मेरो नाडीमा बाँधेको घडीमा
ठिक १२ बजेको छ यतिबेला
यो समय
मध्य दिनको १२ बजे पनि हुनसक्छ
मध्य रातको १२ बजे पनि हुनसक्छ

तिम्रो नाडीमा बाँधेको घडीमा
समयको काँटा सुल्टो घुमिरहेको होला
मेरो नाडीमा बाँधेको घडीमा
समयको काँटा उल्टो घुम्छ

म यतिबेला उल्टो सोच्ने गर्छु
र म तिमीभन्दा ठिक उल्टो हिँड्ने गर्छु

यी उजाड पहाडहरूको प्रशंसामा
तिमी सुन्दर कविता लेखिरहेका छौ
म यिनै पहाडहरूको हाँसोमा
दु;खको गीत लेखिदिन्छु

तिमी प्रत्येक जीवनको अर्थ
हरियो पातमाथि टल्किएको शितको थोपा भन्छौ
म जीवन
संघर्षको पर्यायवाची भन्छु
ढुंगाको कापमा उम्रिएको पिपलको बिरुवा ठान्छु

तिमी बाँच्न चाहनेहरूलाई
बाँच्नु हुँदैन भनेर पढाउँछौ
म मरिसकेकाहरूलाई बच्नुपर्छ
एकपल्ट ब्युँझनु पर्छ भनेर घच्घच्याउँछु

मेरो नाडीमा बाँधेको घडीमा
ठिक १२ बजेको छ यतिबेला

मेरी गाउँकी एउटी बुढीआमा भन्थिन्
मध्ये रातको १२ बजे
घरबाट बाहिर निस्कनु हुँदैन
राक्षसहरूको चहलपहल हुन्छ
दिन बिग्रिएकाहरूको मुखबाट
आलो रगत छदाइदिन सक्छन्

हामीलाई थाहा छ
मध्य दिनमा घामसँग आँखा जुधाउन सकिँदैन
हत्केलाले छेकेर नियाल्न सकिँदैन सूर्य
मध्य दिनको १२ बजे
हामीलाई पछ्याइरहने कालो छायाँ
हाम्रो पैतालामुनि टेकिएको हुन्छ

मेरो नाडीमा बाँधेको घडीमा
ठिक १२ बजेको छ यतिबेला
यो समय
मध्य दिनको १२ बजे पनि हुनसक्छ
मध्य रातको १२ बजे पनि हुनसक्छ ।