उसमान आफ्नो कफन भित्र झक्झकाउन के लागेको हुन्छ, ‘एस्काभेटर’को आवाज आउँछ —पक्कै फेरि कुनै नयाँ शव दफनाउन ल्याए होलान् भन्ने ठान्छ । मृत्यु पछि चिर शान्ति मिल्छ भन्छन्, तर कब्रस्तानमा अक्सर भीडभाड नै हुन्छ ! रातबिरात लाशहरू दफनाउन ल्याउँछन् । कब्र खोद्ने ‘एस्काभेटर’को आवाज— जनाजाको दुवा — आफन्तहरूका आलाप-विलाप, शान्ति दुर्लभ जस्तै छ ।
एस्काभेटरको आवाज झन नजिक आउँछ । हो रहेछ त, उसको कब्रको पासमै पो ‘खुदाइ’ हुन थाल्छ । ऊ चनाखो हुन्छ । उत्सुकता बढ्छ—ओहो, मेरो पडोसमा आउने को होला ! कालगतिले मरेको होला कि, आफू जस्तै भवितव्यमा परेर ? बालक होला कि युवा ? चिनजानकै होला कि कुनै अजनबी ? यति आवादी भएको यो शहरमा, चिनजानको हुनु संयोग नै हुनेछ ।
एस्काभेटरको आवाज केही कम हुन्छ । सायद कब्र तयार भयो होला । त्यसपछि मान्छेहरू कल्याङमल्याङ गरेको आवाज सुनिन्छ । उसमान अनुमान गर्छ—नमाज-ए-जनाजा ( मुस्लिम धर्मावलम्बीहरूका मृत्यु-संस्कारमा गरिने प्रार्थना) को तयारी हुँदैछ । नभन्दै इमाम (मुसलमानहरूका पुरोहित) ले एकैछिनमा ‘तकबीर’ शुरु गर्छन् —“अल्लाहु अकबर” । ‘सना’ पढिएको सुनिन्छ । दोस्रो तकबीर पछि ‘दुरुद शरीफ’, तेस्रो तकबीर पछि मय्यत (मृतक)का आत्माको लागि क्षमा र दयाको ‘दुवा’ हुन्छ । ‘मरहुमका अजीजहरू’ (मृतकका आफन्तहरू) ले मृतक र सम्पूर्ण मुस्लिम समुदायको लागि पनि दुवा गर्छन् ।
अरबीमा पढिएको दुवाको सार यस्तो हुन्छ :
‘हे अल्लाह, हाम्रा जीवित , मृत सबैलाई क्षमा गरिदिनुहोस्—जो हाम्रा बीचमा छन् र जो अनुपस्थित छन्, हाम्रा युवा र वृद्धहरू, हाम्रा पुरुष र महिलाहरू । हे अल्लाह, जो कोही जीवित छन्, तिनीहरूलाई इस्लाममा जीवित राख्नुहोस् । हे अल्लाह, हामीलाई तपाईंको इनामबाट वञ्चित नगर्नुहोस् र हामीलाई भट्किनबाट बचाउनुहोस् । हे अल्लाह, उहाँलाई क्षमा गर्नुहोस् र उहाँमाथि दया गर्नुहोस्, उहाँलाई सुरक्षित राख्नुहोस् र उहाँलाई माफ गर्नुहोस् । उहाँको विश्रामको सम्मान गर्नुहोस् र तपाईंको करुणाको द्वार खोल्नुहोस् । उहाँलाई स्वर्गमा स्वीकार गर्नुहोस् र उहाँलाई कब्रको पीड़ा र नरकको पीड़ाबाट बचाउनुहोस् । उहाँको कब्रलाई विशाल बनाउनुहोस् र उज्यालोले भरिदिनुहोस् ।’
अन्तिममा सलाम फेर्छन्—‘अस्सलामु अलेकुम वा रहमतुल्लाह’
यी त सबै नियमित अनुष्ठानहरू हुन् । कुनै नौला परिदृश्यहरू भएनन्, तर ‘तदफीन’( शवको अन्त्यष्ठीको प्रकिया)मा सरीकहरूमध्ये कसैको आवाज परिचित जस्तो लाग्छ । उसमानले उत्सुकतावश शिर उठाउन खोज्छ । कफनको ढक्कनमा मज्जासित निधार ठोकिए पछि उसको चेत खुल्छ —ऊ जीवित छैन, मृत छ । कफनभित्र बन्द छ । कैद छ । बेवश छ ।
सायद, ‘जनाजाको दुवा’ सकिन्छ । अब बेल्चा, खन्तीहरू चलेका आवाज आउँछन् । शवलाई दफनाउन शुरु गरेको हुनुपर्छ । एकाध घन्टामा चकमन्न हुन्छ । ‘मय्यतका अजीज’हरू अब लाखापाखा लागेका होलान् भन्ने उसमानले अनुमान गर्छ ।
उसमानलाई उसको तदफीनको दिनको स्मरण हुन्छ । सिमसिमे पानी परिरहेको थियो। उनका श्रीमती, छोरा-छोरीहरू, बहिनी सबैका आँखाहरू शुष्क थिए । रुँदा-रुँदै आँसु रित्तिएको थियो । उसले ‘जनाजा’मा आउने साथीहरू, आफन्तहरूका अनुहार पनि सम्झिन्छ । सबै विस्मित थिए । मौन थिए । उसमानको अप्रत्याशित मृत्युले उनीहरू स्तब्ध भएका थिए । यी सबै सोच्दा-सोच्दै उनका आँखा लठ्ठिन थाल्छन् ।
बगलको कब्रबाट एउटा आवाज आउँछ —“मेरो पडोसमा को छ ?”
उसमानको तन्द्रा भंग हुन्छ । स्वर कुनै परिचितको जस्तो लाग्छ, कान ठाडो पार्छ ।
फेरि आवाज आउँछ —“म फैजल अन्सारी, अन्सारी ग्रुपको मालिक । म यो कब्रस्तानको नयाँ छिमेकी ।” उसले यसरी परिचय दिन्छ कि मानौँ, ऊ अहिले पनि कुनै व्यापारिक सभा-सम्मेलनमा सम्बोधन गर्दैछ ।
उसमानले मनमनै दिक्दारी व्यक्त गर्छ —‘अल्लाहको यो कस्तो कुदरत ! कसलाई मेरो छिमेकी बनाई दियौ नि !’
उसले जवाफ भने फर्काएन, किन फर्काउँथ्यो र ! ऊसँग बोली नमिसिएको वर्षौं भएको थियो ।
फैजलको फतफत बन्द हुँदैन । एकोहोरो बोलिरहन्छ — उसले आफ्ना व्यापारका कुरा गर्छ—अधुरा प्रजेक्टहरूका कुरा — लेनदेनका कुरा—बाँकी-बक्यौताका कुरा गर्छ । अब व्यापार कसले सम्हाल्छ भन्ने चिन्ता व्यक्त गर्छ ।
‘मार्केटमा करोडौँ रुपियाँ छ । खाने भए चोरहरूले’
‘फ्याक्ट्रीको लागि नयाँ ‘प्लान्ट अर्डर’ गरेको थिएँ, तर अब एजेन्टले डेलिभरी गर्छ कि गर्दैन ?’
‘वाणगंगा सिँचाई परियोजनाको टेन्डरका लागि लाखौँ घुस दिएको थिएँ, अब त्यसले काम गर्छ कि गर्दैन ?‘
‘छोरा-भतिजाहरू अझै आला-काँचै छन्, तिनीहरूले सम्हाल्छन् त मेरो व्यापार ?’
फैजलका चिन्ताका फेहरिस्त लामो हुन्छ । ऊ एकछिन चुप हुन्छ, उसलाई सायद आफैँ एक्लै भुत्भुताइरहेको आभास हुन्छ ।
तर धेरै बेर चुप बस्न कहाँ सक्छ र ।
“हैन, मेरो छिमेकमा कोही छैन, किन कोही बोल्दैनौ ?”
फैजलको आवाजले जमिन मुनि फेरी तरंग छोड्छ । उसमानलाई सही नसक्नु हुन्छ । ऊ भुत्भुताउँछ —“यसले ज्यूँदो हुँदा पनि हमेशा लखेटी रह्यो, मरेपछि पनि नछोड्ने भयो । ”
सायद बगलमा फैजलको कानसम्म उसमानको आवाज पुग्छ । उताबाट फैजल बोल्छ ।
“उसमान, तँ ?!”
छोटो मौनता पछि फैजलको गुनासो सुनिन्छ —“कुन करमको दोष हो यो, मेरो अल्लाह, के यो मेरो लागि “सजा-ए-मुकल्लम” (अन्तिम सजाय) हो ? यो छ फिटको कब्रमा पनि उसमानको छायाबाट टाढा हुन नपाउने भएँ ।”
अहिले उसको नामै काढेर फैजलले कोस्न थाले पछि उसमानलाई असह्य हुन्छ ।
“मेरो छाया रे ? फैजल अन्सारी, यो कब्रस्तानसम्म आउने बाटो त तैँले नै बनाएको थिइस्, होइन ? यो कब्रस्तानको ठेक्का पनि तैँले नै पाएको थिइस् । सायद दफन गर्ने कामदारहरूलाई पनि लालच दिएको थिइस् होला र तेरो कब्र मेरो पासमै खने, ताकि मृत्युपश्चात पनि तँ मलाई सताइरहन सक्छस् । तँलाई त सधैँ धनको भोक थियो, सायद कुन ठेक्कामा डुबिस् वा फ्याक्ट्रीमा जनताले आगो लगाइदिए, अनि तैँले आत्महत्या गरिस् ?’
उस्मानको अभिव्यक्तिमा आगोको राप हुन्छ।
“अनि तँ आफु नि ?”
“म त जनताको खिदमत गर्दा गर्दै बितेँ।”
“उसमान, तैँले जनताको खिदमत गरिस् रे ? जनता, मतलब जसले तेरो नारामा ताली बजाउँदै रहे र तैँले उनीहरूका सपना बेचिरहिस् । तैँले त बेकार जुलुश, विरोध, नाराबाजीले समाजलाई भड्काइरहिस् । पदको दुरुपयोग गरेर मलाई नेस्तनाबुद गर्न खोजिस् । मैले त स्कूल बनाएँ, अस्पताल बनाएँ । मेरो पैसा ‘सदका-ए-जरिया’ (सदगुणी कार्यका लागि) थिए । तेरो राजनीति सत्ता र शक्तिको लागि थियो, न कि जनताको हितको लागि ।
“सद्का-ए-जरिया रे !? हुँऽऽ!” उसमान घृणा ओकल्छ । “ सदका-ए-जरिया” को नाममा काला धनलाई सफेद गर्दै थिईस् ।‘वक्फ’ (धार्मिक, समाजिक सँस्थाको जमीन) लाई हत्याउने प्रयास गरिस् । मेरो विरोधले मात्र जोगियो र त्यहाँ अस्पताल बन्यो— स्कूल जोगियो । होइन भने त्यहाँ तेरो सपिङ मल बन्दै थियो ।”
“तँ अझै भ्रममा छस्, उसमान!, तँ कसरी मेरो अजीज दोस्तबाट जानी-दुश्मन बनिस्, म छक्क पर्छु । खैर, तँ सँग के मुख लाग्नु ! ” फैजलले दिक्दारी व्यक्त गर्छ ।
त्यस पछिका केहि दिन चकमन्न हुन्छ । दुवै मित्रहरूले मौन धारण गर्छन् ।
एक साँझ पर मस्जिदबाट ‘तरावीह’को प्रार्थना सुनिन्छ । ईम्मामले उच्चारण गरेका कुरानका आयतहरू टड्कारो आउँछ ।
‘सुबहान ज़िल मुल्कि वल मलकूत, सुब्हान ज़िल इज्ज़ति वल अज़मति वल हय्बति वल कुदरति वल किबरियाई वल जबरूत ……………’
“सायद रमजान शुरु भयो । सुनिस्, आज रमजानको पहिलो साँझ जस्तो छ ।” फैजलले मौनता तोड्यो ।
वाल्यकालमा पनि कहिलेकाँही दुई मित्रहरू बिच अनबन हुँदा कयौँ दिनसम्म बोल्दैनथे तर बोल्न अग्रसरता लिने फैजल नै हुन्थ्यो । ऊ सानै देखि चुलबुले स्वभावको थियो । उसलाई चुप रहन साह्रै कठिन पर्थ्यो ।
“तँलाई याद छ, हाम्रो पहिलो रोजा ? मेरो लहै-लहैमा लागेर तैँले पनि रोजा लिएको थिईस्”
“मलाई याद छ, तैँले चाचीको आँखा छलेर समोसा लिएर आएको थिइस् र हामीले लुकी-लुकी खाएका थियौँ !” उसमानले जवाफ दिन्छ ।
दुवै जना बाल्यकालका सम्झनामा हराउँछन् र एकछिन भए पनि शत्रुतालाई भुल्दछन् । कथन छ, रमजानको पवित्र महिनामा सद्गुणको उज्यालो छायाझैँ फैलिन्छ र अधर्मका अन्धकारहरू परास्त हुँदै मानवहृदयमा करुणा, संयम र सत्यको बास हुन्छ । सायद दुवै मित्रहरूले अल्लाहको ‘इबादत’ गर्दै एक अर्का प्रतिको द्वेष बिर्सन्छन् वा थाँती राख्छन्, र राम्रा कुराहरू मात्र स्मरण गर्ने प्रयास गर्छन् ।
रोजा — पवित्र रमजान महिनामा लिइने व्रत —रोजा लिनेहरूले सूर्योदयदेखि सूर्यास्त बिचको समयमा खानपिन गर्दैनन् । यो क्रम एक महिना सम्म चल्छ । रोजाको पहिलो दिन, अपरान्हतिर पुग्दासम्म उसमान र फैजल दुवै अधैर्य भइसकेकाथिए —सूर्य कहिले ढल्छ भनेर । सूर्यास्त नभई ईफ्तार हुँदैन — अर्थात् त्यो दिनको लागि उपवास समाप्त गर्न पाईंदैन ।
“फैजल, मलाई जोडले भोक लागिरहेकोछ, अरु कति कुर्नु पर्ने होला ?” – उसमान फुसफुसाएको थियो ।
“बस्, अरु केही क्षण, बस् सुरज तर्फ एकोहोरो हेर्न बन्द गर, होइन भने सुरज जहाँ छ, त्यहीँ अड्किन्छ ।”
उसमानकी अम्मी त्यहि बेला माथि छतमा आएकी थिई ।
“तिमीहरू आज पूरा ‘इन्सान’ बन्दैछौ —रोजाको अर्थ भोको रहनु मात्र होइन —यो एउटा आत्माको शुद्धि, संयम, र धैर्यताको अभ्यास पनि हो । यसले हामीलाई अल्लाहसँग निकटताको आभास गराउँछ ।” उसमानकी अम्मीले अवधीमा बोलेकी भाषाको मजबून करीब-करीब यस्तै थियो ।
“होला चाची, तर हाम्रो पेटमा त चुहाको दौड चलिरहेको छ ।” फैजलले ठट्टा गरेको थियो ।
कुरान अनुसार बच्चाहरूको लागि रोजा ‘फर्ज’ त होइन, तर फैजलले रहर गरेको थियो । फैजलको रहरमा उसमान पनि सरिक भएको थियो । सूर्योदय पूर्व खाइएको ‘सेहरी’ ले दश वर्षीय बालकहरूलाई रोजा टिकाउन हम्मे-हम्मे परिरहेको थियो— विशेष गरी उसमानलाई । त्यो दिन उनीहरूको जीवनको सबै भन्दा लामो दिन हुन पुगेको थियो । उसमानकी अम्मीले भनेका कुरा यी ठिटाहरूको कलिलो मस्तिष्कमा कत्तिको पस्यो कुन्नि, तर उनीहरूको ध्यान हरदम सूर्य तिरै थियो ।
एकैछिनमा फैजल गायब भएको थियो । फर्केर आउँदा उसको हातमा कागजको एउटा पोको थियो र पोको भित्र समोसा । उसमानका नेत्रहरू आश्चर्यले विस्फारीत भएका थिए ।
साँझ फैजलका चाचा-चाचीहरू पकौडा, गुलाबजामुन, शीर खुरमा जस्ता पारम्परिक व्यंजनहरू लिएर आएका थिए । उसमानकी अम्मीले खजूर, पानी, फलफूलहरू तयार पारेकी थिइन् । उनीहरूले सँगै दुआ पढे र भोजन गरे।
रमजानको महिना भर यो क्रम चलेको थियो । कहिले उसमानको परिवार फैजलका चाचा-चाचीको घरमा जान्थे त कहिले उनीहरू आउँथे। कहिले भने मस्जिदमा सामुहिक ईफ्तारका लागि जान्थे ।
नेपालगंजको छेउछाउको गाउँ—यी दुई बालकहरू धुलौटे बाटोमा दौडिन्थे — उनीहरूको हाँसो गर्मीको हावामा गुन्जिन्थ्यो । आँपको रुख चढ्ने, चङ्गा उडाउने, खेतमा गंगटा समात्ने, ढुकुरलाई पासो हालेर समात्ने र पोलेर खाने, र तारा हेरेर सपना साट्ने — उनीहरूको मित्रता निष्कलंक थियो । मदरसा सँगै – सँगै जान्थे, खाजा साटेर खान्थे । रमजानमा एकैसाथ इफ्तार गर्थे ।
रमजान —इस्लाम धर्मावलम्वीहरूका लागि वर्षका सबैभन्दा पवित्र महिनामध्ये एक —सम्पूर्ण रुपमा श्रद्धा र संयमको पर्व, जुन महिना मुसलमानहरू अल्लाहको ‘ईबादत’मा तल्लीन हुन्छन् र रोजा राख्छन् । यस पावन मासमा उनीहरू आफ्ना ‘गुनाह’हरूका लागि क्षमायाचना गर्दै, करूणा र आस्थाको उज्यालोमा रमाउँदै, हर्षोल्लासक साथ उत्सव मनाउँछन् । फैजल र उसमानका परिवारहरू हरेक साल यो उत्सवमा साथ-साथै सरिक हुन्थे ।
उसमानका अब्बुको कपडा सिलाउने दुकान थियो । फैजल भने अनाथ थियो । उसको लालनपालन चाचा-चाचीले गरेका थिए । चाचाको कपडा पसल थियो । पारिवारिक मित्रता थियो । उसमानकी अम्मीले फैजललाई आफ्नै सन्तानलाई जस्तै माया गर्थिन् ।
उनीहरूको प्राथमिक तहको पढाइ गाउँकै मदरसामा भयो । पछि हाईस्कुल पनि सँगै गए । मेट्रिकको पढाइ पछि भने उसमान कलेज गयो । फैजल पनि कलेज नगएको त होइन, तर ऊ पढाइमा औसत थियो —बिचमै छोड्यो र चाचाको व्यापार सम्हाल्न थाल्यो । उ व्यवसायिक सोच भएको युवक थियो, जसले व्यापारीक साम्राज्य बनाउने सपना देख्थ्यो ।
उसमान जोसिलो र निर्भीक वक्ता थियो । उसको व्यक्तित्व गम्भीरता र दृढताले भरिएको थियो । जनताको सेवा गर्ने र परिवर्तन ल्याउने अठोट गर्थ्यो । जातीय विभेद र सामाजिक असमानताको विरुद्धमा निरन्तर आवाज उठाउँथ्यो । उसमान कलेजदेखि, इलाका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको राजनीतिमा जम्दै गयो, फैजल भने व्यापारमा । फरक बाटो भए पनि एक-अर्कालाई समस्या पर्दा मद्दत गर्न पछि हट्दैनथे ।
केही वर्षपछि, फैजलले कपडा मिल शुरु गरेको थियो, तर एक दिन सर्ट-सर्किटले आगलागी भयो । मेसिन बिग्रियो, उत्पादन रोकियो । बीमाको प्रक्रिया ढिला भयो, बैंकहरूले ऋण दिन मानेनन् । फैजलको हौसला टुट्न थाल्यो । उसमान अब एक प्रभावशाली नेता भइसकेको थियो । उसको आवाज जनमानसमा सुनिन्थ्यो । उसको प्रभावले काम गर्थ्यो । बीमा प्रक्रिया छिटो पार्न उसले पहल गर्यो । सहकारी बैंकबाट सस्तो ब्याजमा ऋण उपलब्ध गराईदियो । ‘सोर्स-फोर्स’बाट चल्ने देश न पर्यो ।
उसमानलाई र्याली, जुलुश, चुनावहरूमा खर्चपर्च चाँहिदा फैजलले मद्दत गर्थ्यो ।
उसमानकी बहिनी इनाया फैजलप्रति आकर्षित भएकीथिई, र सायद फैजलको मन पनि इनाया तर्फ तानिएको थियो। दुई मित्रहरू, गफमा तल्लीन हुँदा इनाया ढोकाबाट लुकी-लुकी चियाइरहेकी हुन्थी । चिया-नास्ता लिएर आउँदा, उसका दृष्टि लजालु मुस्कानसँगै फैजल तर्फ पुग्थ्यो । फैजल आफूलाई सामान्य राख्न कोसिस त गर्थ्यो, तर इनाया तर्फ नहेरिरहन सक्थेन । उनीहरूका आँखाले मौन संवाद गरिरहेका हुन्थे । चियाको कप टेबुलमा राख्दै गर्दा इनायाको हातमा कम्पन हुन्थ्यो— अनुहारमा हल्का लालिमा —लज्जा मिस्रित मुस्कानमा घुलिएको नजानिदो मिठास ! नजर चोरी-चोरी एक अर्कालाई हेरिरहेका हुन्थे । शब्दहरूमा प्रष्फुटित त भएको थिएन, तर उनीहरूको माया आँखाभरि टिलपिल हुन्थ्यो, जसको छनक, दाजु उसमानले पाइसकेको थियो ।
उसमानले एकदिन बहिनीलाई सिधा सोधेको थियो —फैजलसँग निकाह गर्छेस् ?
ईनाया पहिला त हक्क न बक्क भएकी थिई । के बोलूँ-नबोलूँ जस्तो भएको थियो । एकक्षणमा उनको अनुहारमा हल्का लाली छाएको थियो । ऊ निहुरिएकी थिई । दुई हातका औँलाहरू एक-आपसमा मिच्न थालेकी थिई । केही बोल्न ओठहरू कम्पन त भएका थिए, तर वाक्य फुटेको थिएन । दाजुको डर, लाज र शंकोचले थिचिएकी थिई ।
इनायाको मौनतालाई उसमानले स्विकारोक्तिको रुपमा लिएको थियो र बहिनीको माथा चुम्दै भनेको थियो —
“ल ठीक छ । अहिले पढाइमै ध्यान देऊ । कुनै गलत हर्कत भने गर्ने होइन । मलाई तिमीहरूको प्रेमप्रति विश्वास छ ।”
उसमानले आफ्नो मित्रसँग कुरा गर्यो । दुई परिवारबीचको मित्रतालाई स्थायी नातामा रूपान्तरण गर्ने प्रस्ताव गर्यो, जुन फैजलले हर्षपूर्वक स्वीकार गर्यो । उनीहरूले एक अर्कालाई अँगालोमा कसे । मित्रताको बन्धन झन मजबूत भएको आभास भयो । त्यसपछि फैजल र इनायाबीच ‘सगाई’ सम्पन्न भयो । निकाह भने इनायाको अध्ययन पूरा भएपछि मात्र गर्ने निधो भयो—शिक्षालाई प्राथमिकता दिने निर्णयका साथ ।
जीवन सधैँ सरल रेखामा चल्दैन रहेछ । नदीले जस्तै यसले बहाव परिवर्तन गर्दोरहेछ । हावाले जस्तै वेग बदल्दो रहेछ । बादलले जस्तै आकार फेर्दो रहेछ । त्यस्तै भयो— उसमान र फैजलको मित्रता पनि । यसले रंग फेर्यो, सार फेर्यो, अर्थ फेर्यो । आ-आफ्नो क्षेत्रमा उचाइ हासिल गर्दै गएका फैजल र उसमान, एक अर्काको सफलता देखेर तर्सिन थाले । उनीहरूको मनमा हल्का चिसोपन आउन थाल्यो । मित्रताको तापमान घट्यो ।
फैजलले देख्यो — उसमानको भाषणमा हजारौँ मानिस हुन्थे, उसको नाम समाचारमा आउँथ्यो । फूलमाला र अबीरले रंगिएको तस्वीर हुन्थ्यो । ऊ जहाँ जान्थ्यो, कार्यकर्ता र समर्थकहरूको भीड जम्मा हुन्थ्यो । उसको आवाज सडकदेखि सरकारसम्म थर्किन्थ्यो ।
उसमानले देख्यो — फैजलको कम्पनीले करोडौँ कमाइरहेको थियो । व्यापार नेपालगञ्जबाट भैरहवा, बुटवल हुँदै पूर्व तराईतिर बिस्तार हुँदै थियो । उसको जीवन विलासपूर्ण थियो । बैभवताले भरिएको थियो ।
भनिन्छ नि —“साथी असफल हुँदा मन दुख्छ, तर साथी अत्यन्त सफल भयो भने पनि ईर्ष्या लाग्छ ।” त्यो ईर्ष्या मौन थियो, तर गहिरो । सफलता अब साझा उत्सव रहेन, मौन प्रतिस्पर्धाको रूप धारण गरिरहेको थियो । ईश्वरले यो मन भन्ने चिज पनि कस्तो अदभूत बनाएको होला ? यसमा किन खुशी, प्रेम, र सद्वभाव मात्र भरेन ? किन यसमा दुःख, घृणा, ईर्ष्या र जलन पनि मिसाइदियो ? सायद विरोधाभासले नै जीवनलाई गति दिन्छ । दिन र रातको चक्र चलिरहन्छ, ऋतुहरू परिवर्तन भइरहन्छन् ।
देशमा आम चुनावको सरगर्मी फैलियो । नेताहरू टिकटका लागि दौडधुपमा लागे । उसमान पनि सांसदको टिकट पाउने आकांक्षामा अघि बढ्यो, तर पार्टीले टिकटको मूल्य बिस लाख तोक्यो—उसमानको सामर्थ्यभन्दा टाढा । निराश मन लिएर ऊ फैजलकहाँ पुग्यो । फैजलले सहयोग गर्ने वाचा त गर्यो, तर व्यापारमा मन्दी चलिरहेकाले जम्मा पाँच लाख मात्र दिन सक्यो । बाँकी सहयोग गर्न नसक्ने स्पष्ट भनाइले उसमानको आशा चकनाचुर भयो । करोडौँको चलखेल गर्ने फैजलले बीस लाख पनि सहयोग गरेन ।
पहिले नै पलाइरहेको ईर्ष्याको छायामा अब असहयोगको छाप पनि थपियो । मित्रता र विश्वासको धागो क्रमशः कमजोर हुँदै गयो, जहाँ राजनीति र पैसाको खेलले सम्बन्धलाई अवमूल्यन गर्यो । सम्बन्धमा धाँजाहरू पर्न थाले ।
रमजानको इफ्तार छुट्टै हुन थाल्यो । उनीहरू अब रमजानका रातहरूमा, तरावीहपछि मस्जिद पछाडि बसेर दुःख -सुख साट्दैनथे । बाल्यकालमा जस्तो ताराहरू हेर्दै सपना बुन्दैनथे । इदको नमाजपछिको अँगालो हरायो—बाहिर मुस्कान त बाँकी रह्यो, तर भित्र असहजताको छायाले ढाकेको थियो । सफलताको मिठासमा ईर्ष्याको तीतोपन मिसियो ।
‘बकर-इद’मा बकराको ‘कुर्बानी’ त चढाउँथे, तर साथमा मित्रताको ‘कुर्बानी’ पनि अर्पण भइरहेको थियो । ‘कुर्बानी’को मास तीन भाग लाग्थ्यो, तर आफन्तको घर जाने एक भाग अब उनीहरू एक अर्काको घरमा पठाउँदैनथे । उनीहरू ‘हसद’ को शिकार भईरहेका थिए — इस्लामले वर्जित गरेको एउटा रोग , ईर्ष्या ।
विपक्षीमा एक युवा उम्मेदवार आयो — धेरै पैसा र तामझाम सहित । त्यसपूर्व उसमान सिद्दिकीलाई चुनौती दिने खासै कोही थिएन । पार्टीमा छल-फल भयो । विपक्षीलाई पैसा कसले पेलेको छ भन्ने प्रश्न आयो । पार्टी प्रमुखले संकेत गरे – यसको पछाडी अन्सारी ग्रुपको हात छ ।
उसमानको मनमा पहिरो गयो —फैजल मेरो विपक्षीलाई समर्थन गर्दैछ ? मेरो विरुद्ध पैसा पेल्दैछ ?
उसमानको महत्त्वाकांक्षी गरीब आवास परियोजना शुरु हुनै लाग्दा, एउटा ‘स्क्यान्डल’ आयो — कागजातहरूमा अनियमितता देखियो । पत्रकारहरूले सूचनाको स्रोत चुहाए—कागजात फैजल अन्सारीको कार्यालयबाट आएको हो ।
‘ओहो, फैजलका मान्छेहरू मेरो कार्यालय सम्म घुसेछन् ?” उसमान दुःखी भयो र साथ-साथै क्रोधित पनि ।
फैजलको अन्सारी ग्रुपले निरन्तर पाउँदै गरेको प्रदेश सरकारको सहरी विकास टेण्डर यसपटक गुमायो । प्रतिष्पर्धीले अवसर कब्जा गर्यो । आयोजना प्रमुखसँग ‘सेटिङ’ मिलाएको त हो, तर उसले लाचारी प्रकट गर्यो— मन्त्रालयको दबाब टार्न सकिएन । त्यो समय सहरी विकास मन्त्री उसमान सिद्दिकी नै थियो ।
त्यसैबेला फैजल पूर्वी तराईमा एउटा कारखाना खोल्ने तयारीमा थियो । एउटा ठूलो व्यापारीक घरानासँग लगानीको सम्झौता हुँदै थियो, तर सो अघि नै कर विभागले छापा मार्यो । कर कार्यालयका हाकिमलाई आँपको पेटी भित्र लाखौँको नोटको बिटा राखेर नजाराना त चढाउने गरेकै हो, तर पनि किन छापा ? हाकिमले ‘माथिको दबाब’ भनेर पन्छायो । फैजल निश्चित भयो —उसको व्यापार नष्ट गर्न उसमानले सरकारी संयन्त्र प्रयोग गर्यो ।
यति भइसकेपछि, अब के हुन बाँकी थियो र ? फैजलले इनायतसँगको सगाइ तोड्यो । प्रेमी र दाजुको शत्रुता बिच इनायतको प्रेमको दुःखद अवसान भयो ।
फैजललाई अब उसमान मित्र नभई शत्रु भएको पूर्ण विश्वास भयो । गलतफहमी द्वेष बन्यो । अब उनीहरूको मौनता योजनाबद्ध बदलाको भावनामा परिणत भयो । उनीहरूले एक अर्कालाई घात-प्रतिघात गर्ने कुनै मौका चुकाएनन् ।
जीवन र मृत्यु बिचको दुरी केवल एक पलको श्वास हो । जति ठूलो अभिलाषा बोके पनि, जति घमण्ड पाले पनि, धन-दौलत, शक्ति उपार्जन गरे पनि अन्ततः ती सबैको स्वामित्व एक मुठी श्वास रहुन्जेल सम्म न हो । एक रात, उसमानको कार भीषण दूर्घटनामा पर्यो । क्षणभरमै उसको प्राण-पखेरु ठाउँको ठाउँ उड्यो, अन्नततिर विलीन भयो ।
उसमानको मृत्युको खबरले सहर स्तब्ध भयो । उसमानको तदफीनमा फैजल सरिक भएन । उसले परैबाट नियाल्यो । नजिक जाने साहस ऊसँग थिएन—अभिमानले उसका पाउहरू बाँधिएका थिए वा उसमानका समर्थकहरूको डर । उसमानसँग मित्रता त धेरै अघि नै टुटेको थियो, तर शत्रुताको अन्त्य पनि नाटकीय रुपमा भयो, जुन उसले चिताएको थिएन । उसको हृदयमा पछुतो र पीडाको भारी थियो वा बाटोको अवरोध आफैँ हटेको खुसियाली—त्यो उसको मौनता भित्र लुक्यो ।
उसमानको दूर्घटनामा कुनै षडयन्त्र छ भन्ने कुराहरू पनि अखबारमा आएका थिए । छिमेकी राष्ट्रको खुफिया संस्थाको नाम पनि जोडिएको थियो । फैजलसँगको दुश्मनी त जगजाहेरै थियो नै । फैजललाई पनि प्रहरीले शंकाको घेरामा राखे, तर त्यसलाई पुष्टि गर्ने कुनै सूत्र भने भेटेनन् ।
सबैको पालो आउँछ, ढिलो या चाँडो । कोही पनि यहाँ अजर-अमर छैनन् । कोही पनि यहाँ अनन्त कालसम्म बाँच्दैनन् । जीवनको कठोर सत्य त्यही हो । बाँकी सबै भ्रम हुन् । एक दिन फैजलको पनि पालो आयो । उसको जीवनको घडीको सुई रोकियो । साँझको भोजन पछि शान्त निद्रामा गएका उसका आँखाहरू फेरि खुलेनन् । ऊ चिर निद्रामा विलीन भयो । निद्रामै हृदयघात भएछ ।
संयोग भन्ने कि नियति — फैजलको कब्र, उसमानको कब्रकै पासमा खनिएछ । मुसलमानहरूमा क्रिस्तानहरूले जस्तो कब्रमा मृतकको नाम अंकित गर्ने चलन छैन रहेछ । नत्र फैजलको परिवारले त्यो स्थान सायदै स्वीकार गर्थे होलान् । सायद यसैलाई ‘अल्लाह को कदर’ भनिन्छ—मान्छेहरूको सोच र योजना भन्दा पर, ईश्वरको अदृश्य विधान हुन्छ भन्छन् । जीवनका अधिकांश उर्वर क्षणहरू एक अर्काको खेदो खन्न बिताएका दुई मित्रहरू अन्ततः कब्रस्तानका छिमेकीहरू बन्न पुगे ।
रमाजानको पहिलो साँझको कुराकानी पछि उनीहरूका आत्मा मौन थिए, तर अनन्त काल लामो हुन्छ । मौनता बोझिलो हुन्छ । रातहरू उच्चाटिला हुन्छन्, दिनहरू एकतमासका ।
शायद इदको दिन परेको थियो । मस्जिदमा नमाज पढिँदै थियो।
‘अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह…” ‘तकबीर’हरू दोहरिरहेका थिए ।
फैजलले मौनता तोड्यो —“उसमान, तँलाई याद छ, इदमा नयाँ कपडा पाउँदा हामी कति खुसी हुन्थ्यौँ ? हामी नयाँ पोशाकमा सज्जिएर, इत्र छर्केर मस्जिद जान्थ्यौँ, सँगै नमाज पढ्थ्यौँ, साथी-आफन्तहरूसँग अंगालो हाल्थ्यौँ । अनि शीर खुरमा साट्थ्यौँ”
“अब ती दिनहरू सम्झेर के फाइदा, जीवनभर त हामीले शत्रुता मात्र निभायौँ । ” उसमानको स्वरमा अवसाद सुसायो ।
फैजलले प्रश्न गर्यो —“उसमान, तँलाई लाग्छ मैले तँलाई सिध्याउन खोजेँ ?”
उसमानले गहिरो निश्वास लियो र भन्यो —“मलाई लाग्थ्यो, तैँले मलाई धोका दिइस्, तर सायद मैले नै तँलाई बुझ्न सकिन र मित्रता तोडेँ ”
त्यस क्षण उनीहरूले सबै सम्झिए — झगडा, गलतफहमी, अहंकार । मनको मैलो पखाले । थोरै ईर्ष्या र जलन रहेछ, तर धेरै असमझदारी । धन-दौलत, शक्ति, आग्रह-पूर्वाग्रहको कुनै अर्थ छैन रहेछ । प्रतिस्पर्धा र होडबाजीको यात्रा कब्र सम्म मात्र रहेछ ।
आत्माहरूले ‘सुरह यासीन’ सँगै पढे —हाँसे—रोए—एकले अर्कालाई माफ गरे— अनि फेरि साथी बने । चिहानका ती छिमेकी आत्माहरूमा अब न ईर्ष्या बाँकी थियो, न जलन । न कुनै प्रतिस्पर्धा वा होडबाजी । मृत्युले सबै वैमनस्यतालाई पखालिदिएको थियो ।
तर बाहिर संसारमा द्वन्द्वको विरासत बाँकी नै थियो । एक दिन — जुम्माको दिन— कब्रस्तानको शान्त वातावरणमा होहल्ला मच्चिन्छ । परम्परा अनुसार मृतकका आफन्तहरू शुक्रबारका दिन कब्रस्तान आउँने गर्छन्, मृतकको स्मरण गर्छन् र सम्मान अर्पण गर्छन् । फैजल र उसमान परिवारहरू पनि आएका रहेछन् । संयोगवश एउटै समय परेछ— जम्काभेट भयो । वैमनस्यताको विष त भरिएकै थियो —ओकल्न थाले । आरोप-प्रत्यारोपको शृङ्खला शुरु भयो । आवाज ठूलो हुँदै गयो । अनि धकेला-धकेल । कब्रस्तानको शान्ति खलबल भयो, भागदौड मच्चियो ।
“अस्ताघफिरुल्लाह !” चिहान भित्र मृत आत्माहरूले हात फैलाए । दुआ मागे — “हे अल्लाह, जीवितहरूलाई शान्ति देऊ । हामीले जीवनमा गरेका गल्तीहरू फेरि नदोहोरिऊन् । द्वन्दको यो सिलसिलाको अन्त होस् ।”
दुवै मृत आत्माहरूले अनुनय गरे, विनय गरे— आफ्ना छोरा-भतिजाहरूलाई लडाइ रोक्न आह्वान गरे, तर उनीहरूको आवाज चिहानबाट बाहिर निस्किन सकेन । हावामा विलीन भए ।
मृतक आत्माहरूले पुराना घाउमा त मलम पट्टि गरिसकेका थिए, तर जीवितहरू भ्रमको जालोबाट अझै मुक्त हुन सकिरहेका थिएनन् । एकअर्का प्रति-घात गरिरहेकै थिए ।
—-
(द्रष्टव्य: यो एक साहित्यिक सिर्जना मात्र हो । यसमा प्रयोग भएका पात्र, घटनाक्रम, र संवादहरू पूर्णतः स्वैरकल्पना मात्र हुन् । कथामा वर्णित धार्मिक अनुष्ठान, सामाजिक व्यवहार, वा राजनीतिक प्रसङ्गहरू कुनै विशेष व्यक्ति, समुदाय वा आश्थालाई लक्षित गरेर लेखिएका होइनन् र कसैको आस्था र विश्वासमा ठेस पुर्याउने अभिप्राय छैन । यसमा प्रयोग भएका धार्मिक अनुष्ठान आदिका प्रसंगहरू विभिन्न इन्टरनेट स्रोतहरूबाट लिइएका हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










