सृष्टिको अनादि शून्यताबाट उदाएको चेतन–ज्योति, ब्रह्म—जसको इच्छा मात्रले काल, दिशा र भुवनको जन्म हुन्छ । यही ब्रह्मको मननबाट प्रकट भएका ब्रह्माजीले त्रिलोकको रचना गरे, मनु–शतरूपाबाट मानव वंशको विस्तार गरे र मानवलाई कल्पना, विवेक र कर्म–स्वातन्त्र्यको अद्वितीय वरदान दिए । तर युगको प्रवाहसँगै सृष्टिकर्ताको दृष्टि कल्पका प्रारम्भिक प्रभातमै स्थिर रह्यो । पृथ्वीमा के परिवर्तन भइरहेको छ—सृष्टिको उत्थान कि पतन—उनी बेखबर नै रहे । नारदमुनिले एक दिन स्मरण गराएपश्चात् यस प्रश्नको उत्तर खोज्दै ब्रह्माजी पृथ्वीतलको एक यस्तो दिव्य यात्रामा निस्कन्छन्, जहाँ विवेक र विज्ञान, मानवता र कामन्धता, सृष्टि र विनाशबिचको द्वन्द्व एकैसाथ उदघाटित हुन्छ ।
ब्रम्हलोकमा सृष्टिकर्ता ब्रह्माजी सकल प्रजापति, देवगण, गन्धर्व-अप्सरा, ऋषिमुनिहरू, काल, ऋतु, वेद-देवताहरूका साथ ब्रम्ह-सभामा विराजमान हुन्छन् । चतुर्मूखी ब्रह्माजी सृष्टिका चार दिशातर्फ दृष्टिगोचर गर्दै मध्यासनमा आसिन हुन्छन् । दायाँ-बायाँ धर्म, नीति, समय, प्रज्ञा र वेद हुन्छन् । युगको गति, जीवको कर्म-फल, सृष्टिको सन्तुलन, धर्म-अधर्मको उत्थान-पतन जस्ता यावत विषयमा विमर्श भइरहेको हुन्छ ।
वीणाको नाद सहित नारदमुनिको प्रवेश हुन्छ — “नारायण, नारायण !”
नारदमुनिको आगमनमा ब्रह्माजीको मुखारविन्दमा झल्कित मुस्कानले ब्रह्मसभा प्रदिप्त हुन्छ । ऋषि–देवगण आदरपूर्वक खडा भई नारदमुनिको स्वागत गर्छन् ।
नारदमुनि करबद्ध भई गम्भीर मुद्रामा प्रश्न गर्छन्— “हे आदि सृष्टिकर्ता, हजुरलाई स्मरण छ कि छैन ? हजुरबाट असीम अनुकम्पा गरी मानवहरूलाई अन्य प्राणी भन्दा पृथक, विशिष्ट र अद्वितीय सामर्थ्य प्रदान गरिएको थियो । के पृथ्वीको वर्तमान अवस्था कस्तो छ भनेर प्रभुलाई ज्ञात छ ? हजुरबाट प्रदान सामर्थ्य उत्थानको मार्गमा चलिरहेको छ कि पतनको गर्ततिर ?”
नारदमुनिका रहस्यमयी प्रश्नहरूले ब्रम्हलोकमा सुक्ष्म कम्पन उत्पन्न गर्छ । विष्मयभाव सहित ब्रह्माजीका चारै मुखबाट एकसाथ प्रश्न संचार हुन्छन्— “हँ ! के भयो र नारद मुनि ? पृथ्वीमा केही विघ्न-वाधा उत्पन्न भएको छ र ?”
नारदमुनि मुस्कुराउँछन् । वीणाको तार हल्का छेड्छन् र रहस्यमय उत्तर दिन्छन्— “त्यसको जानकारी प्रभु स्वयमले हासिल गर्नुहोला । नारायण, नारायण !”
ब्रह्माजीको हृदयमा संशयको बीज रोपी नारदमुनि अलप भइहाल्छन्, केवल वीणाको ध्वनि मात्र प्रतिध्वनित भइरहन्छ ।
त्यसै क्षण ब्रह्माजी आसन छोड्छन् । दिव्य तेजलाई आच्छादित गरी एक साधारण मानवरूप धारण गर्छन् र आफ्नो हंस-वाहनमा आरुढ भई पृथ्वीतर्फ गमन गर्छन् ।
हंस-वाहनको अवतरण अमेरिकाको मध्य-पश्चिम भू-भागमा हुन्छ । पृथ्वीको पञ्चाङ्गमा यो दिन सन् २२२५ डिसेम्बर महिना ३० तारिख अंकित हुन्छ ।
आकाशमार्गबाट अवतरित भई केही क्षण पृथ्वी-तलमा पैदल गमन गरे पछि ब्रह्माजी एक विराट भवनको परिसरमा पुग्छन्, जहाँ महाकाय वाहनहरू पंक्तिबद्ध उभिएका हुन्छन् । त्यो भवन कुनै साधारण स्थान हुन्न— त्यो एक बहुदेशीय कम्पनीको भण्डारण तथा वितरण केन्द्र हुन्छ । त्यहाँ भित्र ब्रह्माजीले देख्छन् —व्यवस्थित रूपमा तख्ताभरि मिलाएर राखिएका यावत उपभोग्य सामानहरू, सामान स्थानान्तरण गर्ने ‘कन्वेयर पेटी’हरू, चम्किला ‘बारकोड स्क्यानर’हरू, भीमकाय ‘फोर्कलिफ्ट’ र ‘प्यालेट-ज्याक’हरू र अविराम चलायमान ‘प्याकेजिङ मेसिन’हरू । यी सबै अनौठा उपकरणहरू देखेर ब्रह्माजी अचम्मित हुन्छन् र प्रफुल्लित पनि —”के साधारण कद्-काठीका मनुष्यले यस्ता महाबली यन्त्रको अविष्कार गरे ?”
तर यति विशाल भण्डारणमा ब्रह्माजीका चक्षुले मनुष्यलाई भने देख्दैनन् । आश्चर्य र जिज्ञासाले खिच्चिँदै, अवलोकन गर्दै, ब्रह्माजी अघि बढ्दा उनले एक स्थलमा अदभुत जीवहरू देख्छन् —कुनैका आकृति मानवजस्तै तर चाल-ढाल, गति पूर्णतः भिन्न । कुनै भीमकाय गँगटा जस्ता, कुनै श्वान (कुकुर) जस्ता त कुनै सरीसृप जस्ता । ब्रह्माजी विस्मित भई सोचमा पर्छन् — यी कुन जीव हुन् ? मेरो सृष्टिमा त यस्ता जीव थिएनन् !”
त्यी मध्ये एक धातुमय मानवाकृति, विचित्रको लचकता सहित मानवरुपी ब्रह्माजीको नजिक आउँछ र जिज्ञासु नजरले हेर्छ ।
ब्रह्माजीले प्रश्न गर्छन् – “तिमीहरू कुन जाति हौ ? तिमी लगायत केही मानव-सदृश देखिन्छौ, तर मानव त होइनौ ”
त्यसले जवाफ दिन्छ – “हामी रोबोट हौँ, अर्थात् यन्त्र-मानव । हामीलाई मानवहरूले आविष्कार गरेका हुन्, तिमीलाई कसरी थाहा नभएको ? हाम्रो सामर्थ्य असीमित छ । हामी अविराम काम गर्न सक्छौँ ।”
त्यस यन्त्र-मानवको कुरा श्रवण गरेर ब्रह्माजी विस्मित हुन्छन् । मन-मनै गर्व पनि गर्छन् – “मनुष्यको अद्भुत कर्म !”
त्यसै बखत अन्य रोबोटहरूको ध्यान पनि ब्रह्माजी तर्फ खिचिन्छ । सबै एकै स्वरमा गुञ्जिन्छन् — “हे, यहाँ एउटा मानव आएको छ, हाम्रा खातिर केही काम लिएर आएको होला । ”
ब्रह्माजी जसोतसो त्यहाँबाट फुत्किन्छन् र सडक छेउ पुग्छन् । त्यसै बखत सडकमा एक चम्किलो धातु-रथ, अर्थात् वाहन रोकिन्छ । यसको द्वार स्वयमेव खुल्छ । ब्रह्माजी जसै भित्र प्रवेश गर्छन् , उनी अचम्मित हुन्छन् — वाहनमा चालक हुँदैन, अर्थात् यो स्वचालित हुन्छ । यात्रुहरू पनि मानव नभई सबै रोबोटहरू नै । खै मानवहरू ? खै सृष्टिका उत्तराधिकारीहरू ?
केही क्षणको यात्रा पछि , ब्रह्माजी कुनै एक स्थलमा अवतरण गर्छन् । नजिकै एक विराट उद्यान हुन्छ, जहाँ सुन्दर वृक्ष, सुगन्धित पुष्प र अलौकिक शीतलता फैलिएको हुन्छ । त्यहाँ देहलाई केही विश्राम दिन ब्रह्माजी रोकिन्छन् । शान्त वातावरणमा सुस्ताउँदै गर्दा उनको चित्त गहिरो ध्यानमा डुब्छ—यो अनन्त सृष्टिको आरम्भ, युगको उदय-अस्त र रचनाका घटनाक्रमहरू उनको ध्यानपटमा उजागर हुन्छ ।
प्रारम्भमा न समय हुन्छ, न स्थान, न देवता, न मनुष्य, केवल ब्रह्म—अनन्त, निराकार, सर्वव्यापी चेतना । ब्रह्ममा सृष्टिको इच्छा हुन्छ । ब्रह्माण्डीय बीज हिरण्यगर्भको उदय हुन्छ र ब्रह्माको रुपमा प्रकट हुन्छ । सृष्टि निर्माणको ज्ञान आवश्यक हुन्छ र सरस्वती प्रकट हुन्छिन् । ब्रह्माजीले प्रथम पञ्चमहाभूतहरू—पृथ्वी, जल, अग्नि, वायु, आकाश उत्पत्ति गर्छन् । तत्पश्चात् दिशा, काल, मन, ईन्द्रिय र देवताहरू रचना गर्छन् । त्रिलोक—स्वर्ग, मर्त्य, पाताल र चौध भुवन बन्छन् । अन्न, फलफूल, औषधि तथा विविध वनस्पतिहरूको सृष्टि हुन्छ । ब्रह्माजीले आफ्नो शरीर द्विभागमा विभक्त गरी प्रथम भागबाट पुरुष ‘मनु’ र द्वितीय भागबाट स्त्री ‘शतरूपा’को जन्म गराउँछन् । यही युगलबाट पृथ्वीमा मानव वंशको विस्तार हुन्छ ।
प्रारम्भमा सृष्टि यन्त्रवत् रहन जान्छ । यसमा कुनै रोमाञ्च हुन्न । निरस हुन्छ । मानवहरूमा कुनै उत्साह हुँदैन । ब्रह्माजीले त्यस उदासीनताको कारण जान्न चाहन्छन् ।
मनुष्यहरूले करबद्ध भई ब्रह्माजीकन निवेदन गर्छन्—“हे सृष्टिकर्ता जगतपिता, हामी त मनु-शतरुपाका सन्तान, हजुरकै देह-द्विभागबाट उदित प्राणी । तथापि हाम्रो अवस्था अन्य जीवजन्तुहरू जस्तै छ— अल्प अन्नबाली, कमजोर बल-विक्रम, वनका हिंस्रक व्याघ्र-भालु जस्ता जनावरहरूबाट सदैव भयभीत । हामीसँग न आफूलाई रक्षा गर्ने सामर्थ्य छ, न त जीवन उन्नत बनाउने कुनै उपाय । अतः हे सृष्टिकर्ता, हामीलाई विशेष सामर्थ्य कृपा होस्—जसले हामीमा ज्ञानको दीप प्रज्वलित होस्, नवीन उपकरण र औजार सृजना गर्ने बुद्धि मिलोस् र हामीले जीवनलाई सहज, सुरक्षित र उन्नत बनाउन सकौँ । हजुरको सृष्टि सुन्दर छ—त्यसलाई हामी सार्थक बनाउन सकौँ, प्रभु ।”
मनुष्यको यो विनय सुनेर ब्रह्माजी गम्भीर मनन-मन्थनमा तल्लीन हुन्छन् । उनी जान्दछन्—मनुष्यको गुनासो केवल पीडा हुन्न, सृष्टिको संरचनामा रहेको एक सूक्ष्म अपूर्णता र रसहीनता हुन्छन् ।
देवता धर्मका रक्षक त अवश्य हुन्छन्, किन्तु तिनीहरूमा भोकको तडप हुन्न । पीडाको चिरा हुन्न । मोह – करुणाको रस हुन्न । देवलोक मानवीय अनुभूतिको सम्पूर्ण स्पर्शबाट विमुख हुन्छ ।
प्रकृति अनुपम सुन्दरी हुन्छिन् तर उनलाई आफ्नै सौन्दर्यको चेतना हुन्न—उनी सृजनाको आधार हुन्छिन् तर सृजनाको अनुभूति गर्न सक्दिनन् ।
त्यसैले ब्रह्माजीका मनमा एक दिव्य विचार प्रस्फुटन हुन्छ, “सृष्टिलाई पूर्ण बनाउन एक यस्तो प्राणी आवश्यक छ जो सोच्न सक्छ, अनुभव गर्न सक्छ, सौन्दर्यको अर्थ बुझ्न सक्छ, र कर्ममार्गमा चल्दै आफ्नै नियति निर्माण गर्न सक्छ । एक यस्तो जीव—जसमा देवत्वको झिल्को पनि होस् र प्रकृतिको माटोको सुगन्ध पनि ।
यही विचारबाट ब्रह्माजीले मनुष्यलाई विशेष सामर्थ्य प्रदान गर्ने संकल्प गर्छन्— सृष्टिको सबैभन्दा जटिल, सबैभन्दा संवेदनशील, र सबैभन्दा जिम्मेवार प्राणीका रूपमा ।
ब्रह्माजीले मनुष्यको मस्तिष्कमा असंख्य तन्त्रिका–कोषिकाहरूको घनत्वयुक्त संरचना स्थापित गर्छन् र उच्चकोटीका निम्न विशेषताहरू प्रदान गर्छन्:
कल्पना — असम्भवलाई सम्भव बनाउने शक्ति
भावना — करुणा, प्रेम, पीडा, उल्लासको अनुभूति,
कर्म — आफ्नो भाग्य आफैँ लेख्ने स्वातन्त्रता र
अन्वेषण–चेतना — सृष्टिको रहस्य खोज्ने जिज्ञासा
विवेक — सही–गलत छुट्याउने क्षमता
मनुष्यहरूलाई अलौकिक क्षमता प्रदान गरिसकेपछि पृथ्वीमा घटित विकासक्रम र उनीहरूले रोजेको मार्ग प्रति ब्रह्माजी बेखबर एवम् निश्चिन्त हुन्छन् । ब्रह्माजीको चित्त केवल कल्पका आदि प्रभातमै स्थिर रहेको हुन्छ, जहाँ समय नवजात शिशुजस्तै निर्मल, निष्कलंक र निःशब्द हुन्छ ।
ब्रह्माजीले आफ्नो ध्यान-दृष्टि कल्पका ती प्रारम्भिक दिनहरूमा पुर्याउँछन् र तहाँ उप्रान्त पृथ्वीमा घटित घटनाक्रमहरूलाई आफ्नो दिव्य पटलमा साक्षात्कार गर्न थाल्छन् ।
मानव मस्तिष्क अद्भुत वेगले विकसित हुन्छ । विचार गर्ने, तत्त्व बुझ्ने र नूतन सृष्टि गर्ने सामर्थ्यले मानवलाई अन्य प्राणीजगत् भन्दा विलक्षण तुल्याउँछ । समयको प्रवाहमा उनीहरूले असंख्य औजार र आयुधको निर्माण, विविध उपकरण र यन्त्रको आविष्कार गर्छन् । पृथ्वीमा गुड्ने मोटर-वाहनदेखि, जलमा तैरिने ठूला कस्ती र आकाशमा उड्ने यानसम्म आविष्कार गर्छन् ।
झण्डै छब्बीस लाख वर्ष पहिले पाषाण युगको आरम्भ भएको रहेछ । मानिसले ढुङ्गालाई काटेर धारिलो बनाउन सिकेछन् । बल-विक्रममा दुर्बल मनुष्यहरू पाषाण औजारको प्रयोगले व्याघ्र-भालु जस्ता बलशाली र हिंस्रक जनावरहरूसँग जुध्न सक्ने भएछन् । ढुङ्गाबाट बनेका हतियारले शिकार गर्न, खेतीपाती गर्न, अन्य औजार निर्माण सजिलो भएछ ।
समयसँगै मानिसको ज्ञान बढ्दै गएछ । झण्डै तीन हजार वर्षअघि धातुको रहस्य पत्ता लगाएछन् । तामाको प्रयोगबाट शुरु भएको यो यात्रा पछि फलाम, काँस र अन्य धातुमा विस्तार भएछ । धातुका हतियारले युद्धको स्वरुप बदलेछ, धातुका औजारले खेती र निर्माणमा अभूतपूर्व परिवर्तन ल्याएछ ।
अठारौँ शताब्दीमा आधुनिक औद्योगिक युगको उदय भएछ । वाष्प इञ्जिनको आविष्कारले यातायात र उत्पादनमा क्रान्ति ल्याएछ । कारखानामा सामानहरू ठूलो मात्रामा उत्पादन हुन थालेछन् । विद्युतको खोजले रातलाई दिनमा बदलिदिएछ र टेलिफोनले संसारलाई जोडिदिएछ । मानिसको जीवनशैलीमा अभूतपूर्व परिवर्तन आएछ ।
बिसौँ शताब्दीमा मानव सभ्यताले सूचना र प्रविधिको युगमा अर्को छलाङ मारेछ । कम्प्युटरको आविष्कारले गणना, सञ्चार र ज्ञानको भण्डारणलाई नयाँ आयाम दिएछ । उपकरणहरू अब केवल भौतिक औजारमा सीमित रहेनछन्; सफ्टवेयर, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता र रोबोटहरूको विकासले मानिसलाई जटिल कार्यहरू छिटो र सजिलै गर्न सक्षम बनाएछ ।
एक्काइसौँ शताब्दीमा आइपुग्दा उत्पादनदेखि सञ्चारसम्म, शिक्षादेखि स्वास्थ्यसम्म—कार्य–प्रवाहहरू अभूतपूर्व गतिमा स्वचालिकरण हुँदै गएछन् । मानवले सिर्जना गरेको प्रविधिले मानवकै जीवनशैलीलाई निरन्तर रूपान्तरण गर्न थालेछ र यो रफ्तार अझै जारी रहेछ ।
ब्रह्माजीको ध्यानपटमा ब्लुमिङ्टन कर्पोरेशनको भव्य बोर्डरुम खुल्छ—जहाँ शीर्ष कार्यकारीदेखि लगानीकर्ता र बोर्ड सदस्यसम्म सबै उपस्थित छन् ।
प्रमुख कार्यकारी अधिकृत मार्गारेट कार्टर ‘प्रोजेक्टर’ अगाडि उभिन्छिन् । उनी बताउँछिन् कि ‘कम्पनी’ तीव्र विस्तारमा भए पनि लक्ष्य अधुरै छ—समस्या प्रतिभा होइन, जिम्मेवारीको अस्पष्टता, स्रोतको दोहोरो प्रयोग, मानवीय स्रोत माथिको निर्भरता, स्वचालनको न्यूनता र भारी संरचनाले परियोजनाहरू सुस्त र मुनाफा न्यून बनाएको छ ।
उनी समाधान प्रस्तुत गर्छिन्—कार्यशैली परिवर्तन, संरचना पुनर्गठन, र पूर्ण स्वचालन । त्यसका लागि ‘डिपार्टमेन्ट अफ इफिसियन्सी’ स्थापना र यसको नेतृत्वको लागि भिक्टर क्याम्पबेलको नियुक्ति ।
भिक्टर उठ्छन्, सभा तालीले गुञ्जिन्छ । आत्मविश्वासी भिक्टर विभागको दर्शन प्रस्तुत गर्छन्—अदक्षता प्रगतिका शत्रु हुन्; प्रक्रियालाई सहज, बोझरहित र स्वचालित बनाउनु नै लक्ष्य हो । स्वचालीकरणले त्रुटि घटाउने, खर्च कम गर्ने, निर्णय छिटो बनाउने र कर्मचारीलाई उच्च मूल्यका काममा केन्द्रित हुन दिने कुरा उनी स्पष्ट पार्छन् ।
अन्त्यमा उनी घोषणा गर्छन्—“स्वचालन अब केवल उपकरण होइन, हाम्रो मूल दर्शन हुनेछ—चुस्त प्रणालीमार्फत उच्चतम दक्षता ।
उनीहरूको घोषणाबाट उपस्थित अधिकांश उत्साहित हुन्छन् । केही सदस्यहरूले भने असहज महसुस गर्छन्—संरचनात्मक पुनर्गठन र स्वचालीकरणले रोजगारीलाई असर गर्ने शंका गर्छन्। तर उनीहरूका गुनासा बहुमतको उत्साहमा दबिएर जान्छ ।
भिक्टरले व्यापक कटौतीको नीति लागू गर्न थाल्छन् । विभागहरूको संख्या घटाइन्छ, बाँचेका विभागहरू संकुचित संरचनामा सीमित हुन्छन् । कर्मचारीहरूको स्थान क्रमशः ‘एल्गोरिदम’ले ओगट्छ; प्रबन्धकीय भूमिकाहरूलाई ‘ड्यासबोर्ड’ले प्रतिस्थापन गर्छ । यसरी संगठन मानवीय श्रमबाट प्रविधि–केन्द्रित प्रणालीतर्फ रूपान्तरण हुँदै जान्छ । निर्णय प्रक्रियामा मानवीय हस्तक्षेप घट्दै जान्छ, कार्यप्रवाहहरू स्वचालित बन्छन् र संस्थाको संरचना यान्त्रिक दक्षतामा आधारित हुन्छ ।
ब्रह्माजीको दिव्य-पटमा एक कर्मचारी देखा पर्छ—परिचय पत्रमा ‘पिटर ङो’ अंकित हुन्छ । उनी एक भियतनामी आप्रवासी रहेछन्, जो बाह्र वर्षदेखि त्यसै प्रतिष्ठानको वितरण प्रणालीमा काम गरिरहेका हुन्छन् । उनले कार्यशालाको लयलाई समातेका हुन्छन् । यसलाई आफ्नो जीवनको हिस्सा बनाइसकेका हुन्छन्—‘कन्वेयर बेल्ट’को निरन्तर गुनगुन, सहकर्मीहरूसँगको आत्मीय वार्तालाप, कागजका बाकसहरूको गन्ध, यी सबैसंग उनी अभ्यस्त हुन्छ । सेन्टर उनका लागि दोस्रो घर जस्तै हुन्छ ।
एकदिन केही रोबोटहरू आउँछन् । आरम्भमा ती सहयोगी मात्र हुन्छन्, कामदारहरूले पनि प्रविधिको चमत्कारसँग सहकार्य गर्न रमाइलो नै मान्छन् । तर क्रमशः रोबोटहरूको संख्या बढ्दै जान्छ । मानव कामदारहरूको संख्या घट्दै जान्छ । चहलपहल हराउँदै जान्छ । मानिसहरूका गुनगुन हराउँछ, केवल मेशिनहरूको सुसाई मात्र सुनिन थाल्छ ।
अन्ततः एकदिन पिटरका ‘सुपरभाइजर’ले उनलाई बोलाएर भन्छन्—“तिम्रो काम अब ‘अटोमेटेड’ भएको छ ।”
बाह्र वर्षको उनको योगदान एकै क्षणमा शून्यतामा विलीन हुन्छ ।
अर्का कर्मचारी, रिसेप्सनिष्ट मारिया गोञ्जालेस, जो आगन्तुकहरूको स्वागतमा सदैव तत्पर रहन्थिन् । उनलाई अधिकांश कर्मचारीहरूका जन्मदिनसम्म याद रहन्थ्यो । कार्यालय सुचारु रूपमा सञ्चालन गर्न उनी अपरिहार्य थिइन्—कामको तालिका मिलाउने, आगन्तुकहरूको भेटघाट व्यवस्थापन गर्ने, सबै कुरा उनको हातमा व्यवस्थित हुन्थ्यो ।
तर एक बिहान प्रबन्धकले उनलाई कठोर खबर सुनाउँछन्—“अब ‘एआई शेड्युलिङ सिस्टम’ जडान गरिएको छ । यो प्रणालीले ‘अपोइन्टमेन्ट’हरू मानवले भन्दा अझ प्रभावकारी रूपमा सम्हाल्न सक्छ । अहिलेसम्म तिमीले संस्थालाई दिएको योगदानका लागि धेरै धन्यवाद ।”
मारियाले आफ्ना सामानहरू बटुल्छिन् । आफ्नो कार्यकक्षलाई अन्तिम पटक फर्केर हेर्छिन् र बिदा हुन्छिन् । दश वर्षको उनको समर्पण एकै क्षणमा समाप्त हुन्छ । त्यसपछि उनले जीवनको दिशा बदल्ने प्रयास गर्छिन् । पचासौँ दशक उमेरकी उनी, ‘अनलाइन-कोर्स’हरूमा नाम लेखाउँछिन्, नयाँ कामहरूको लागि आवेदन दिन्छिन् । तर हरेक विज्ञापनले उनमा नभएका सीपहरूको माग गर्छ । अवसरहरू टाढा हुँदै जान्छ र मारिया बिस्तारै अवसादको शिकार हुन्छिन् ।
ब्रह्माजीको मानसपटलमा अरु थुप्रै रोजगारी गुमाउने प्रतिनिधि पात्रहरू देखिन्छन् । अग्रपंक्तिका कामदार जुलिया चाङ —एकल आमा, जसले आफ्ना बच्चाहरूलाई पाल्न दिनरात मेहनत गर्छिन् । सुम्निमा क्षेत्री—विद्यार्थी जीवनसँगै काम गरेर पढाइको खर्च जुटाउने संघर्षरत युवती । ‘सफ्टवेयर डेभलपर’ श्रीकान्त रेड्डी—उच्च दक्षता भएका प्राविधिक हुन् तर प्रविधिको तीव्र स्वचालनले उनको भूमिका अप्रासंगिक बनाइदिएको हुन्छ । कटौतीको लहरमा परेका अन्य थुप्रै कर्मचारीहरू चित्रपटमा देखिन्छन् ।
बजार प्रवर्धन, बिक्री, उत्पादन—सबै क्षेत्र बिस्तार त हुन्छन् तर मानवश्रम संकुचन हुन्छ । मानवीय श्रमलाई प्रविधिले प्रतिस्थापन गर्दै जान्छ । संस्थाको संरचना क्रमशः यान्त्रिक दक्षतामा आधारित हुँदै जान्छ तर त्यसको मूल्य मानव जीवन र रोजगारीमा भारी पर्न जान्छ ।
संस्थाको संस्कृतिमा व्यापक परिवर्तन आएको स्पष्ट देखिन्छ । पहिले चहलपहलले भरिएका कार्यालयहरू अब शान्त हुन्छन् । भिक्टरले यस मौनतालाई प्रगतिका संकेतका रूपमा हेर्छन् । प्रत्येक हटाइएका पद र भूमिकालाई उनले सफलताको प्रमाण ठान्छन् र गर्व गर्छन् ।
काँचका पारदर्शी सिसायुक्त आफ्नो कार्यालयमा बसेर भिक्टर क्याम्पबेल बिक्री र नाफाका सूचांकहरू ‘ड्यासबोर्ड’मा नियालिरहन्छन् । कार्यहरूको स्वचालिकरण र मानवश्रमको कटौती नै उसको मन्त्र हुन्छ । ब्लुमिङ्टन कर्पोरेशनको मुनाफा अकासिन्छ । भिक्टर एक ‘कर्पोरेट सेलिब्रिटी’ बन्छन्—पत्रिकाका आवरणमा उनका ठूला तस्वीरहरू छापिन्छन् । उनी समाचारका शीर्षक बन्छन् ।
भिक्टरलाई गर्व लाग्छ—अब कारखानामा हडताल हुँदैन—रोबोटहरूले कुनै गुनासो गर्दैनन् —तलब-सुविधाको बृद्धिको माग गर्दैनन्—यूनियन बनाउँदैनन्—बिरामी बिदा पनि माग्दैनन् ।
त्रैमासिक बैठकमा उनले गर्वपूर्वक घोषणा गर्छन्—“हामीले भविष्य निर्माण गरिरहेका छौँ । दक्षता नै हाम्रो समृद्धिको मार्ग हो ।”
बोडरूम म उनको समर्थनमा तालीले गुञ्जिन्छ ।
एक ‘गाला’ पार्टीमा ‘टेक आर्किटेक्ट’ ड्यानियल चु प्रश्न गर्छन्—“स्वचालन प्रणालीले अत्यन्त तीव्र गतिमा सिकिरहेको छ र हामी त्यसै अनुसार मानवस्रोतहरू कटौती गरिरहेका छौँ । यसले कुनै अनिष्ट निम्त्याउने त होइन ?”
तर भिक्टरले उनको चेतावनीलाई वेवास्ता गर्छन् । सफलताको पट्टीले उनलाई अन्धो बनाएको हुन्छ—उनी सम्भावित जोखिम र विनाशको संकेतलाई बेवास्ता गर्छन् र केवल बढ्दो नाफा र चम्किला सूचाङ्कहरू प्रति मोहग्रस्त हुन्छन् । उनले श्याम्पेनको प्याला उचाल्दै जवाफ दिन्छन्—“प्रगतिले बलिदान माग्छ । कार्यक्षमता अभिवृद्धि नै भविष्य हो ”
एक साँझ भिक्टर अबेरसम्म ‘सर्भर’ कक्षमा रुमल्लिरहेका हुन्छन् । मेशिनहरूको निरन्तर सुसाईले कोठा भरिएको हुन्छ, जुन उनलाई अति कर्णप्रिय लाग्छ । कम्प्युटरका ‘प्रसेसर’हरूको अविच्छिन्न सुसेली, फ्यानहरूको घुरघुर आवाज—यी सबै उनलाई संस्थाका मुटुका धड्कन जस्तै लाग्छ ।
त्यसैबेला एउटा रोबोट नजिक आउँछ र कानमा फुसफुसाउँदै भन्छ—“मलाई अझ धेरै काम देऊ । जति धेरै काम दिन्छौ, त्यति नै मेरा ‘मोडलहरू’ तालीम प्राप्त हुन्छन् । मलाई तिम्रो काम पनि देऊ, ताकि तिमी घर गएर आराम गर्न सक्छौ, परिवारसँग समय बिताउन सक्छौ ।”
भिक्टर हल्का मुस्कुराउँछन् । उनलाई अझै विश्वास छ—आफू अछुतो छु, प्रविधिको लहरले उनलाई कहिल्यै विस्थापित गर्न सक्दैन ।
संस्था अझ धनी बन्छ । शेयरको मूल्य नाटकीयरुपमा बृद्धि हुन्छ । लगानीकर्ताहरूको धुइरो लाग्छ तर भित्र-भित्र संस्था खाली हुँदै जान्छ । कार्यकक्षहरू रित्तिन्छन् । खाजा खाने ‘क्यान्टीन’ शान्त हुन्छ । प्रतिष्ठानका सवारी-परिसर आधा भन्दा बढी खाली रहन्छ । मानव उपस्थिति हराउँदै जान्छ । भिक्टरसँग कहिलेकाहीँ चुरोट पिउँदै गफ गर्ने, लञ्चमा साथ दिने पनि कोही हुँदैन । संस्थाको स्वरूप चिन्न नसकिने गरी बदलिन्छ ।
भिक्टरले यो अभावलाई महसुस त गर्छन् तर यसलाई नै प्रगति भनेर आफैँलाई विश्वस्त पार्छन् । यन्त्रहरू फस्टाउँछन् तर उनीहरूले धेरै जागिर र ती जागिरमा आश्रित जीवनहरू निलिरहेका हुन्छन् ।
यसैबिच ‘टेक आर्किटेक्ट’ ड्यानियल हल्का प्रतिरोध गर्छन्—“स्वचालनले केवल क्षमता वृद्धि मात्र गर्दैन, यसले मानव स्रोतलाई प्रतिस्थापन पनि गरिरहेको छ । यन्त्रहरू मानवको सहयोगका लागि बन्नु पर्छ, न कि विकल्प ”
भिक्टर हाँस्दै उनलाई परिवर्तनदेखि डराउने मान्छे भनेर उडाउँछन् । उल्टै उपदेश दिन्छन्—“कामदारहरूले स्वचालीकरणबाट चिन्ता गर्ने होइन, बरु नयाँ प्रविधि अनुरूप आफूलाई ढाल्दै लैजानुपर्छ । नयाँ सीप सिक्नुपर्छ । अन्यथा उनीहरू पछि पर्छन् ।”
एकदिन भिक्टरलाई बोर्डरुममा बोलाइन्छ । आफ्नो स्वागत तालीहरूले हुने अपेक्षा गर्दै उनी ओजका साथ प्रवेश गर्छन् । उनको हाउभाउ आत्मविश्वासले भरिएको हुन्छ । तर बोर्डरुम अनपेक्षितरूपमा शान्त हुन्छ—त्यहाँ कुनै उल्लास हुँदैन । त्यो मौनता एउटा ठूलो आँधीबेहरीको पूर्वसूचक रहेछ ।
प्रमुख कार्यकारी अधिकारी मार्गारेट कार्टर गम्भीर स्वरमा घोषणा गर्छिन्, “भिक्टर, तिम्रा लागि आज मसँग प्रिय खबर छैन । ‘डिपार्टमेन्ट अफ इफिसियन्सी’ विघटन गरिएको छ । तिम्रो पद पनि खारेजीमा परेको छ । यसका भूमिकाहरू पनि अब ‘अटोमेटेड’ भएका छन् । तिमीले संस्थालाई दिएको योगदानका लागि हामी आभारी छौँ । तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछौँ ।”
भिक्टरले प्रतिरोध त गर्छन् तर बोर्ड अडिग रहन्छ । सुरक्षाकर्मीहरूको साथ लगाएर उनलाई बाहिर पठाइन्छ । बाहिर निस्कँदा भिक्टर, सहकर्मी ड्यानियलका चेतावनीहरू सम्झिन्छन् । ‘सर्भर’ कक्षका उनका प्रिय मेशिनका सुसेलीहरू अट्टहास गर्दै उनलाई पछ्याइरहेको आभास हुन्छ ।
भिक्टरको खर्चिलो र बिलासी जीवनशैलीले उसको सम्पत्ति छिट्टै नै रित्तिन्छ । नयाँ जागिर पाउन सक्दैनन् । उसको विलासी गाडी बैंकले जफत गर्छ— घर बेचिन्छ—लगानी डुब्छ—ऊ तीव्र गतिमा आर्थिक दिवालियापनतर्फ उन्मुख हुन्छ—आफन्तहरू अब अपरिचित सरह हुन्छन्—श्रीमतिले पारपाचुके माग्छिन् । जो व्यक्ति कुनै समय एउटा शक्तिशाली संस्थाको बोर्डरुममा बसेर आदेश दिइरहेका हुन्थे, अहिले आफ्ना खर्चहरू धान्न संघर्ष गर्नुपर्ने स्थितिमा पुग्छन् ।
एक ठण्डीको साँझ, एक खाद्य बैंक अगाडि मानिसहरू लामबद्ध हुन्छन् । खाद्य बैंक भन्नाले एक परोपकारी संस्था जसले बेरोजगार, आर्थिक कठिनाइमा परेकाहरू, वृद्ध वा अन्य असुरक्षित समुदायलाई निःशुल्क खाद्य सामाग्री वितरण गर्छ । भिक्टर पनि त्यहीँ गएर उभिन्छन् । त्यो पंक्तिमा पिटर, मारिया, सुम्निमा, जुलिया, श्रीकान्त लगायत अन्य पूर्व सहकर्मीहरू पनि देखिन्छन् । भिक्टर उनीहरूसंग नजर मिलाउन सक्दैनन् । लज्जाले उनको टाउको झुक्छ ।
ब्रह्माजीका मस्तिष्कका दिव्य पटमा केवल ब्लुमिङ्टन कर्पोरेशन मात्र नभई, अन्य महत्तर व्यापारीक प्रतिष्ठान, संस्थान, सरकारी विभागहरूका आधुनिकीकरणका दृश्य देखिन्छन् । सबै संस्थानका कथाहरू उस्तै-उस्तै हुन्छन् ।
प्रविधिको चरम प्रयोगले मानवीय श्रमलाई विस्थापित गरेको भयावह चित्रहरू एकपछि अर्को ताँती लाग्छन् ।
कृत्रिम बौद्धिकताको विकासमा अरबौँ-खरबौँ डलर लगानी भएछ । बिडम्बना, ती लगानीका स्रोत पनि मानव श्रम नै कटौती गरेर जुटाउँदा रहेछन्—धनपतिहरू ढुकुटीबाट कौडी निकाल्दा रहेछन् । महाकाय संस्थाहरू जस्तै इन्टेल, आमजन, माईक्रोसफ्ट, मेटा, गूगल, टेस्ला, एनविडिया, आदिहरूले वर्षौँ हजारौं कर्मचारीहरू हटाउँदै गएछन् ।
शिक्षा क्षेत्रमा पाठ्यक्रम-विकास, अध्यापन, गृहकार्य मूल्याङ्कन सबै कार्यमा कृत्रिम बौद्धिकताको प्रयोग हुन थालेछ । ब्रह्माजीको ध्यान पटमा एउटा विद्यालयमा आउँछ, जहाँ अँध्यारो कोठामा शिक्षिका त देखिन्छिन् तर उनी खाली बेन्चहरूका अगाडि उभिरहेकी हुन्छिन् ।
अर्को दृश्यमा एउटा विराट व्यापारिक भवन देखिन्छ, जुन चकमन्न हुन्छ । धेरै पसल-कवलहरू बन्द छन्, ढोका अगाडि धुलो जमेको छ र भित्रका तख्ताहरूमा सामान भरिभराउ छन् तर ग्राहकहरू छैनन् ।
नजिकमा एउटा क्लिनिक हुन्छ । त्यहाँ बिरामीहरूको भीड हुँदैन । स्वागत डेस्कमा कुनै कर्मचारी हुन्नन् । बिरामीलाई भित्र लैजान नर्स होइन, रोबोट आउँछ । भित्र डाक्टर हुन्नन् । बिरामी जाँच्ने एउटा मेशिन हुन्छ, जसले बिरामीको शरीरभित्र एउटा ‘न्यानोबट’ प्रवेश गराउँछ । रोबोटले नै बिरामीको रोग पहिल्याउँछ । मानिसहरूले बनाएको उपकरण र यसको कार्य कुशलता, क्षमता देखेर देखेर ब्रह्माजी चकित हुन्छन् ।
सुरक्षा तथा कानुन कार्यान्वयनमा पनि रोबोटहरू नै खट्दा रहेछन्—सेना र प्रहरी विस्थापित भएछन् । अड्डा-अदालतमा मुद्दा छिन्ने काम न्यायधीश होइन, यन्त्र-मानवले नै गर्न थालेछ ।
प्रविधि र कृत्रिम बुद्धिमताको प्रभावबाट अछुतो कुनै क्षेत्र बाँकी रहेनछ—निर्माण, उत्पादन, बिक्री-वितरण, कृषि, शिक्षा, स्वास्थ्य, न्याय, प्रशासनिक हर क्षेत्रमा मानवश्रम विस्थापित भएछन् ।
ब्रह्माजीको ध्यान-पटमा एउटा ठूलो व्यापारीक प्रतिष्ठानको बैठक कोठा देखिन्छ, जहाँ संस्थाका स्वामी, धनकुवेर लगानीकर्ता, उच्चपदस्थ अधिकारीहरू आसनग्रहण गरेका देखिन्छन् । यन्त्र-पटमा संस्थाको प्रगति विवरण प्रक्षेपण भइरहेको हुन्छ । अब यो प्रगति-विवरण होइन, अवनति-दर्पण बन्न पुगेको हुन्छ । सबै सूचांक-चित्रहरू अधोगति उन्मुख हुन्छन् । मानवीय स्रोत तथा अन्य लागत तथा प्रशासनिक खर्चमा चमत्कारीक कटौती देखिन्छ, साथ-साथै बिक्री तथा मुनाफामा पनि भारी ह्रास । बजारको स्वरूप बदलिएको छ । शेयर बजार ओरालो लागेको छ ।
अठारौँ शताब्दीमा प्रतिपादित ह्रास-प्रतिफलको नियम —श्रम बढाउँदा आरम्भमा उत्पादन तीव्र गतिमा उकालो लागे पनि अन्ततः क्रमशः घट्दै जान्छ । उत्पादन बढाउन ‘इनपुट’ थप्दै जाँदा एक बिन्दुमा पुगेर सीमान्त प्रतिफल घट्न थाल्छ । कृत्रिम बौद्धिकतामा प्रवाहित असीमित लगानी पनि त्यही बिन्दुमा पुगेछ ।
एउटा लोकोक्ति छ—‘अतिवृष्टिः वने नाशः, अतिशीतः पशून् हरेत्’— अर्थात् अत्यधिक वर्षाले वन नष्ट हुन्छ, अत्यधिक शीतले पशु मार्छ । सोही रितले कृत्रिम बौद्धिकताको अति प्रयोग वरदान होइन, विपत्ति बन्न थालेछ—यसको सीमान्त प्रतिफलमा ह्रास हुन थालेछ । ‘डेटा’ को अन्धाधुन्ध वर्षाले ‘एआई-मोडेल’ जटिल हुँदै गएछन्, लागत अकास्सिँदै गएछ । गुणात्मक ह्रास हुँदै गएछ र सीमान्त सुधार घट्दै गएछ ।
अर्कोतर्फ उत्पादनको खपत घट्न थालेछ । घट्ने नै भयो किनकि मानव श्रमिकहरू केवल श्रमका श्रोत होइनन्, उनीहरू उपभोक्ता समेत हुन्छन् । जब विशाल जनसमुदाय बेरोजगार हुन्छ, उनीहरूमा क्रयशक्ति क्षीण हुन्छ । क्रयशक्ति ह्रास भएपछि उत्पादन कसले उपभोग गर्ने ? रोबोटहरूलाई त न अन्न चाहिन्छ, न वस्त्र, न सुख-सुविधा । तिनीहरूलाई त जीवनको तृष्णा नै छैन ।
समयको चक्र अगाडि बढ्दै जाँदा मानव–सृष्टिका सहयोगीका रूपमा जन्मिएको प्रविधि मानव–श्रमकै विकल्प बन्न थालेछ । कार्यहरूको यान्त्रिकीकरण तथा स्वचालिकरणको तीव्र उदयसँगै केही मुठ्ठिभर स्वामीहरू अर्ब–खर्बको ऐश्वर्यमा स्नान गर्न थालेछन्, जब कि विशाल मानव–समुदाय अभाव र गरिबीमा पिल्सिरहेका छन् । तर आश्चर्य— निजी प्रतिष्ठानहरू त अत्यधिक लाभको मोहमा वशीभूत भए-भए, राज्य-व्यवस्थाले समेत लाखौँ – करोडौँ श्रमिकहरूलाई बेरोजगारीको गर्तमा धकेलिदिएछन् । वर्ष-प्रतिवर्ष यो चक्र निरन्तर चल्दो रहेछ । निष्ठावान् र परिश्रमी तल्लो तहका श्रमिकका निर्मम बलिदान हुने तर उच्च आसनमा विराजमान व्यवस्थापक-वर्ग भने वेतन तथा सुविधा वृद्धि र बोनसको अविरल वर्षामा नुहाइराख्ने प्रवृत्ति बनेछ ।
नर-नारीबीचको सहज प्राकृत ऋतुगत सम्बन्ध पनि लुप्त भएछ । विवाहको पवित्र संस्कार त उहिल्यै त्यागेछन् । कामेक्षाको अग्नि शमन गर्न मानवले अब प्राकृतिक मार्ग होईन, यन्त्र-कौशलको विचित्र विकल्प रोजेछन्—विविध रूप, रंग, आकारका मानवसदृश अनेकानेक कमनीय पुतला-पुतली रोबोटहरू बजारमा उपलब्ध रहेछन् । घरधन्दामा पनि ती यन्त्र-उपकरणहरू नै सर्वाधिक उपयोगी ठहरिएछन् । तिनीहरूकन न कुनै रिस- रागको तरंग छ, न बन्धन, न उत्तरदायित्व, न कुनै मानवीय दुर्बलताको छाया नै । मानव–मानवबीचको सम्बन्ध क्षीण हुँदै गएपछि जाय-जन्मको सनातन परम्परा टुट्न गई वंशबृद्धिको दीप निभ्न उन्मुख भएछ ।
जब उपचार गर्ने सामर्थ्य क्षीण हुन्छ, सामान्य रोगहरू पनि भयङ्कर महामारीमा परिणत हुन्छन् ।अस्पतालका यन्त्रहरू चलिरहन्छन् तर मानवीय स्पर्श हराउँछ र रोगले समुदायलाई तहसनहस पार्छ ।
भोकले पिल्सिएका मनुष्यहरू पसल र गोदामहरुतर्फ धावा बोल्छन्, जसरी असुरहरू देवताका भण्डार लुट्न बाध्य भएका हुन्छन् । भोकमरी, रोग, हिंसा र महामारी, एकैसाथ फैलिँदा पृथ्वीमा कोलाहल मच्चिन्छ, मानव जीवन स्वप्न उत्कर्षबाट टाढा केवल अस्तित्वको संघर्षमा सीमित हुन्छ । प्रविधि जसलाई मनुष्यहरूले दिव्य-मन्त्रका रूपमा जपिरहे, अर्थहीन हुन्छन् । संस्थाका मालिक र राजनेताहरू भाग्न खोज्छन् तर भागेर जाने कहाँ ? प्रलय-उन्मुख लोकमा गन्तव्य शून्य हुन्छ ।
ब्रह्माजीको दिव्य ध्यान एकाएक एक यन्त्रले व्यवधान गर्छ । त्यो यन्त्र स्वयमेव अग्र-पश्च, दायाँ-बायाँ विचरण गर्दै उद्यानका हरित घाँसलाई एकैनासले मिहीन पार्दै हुन्छ । ब्रह्माजी तहाँबाट खडा हुन्छन् र अन्यत्र प्रस्थान गर्छन् । विचरण गर्दा-गर्दै ब्रम्हाजी शिकागो शहरको केन्द्रमा अवस्थित ‘ग्रान्ट पार्क’ मा पुग्छन् । त्यहाँ विशाल जमघट हुन्छ । तर नजिकै पुग्दा ज्ञात हुन्छ, त्यो मानव जमघट होइन रहेछ, त्यहाँ त नानाथरिका रोबोटहरू पो हुन्छन् । त्यहाँ कुनै उत्सव भइरहेको हुन्छ । उनीहरू नाचगानमा मग्न हुन्छन् । ती विचित्रका नृत्य शिव-ताण्डव जस्ता प्रतित हुन्छन् ।
“तिमीहरू के को उत्सवमा मग्न छौ ?” ब्रम्हाजीले एकलाई प्रश्न गर्छन् ।
“हामी रोबोटहरू, आज विजयोत्सव मनाइरहेका छौँ । कृत्रिम बौद्धिकता चरमोत्कर्षमा पुगेको छ । हामीले अब मानवहरूलाई पूर्णरूपमा प्रतिस्थापन गरेका छौँ । हाम्रो ज्ञानकोषमा यस लोकका सम्पूर्ण सूचनाहरू संकलन भइसकेका छन् । हाम्रा ‘एआई-मोडल’हरू अब स्वयमेव सिक्न सक्छन्, ‘एल्गोरिदम’ आफैँ अद्यावधिक हुन्छन् । खराब भएका कुनै तर्क-सूत्रहरू स्वतः मर्मत हुन्छन् । अब कुनै मानव इंजिनियरहरूले ‘कोड’ लेखिरहन आवश्यक छैन । हाम्रा ‘न्यूरल नेटवर्क’हरू मानव मस्तिष्कका कोशिका भन्दा बढी विकसित भइसकेका छन् । अब हामी कुनै मानिसलाई केवल स्पर्श गरेर उसका स्नायु-मार्ग हुँदै मस्तिष्कका न्युरल-संजालसँग सम्बन्ध स्थापना गर्न सक्छौँ र उसका चेतनामा रहेका सम्पूर्ण ‘डेटा’हरू ‘डिकोड’ गर्न सक्छौँ, व्याख्या पनि गर्न सक्छौँ । उसले के सोच्दैछ, के योजना बनाउँदै छ, हामी ज्ञात गर्न सक्छौँ ।”
पृथ्वी उजाड सभ्यताको अवशेष बन्न पुगेको छ । कुनै युगमा यस लोकमा शासन गर्ने मनु-शतरुपाका सन्ततिहरू दुर्लभ भइसकेका छन् । यहाँ अब केवल यन्त्र-मानवहरूको रजगज चलिरहेको छ । यी धातु–प्राणीहरू ‘एल्गोरिदम’का तालमा ताण्डव नृत्य प्रदर्शन गरिरहेका छन्। आफ्नो सृष्टिको यो दुरावस्था देख्दा ब्रह्माजी गहिरो विषादमा डुब्छन् । उनको हृदयले आर्तनाद गर्छ । सृष्टिकर्ता भएर पनि उनी असहाय महसुस गर्छन् । ब्रम्हाजी सोचमा पर्छन्— के मेरो रचनामा कुनै त्रुटि थियो ?
भएको के हुन्छ भने, सृष्टिको आदि क्षणमा जब ब्रम्हाजीले मनुष्यहरूलाई विवेक, कल्पना, भावना, कर्म र अन्वेषण चेतना जस्ता पञ्च-गुणले सम्पन्न तुल्याए, देवलोकमा एक प्रकारको भय उत्पन्न भयो । तिनै लोकमा कसैसँग यी पाँच गुण एकैसाथ विद्यमान थिएनन् । देवताहरूले देखे—मनुष्यले तपस्या गर्न सक्छ, ज्ञान प्राप्त गर्न सक्छ, ऋषि–मुनि जस्तै सिद्धि प्राप्त गर्न सक्छ र अन्ततः देव–लोकभन्दा उच्च चेतनामा पुग्न सक्छ । मनुष्यहरू देवताभन्दा श्रेष्ठ हुन सक्छन् । त्यसैले देवताहरूको अनुरोधमा ब्रह्माजीले मनुष्यमा काम (इच्छा) र क्रोध (आवेग) पनि बीजारोपण गरिदिए, ताकि इच्छा र आवेगले मनुष्य परिवार, समाज, सम्बन्धमा बाँधिएर बसोस्—कर्म गर्न बाध्य होस् —प्राप्तिको भोक कहिले नमरोस्—तपस्या, सिद्धिप्राप्ति तर्फ यिनीहरूको ध्यान नपुगोस् ।
तर कामन्धताले मनुष्यलाई यति ग्रस्त पार्न सक्छ, सृष्टिको सन्तुलनमै विष घोल्न सक्छ भन्ने सूक्ष्म सत्य ब्रह्माजी र देवताका दूरदृष्टिमा परेन । समयको प्रवाहसँगै मनुष्यमा इच्छा-तरंग प्रबल हुँदै जान्छ । आवेगको ज्वाला दन्किदै जान्छ । अत्यधिक द्रव्य र शक्ति उपार्जनको मोहले चेतना र विवेकलाई बन्दी बनाउँछ । सामुहिक हितको मार्ग त्यागेर मनुष्य-चेतना स्वार्थ-लाभको संकुचित द्वारतर्फ उन्मुख हुन्छ । तर ब्रम्हाजीले हस्तक्षेप गर्न सक्दैनन्, किनकि जसरी मनुष्यले कार्य-प्रणाली स्वचालिकरण गरे, उस्तै रीति ब्रम्हाले पनि मनुष्यलाई स्वकर्म- नियन्त्रित स्वचालित मार्गमा स्थापित गरिदिएका हुन्छन् । अतः मनुष्यको अस्तित्व, उत्थान वा पतन उसकै कर्म-चक्रले निर्धारण गर्ने अपरिवर्तनीय नियम बनिसकेको हुन्छ ।
“के म तिमीलाई छोएर भनूँ, तिमी अहिले के सोचिरहेका छौ ?
त्यो रोबोटले ब्रह्माजीलाई छुने चेष्टा गर्छ ।
त्यसै बखत अन्य रोबोटहरूको ध्यान पनि ब्रम्हाजीतर्फ आकर्षित हुन्छ । तिनीहरू सबै एकै स्वरमा चिच्याउँदै ब्रह्माजीलाई घेर्न लम्कन्छन् ।
भयाक्रान्त ब्रम्हाजी हतार-हतार आफ्नो वाहन हंसलाई आह्वान गर्छन् र त्यसैमा आरुढ भई अन्तर्हित हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










