दशैँ आयो
तर खै, उत्सवको बहार आएन,
शान्तिको सुवास छाएन।
खै कसरी मनाउने?
कसरी रमाउने?
जब आँसु र आक्रोश छातीभित्र उर्लिरहेछ।
खै कसरी लगाऊँ टीका?

हिजो नै हो आगो उम्लिएको,
न्यायको मूर्ति ढलेको,
प्रतिनिधि महल जलेको,
माननीयका पाखण्डी पर्खाल भत्किएका,
उनको तेजोवध धुलोमा लुटिएका।

खै किन सुन्दैनन् तिनीहरू?
कम्प्युटरसँगै जन्मेका,
मोबाइल खेलेर हुर्केका,
च्याटजीपीटीसँग दोस्ती गरेका,
तिनीहरूभन्दा हजार गुना बढी सूचनाले भरिभराउ,
हातहातबाटै विश्वलाई नियालिरहेका
बुद्धिमान् पुस्ताहरूको सल्लाह।

मलाई लाग्दैन कि तिनले नराम्रो सल्लाह दिए:
भ्रष्टाचार अब रोक्नुहोस्,
नातागोतालाई मात्र नपोस्नुहोस्,
झोला बोक्ने होइन,
गैँची–बेल्चा बोक्ने कार्यकर्ता बनाउनुहोस्,
तिमी मात्र बनेर हुँदैन, देश बनाउनुहोस्,
विश्वसँग भिक्षा माग्ने होइन,
विश्वलाई दान दिने देश बनाउनुहोस्,
विश्वले गर्व गर्ने देश बनाऔँ !
यति त मागेका थिए।

ज्यान बचे त महल फेरि बनाउन सकिन्थ्यो नि ?
मुटु जल्यो देशको,
ती अबोध परिवर्तनका संवाहक
कुनै शिकारीले शिकार गरे झैँ
एकपछि अर्को ढल्दा
निस्कियो आगो,
जन्मे रक्तबीजहरू,
उर्लियो महासागर,
बन्यो देश युद्धभूमि।

युद्धमैदानबाट भागेका भगौडा पापीहरू
दुलोबाट के निस्केका छन्,
किन फेरि तिनका कुरा सुन्दैनन् ?
किन धन्यवाद दिँदैनन् ?
अभिभावक किन बन्दैनन् ?
आत्मालोचित किन हुँदैनन् ?
किन दुस्साहस गर्दैछन्
परिवर्तनलाई रोक्न?
होसियार!
समयलाई चिन,
समयलाई सुन,
समयलाई आत्मसात् गर!
जब समयले थप्पड हान्छ,
तिम्रो अगाडि न तिम्रो कल्पनाको साम्राज्य रहन्छ,
न तिमी।

जेजस्तो भए पनि समयचक्र रोक्न नसकिने,
समयचक्रसँगै दशैँ आयो।
माता दुर्गा खै कहाँ छिन् कुन्नी?
मन्दिरमा छिन् कि
महलमा छिन् कि
झुपडीमा छिन् कि?
माता दुर्गासँग प्रार्थना यही छ:
यो तातो रगत खेर नजाओस्,
एउटा सुन्दर, शान्त, विशाल नेपालको
सपनाको मजबुत जग बसोस्,
सम्पूर्ण देशवासीहरूको मनमा शान्ति छाओस्।
बडा दशैँको शुभकामना!
ती रक्तबीजहरूलाई सलाम!