प्रदूषणकै लागि भए पनि
विश्वभरि कहलिएको यो शहरमा
कहाँबाट ओइरिएका हुन्-
यी मान्छेका लस्कर ?
विरुप मुहारमा कुरुपता
झल्किने लोलोपोतो डलेर
सखारै कुदेका छन्
दुई पाँग्रेले तेर्साएको
नजान्ने कुन गन्तव्य?
ताँतीका ताँती
सिङ्गै देशभरिबाट थुप्रिएका
यो भीड यै खाल्डोमा
जहाँ जमीनको पानी समेत
सुकेर हाहाकार मचिएको छ
विषाक्त धूवाँमा सास फेर्दै
शहरी सिकोमा चुरोट तान्दै
रोगव्याधिबाट जोगिन मास्क भिर्दै
अनि शरीर चोखिन जारको पानीले नुहाउँदै
हिँडेका छन् गन्तव्यहीन बिन्दुतिर !
नगरीका सुन्दरीका त कुरै अर्को
बधु हुन् कि नगरबधु ?
खुट्याउनै गाह्रो !
सबका जीउमा
शरीर चिप्किने वा पारदर्शी पहिरन
सजिएर हिँडेका छन् ठमकठमक
भेप र हुक्का तान्दै इतरिएका
छन मधुशालय र क्याफे जताततै !!
युवा तन्नेरी कामको खोजीमा
भौंतारिका छन्
कोही विदेशिनका निमित्त
पासपोर्टको घण्टौं लामो लाइनमा
थचारिएका छन्
हुनेखाने पब र डिस्कोमा
रातभरि मदहोशीमा
मात्तिएर लडेका छन् !
बालक, वृद्धा, विद्यार्थी बबुरो
यो अञ्जान शहरमा
छैन कसैको अफ्नो बिचरो !
विद्यार्थीको ध्यान विथोलिएको छ
पढाइमा भन्दा ती अन्तसन्तै मस्त !
बुढाबुढी थलिएका छन् रोगले
कोही छैनन् तिनका हेर्ने-स्याहार्ने
स्यानो बालक दार्शनिकझैँ सोचिबस्छन्;
कहिले आउलिन् आमा घर ?
कतिखेर पाइएला बाबाको भर ?
यो कोलाहलले जेलिएको
मेट्रोपोलिटन शहरको कहर
पुलिस र एम्बुलेन्सको
साइरनसितै वहिर्गमन हुने रहरमा
घोत्लिएर अवलोकन
गरिबसेका छन एक वयस्क
गगनचुम्बी भवनको टावरमा
मध्यरातको सन्नटामा घोरिएर।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









