यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो । धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो । म लेखक भएकाले पुस्तक प्रकाशनबारे लेख्दा प्राविधिक रुपमा अलि नमिल्दो होला । तर, आफ्नै पुस्तक प्रकाशन गर्दाका थुप्रै अनुभवहरु मसँग छन् । त्यस्तै साथीभाइ र प्रकाशकहरुसँगको संगतले पनि धेरै कुरा बुझ्न पाएको छु । त्यसकै आधारमा यहाँ केही कुराहरु राख्दै छु ।
– यदि तपाईंले लेखक बन्नका लागि आवश्यक आधारहरु पार गर्नुभयो भने पुस्तक प्रकाशनका लागि निकै सहज हुन्छ । पुस्तक प्रकाशनअघि नै तपाईंका लेख–रचनाले मिडियामा स्थान पाइसकेका छन् । यसको मतलब तपाईं धेरैको नजरमा परिसक्नु भएको छ । प्रकाशन गृहले तपाईंमाथि नजर घुमाइसकेको छ ।
– तपाईंले आफ्नो पाण्डुलिपि आफूभन्दा सिनियरलाई दिइसक्नु भएको छ । यदि तपाईंले राम्रो लेख्नुभएको छ भने उहाँहरुमार्फत नै प्रकाशककहाँ कुरा पुग्छ । चिया गफ गर्दा तपाईंको लेखाई र सम्भावबारे चर्चा गरिन्छ । यसरी पनि कुरा प्रकाशककहाँ पुग्छ र तपाईंको आफै खोजी हुन सक्छ ।
– अब तपाईंले सुरुमा केही राम्रा (नाम चलेका) प्रकाशन गृहलाई फोन गर्नुपर्ने हुन्छ । फोनमा आफ्नो परिचय दिनुहोस् । तपाईंका रचना मिडियामा आइसकेकाले सायद तपाईंलाई उहाँले चिनिसक्नुभयो । यदि छैन भने पनि जानकारी दिनुहोस् अनि पुस्तकबारे बताउनुहोस् । सकेसम्म पुस्तकबारे फोनमा भन्दा पनि भेटेर कुरा गर्दा अझ राम्रो ।
– यदि तपाईंले चिनेको वा नजिकको ब्यक्ति छ र उसको सम्बन्ध प्रकाशन गृहसँग छ भने उमार्फत जाँदा पनि राम्रो हुन्छ । त्यसो गर्दा रेस्पोन्स राम्रो आउँछ । नचिनेपछि कृति राम्रो छ भने पनि त्यसको वास्ता नहुन वा महत्त्व नपाउन पनि सक्छ तर, चिनेपछि राम्रो कृति सकेसम्म मर्न पाउँदैन ।
– सम्पर्क गरेपछि प्रकाशन गृहले कि तपाईंलाई कुनै अंश मेल गरिदिन भन्छ वा भेट्न बोलाउँछ या म पछि फोन गर्छु भन्ने जवाफ आउँछ । यस्तोमा तपाईं चुक्नुहुन्न । सकेसम्म भेटेरै पाण्डुलिपि दिने वातावरण बनाउनुपर्छ । यदि पछि फोन गर्छु भनेर फोन आएन भने पनि तपाईंले आफैँ सम्झाउनुहोस् । तर, त्यति गर्दा पनि कुनै रेस्पोन्स आएन भने बुझ्नुहोस्, गृहले तपाईंप्रति चासो देखाएन । अब बारम्बार फोन गरिरहनुको कुनै तुक छैन ।
– यदि तपाईंलाई मेल पठाउन भनिएको छ वा पाण्डुलिपि लगिएको छ भने फलो गर्नुहोस् । धेरै लामो समय झुलाउने सम्भावना रहन्छ । उत्तर हुन्छ वा हुँदैनमा खोज्नुहोस् । यहाँ हेर्दै छु भनेर ६ महिना, १ वर्ष झुलाउने प्रकाशन गृह पनि छन् । त्यस्ता पीडित लेखकहरु मैले पनि थुप्रै भेटेको छु ।
– तपाईंको पाण्डुलिपि रिजेक्ट भयो भने तपाईं अन्य विकल्पमा जानुहोस् । एउटा प्रकाशन गृहलाई मन नपरेको कृति अर्कोलाई मनपर्न सक्छ । त्यसैले अन्य २–३ वटा गृहसँग पहिल्यकै जसरी डिल गर्नुहोस् ।
– तपाईंको रचना मन पर्यो भने प्रकाशन गृह कृति प्रकाशन गर्न सहमत हुन्छ । त्यसपछि एउटा सहमति पत्रमा हस्ताक्षर हुन्छ । त्यसमा मुख्यगरी २ वटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । एउटा रोयल्टी र अर्को समयावधि । सुरुवाती चरणमा १० वा १५ प्रतिशत रोयल्टी दिइन्छ । वा आपसी समझदारीमा अन्य सहमति पनि गर्न सकिन्छ । त्यस्तै, कति समयसम्म तपाईंको कृतिको हकदार प्रकाशन गृह रहने भन्नेमा ५ वर्षसम्म सहमति गर्दा राम्रो । यसमा पनि आपसी सहमतिमा कुरा मिलाउन सकिन्छ तर, धेरै लामो समय नराख्नु होला ।
– कुनै प्रकाशन गृहले तपाईंको कृति प्रकाशन गरेवापत उल्टै तपाईंसँग पैसा माग्न सक्छन् । यति पैसा लाग्छ भनिदिन्छन् । त्यसको मतलब तपाईंको कृतिप्रति उनीहरु आशावादी छैनन् । त्यसैले त्यस कुरालाई मनन गरेर तपाईंले आफ्नो कृतिलाई अझ अब्बल बनाउनतर्फ लाग्नुपर्छ । यदि लेखक नै बन्ने हो भने आफ्नो कृति रोयल्टी नै लिनेगरी सहमति गरेर प्रकाशन गर्ने वातावरण बनाउन सक्नुपर्छ । लामो समयको मेहनत र परिश्रमलाई त्यत्तिकै मर्न दिनु हुँदैन ।
– प्रकाशन गृहसँग सहमति गर्दा कति समयमा कृति प्रकाशन गर्ने हो पहिल्यै स्पष्ट हुनुपर्छ । साथै रोयल्टी, पहिलो संस्करणमा कति प्रति प्रकाशन गर्ने, अधिकार समयावधि, स्वामित्व आदिबारे लिखित सहमति गर्नुपर्छ । यसो गर्दा भोलि तपाईं कानुनी रुपमा बलियो हुनहुन्छ ।
– प्रकाशन गर्ने सहमति भएपछि सम्पादनका क्रममा धेरै काँटछाँट वा थपघट हुनसक्छ । तपाईं आफ्नो कृतिको थिम मर्न नदिन सचेत हुनुपर्छ । साथै, कभर डिजाइन, कृतिको शीर्षकको विषयमा पनि विशेष ध्यान दिनुपर्छ । कन्टेन्टसँगै आकर्षक शीर्षक र कभर पनि आवश्यक छ ।
– लेखक र प्रकाशन गृहबीच सबैभन्दा महत्वपूर्ण भनेको आपसी विश्वास हो । प्रकाशन गृहले १ हजार पुस्तक छाप्ने सहमति गरेर २ हजार छापे, पहिलो संस्करण सकिएर थप प्रिन्ट गरेर छापे तर लेखकलाई भनेनन् भन्नेजस्ता कुराहरु बजारमा सुनिन्छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वास हो । तपाईं आफैँ पनि आफ्नो पुस्तक कति बिक्यो भन्ने बजारको मागअनुसार अनुमान लगाउन सक्नुहुन्छ । तर, यस्ता कुरामा तेस्रो व्यक्तिलाई सुनेर आवेगमा आउनु उचित हुँदैन ।
– तपाईंले आफ्नो किताब र प्रकाशन गृहबाट धेरै अपेक्षा गर्नु गलत हुन्छ । मेरो किताब ५ हजार वा यति बिक्छ भनेर पहिल्यै परिकल्पना गर्नु गलत हो । साथै, प्रकाशन गृहले प्रमोशन गरिदिएन, जिल्ला–जिल्लामा कार्यक्रम गरिदिएन भनेर होहल्ला गर्ने कुरा पनि फगत हुन् । सकेसम्म यस्ता कार्यक्रम आफैँ मिलाउनुपर्छ । वा पहिल्यै प्रकाशन गृहसँग सहमति गर्नुपर्छ । यदि तपाईंको पुस्तक राम्रो छ भने पाठकले माग गरिहाल्छन् ।
– पुस्तक छाप्ने सहमति भएपछि भाषा, सम्पादन, कभर डिजाइन, प्रिन्ट गर्दा कम्तिमा ६ महिनाको समय लाग्न सक्छ । केही प्रकाशन गृहले त २–३ वर्षसम्म पनि झुलाएका उदाहरण छन् । यसतर्फ पहिल्यै सचेत हुनुपर्छ ।
– तपाईंले आफैँ पुस्तक प्रकाशन गर्ने गल्ती कदापि गर्नुहुँदैन । अर्थात, त्रिविमा एउटा फर्म भरेर आइएसबिएन नम्बर लिएर आफ्नै नाममा पुस्तक प्रकाशन गर्न सकिन्छ । धेरैले सोच्ने गर्छन्, मै किताब निकाल्छु र बेचेर आएको फाइदा पनि मै लिन्छु । तर, त्यो सोच गलत हो । प्रकाशन गृहको देशव्यापीरुपमा आफ्नो संजाल हुन्छ । देशभर पुस्तक पठाउने काम गर्छन् । त्यै पनि त्यत्रो कारोबार गर्नेलाई पैसा उठाउन गाह्रो हुन्छ । तपाईं आफैँ हिँड्नुभयो भने पुस्तक पसलले किताब राख्ने सम्भावना कम हुन्छ, राखिदिए पनि पैसा पाउनुहुन्न ढुक्क हुनुस् । डिस्ट्रिब्युटरमार्फत जान्छु भने पनि उसले ४० प्रतिशत मुनाफा लान्छ, किताब बिकेको छैन, आएको छैन भनेर झुलाइदिन्छ र तपाईंको फस्नुहुन्छ । प्रिन्टदेखि विमोचन र सेटिङ गर्दासम्म तपाईंको तनाव त छँदैछ । मै हुँ भन्नेहरु पनि यसरी किताब निकाल्दा फँसेका छन् । ख्याल गर्नुहोला ।
– पुस्तक प्रकाशन गर्न कोही पनि तयार भएन भने निराश हुनु हुँदैन । यदि तपाईं लेखक नै बन्ने हो भने अझ धेरै पुस्तकहरु पढेर अझ राम्रो लेख्ने दुस्साहस कस्नुपर्छ । तपाईंलाई शुभकामना छ ।
(कृष्ण आचार्य ‘अप्रिल फुल’ उपन्यासका लेखक हुन्।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

