आँखा हुँदाहुँदै पनि देख्न नसक्ने म छु
कान सकुशल हुँदाहुँदै पनि नसुन्ने बनेको म छु
आवाज त मेरो पनि बुलन्द नै थियो
तर आफैँ भित्रको द्वन्द्वमा अल्झियो
हात त मेरो पनि बलियो नै थियो
तर उठाउनै नसक्ने गरी बाँधियो
ब्वाँसा र स्यालहरूको रजाईँमा
मै खाऊँ, मै लाऊँ भन्नेहरूको बसाइमा
अस्तित्व आफ्नो खोजिरहेँ
म पनि कहीँ भेटिन्छु कि
कहीँ कतै बाटोमा सबैभन्दा अलग देखिन्छु कि ?
ओहो ! देखिए त देखिएँ नि
दिनरात भोको पेट पाल्न खोलाको डिलमा
गिट्टी कुट्दै थिएँ म, तर भोकै
खडेरीले सुकेको माटोमा
पसिनाले सिँचाइ गर्दै थिएँ म तर उब्जाउ थिएन
आफ्नो जन्मभूमि छोडेर खाडी मुलुकमा
पैसा टिप्दै थिएँ म तर अरुकै लागि
सहकारी र बैंकहरूले तिर्नै नसक्ने गरी
लादिएको ऋणको ब्याजमा म थिएँ
खेतबारी बाँझो राखी, काम खोज्दै
भौतारिने म थिएँ
घर-खेत बन्धक राखी, शहर पसी
फुटपाथमा व्यापार चलाउने म थिएँ
बिरामी हुँदा उपचार नपाई
बीच बाटोमै मर्ने म थिएँ
पाल्नै नसकेर छोरी दलाललाई सुम्पिने
छोरालाई खाडी मुलुक पठाउने पनि म थिएँ
उज्ज्वल भविष्यको बहानामा छोराछोरीलाई
अरु देशलाई बेच्ने पनि मै थिएँ
नेताहरूको अन्धभक्त भई
उनीहरूको चाकरी गरी
टाउको फुटाउने मै थिएँ
दलाली, भ्रष्टाचारी, घुसखोरीलाई अगाडि
बढाउने पनि मै थिएँ
अनि “केही गरेनन्, फटाहा बदमास” भन्दै
नारा जुलुसमा अगुल्टो बोक्ने पनि मै थिएँ
समस्यै समस्याको थुप्रोमा
मूल समस्या नै म थिएँ
समस्या समाधानको बाटो खोजी हिँड्ने
बटुवा पनि मै थिएँ
आफैं बिगारी
काम गुनासोको भारी बोकी
“केही गर्न सक्छ कि?” भन्ने हुटहुटीमा मै थिएँ
हो, म नै थिएँ
तर अरूभन्दा फरक थिइनँ
अरूभन्दा अलग थिइनँ
सबै जस्तै थिएँ—
नेपाली जनताजस्तै थिएँ
अनि एउटै विकल्प बाँकी थियो—
सक्नेले पासपोर्टमा भिसा लगाउने र देश छाड्ने
नसक्नेले आँखा चिम्लने र कान थुन्ने
अनि मातृभूमिमा बिलाउने

खुल्दैन आफैँ भाग्यको ढोका कर्मवीर नभए
कर्मवीर नभए
नेपाल भन्न पाइन्छ कहाँ, नेपाली नरहे ?
नेपाली नरहे ।