हरिया चियाका
कलिलामुनाहरूसँग खेल्नेहरू
चियाबारीका झुपडीहरूमा
जिन्दगीका घामछाया काट्नेहरू
खोला किनारमा
उभिएका सुकुम्बासी बस्तीहरू
बगरमा ढुंगा कुटेर
साँझ बिहान छाक टार्नेहरू
लुगा सिउनेहरू
आरन चलाउनेहरू
थप्लोभरि भारी बोकेर
ठाडो उकालो चढनेहरू
ओरालो झर्नेहरू
बजार जाँदा आउँदा
बाटाभरि भेट हुन्छ
मेलापातहरूमा ख्यालठट्टा हुन्छ
गाई गोठालो
र घाँस दाउराहरूमा गफगाफ हुन्छ
चिया पसल
र भट्टी पसलहरूमा देखादेख हुन्छ
यी नाङ्गा आङहरूसँग
मेरो परिचय छ
भोका पेटसँग मित्रता छ
अभावको खाडलसँग
सबैभन्दा नजिकको सम्बन्ध छ
झन्डै
फुट्ला फुट्ला जस्तोगरी
मेरो टाउको दुख्छ
यी अनुहारहरूको अँध्यारो कहिले
हट्छ ?
कहिले घाम लाग्छ
यी बस्तीहरूको आँगनमा ?
झन्डै
फुट्ला फुट्ला जस्तोगरी
मेरो टाउको दुख्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 








