मुक्तक मूलतः चार हरफको आफैँमा पूर्ण रचना हो । एउटा सिंगो कवितामा जस्तै चार लाइनभित्र सबै भाव व्यक्त हुन्छ । हुन त चार हरफ मात्र होइन, दुई, तीन, पाँच, छ मात्र होइन, कहिलकाहीँ सात हरफसम्मका रचनालाई पनि मुक्तक भनिएको पाइन्छ । तर खासमा मुक्तक चार हरफमै सुन्दर देखिन्छ । यसैलाई नेपाल मुक्तक प्रतिष्ठानले केही समयअघि गरेको तीन दिने मुक्तक कार्यशाला गोष्ठीले पास गरेको थियो ।
चार हरफमध्ये पहिलो पंक्तिले विषयको उठान गर्छ । दोस्रो पंक्तिले त्यसको विकास गर्छ । तेस्रो हरफ पहिलो र दोस्रो भन्दा पृथक् हुनुका साथै अनुप्रासमुक्त हुन्छ । तेस्रो हरफ भनिसक्दा पाठक श्रोतामा कुतूहल जगाउँछ । त्यसपछि चौथोले भन्न खोजेको कुरा मज्जाले भन्छ ।
अझ सजिलो रुपमा बुझाउनका लागि मुक्तककारहरुले भनेका छन्— पहिलो हरफमा धनुमा ताँदो चढाइन्छ । दोस्रो हरफमा निशाना ताकिन्छ । तेस्रो हरफमा प्रहार गरिन्छ र चौथो हरफमा चरो खसालिन्छ । चौथो हरफमा चोटिलो समापन हुनुका साथै यसले पाठकलाई तीव्रतम रूपमा कुनै भावदशामा पुर्याइदिन्छ ।
कसरी लेख्ने मुक्तक?
सिर्जना भनेको प्रतिभा व्युत्पत्ति र अभ्यासको योगले नै पल्लवित हुन्छ । प्रतिभा बिज हो । व्युत्पत्ति जमिन हो र अभ्यास भनेको मल,जल गोडमेल र हावा पानी हुन् । यी सबैको योगबाट नै सुन्दर सिर्जना हुन्छ । सिर्जनाका केही स्थापित नियम हुन्छन् । यसको पहिलो नियम भनेको पहिलो, दोस्रो र चौथोको अनुप्रास मिल्नु हो । तेस्रा चाहीँ अनुप्रास मुक्त हुनु हो । अनुप्रासलाई मुक्त गराउनुको कारण के हो भने यसैले चरा मार्नतिर छाड्ने काम गर्छ ।
मष्तिष्कभन्दा मन र भावना हावि भएर लेखिएको रचना सफल र कालजयी भएको पाइन्छ । लेखनको अभ्यासी चरणमा मष्तिष्क हावि हुनु स्वाभाविक हो । कुनै विषयलाई लिएर संरचनामा ढाल्नु नै पहिलो प्रयास हो । पहिलो, दोस्रो र चौथो हरफका लागि तीन वटा राम्रा अनुप्रासहरू पनि चाहिन्छ । रोजिएका तीनवटा अनुप्रासहरूमध्ये पनि पहिलोमा कुनलाई प्रयोग गर्ने, दोस्रोमा कुनलाई प्रयोग गर्ने र चौथोमा कुनलाई प्रयोग गर्ने भन्ने कुरा कविको क्षमता र रचनाकौशलमा भर पर्दछ ।
मुक्तक आफैँमा छोटो आयामको सिर्जना भएको हुँदा कुनै पनि हरफलाई लामो बनाउनु राम्रो मानिदैन । यद्यपि लम्बाइको एकरूपता भने हुनुपर्दछ । शब्दको फारो नै मुक्तकको आत्मा हो ।
मुक्तकमा एकप्रकारको मध्यमस्तरको बहाब हुनुपर्दछ । झरनाजस्तो एकैपल्ट तल आइपुग्ने तीव्र वेग पनि होइन र सागरमा विलिन हुन लागेको नदीको जस्तो सुस्त गति पनि होइन । बरु पहाडबाट हुत्तिँदै बगेको कुनै वेगवान नदीको जस्तो बहाव हुनुपर्दछ मुक्तकमा । अथवा, खेत वा बारीको माथ्लो कान्लाबाट तल्लो कान्लामा, तल्लो कान्लाबाट झन् तल्लोमा फाल हानेजस्तो गरी पहिलो, दोस्रो हुँदै चौथो हरफसम्म भावहरू उफ्रदै जानु श्रेयष्कर हुन्छ । पढ्ने पाठक वा सुन्ने श्रोता हरेक हरफमा कौतुकमय र रोमाञ्चित भयो भने नै मुक्तक सामर्थ्यवान् मानिन्छ ।
अनुप्रास मिल्दैमा मुक्तक बन्छ भन्ने होइन । अनुप्रास मुक्तकको लागि साधन मात्रै हो, साध्य होइन । नेपालका चर्चित मुक्तकहरूका उदाहरण हेरौँ –
रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल एउटा मेरै भर बाँकी छ ।
(भीमदर्शन रोका)
प्रेमिल रसमा डुबेको भीमदर्शन रोकाको यो मुक्तकको पहिलो दोस्रो र चौथो हरफमा प्रहर, असर, भर मध्यानुप्रास र पहिलो दोस्रो र चौथो पंक्तिमा ‘बाँकी छ’ अन्तयानुप्रास रहेको छ । पहिलो हरफमा उठान गरिएको एक प्रहर रातलाई दोस्रो हरफको तीन प्रहरले विस्तार गरेको छ । तेस्रो हरफले पहिलो र दोस्रो हरफसँगको तादात्म्यता राख्दै चौथो हरफको लागि कुतुहलता जगाएको छ । चौथो हरफले एउटा मीठो प्रेमिल भावको अति सशक्त ढंगले प्रक्षेपण गरेको छ । मुक्तक पढिसकेपछि मन र मस्तिष्क दुवै तृप्त भएको पाठकलाई अनुभूति हुन्छ ।
रात र चाँदनीलाई विम्ब बनाएर लेखिएको यो मुक्तकले रातको वर्णन गरेको हो कि जस्तो लाग्दालाग्दै आफ्नी प्रेमिकाप्रति गहिरो आशक्ति व्यक्त गरेको देखिन्छ ।
अब अर्को उदाहरण हेरौँ-
पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ
प्रत्येक रंगीन चरालाई वनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा–गर्दा यस्तो बानी परिसक्यो कि अब त
बाटामा कुनै गधा देखे पनि हजूर भन्न मन लाग्छ ।
(भूपि शेरचन)
भूपि शेरचनको बहुचर्चित प्रस्तुत मुक्तकमा गजुर, मजुर र हजूरजस्ता तीनवटा मध्यवर्ती सशक्त अनुप्रासहरू रहेका छन् भने पहिलो, दोस्रो र तेस्रो हरफमा ‘मन लाग्छ’ अन्त्यानुप्रासका रूपमा रहेको छ । मुक्तकमा मध्यानुप्रास अनिवार्य होइन तर यसले मुक्तकको शक्ति र मिठासलाई सदैव प्रवर्द्धन गर्दछ । यस मुक्तकमा पहिलो पंक्तिले पहेँलो धातुको रङ र पहेँलो रङको गजुरको तथ्यगत विम्बलाई अगाडि सारेर विषयको उठान गरेको छ । दोस्रो हरफमा पनि रङकै धागो समातिएको छ र वनको मजुरको बहुरंगी आकर्षक विम्बलाई सजिलै पाठकको आँखामा उपस्थित गराइएको छ । तेस्रो हरफ भनेको मुक्तककारको आग्रह, विचार, भावना, जिकिर, भनाइ र मनोदशा प्रकट हुने पंक्ति हो । मुक्तककारले यहाँ चौथो हरफको निष्कर्षलाई पुष्टि हुने गरी आफ्नो मनोदशा देखाएका छन् । चौथो हरफमा पाठक कविको संकथन पढेर वा सुनेर सम्मतिसूचक टाउको नहल्लाई धरै पाउँदैनन् । मुक्तकले समग्रमा एउटै अर्थ उद्बोधन गरेको छ र त्यो हो चाकडीप्रधान शासन व्यवस्थामा एउटा आम नागरिकको नियति ।
यस मुक्तकमा संरचनागत अर्को सौन्दर्य के पनि छ भने प्रत्येक हरफमा आठ शब्दहरू रहेका छन् र पूरै चार हरफहरूको संयुक्ततामा एउटा पूर्ण आयात निर्माण भएको छ ।
अब अर्को मुक्तक हेरौँ-
तिमी छैनौँ जिन्दगीमा, उल्लास छँदै छैन
अरू सब ऋतुहरू छन्, मधुमास छँदै छैन
अमृत नै भए पनि, मागेर पिउँदिन म
यसको यो अर्थ हैन, मलाई प्यास छँदै छैन ।
(चेतन कार्की)
यस मुक्तकमा पनि मध्यानुप्रास र अन्त्यानुप्रासको कुशल संयोजन गरिएको छ । मध्यानुप्रासका रूपमा उल्लास, मधुमास र प्यास रहेका छन् भने अन्त्यानुप्रासमा छैन रहेको छ । एउटी प्रेमिकाको रिक्ततालाई पहिलो हरफले उठान गरेको छ । त्यसै रिक्ततलाई दोस्रो हरफले थप बल दिएको छ । सब ऋतुहरू भएर पनि प्रेमिका छैन भने मधुमासको निस्सारतलाई प्रष्ट्याउन खोजिएको छ । तेस्रो हरफमा अरू कुनै कुराले म सन्तुष्ट हुन्न जुन आफ्नी प्रेमिकाको उपस्थितिले हुन सकिन्थ्यो भन्ने भावदशाले मुक्तककार आफ्नी प्रेमिकाको विकल्पमा कुनै पनि सुन्दरी हुन नसक्ने उद्घोष गर्छन् भलै उनीभित्र प्रेमप्राप्तिको प्यास पर्याप्त किन नहोस् ।
यस मुक्तकमा पहिलो हरफदेखि चौथो हरफसम्मै एउटा भावको सूत्रलाई समातिएको छ । प्रेमिकाको अनुपस्थितिले सिर्जना हुने उल्लासशून्यता नै समग्र मुक्तकको सार रहेको छ । मुक्तकमा शब्द र भावहरू सलल बगेका छन् ।
थप एउटा मुक्तक हेरौँ-
रोग त बदल्न सक्दिन म, जरुर अर्को जडी बदल्नु छ
बदल्न सक्दिन समस्या नि, कुनै सही कडी बदल्नु छ
प्रज्ञा, यति जटिल संसारलाई कहाँ बदल्न सकिन्छ र ?
घाम त बदल्न सक्दिन म, मैले मेरै घडी बदल्नु छ ।
(राजन सिलवाल)
अग्रवर्ती तीन मुक्तकहरूमा जस्तै यस मुक्तकमा पनि जडी, कडी र घडी जस्ता मध्यानुप्रास रहेका छन् भने ‘बदल्नु छ’ लाई अन्त्यानुप्रासका रूपमा प्रयोग गरिएको छ । मुक्तकको प्रथम हरफमा मानिसहरूको निरूपाय सामर्थ्यलाई संकेत गर्दै त्यसको विकल्प प्रस्तुत गरिएको छ । दोस्रो हरफमा पनि अर्को उपायहीनता देखाइएको छ र त्यसको विकल्प इंगित गरिएको छ । तेस्रो हरफमा आफ्नै अन्तस्करणलाई सम्बोधन गरेर संसार बदल्नेजस्तो दुरुह कार्यलाई सटीक चित्रण गर्दै समय र प्रकृतिको श्रेष्ठताको अगाडि मानिसहरूको नगण्य सामर्थ्यको स्वीकारोक्ति छ अनि समयसँग तादात्म्य हुने विकल्पतर्फ इंगित गरिएको छ । मुक्तकमा सोझो उपदेश छैन र आफैँलाई पात्र बनाएर भाव अभिव्यक्त गरिएको छ ।
शब्द र अक्षरहरूमा किञ्चित असमानता भए पनि चारै हरफहरू उस्तै लम्बाइका भएर एउटा सुन्दर आयात यस मुक्तकमा पनि निर्माण भएको छ । पहिलो, दोस्रो र चौथो हरफमा ‘बदल्न सक्दिन’को पुनरावृत्ति भएको छ र त्यसले मुक्तकलाई थप सौन्दर्य दिएको छ । हरेक मुक्तककारमा आ–आफ्नै शैली र विशिष्ट अभिव्यक्तिगत मौलिकताहरू हुने गर्दछन् ।
पौडीको जतिसुकै सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि पानीमा हाम नफाली पौडीने कला सिकिँदैन । मुक्तक लेखनमा पनि सैद्धान्तिक ज्ञान आवश्यक छ र त्यसले आत्मविश्वास जगाउँछ । निरन्तरको अभ्यास र लगावले नै सिकाइ माझिँदै जाने हो । आज जो-जो राम्रो मुक्तक लेखिरहेका छन् उनका सुरुवाती मुक्तकहरू पनि सामान्य नै हुने गर्थे भनेर बुझियो भने एकदिन आफू पनि सशक्त मुक्तककारहरूको पंक्तिमा रहनेछु भनेर आत्मविश्वास राख्न हिच्किचाउनु पर्दैन ।
(मुक्तककार केसी साहित्यपोस्टकी मुक्तक सम्पादक हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

