डम्म, स्थापित भुइँकुहिरोको साम्राज्य । चकमन्न परिवेश केवल विरोध उराल्दै छ एक्लो तन्देरी तित्रो “तन्तेरेक तेतेरेक” कराउँदै ।
सानो गाउँ । घुमन्तेपना छोडेर उपयुक्त स्थलको पहिचान गरी स्थापित हुँदै गरेको मानव सभ्यता । जङ्गल फाँडेर आ–आफ्नो सीमा तोकी खेती गर्दै छन् । र त सबै मान्छेहरू व्यस्त छन् मेलोमा । घरको रखवाली, स्याल, वन ढाडे खेदेर कुखुराको रक्षार्थ, नयाँ मान्छेको आगमनलाई सूचित गराउन कुकुर पालेका छन् । समयको सङ्केत र मासुको आवश्यक पूर्ति गर्न कुखुरा परेवा पालेका छन् । दूध, दही, मही, घ्युको आवश्यक पूर्ति गर्न र जोत्न र मोल्न गाई भैँसी पालेका छन् ।
ठाउँ ठाउँमा वरपीपल रोपेर चौतारो, ठाँटी, पाटी, पौवा बनाएका छन् । चौबाटोमा देउता रुपी देउराली घोषित गरी बाटो हिँड्नेले फूल, पाती, पात माटो या ढुङ्गा चढाउने गर्छन्– रहल यात्रा शुभ रहोस् भन्न खातिर । मान्छेले सहारा र शक्तिको लागि आगोको जोहो खिसा, थैली बास्समा झुलो चकमक र सानो दल्सिङ ढुङ्गा बोक्ने चेतना पनि आइसकेको थियो । भर्खर स्थानीय स्तरकै आवश्यक बस्तुलाई प्रयोग गर्ने आधुनिकता आइरहेको बेला गाउँमा हल्ला भो, “लट्टे ठस्स गन्हाउने बाबाजु आको छ रे माग्न ।”
गाउँले : छि छिः के साह्रो गन्हाएको जगल्टो ।
बाबाजु : (गाउँलेलाई हेर्दै) आहा ! कति आनन्दको शब्द लहर । बोलीका मीठा छन्दहरू ।
एउटाले : (लात्तीले हान्दै) छिः छिः छिः भन्दा आनन्द लाग्ने अहिले कस्तो लाग्यो ।
बाबाजु : (उठेर धूलो टकटक्याउँदै) साह्रै मजा एकराते दही र खीर खाए जस्तै भो । लाग्यो फूलबारीमा विहार गर्दै छु ।
अर्को : (जकल्टाउँदै) लट्टे मूले । अहिले कस्तो लाग्दै छ ?
बाबाजु : (हाँस्दै) अति सुन्दर बाबु । वसन्तको मह खाए जस्तै भयो । हार्दिक पलको सैर गरेँ । दुखाइ पनि कति रमिता पो हुँदो रहेछ । साह्रै मजा आयो । शरदको यात्रा जस्तै ।
माइला : (पर व्यक्तिको खुशीले मुक्क्याउने, प्रत्येक मुस्कान झीर भएर रोप्ने माइलालाई, बाबाजुको हर्ष पटक्कै पचेन । र त (दाँत कम्टेर करायो) तँ जोगी किन यति खुशी हुन्छस् । रुँदै याचना गर । अनि मलाई सन्चो लाग्छ ।
बाबाजु : (हाँस्दै) यति अतुलनीय पल सम्प्रेषण भएका छन् हजुरहरूको कृपाद्वारा । अनि कसरी रमाउँछन् बिन्तीका कुराहरू । रुन त मेरो भाग्यमा नै छैन ।
ठूले : (मुड्कीले भ्वाक्कै हान्दै) लु खा !! अहिले कतिको मजा भो ? भुक्के मुड्की भेटिस् नि ।
बाबाजु : आहा !! शान्ति ! तातो बाफमा चलेको चिसो हावा, चिसो पानी, जाडोमा दुई, फुई र रुईको मजा जस्तै अमिट अनुभूति दियो । प्रफुल्ल बनाउने जादु रहेछ, तपाईंको मुड्कीमा ।
सबै : (झनै रिसाउँदै एक दूर लागेर माड्दै) लु खा ! मजा ! भेटिस् पूर्वे हावा चल्दासम्म बल्झन्छ हाम्रो कोदो मडाई लट्टे मूले ।
बाबाजु : आयो ! आयो !! बिर्सनै नसक्ने मजा आयो । यस्तो स्वर्गिक अनुभूति कहिल्यै भा थिएन । ठ्याक्कै नानीले आमाको दूध चुसेको सन्तुष्टि । बाख्राका पाठपाठीलाई रम्हात चल्या जस्तै । भमराले फूलको रस चुसेर आनन्द लिए जस्तो । अझै आग्रह गर्दै छु हजुरहरूसँग जसरी चराको बच्चाले आमाको अगाडि चारोको आग्रह गर्छ । गोद्नोस्, भकुर्नोस् लादी फर्कुञ्जेल । मरे भनेँ सिधै मान्छेकै जुनीमा आउनेछु ।
गाउँले : (डिलमुनि फ्याँक्दै) लु जा स्वर्गमा ।
बाबाजु : (हाँस्दै) मैले पाएको मुरी मुरी आनन्दले धेरै खुशी भएँ । र जाँदा जाँदै तपाईंहरूलाई वरदान दिएर जान्छु– “यो गाउँको मान्छे कतै जान नपरोस् । सबै सुविधा प्राप्त होस् । भोकभोकै पनि खुशी रहोस् । प्रगति नभए पनि सन्तुष्टि रहोस् । जता गए पनि बास बस्ने, एउटै जन्मघर होस् ।”
गाउँले : (खुशीले नाच्दै) खुशी हाम्रै गाउँमा होस्, सन्तुष्टिले पुरिरहोस् । वरपीपल जस्तै निश्चित रहोस् । आफ्नै गाउँपाखामा रमाइरहौँ ।
बाबाजु : (हाँस्दै) सकी नसकी उठेर धुलो झार्यो । रगत पुच्छ्यो ओठको । तार छिनाई दिएको एकतारे र कमन्डोल बोकेर हिँड्यो ।
ठूले : (जङ्गिँदै) हन त्यो जोगीको मुस्कानले छाती चिरियो । एउटा दाँत झारेर आउँछु है ।
अरूले : (हात समात्दै) भो छोड्दे । गइसकेकोलाई, मुक्त भइसकेकोलाई, अपराध काटिसकेको अपराधीलाई त्यही विषयमा कार्यवाही गर्न मिल्दैन ।
ठूले : (नाच्दै) नत्रा चपरे दाँत खसाइदिन पर्यो भनेँ थेँ ।
बाबाजु अर्को गाउँको ठाँटीमा बिसाउँदै पीडामय सुस्केरा तान्यो – “मार्यो नि, कस्ता गाउँले ? के साह्रो कुटेको, धन्न बाँचेँ । विवेकको अनिकाल लागेको गाउँ ।” के के भन्दै बरबरायो ।
नजिककै गाउँलेले थाहा पाए, घायल बाबाजु ढाँटीमा छटपटाई रहेछन् ।
गुहार पाए बाबाजुले ।
पाटीमा सबै सहयोगद्वारा उपचार हुन थाल्यो बाबाजुको । महमा ढिकी च्याउ कीरालाई कुटेर कपर्छन् गरेर बाबाजुले थाहा नपाईकन ख्वाइयो, भित्री दग्धीहरू मेटाउन । भाँचिएको हातमा हातजोडेको बोक्रा कुटेर लेप बनाई कमारो कसियो । नील डामहरूमा, खैरको ऐजेरुबाट बनाइएको लेदो लगाई सुस्तरी मर्दन गरे । घाउहरूमा रुदिलोको छोल र गहिरोमा घाउमा बाँसको बोक्रोको धुलो, ढुङ्गामा लागेका लेउ खुर्केर मिहिन धुलो लगाई पट्टि बाँधियो । कसैले त तीनपाने रक्सी खुआउने दग्धी पर्या अङ्गामा मालिस गर्ने कुरो गरे । तर बाबाजु मान्नु भएन, बरु मर्ने कुरो गरे ।
शुद्ध कालीगाईको घ्यू, दूधमा बेसार लगाई खुवाउन थालियो । खानामा कसुडीमा पकाको बुरबुरे मकैको सामलको भात, मार्सी चामलको भात, त्यस्तै रानी पिठोको रोटी । फल फूलहरू मजाले पकाएर सेवा हुन थाले गाउँलेहरूले बाबाजुलाई ।
दुई महिना पश्चात् तन्दुरुस्त भो बाबाजु । त्यहाँबाट अन्तै सर्ने कुरो भो । गाउँलेहरूले त्यहीँ राख्ने प्रयास गरे भूदान, अन्नदान, श्रमदान आर्थिकदान गरी कुटी बनाएर । तर बाबाजु मानेन । घुमन्ते जोगीको कतै ओत हुँदैन भन्दै ।
बाबाजु : (हिँड्ने दिन) गाउँलेले दिएको आर्थिक दान गोजीमा हाले । गाउँलेले नै बनाई दिएको नयाँ एकतारेलाई छातीमा टाँसेर म्वाइँ खाए । ओढ्ने ओछ्याउनेको कुम्लो बोकेर उठे । अनि धरधर रुँदै मेरो खुट्टो मर्दन गर्यौ । छोराले भन्दा धेरै सहारा गर्यौ । माया दियौ । आमाले जस्तै आफ्ना नानीहरूका मुखबाट खोसेर मलाई ख्वायौ । दवाई र उपयुक्त खोराक कहाँ कहाँ खोजेर ल्यायौ – टोट्कोमा बन्द पोथी र चिँगनाहरू पाल्ने भाले हङ्रायोले झैँ । कुनै रात नछुटाई मलाई रुँग्यौँ क्रियापुत्रलाई जस्तै । त्यसैले तिमीहरूसँग म मर्माहत छु, दुःखी र विक्षिप्त छु । यसो र यो नराम्रो ठाउँ र सङ्गत छोड्न अघि महासराप दिन्छु ।”
गाउँले : (सरापको शब्द सुन्ने बित्तिकै झस्किए । हतार हतार जम्लेहात गर्दै) हे महासन्त ! महात्यागी !! भुलचुकमा रिसाउनी माफ । नतमस्तक छौँ । साधुसन्त आमाबुबाको सराप र गुलेलीबाट निस्केको मट्याङ्ग्रो झैँ अचुक हुन्छ अरे । सराप नदिनोस् सन्तज्यू । हामी युगौं युग उठ्न नसक्ने हुनेछौँ ।”
बाबाजु : (ह्वाँ ! ह्वाँ !! रुँदै) तिमी फटाहा गाउँलेहरू हो । छिः यहाँको माटो, ठेस लाग्ने बाटो छिः छिः छिः चराचर । मलाई दुई महिना यातना दियौ । त्यसैले सराप दिनै पर्छ ।
गाउँले : (एकमुष्ट प्रणाम गर्दै) सराप नदिनोस् । काल दिनोस् सहर्ष स्वीकार छौँ महात्मा ।
बाबाजु : (डाको छोडेर रुँदै) थुक्क ! अगति हो ! तिमीहरूको काल भएर भूत हुनु छैन मैले । ती तिरस्कृत रगतका बाछिटाले मेरो साधुत्वलाई अशुभ बनाउनु छैन । काल त व्यक्तिको अन्त हो । मेरो सरापलाई त अनन्तकाल बनाउनु छ । तिम्रा पुस्ता पुस्ताले भोग्ने पर्छ, भोग्नुपरोस् । यसैले तिमीहरू यो गाउँ छोडेर अन्त जान परोस् । एकै ठाउँमा कोही नहोस् । खेतीबारी टाटाढो होस् । काम गर्न बाहिर जान परोस् । जहिले पनि सम्पत्तिको अभाव रहोस् । थोरै सम्पत्तिले पनि चित्त नबुझ्ने होस् । जतिले पनि चित्त नबुझोस् । चाड पर्वमा परिवार भेला भए पनि हिँडिहाल्न परोस् । कामको चटारो भइरहोस् खेती, गोठ, कटेरो, याक्सा टाढो टाढो होस् । जहिले पनि बित्दो रहोस् । यस्तै के के फत्फताउँदै बाबाजु हिँड्यो ।
गाउँले, शोकमय बने । भेला भएर मनन गरे, विचारको चाल्नोमा हालेर सत्कारमा कतै कमी भयो कि भन्दै । स्मृतिका पर्रा घुमाए मगजे ठेकोमा । परिणामः सही थियो । यद्यपि किन सराप पाइयो बाबाजुबाट ? मन मन मनभरि हल हुन नसकेका प्रश्नका धुइरोले गाउँलेलाई मुक्काई रह्यो ।
“उफ !!!” थुप्रै सुस्केराहरू फुत्केर हराए खुल्ला परिवेशमा । अनि गमे– “अब कसरी मस्किएला जीवन तसलबाट बाबाजुका सरापरूपी लिउन ?” गाउँले सबै स्याल झैँ रुन थाले । एकोहोरो रोइरहे चिच्याइरहे । तर कारण प्रष्टेन, आइरह्यो गइरह्यो ।
समय आफ्नै पनमा बग्दै गयो–
बाबाजुको सराप पाउने गाउँलेहरू सुदूर गएर कमाउन थाले । जता पुगे त्यतै त्यो गाउँको बीउ रोपे । गाउँबाट शहर गए शहरबाट आज महानगरमा आए । प्रगति नै प्रगति भो । प्रत्येक ठाउँमा सराप पाउने गाउँका बिर्जे र रजलाई सलाम ठोकिन्छ, ठोकिँदै छ ।
आज त्यो गाउँका वृद्धिजिवी सन्तानहरू मनन गर्छन्– त्यो बाबाजुले सराप भनेर बर्दान पो दिएका रहेछन् । यो गाउँ र यहाँको सिर्जनालाई ।
बाबाजुलाई कुटेर बर्दान लिने गाउँ भने त्यहीको त्यही भएछ । त्यहाँका मान्छे कतै गएनन् । त्यही माटोलाई कोट्याई रहे । सन्तान बढ्यो अनि दुःख पाए झन् झन् छन्, कुवाको भ्यागुतो भएर । त्यहाँका मान्छेहरू आज पश्चात्ताप गर्छन्– नराम्रो कर्मको नराम्रो फल भन्दै । बाबाजुलाई हेला नगरी सेवा गरेको भए हामी पनि त्यो गाउँ जस्तै संवृद्धि पगरी गुथ्यौँ सराप पाएर । त्यहाँका आजका सन्तति भन्छन्– “ए बाबाजु पुनः आऊ, सेवा लेऊ र हामीलाई पनि कठोर सराप दिएर जानुहोस् ।”
तर गएको समय, बहेको बतास, बगेको खोला, बुढेसकाले चोला के फर्कन्थ्यो कामना गरेर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










