुरा हेर्दै थिएँ । उनले परिवारका बारेमा अनुच्छेद लेखेकी रहिछन् । उनको लेखोटले मलाई पानी पेटमै हान्यो । उनले आफ्ना बाबाको पौरखका बारेमा उजागर गरेकी थिइन् । आफूले गरेको पौरखका बारेमा पढ्दा म हाँसेँ अनि खै के भनम् र हिस्स पनि परेँ । “मेरो बाबा इन्जिनियर हो । बाबाले नक्शा बनाउनु हुन्छ । तर हाम्रो घरको नक्सा अझै बनाउनु भएको छैन । घर त झन् कैले बनाउने हो कुन्नि ?!’ आफ्नी ममीका बारेमा उनलाई कुनै इस्यू थिएन तर मेरोमा .. उनले प्रश्नवाचक सँगसँगै विस्मयाबोधक चिह्नको टेको लगाइदिएर मेरो यथार्थ अझ बोझिलो बनाइदिएकी थिइन् ।
आफ्ना बाबाको विषयमा भनौँ न घरको विषयमा, छोरीले आफैँ यति कुरा लेखिन् कि सिकाउनेले यस्तो सिकाए; उनै जानुन् । हैन आफैँ त लेखिनन् । मलाई लाग्छ सिकाउने पनि धेरै टाढाका हैनन् । तीन कक्षा पढ्ने छोरीले लेखेको यसखाले अभिव्यक्तिले इन्जिनियर हुँ भनेर मैमत्त नपरेकै राम्रो भन्ने होश मलाई दिलाइदिएको थियो । केही बिझाए पनि छोरीलाई पाठ कन्ठ गराउने, अभ्यास गराउने गरी आएँ । धन्न त्यो बाहेक अन्त कतै कुनै पानाको कुनै कुनामा कुच्च घोच्ने खाले लेखहरू भेटिन । पढाउने, सिकाउने मामलामा म आधा मात्रै गुरु हुँ । पूरा म यसकारण हैन कि उनलाई आवश्यक पर्ने ठिक्क उत्तर दिन जानेको छैन । कि त अत्यन्तै जेलिन पुग्छ । कि त हुन्छ पित्कोझैँ पितिक्क !
अभ्यासकै शिलशिलामा कापीमा लेखिएका प्रश्नउत्तर सोधिरहेको थिएँ । सोही मेसोमा “खाद्य श्रृङ्खला भनेको के हो ?” भनेर सोधेँ । “खानाको चक्रलाई खाद्य श्रृङ्खला भनिन्छ ।” उनले फटाफट जवाफ दिइन् । यत्ति मात्र हो त उत्तर ? ‘अँ ।’ उनले मन्टो हल्लाएर सही थापिन् । “लेखाएकै यै ?” सन्तोष नमानेर उनको पुस्तकको पाना फर्काएँ । त्यहाँ लेखिएको कुराहरू पढेर अर्थ्याएँ, अन्नलाई मुसाले खान्छ । मुसालाई सर्पले खान्छ । सर्पलाई चीलले खान्छ । चीललाई बाघले खान्छ । बाघ मरेपछि माटोमा मिल्न पुग्छ । माटोबाट अन्नले पोषक तत्त्व लिन्छ । फेरि त्यो अन्न मुसाले खान्छ । मुसालाई फेरि सर्पले खान्छ; यसरी यो चक्र चलिरहन्छ । यस चक्र/श्रृङखलालाई खाद्यश्रृङ्खला भनिन्छ । वा खानाको चक्र भनिन्छ । “यसो हो नि छोरी कुरो त ।” उनले बुझेझैँ गरी टाउको हल्लाएर सोधेकी थिइन्, “बलियोले नबलियोलाई खान मिल्छ बाबा ?” मैले सिधासिधा “मिल्छ” भनेँ । “सानोलाई त ठूलोले माया गर्नपर्नी हैन र ?” उनको दोश्रो प्रश्न यस्तो थियो ।
सयौँपटक भनियो सानालाई माया गर्ने ठूलालाई आदर गर्ने । बलियोले कमजोरको संरक्षण गर्ने । छोरीको प्रश्नको श्रृङ्खला कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन । के भनेर सामसुम पार्ने होला ? उनलाई प्रकृतिको नियम र मान्छेको नियम फरक हो भनेर बुझाउनलाई उनको बुझ्ने त्यो उमेर हैन । तैपनि प्रकृति भित्र, कुनै वातावारण भित्र एकले अर्कोलाई, अर्कोलाई अर्कोले, अर्कोलाई अर्कोले आफ्नो आवश्यकता पुरा गर्न प्रयोग गर्छन् र प्रकृतिमा सन्तुलन रहन्छ; यो नै खाद्यश्रृङ्खला हो र यो व्यवस्थित भए इकोसिस्टम सन्तुलित रहन्छ भनेर उनले नसोधेको कुरा पनि सोध्लिन् भनेर बताइरहँदा म भित्र बग्रेल्ती विरोधाभाष सिर्जना भए ।
प्रकृति ईश्वर हो । ईश्वर प्रकृति हो भनेर सन्तुलित उत्तर दिनेहरूलाई ईश्वर कहाँ छ ? छ वा छैन ? भए ईश्वर विनाशक पनि हुन्छ र ? वा ईश्वर विनाशक हो भनेर तर्क वा निन्दा जे भनौँ अनावश्यक तर्क वा निन्दाको मलजल बाहेक केही हो भन्ने लाग्दैन । उसो त जवाफ कसले कसलाई दिने हो ? आफैँले आफैँलाई चित्त नबुझाएसम्म कोही प्रोफेसरले बुझाइदिएर बुझ्ने कुरा पनि हैन । बुझ्न नखोजेसम्म मै बुझ्दिनँ । बुझ्न खोजे बुझाउनेले राम्ररी बुझाउँदैन । कमजोर ठूला, बलियाको सिकार हुनु प्रकृतिको नियम हो त ? वा भनौँ न बाघको सिकार किन हरिण हुन्छ ? हरिणको पालो कहिले आउँछ ? यो प्रश्न फेरि घन बनेर मेरा टाउकामा बज्रिन पुग्छ । “हरिणले बाघको सिकार गर्ने रे ?!” कस्तो वाहियात अनुमानकार ! यस्ताखाले अनेक कुरा मेरी छोरीले सोध्न सक्ने प्रशस्त सम्भावना भने रहन्छ । खासमा यो मेरो अनुमान हो । अनुमान हैन सोध्छिन् नै । लौ सोधिन् नै । हरिणको पनि पालो आए त कति जाति हुन्थ्यो । मेरी छोरी चित्त बुझाउँदिहुन् । नराम्रो गर्नी सप्पैलाई खुच्चिङ, भन्दिहुन् । तर हरिणले कहिल्यै बाघको सिकार गरेको देखियो र ? हैन बाघलाई हरिणले सिकार नगरेपनि बाघ मर्न त मर्छ नि । वा ऊ भन्दा चतुरले उसलाई मार्न सक्छन् । मृत्यु त अवश्याम्भावी हो । मृत्यु त निश्चितै हो तर कसैलाई किन छिटै ? कसैलाई किन ढुक्कले ? अब यसको व्याख्या पूर्वजन्मको कर्मको कारणले भनिदिनेहरूका आधारमा भनिदिऊँ आधाका आधा त खुशी हुँदा हुन्; आधाको आधालाई बकवास भन्दा केही नलाग्ला । वा पत्यार नलाग्ला । मलाई फेरि अनाहनकमा अरुका विचार छाम्ने हठ किन जागेको होला ? यहाँनेर आएर के विषयमा हात हाल्न पुगेँ भन्नेमा मै पुगेको छु । अलि अघि नै भन्नुपर्ने कुरो हो; यहाँबाट केही निस्कनेवालै छैन । विद्यानष्ट !
इतिहास विरोधाभास छ । ईश्वरमा नै विरोधाभास छ । प्रकृतिमा नै विरोधाभास छ । अरु केके अक्रमबक्रममा पनि विरोधाभास छ । विचारमा यो नौलो के भयो र ? मान्छेका चारपाँच प्रजति (सायद) बाट हाललाई एकमात्र अस्तित्वमा रहेको छ । हरारीले आफ्नो पुस्तक सेपियन्समा लेखे अनुसार बाँकी कता के भए भन्ने कुरामा बलिया र निर्बलियाकै अन्तरक्रिया अनुसार निर्बलियाहरू बलियाबाट नासिए । वा नासिएको हुनुपर्छ । अल्फा मेलहरू, मतलब बलियाहरू, धेरै निर्बलियाहरूका सरदार बने । धेरै फिमेलहरूका अधिपति बने । बलिया नै पुरोहित बने । बलिया नै राजा बने । नेता बने । बलियाले नै पैसा बनाए । बलियाले देवता बनाए । बलिया नै देवता बने । तिनैले नै धर्म बनाए । परम्परा बनाए । कानुनसानुन बनाए । नीतिनियम बनाए । बलियाले नै सीमा बनाए र देश बनाए । देश ठूलो बनाए । अझ ठूलो बनाए । झन् ठूलो बनाए । रसियाले युक्रेन कब्जा गर्ला । चाइनाले ताइवान कब्जा गर्ला । नजाने कोको सानाहरू पनि ठूलाको फेला पर्ला ! खाद्य श्रृङ्खलाको दोश्रो स्वरूप त यही हो । अब अम्रिकाले भेनेजुयलाका राष्ट्रपति कब्जामा लिए आफूलाई ट्रम्पले भेनेजुयलाका कार्यावाहक राष्ट्रपति घोषित गरे भनेर तिम्ले डाँको छोडेर के हुन्छ ? इकोसिस्टम तिम्रा बाउले सन्तुलनमा राख्छ ? भनेर तपाईंले भन्नुभो भने मैले बोल्ने केही ठाउँ छ त ?
यौटा कुरा त के स्पष्ट छ भने आर्थिक, सामाजिक, शारिरिक, धार्मिक वा कुनै अज्ञात जुनसुकै रूपमा भएपनि बलियोले नै हुकमत गरेको छ । उसलाई केही चित्त बुझ्दा, केही प्रतिष्ठाका खातिर वा सेवा, देखावटी वा धर्म वा कुनै अज्ञात शक्ति हासिल गर्न जुनसुकै मनसायले कमजोरलाई केही दिन्छ उसले । दिँदै आएको पनि छ । किनकी उसलाई लागेको छ यो जगत उसकै हो । उसलाई रखबारी गर्ने जिम्मेवारी छ । अरुको चिन्ता पनि गर्नुछ तर कसैले यो जगत मेरो पनि हो भनेर कुनै विजातिय विचार राखोस् त, त्यो दानीको सेवाभाव तुरुन्तै चामलमा भुस निफनेझैँ निफनिन्छ र दुस्साहस गर्ने मनुवालाई अस्तित्वमा रहनै मुस्किल पर्छ । यो व्यक्तिका लागि मात्र हैन समाजका लागि, देशका लागि पनि लागु हुन्छ । त्यो भनेको हरिणले बाघको शिकार गर्न खोज्नु हो जुन खाद्यश्रृङखला विपरित हुनाले सन्तुलन बिगार्नेहरू स्वतः पलायन हुन्छन् । त्यसो हुनाले उखु किसानहरूले माइतीघरमा धर्ना बसेर इकोसिस्टम बिगार्नु हुँदैन ।
अरुलाई देखाउन बलियालाई ठूला महल बनाउन मन लाग्छ । ठूला सभाहल बनाउन मन लाग्छ । अग्ला भ्यू टावर बनाउन मन लाग्छ । ठूला अक्षरमा आफ्नो नाम देखाउन मन लाग्छ । भलै पशुपतिनाथको जलहारीमै, गजुरको छेउछाउमै उसले नाम लेखाउँछ । जे गर्छ उसले अरुलाई देखाउन गर्छ । अरुका खातिर गर्छ । अरुका खातिर गर्ने कोही कसरी नराम्रो हुन्छ ? अलिकति उसलाई जीनको माया लाग्छ । अलिकति आफ्नाहरूको माया लाग्छ । हो कहिलेकाहीँ आफ्नाहरूले बिगारेको नदेख्न मन लाग्छ । बलियोलाई जे लाग्छ त्यो गर्नु उसको जन्मसिद्ध अधिकार हो । निर्बलियोले त बस् बलियोले भनेको मान्नुपर्छ । बलियोले जहाँ भन्छ त्यहीँ बस्नुपर्छ । जति दियो त्यति खानुपर्छ । निर्बलियाले बिहान बेलुका खाना खाए हुन्छ । पुग्दैन भने एक छाक खाए हुन्छ । त्यो पनि नपुगे एकदुई छाक छोडेर के हुन्छ ? इकोसिस्टमलाई सन्तुलनमा राख्नकालागि परे उसले जे पनि सहनुपर्छ । बिग्रिए कसको प्राण पहिला जान्छ ? यो व्यक्तिको मात्र कुरा हैन; समाजमा, देशहरूमा पनि यो कुरा लागू हन्छ । बलियाले काम गर्छन् । अरुको चिन्ता गर्छन् । काम गर्दा गल्ती हुन्न र ? सानो गल्तीलाई निर्बलियाले देख्नु हुँदैन । सानो हैन ठूलै पनि देख्नु हुँदैन । नराम्रो त उसका बारेमा बोल्नु नै हुँदैन । कसैले देख्यो, कसैले बोल्यो ऊ इकोसिस्टम विरोधी हो । इकोसिस्टम कसैले बिगार्न पाउँदैन । पाउँदै पाउँदैन । किप इट इन माइन्ड !
दोश्रोबाजी छोरीलाई गणितको अभ्यास गराइरहेथेँ । यहाँ उनले घरको कुरा ल्याएकी थिइनन् । मेरो मनलाई चिमोटेकी पनि होइनन् । मात्र उनले एक भन्दा दुई किन ठूलो भनेर खोचे थापिन् । मैले के भन्नु के ? “एक भन्दा दुई दोब्बर हुन्छ । मतलब एक एक दुईचोटि चाहिन्छ दुई हुन, त्यसैले ठूलो” भनेँ । “त्यसो भए अघि आउने साना हुन्; पछि आउने भन्दा ?” उनले फेरि मेरो दिमाग चाट्न थालिन् । “हो.. तर..” यति भनेर ब्रेक लगाएँ । “त्यसोभए दश भन्दा एघार ठूलो एघार भन्दा बाह्र ठूलो । बीस भन्दा एक्काइस, एक्काइस भन्दा बाइस, बाइस भन्दा चौबिस । पच्चिस, छब्बिस ।” मैले आजित भएर “हो हो त्यही हो” भनेर टारेँ । जति पछि उति ठूलो ! “ त्यसो भए म हजुर भन्दा ठूलो । म हजुर भन्दा पछि जन्मेको ।” यसो भनेर उनी पढ्दापढ्दै जरुक्क उठेर नाच्न थालिन् ।
सयकडौँ पटक अनुत्तरित भएको छु छोरीका कुराले । अंकगणितका हिसाबले त छोरीलाई बुझाउने कोसिस त गर्थें नै तर कुनै बेला नजानिँदोगरी जीवन र जगतका सरोकारहरू अनियोजित रुपमा उनका प्रश्नहरूसँग आउँछन् । जोडिन्छन् । निश्चय नै उनले जानेर वा अभिप्रायगत हिसाबले सोधेकी हैनन् । शायद मैले नै ज्यादा बुझेँ । मैले नै जोडेँ । शायद मैले जोडेर बुझ्नु पनि पर्छ । “हजुर जन्मेको समय भन्दा म जन्मेको समय ठूलो । आइतबार भन्दा सोमबार ठूलो ।” हेर्नुस् है उनका कुतर्क ! उसो त उहिले म गुच्चा खेल्थेँ । उनी मोबाइलमा खेल्छिन् । मैले चिठी पठाउँथे । उनले अनलाइनमा आफ्ना दुबईका मामासँग कुरा गर्छिन् । उनले भ्वाइस सर्च गरी यूटुबमा गीतहरू भेट्छिन् । ड्रोइङ गर्न सिक्छिन् । जनावर, पन्छी, बिरुवा, ठाउँका बारेमा गुगल गर्छिन् । प्रविधि मैले भन्दा उनले छिटो प्रयोग गरिन् । अझ के के गर्ने होलिन् । तर जे भने पनि म सानो त हैन नि । बाउ पो हुँ त गाँठे ! त्यसैले लत्याइदिन्छु उनका प्रश्नहरू । तर केही उत्तर त हुनुपर्थ्यो होला । त्यसैले भनिरहेछु- साँच्ची के विषयमा हात हाल्न पुगेँ मैले !
असलमा मलाई यौटी छोटी बच्चीसँग पनि हार्नु छैन । भन्नैपर्छ मैले “तिम्ले भन्दा धेरै देखेको छु”, “तिम्ले भन्दा धेरै भोटा फटाको छु ।” मलाई “फटाको कुरा नगर, कतिवटा सिलायौ ?” पो भन्छ कसैले कि जस्तो पनि लाग्छ । तर म रोकिन्नँ । “म तिम्रो बाउ हुँ” मैले भन्नैपर्छ । केटाकेटीहरू जिद्दी गर्छन्, सबैकुरा मान्नु पनि हुँदैन भनेर मैले विचार त गर्नै पर्छ । धेरै ल्याङल्याङ गरे दुईचार थप्पड लाउन नि पर्छ । खासमा त मेरो घरको इकोसिस्टम मैले नै सन्तुलनमा राख्ने हो नि !
अनेक आरोहअवरोह, ह्यानत्यान, इधरउधर गरेर उनीहरूलाई जोगाउनु छ । हिँडाउनु छ । बचाउनु छ । उनैले आफ्ना बाउलाई प्रजनन गर्न सिकाउन खोज्छन् लास्टमा ! मलाई जस्तै अति भएर सरकारले सोसलमिडियाहरू बन्द गरिदिएको हुनुपर्छ । बन्द हुँदा जाद्रै मनासिव भो भन्ने मलाई परेकै हो । अचेल मेरी छोरी एकखुट्टि खेल्न थालेकी छिन् । ताराबाजी लैलै भन्न थालेकी छिन् । घरीघरी गट्टा पनि खेल्न थालेकी छिन् । हैन हैन उनले टिभी पनि हेर्न थालेकी छिन् । समाचार पनि हेर्छिन् । समाचार हेर्दा झनै डरलाग्दो छ । इजरायलले प्यालेस्टाइन हानेको हान्यै छ । रसियाले युक्रेन हानेको हान्यै छ । केटाकेटी भोको, रुल्लटुल्ल देख्दा उनका मनमा के बित्दो हो ? शायद बुझ्दिनन् ती कुरा । शायद बुझ्छिन् । रुवाई, आँसु भोकशोक बुझ्न बुढो हुनु पर्दैन निश्चय । उसो त उनले कताकता ककस्लाई भनेर फेरि फेसबुक यूटुब चलाउने तिकडम गरेकी छन् । भिपिएन, प्राइभेट डिएनएस, बाङ्गोबाटो जेमा पनि छ । मोबाइलमा औँला चलाउने बानी नहुँदो हो त ठिकै थियो । आफूलाई स्वाद परेको थाहा नपाएझैँ गरेर बस्नु पनि काइदा हो यदि अरुलाई स्वाद परेको छ भने । आफैँ मात्रले नचालाउँदा भडखारोमा परेको बुढो गोरु भइँदो रैछ; मात्र यति पीर हो । तैपनि केटाकेटीमा हामीलाई यस्ता नानाभाँती नचलाएरै पुगेको हो । न फेसबुक थियो । न टिकटक थियो । चलेकै थियो । चलेकै छ । तिमीहरू उफ्रेर हुन्छ ? केटाकेटीले रोइलो गर्दा भन्ने त यही हो । हाम्रा बारेमा जे मनलाग्छ त्यही लेख्ने ? देशको प्रतिष्ठामा आँच आउने काम गर्ने ? हेप्ने ? भन्ने नै भयो सरकारले पनि ।
तेश्रोबाजी छोरीले सोधेकी थिइन्- “बाबा त्यो जुत्ता कसको हो ? त्यो जुत्तामा ब्लड कसरी लागेको हो ? यो प्रश्न उनलाई कसैले सोध्न लगाएको थिएन । उनी युट्युब बन्द भएको रनहामा थिइन् । उनले ठूलो उपलब्धि युट्युबबाट पाएकी पनि थिइनन् मेरो बुझाइमा । अब सरक्क किताब समाउने छिन् । बाउआमाले अह्राएको मान्ने छिन् । आफूभन्दा ठूला भनिनेको कुरा सुन्नेछिन्; मैले सन्तोष माने पनि नजानिँदो गरी सामाजिक सन्जाल उनको दिनचर्या बनेको रैछ । सायद खेल्न । भुल्न । भलै समय बर्बाद गर्न । थाहा नपाएझैँ गरेर अरुले स्वाद पाएको देख्दा मजै लागेपनि आफूले स्वाद पाएको धेरै खट्न नसकेको सकस देखाउन मनासिव थिएन । देखाइनँ पनि । किनकी म उनीभन्दा बलियो हुँ । किन म मैमत्त नपरुँ । बलियोले जे गर्यो गर्यो । जे सोच्यो सोच्यो, ऊ ब्याक हुनै हुँदैन । उसो त त्यो कताकता आफ्नै दिनचर्या बनिसकेको कुरो एकतिर छँदैछ तर बलियो कदापी रुपान्तरण हुँनुहुँदैन किनकी हठ बलियोको गुण हो । यो कुरा व्यक्तिमा हैन गाउँमा, समाजमा, देशमा पनि लागु हुन्छ ।
केटाकेटीले हुलदंगा गरेर इकोसिस्टम बिगार्न खोजिरहे । इकोसिस्टम सम्हाल्ने भनिकन भाद्र २३ गते बालबालिका माथि ताकीताकी गोली दागियो । २४ गते शनैशनै देशै जल्यो । उनीबाट कुनै प्रतिक्रिया नआए पनि मलाई लाग्छ उनी विवह्ल थिइन् । निश्चय नै शोक, रगत र आगोको भाषा बुझ्न बुढो हुनु पर्दैन । मलाई यहाँनेर आपत आइलागको छ । पुकार्छु- उनले नानाभाँती नबुझिदिए हुन्थ्यो । नसोधिदिए हुन्थ्यो । तर उनलाई मभन्दा जान्ने हुनुपर्ने होला । म भन्दा ठूलो बन्ने भूत सवार होला । शायद मेरी छोरीको यो प्रश्न रहन सक्छ “बाबा मैले मोबाइल चलाउन पाउनुपर्छ भन्दा हजुरले मलाई गोली हान्नुहुन्छ ?” आज हैन भोलि, नभए पर्सी, कुनै न कुनै दिन; उनले सोध्न सक्छिन्, “बाबा मैले तपाईंका कमजोरी बताउन पाउन्न र ? मेरो भविष्यका बारेमा मेरो चिन्ता दर्साउन पाउन्न र ? …….पाउन्न र बाबा ?” म अचानक अवाक हुन पुग्छु । सोचेरै मेरो मथिङ्गल झन्झनाउन थाल्छ । नजानिँदो गरी म इकोसिस्टम; अँ हैन पोलिसिस्टमको पक्षपोषक जो हुँ । शायद कुनै दिन मपनि पोलिसिस्टमको बोझ थेग्न नसकेर लाज पचाएर भाग्नु पर्नेछ । शायद लाज पचाएर म आउने छु । मलाई थाहा छ इतिहासको हिसाब नवपुस्ताले कुनै न कुनै दिन माग्छ । मलाई यो पनि थाहा छ- दिने नदिने बलियाकै हातमा छ ।
छोरीको परीक्षा सकियो । उनलाई प्रश्नोतर गर्नुपर्ने छैन । उनले जवाफ दिनुपर्ने पनि छैन । उनका अनेक तानाबाना पनि झेल्नु छैन । अहिले चुनाव आएको छ । सामाजिक सन्जालमा हेर्छु । तर्क सुन्छु । यौटा भन्छ तिमीहरूले ऐतिहासिक धरोहर जलायौ । सरकारी सम्पत्ति नष्ट गर्यौ । केही चुपचाप पनि छन् । अर्को भन्छ, तिमीहरूले बालबालिकाको संहार गर्यौ । अपराध गर्यौ । लाग्छ कुरा यत्ति हो । बरु यसैलाई बजाइरहनुछ । जति चाहिन्छ त्यति । मात्रा अनुसार । छानीछानी । टिपीटिपी । एकले अर्कोलाई यही अस्त्र प्रयोग गरिरहनुछ । उसले २३ गते भनिरहन्छ । उसले २४ गते मात्र भनिरहन्छ । डिबेटमा हिसाब चलिरहन्छ; २३ ठूलो २४ सानो, २४ ठूलो २३ सानो । ढाकछोपको श्रृङ्खला चलिरहन्छ, चलाउनु छ खाद्य श्रृङ्खला चलाए जसरी; अल्मल्याउनु छ निर्बलियालाई मैले छोरीलाई अल्मलाए जसरी र सन्तुलन कायम राख्नु छ पोलिसिस्टम । नजाने संख्या अझ थपिएला । सायद ७६ मा रोकिने छैन । हिजो १७ हजारमा रोकिए र ? निर्बलियाहरू छिटो भुल्छन् । सजिलै भुल्छन् । निर्बलियाको भुल्ने आदतले बलियाहरू पोलिसिस्टमलाई झनै चुस्तदुरुस्त सन्तुलनमा राखिराख्ने छन् । कसलाई थाहा छ भोलि २३ लेखिन्छ २४ छोडिन्छ वा २४ लेखिन्छ २३ छोडिन्छ ? थाहा छैन । थाहा छैन २३ पनि छोडिन्छ र २४ पनि छोडिन्छ । असलमा २३ र २४ नै पत्तासाफ हुन्छ कुनै दिन ! बलियालाई यो कुरापनि थाहा छ- बलियाबलिया एक भए इकोसिस्टम अझ मजबुत हुन्छ । अँ पोलिसिस्टम अझ मजबुत हुन्छ । मलाई याद आइरहेछ, जर्ज ओरवेलको एनिमल फार्मको महत्त्वपूर्ण वाक्यांश “अल एनिमल आर इक्वल बट सम आर मोर इक्वल देन अदर्स ।” केही विशेष बलियाहरूका खातिर ती निर्बलिया, त्यो रगतमा डुबेको जुत्ता सदाका लागि इतिहासबाट मेटिनेछ । त्यहाँ कुनै जुत्तै थिएन । मैले छोरीलाई ठाँटले भन्नु पर्नेछ – हरिणलाई बाघले नखाए सिंहले खानेछ । नभए ब्वाँसाले खानेछ । नभए कुनै व्याधा पापी मान्छेले नै खानेछ । शिकार हुनै त हरिण जन्मिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ माघ २०८२, बुधबार 








