आँखाहरू ओछ्याएथे सहरभरि,
एक मुठ्ठी सहानुभूतिको रहरभरि।
पाइनँ कतैबाट आश्वासन र आफ्नोपन,
दीनतामा सबैले दिने रहेछन् जहरभरि।
विश्वास थियो, एकदिन चम्कनेछन्,
सफलताका ताराहरू सगरभरि।
सपनामै निदाएर सपनामै ब्युँझँदा,
दैनिकी पनि रिसाएथ्यो प्रहरभरि।
तर अहँ, छोडिनँ इखालु जिद्दीपन,
दिइरहेँ सजाय आफैँलाई कहरभरि।
सजाई सपनाहरूका सुन्दर फूलहरू,
बनाइरहेँ स्वप्निल महलहरू बगरभरि।
आज सफलताले पाइला चुम्दा मेरा,
सबै नजिकिन खोज्छन् लहरभरि।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
