एउटा अनौठो स्थानमा आफूलाई अकस्मात् उभिरहेको पाउँछु । यस्तो अनौठो स्थान यस अघि मैले कहिल्यै पनि देखेको थिइन न त अरु कोहिद्वारा कतै सुनेको नै थिएँ । न त कहिले कल्पना नै गरेको थिएँ । एकातिर म जिल खाएर जिल्ल परिरहेछु भने अर्कोतिर म त्रासैत्रासले भरिएर एकदम चिन्तित पनि भएको छु ।

आफ्नो वरिपरि टाढा–टाढासम्म हेर्छु । जहिँतहिँ भुईँभरि सुकेका पातपतिङ्गरहरु मात्रै देख्छु । जमिन नै ढाक्ने गरी यति धेरै धेरै अनि धेरै सुकेका पातपतिङ्गरहरु कहाँबाट आए होलान् ? जमिन एकदम बृहत छ । अनि समतल पनि छ । रुखहरु, बोटबिरुवाहरु चाहिँ एउटै पनि देखिँदैन । आकाश हवाङ्ङै उदाङ्गो छ । सूर्यको उपस्थिति नभए पनि दिन उज्यालै छ ।

एकै स्थानमा उभिरह्यो भने निकम्मा सालिक बनिने अनि भनिने भयानक डर हुन्छ । त्यसकारण यो भयानक डरबाट बच्न म हिड्न थालेँ । जब हिड्न थालेँ । मेरा पाइलाहरु स्वचालित रोबोट जस्तै आफ से आफ चल्न थालिहाल्यो । म सजिलै गरी हिडिरहेको छु । सुकेका पातपतिङ्गरका खस्य्राक खुस्रुक आवाजहरु आइरहेको छ । कुनै–कुनै ठाउँहरुमा चाहिँ घुँडा घुँडासम्म आउने गरी बाक्लै पातपतिङ्गरहरु जमेका रहेछन् । जसोतसो भए पनि हिडिरहेँ । म कुन दिशातर्फ हिडिरहेछु ? ठम्याउन एकदम हम्मे–हम्मे परिरहेको छ । पुग्नु पर्ने गन्तव्य झन् कहाँ होला ? कुनै ठेकान नै छैन ।

एकै दिशातर्फ एकोहोरो हिडिरहेँ अनि हिडिनै रहेँ । अन्दाजी चार घण्टाको हिडाइपछि हिड्दाहिड्दै अचानक झमक्कै रात परिहाल्यो । अब यो निर्जन, एकान्त अनि अनौठो स्थानमा झमक्कै रात परेर गाढा अध्याँरो भएपछि कसरी हिड्न सकिएला र ?

––––––––––––––

म झल्याँस्स बिउतिएँ । दायाँबायाँ वरिपरि आँखा डुलाएँ । उस्तै गाढा न गाढा रात छ । मैले देखेको सपना स्मरणमा अचानक आइदियो । मैले सपनामा हरियो घना बनजंगल देखेको थिएँ । पक्कै पनि यो शुभ संकेत हुनसक्छ ।

साच्चै म अघि कुन बेला निदाइहालेछु ? सायद घन्टौं घन्टा हिडेको कारण धेरै थाकेर थाहै नपाई निदाएको थिएँ हुलाँ । अहिले मध्यरातको समय हुनुपर्छ । अब भोलि बिहान कहिले हुन्छ ? ज्योतिको माया, प्रकाशको स्पर्श अनि किरणको आभा यति बेला सम्झनामा बारबार आइरहेको छ ।

म फेरि निदाउन निदाउन मात्र के लागेको थिएँ । अचानक मेरो आँखाले मेरै नजिक मेरै वरिपरि दियो जस्ता ज्योतिका साना–साना लप्काहरु धीमा–धीमा बलिरहेको देखेँ । ती ज्योतिका साना–साना लप्काहरु सात वटा थिए । अनि ती सातै वटा साना–साना लप्काहरु सात वटा सुकेका पातहरुमाथि अडिएका थिए । म उठेँ । पलेँटी कसेर बसेँ । मेरा वरिपरि बलिरहेका ज्योतिका साना साना लप्काहरु र सुकेका सात पातहरु हेर्दाहेर्दै मर्ज भएर एउटै ज्योति र एउटै पात बनियो । र निक्कै उज्यालो पनि भयो । मैले ज्योतिको मुनि रहेको त्यो एउटै बनिएको पातलाई राम्ररी नियालेर हेरेँ । त्यहाँ सात मानिसहरुका नाम रगतले नै लेखिए जस्तै रातो अक्षरले लेखिएको थियो । ती सात नामहरु मेरा सात पुर्खाहरुका नाम रहेछन् । यो तथ्य मेरो आफनै अन्तर्मनले मलाई खुलस्त बताइरहेथ्यो । मैले होइन भन्न सकिन । अविश्वास गर्न पनि सकिन । यो बलेको ज्योति मेरा सात पुर्खाहरुका सात आत्मा एक भएका रहेछन् । मलाई कता–कता डर अनि कता–कता खुशी लागेर आयो । बाँयातर्फ डर र दायाँतर्फ खुशी यी दुई किनारको बीचमा अल्झिएर म नदी झैँ बगिरहेँ । फेरि पनि निदाएँ अनि स्वप्निल संसारमा हराएँ । सायद बिलाएँ पनि ।

–––––––––

मैले मेरो आँखालाई सुस्तरी सुस्तरी उघारेँ । निदको मातले विस्तारी विस्तारी छोड्न लागेको थियो । कलिलो सूर्यको ताजा किरणले मेरो आँखामा चुम्बन गरिरहेको रहेछ । अब हिज रहेन । प्रकृतिले आजलाई स्वागत गरिसकेकी छे । म उठेँ । उस्तै स्थानमा उभिइरहेको छु । सुकेका पातपतिङ्गर उत्तिकै छन् । आज चाहिँ मलाई यस्तो लागिरहेको छ यी सुकेका पातपतिङ्गरहरु चाहिँ प्रत्येक मृत मानिसका निदाएका आत्माहरु रहेछन् । सूर्य भरखरै उदाएकोले पूर्व दिशा कता रहेछ भनेर आज चाहिँ मैले थाहा गरेँ । सूर्योदयको दृश्यलाई केही क्षण हेरिरहेँ । मैले सूर्य प्राणायाम प्रणय साथ गरेँ । किनकि मलाई सूर्यबाट उर्जा लिनु थियो । त्यसपछि पश्चिमतर्फ पनि हेरेँ । धेरै प…..र त्यहाँ अचम्मलाग्दो दृश्य देखेँ । पश्चिमतिरको आकाश चाहिँ कालै थियो । त्यो कालो आकाशमा चन्द्रमा चहकिलो चम्केर चमचमगाइरहेको देखेँ । मैले उत्तरतर्फ पनि हेरेँ । त्यहाँ धेरै प……र ठूलो पहरा खडा रहेछ । त्यो विशाल पहराको फैलावट पूर्वदेखि पश्चिमसम्मै अग्लो पर्खालको रुपमा फैलिएको थियो । पहराको माथि माथि ठाउँ ठाउँमा कालो बादलका बाक्लो मुस्लोहरु लहरै देखेँ । जहाँबाट छिन् छिन्मा चट्याङ्ग परेर बिजुली चम्किरहेको दृश्य पनि देखेँ । दक्षिणतिर पनि आँखा लगाएँ । कालो न कालो भिषण आँधीबेहरी जमिनदेखि आकाशसम्मै मडारिएर पातपतिङ्गरहरु उडाउँदै उत्तरतर्फ भनौँ म उभिएकै स्थानतिर आइरहेको देखेँ ।

भीषण आँधीबेहरीबाट सुरक्षित रहन मैले उत्तरतर्फ रहेको पहरातर्फ जाने निधो गरेँ । अनि आँखा बन्द गरेर बेतोड दौडिन थालेँ । लगभग एक घण्टाको दौडाइपछि म पहराको फेदमा आइपुगेँ । केही समय थकाइ मारेँ । अनि पहरालाई माथिसम्मै हेरिपठाएँ । निक्कै अग्लो रहेछ । अचम्म के भने मेरो दाहिनेतर्फ अलि पर पहरामाथि चढ्ने काठको पुरानो कलात्मक भर्याङ्ग पनि रहेछ । प्राचीनकालमै मेरा पूर्खाहरुले बनाएका थिए भन्ने कुरा मेरो आफनै अन्तरमनले मलाई अहिले बताइरहेको छ । म कुनै हतार नगरी आरामले खुड्किलाहरु चढ्न शुरु गरेँ । किनकि दक्षिणबाट आउँदै गरेको भिषण आँधीबेहरी यति बेलासम्म दोबाटो मै बिलाइसकेको थियो ।

३६५ वटा खुड्किलाहरु बल्ल बल्ल पार गरिसकेपछि मात्रै पहराको टाकुरामा उक्लिन सफल भएँ । अग्लो टाकुरा भएकोले यहाँ हावा जोड जोडले चलिरहेको रहेछ । यहाँ मैले आनन्दको ठूलो सास फेरेँ । यहाँ उक्लिन त्यति सजिलो भने थिएन । म जहाँबाट आएँ एकपटक त्यहाँ हेरेँ । सुकेका पातहरुले भरिएका हुनाले धेरै पर पर सम्मै जमिन गाढा खैरो रंगको देखिन्थ्यो ।। एक प्रकारले माटैमाटो जस्तै भूभाग देखिन्थ्यो । अघि म तल रहेको बेला यहाँ देखिएका बिजुली निकाल्ने कालो बादलका मुस्लोहरु अहिले टाकुरामा आइपुग्दा चाहिँ देखिएन । म उक्लने बित्तिकै ती बादलहरु कतै पलायन भए होलान् । फेरि ठूलो सास फेरेर उत्तरी भेगतिर हेरेँ । आखाँले हेर्न नभ्याउने हरियो घना जंगल देखेँ । हरियो घना जंगल जहितहि देख्दा अति नै रमाइलो लागेर आयो । मन पनि फुरुङ्ग फुरुङ्ग नै भयो । मैले सपनामा देखेको हरियो जंगल पनि यही नै रहेछ । खुशीले उफ्रिन खोजेकै थिएँ तर सकिन । किनकि दौडाइ, अनि खुड्किलोमा उक्लिँदाको गलाइले म एकदम लखतरान भएको थिएँ । भोक र तिर्खाले पनि मलाई व्याकुल बनाएको थियो ।

––––––––––

फेरि निन्द्राबाट बिउतिएँ । अहिले आँखा खोलेर वरिपरि हेर्दा म आफूलाई घना जंगलभित्र पाएँ । यस्तो जंगलभित्र छु कि जहाँ पातपतिङ्गरहरु छँदै छैनन् । मलाई अचम्म लागिरहेछ । म यहाँ कसरी आइपुगेँ ? माथि पहराको टाकुराबाट यस जंगलतर्फ झरेको याद नै छैन । हिज त्यो चट्टाने पहराको टाकुरासम्म चाहिँ भर्याङ्ग उक्लेर मरेरै आइपुगेको थिएँ । म जुन स्थानबाट आएँ । त्यहाँ रुखहरु एउटै थिएनन् । जमिनैभरि सुकेका पातपतिङ्गरहरु मात्रै थिए । तर यहाँ चाहिँ भुइँमा सुकेका पातपतिङ्गरहरु छँदै छैनन् । हरिया सप्रेका अग्ला अग्ला रुखै रुखहरु मात्रै छन् ।

यस्तै अनेकानेक सोच्दै हिडिरको थिएँ । एउटा सानो झुप्रो घर देखियो । खरले छाएको पुरानो घर । यस्तो घना जंगलभित्र यो घर चाहिँ कसले बनाएको होला ? मलाई डर डर लागेर आयो । तर खुशी खुशी पनि लागेर आयो । डर र खुशी दुई किनारा भएर बग्ने नदि भएर म फेरि बगिरहेँ । त्यो घरमा जाउँ जस्तो पनि लाग्छ । नजाउँ जस्तो नि लाग्छ । तर किन किन मेरा पाइलाहरु नचाहँदा नचाहँदै पनि त्यै घरको ढोकानेर अघि बढिरहन्छ । म ढोकामा उभिन्छु ।

भित्रबाट “आउ” भन्ने आवाज आएको सुन्छु ।

ढोका आफैँ खोलिन्छ ।

म भित्र पस्दा एउटा ठूलो टेबल वरिपरि सात जना पाको मान्छेहरु उभिएर मलाई हेरिरहेका थिए । यिनीहरुकै आत्मा मैले अस्तिनै सुकेका पातहरुमा बलेको देखेको थिएँ । उनीहरु प्रत्येकको हातमा एउटा एउटा पातहरु थिए । ती सात पातहरु सुकेका थिएनन् । सबै हरिया थिए । सात जनामा पहिलो पुस्ताको पुर्खाले बोल्नुभयो, “नडराइकन आउ । तिमी हाम्रो आठौँ पुस्ता एक जिवित तारा हौ ।”

––––––––

मैले सम्झिरहेँ । सुकेका पातपतिङ्गरले भरिएका बृहत समतल भूमी । मैले सम्झिरहेँ । एकै साथ पूर्वमा उदाएको सूर्य, पश्चिमी कालो आकाशमा चम्किरहेको चन्द्र । मैले सम्झिरहेँ । उत्तरमा चट्टाने पहराको पर्खाल । दक्षिणमा विशाल कालो विनाशकारी भीषण आँधीबेहरी । कष्ट गरेर विशाल पर्खाल उक्लेको । हरियो घना जंगलमा अचानक पुगेको । सात पुर्खाहरु भेटेको । सम्झेको मात्रै होइन । म ती ठाउँहरु भएर यथार्थ मै हिडिरहेको थिएँ ।

––––––––––

“तिमीले अघिदेखि पटक पटक के सम्झिरहेको के सोचिरहेको एकोहोरो भएर? संगै बस्दा त कमसेकम केही मीठा बात त गर न । ल राख यो हरियो पात । भरखरै रुखबाट मेरै हातमा झरेको थियो । यसलाई तिमीले तिम्रो डायरीमा च्यापेर राख ।” उनी बोलिन् ।

म झसँग भएँ । अनि म खुशी भएर चुपचाप त्यो हरियो पात उनको हातबाट लिएँ । त्यो पातमा एउटा शब्द लेखिएको थियो । त्यो शब्द हो “समय” ।

मलाई लाग्छ, अब फेरि यस्तै पारलौकिक परिभ्रमण गर्ने अर्को ‘समय’ नजिकै आइरहेको छ । त्यो आउँदै गरेको समयमा चाहिँ ‘उनी’ र ‘म’ हामी दुई एक भएर सँगैसँगै परिभ्रमण गर्ने छौँ ।