किन केही पुस्तकहरुमा समेटीएका कथाहरुले हाम्रो मन-मस्तिस्कलाई धेरै समयसम्म हल्लाइदिन्छन?
किन केही लेखकहरुलाई हामी (पाठकहरुले) शब्दको जादुगरको दर्जा दिन्छौँ ?
एउटा पाठकको हैसियतले मैले थाहा पाएका र बुझेका कुरा यहाँ पस्केको छु ।
पाठकलाई पहिलो वाक्यदेखि नै ‘हूक’ गर्न सक्ने क्षमता हुनु बेस्ट सेलर वा पुरस्कार विजेता पुस्तकको रहस्य हो ।
‘हुक’ भनेको केहो?
हुकको शाब्दिक अर्थ ‘बल्छी’ हो ।
जसरी बल्छीले सुन्दर तलाउमा रमाइरेहेको माछालाई एक्कासि आफ्नो तिखो टुप्पोले घायल बनाएर आफूतिर खिच्दछ, पुस्तकमा भएको हुकले पनि त्यस्तै काम गर्छ। यसले पाठकहरुलाई आफ्नो वशमा पार्छ, मन्त्रमुग्ध बनाइदिन्छ। प्रायजसो हुकहरुमा मानवीय भावनासँग खेल्न सक्ने क्षमता हुन्छ।
भनिन्छ, मानवजाति भावनात्मक प्राणी हो। तसर्थ, हामी बेलाबेलामा आफ्ना भावनाको दास बनिरहन्छौँ।
तसर्थ, जब कुनै पुस्तक भावनात्मक हुकबाट सुरु हुन्छ, हामी त्यसको लहरहरुसँगै अनायासै बग्न थाल्छौँ ।
धेरै पश्चिमेली बेस्टसेलरहरुमा पाठकलाई सुरुमै ‘हुक’ गर्ने खालका वाक्यहरु प्रयोग भएका हुन्छन् ।
नेपाली बेस्टसेलर तथा मदन पुरस्कार विजेता पुस्तकहरुको हकमा पनि यो कुरा लागू हुन्छ।
उदाहरणका लागि अमर न्यौपानेको ‘करोडौँ कस्तुरी’ भन्ने पुस्तकको विषय प्रवेशलाई नियालौँ।
यस पुस्तकमा प्रयोग गरिएको ‘हुक’ बडो गजबको लाग्छ मलाई।
‘भोकले रुनु, शोकले रुनु, दु:खले रुनु, बाआमाको गाली अनि पिटाइले रुनु, शिक्षकले दिएको सजायले रुनु र कथाकविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदोरहेछ, जुन मैले पहिलोपटक महसुस गर्दै थिएँ।
ती फरक-फरक आँशुलाई पनि रगतलाई झैँ परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के-के देखिन्थ्यो होला ?’
कति सुन्दर, कति आसाधारण उठान !
सुरुमै प्रिय लेखकले शब्दको जादु चलाएका छन् अनि पाठकहरुलाई प्रश्नहरुको भुमरीमा होमिदिएका छन्।
यी लाइनहरु पढ्नेबित्तिकै मैले सोच्न थालेँ, ‘ओहो, रोदनका पनि यतिविधि तहहरु हुँदारहेछन्। केही रोदनभित्र खुशी पनि मिस्रित हुँदारहेछन्।’
अफगानी लेखक खालिद हुसेनीद्वारा लेखिएको एउटा अर्को विदेशी पुस्तक ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ लाई हेरौँ। यस पुस्तकमा पनि लेखकले सशक्त हुक प्रयोग गरेका छन्।
‘मरियम पाँच वर्षकी थिइन्, जब तिनले पहिलो पल्ट ‘हरामी’ भन्ने शब्द सुनिन्।’
यो वाक्यले पनि पाठकको मनमा एउटा प्रश्न खडा गरिदिन्छ।
किन यति सानी नानीलाई ‘हरामी’ भनिएको होला ?
यही प्रश्नबाट आन्दोलित पाठक खुरुखुरु पुस्तक पढ्न सुरु गर्छ। मैले पनि त्यसै गरेँ।
लेखक बुद्धिसागरले पनि आफ्नो पुस्तक कर्नाली ब्लुजमा राम्रो ‘हुक’ प्रयोग गरेका छन्।
‘कोहलपुर टिचिङ हस्पिटलको ठूलो गेटमुन्तिर म ठिङ्ग उभिए। मेरो सास फुलिरहेको थियो । नीलो जिन्स पाइन्टको घुँडानेर धब्बा बसेको थियो । सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो । पिठ्यूँको झोलाको हाल के होला, मैले हेर्ने जाँगर चलाइनँ।’
यी माथिका लाइनहरु पढ्नासाथ कथामा रहेको पात्रको मानसिक हलचलसँग मेरो साक्षात्कार भयो ।
हस्याङफस्याङ गर्दै जसोतसो हस्पिटलको प्राङ्गणमा कसैले आफूलाई पुर्याएको थियो ।
त्यो पात्रको मानसिक र शारीरिक पीडाको बाछिटाले मेरो मनलाई पनि सिञ्चित गर्यो ।
‘मिरर इफेक्ट’ भएजस्तो लाग्यो ।
‘यो मान्छे किन र कसरी यहाँ पुग्यो ? टिचिङ हस्पिटलमा कोही आफन्त सिकिस्त बिरामी पो छन् कि ?’ भनेर सोच्न थालेँ।
त्यसपछि हतार-हतार पुस्तक पढ्नुबाहेक मसँग अरु कुनै विकल्प थिएन।
पुरस्कार विजेता उपन्यासको अर्को साझा विशेषता भनेको त्यसभित्रको सशक्त थिम पनि एक हो ।
थिम भनेको के हो त ?
थिमलाई सामान्यतः विषयवस्तु भनेर बुझ्दा हुन्छ तर थिमलाई यहाँ यसरी बुझ्दा झन् राम्रो- कथाको विषयवस्तु जसलाई एक वा दुई वाक्यमा प्रकट गर्न सकिने कुरा।
भनिन्छ, राम्रा लेखकहरु थिमका बारेमा पहिले नै क्रिस्टल क्लियर हुन्छन् ।
‘मैले मेरो पुस्तकबाट के सन्देश दिने’ भन्ने कुरालाई राम्ररी पहिले नै निर्क्योल गर्छन् राम्रा लेखकले ।
फेरि एकपल्ट ‘करोडौँ कस्तुरी’तिरै लागौँ ।
यो पुस्तकको थिम असाधारण छ ।
‘प्रत्येक मान्छेभित्र एउटा कस्तुरी हुन्छ, अद्भूत चिज हुन्छ। त्यसैले उसलाई सफल बनाउँछ। हामीले हामीभित्र भएको कस्तुरी पत्तो लगाउन सक्नु पर्छ।’
माथि उल्लेखित खालिद हुसेनीद्वारा लेखिएको पुस्तक ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ भन्ने पुस्तकमा भने ‘अफगानी समाजमा नारीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ। त्यहाँ नारी भनेको फगत एउटा खेलौना मात्र हुन्’ भन्ने थिम बडो जोरदार तरिकाले प्रस्तुत भएको छ।
‘कर्नाली ब्लुज’मा भने ‘एउटा पुत्र र पिताको सम्बन्ध, पिताको संघर्ष’ देखाइएको छ।
यसले ‘छोराको आँखाबाट पिताको संघर्ष’ भन्ने थिम बोकेको छ।
अझै केही पुस्तकलाई हेरौँ। जस्तो कि ‘जीवन काँडा कि फूल’ । मलाई लाग्छ, झमक घिमिरेले जीवन काँडा कि फूल लेख्नुअगाडि ‘मेरो जीवनमा मैले भोगेको अनुभव अनुसार’ जीवन के होला? काँडा कि फूल ? त्यो रहस्योद्घाटन यो पुस्तकमार्फत गर्नेछु भनेर सोच्नु भयो होला। पुस्तकभित्र समेटिएका घटनाक्रमहरुले पनि बारम्बार यसै थिमलाई सम्बोधन गर्छ।
राधा पौडेलद्वारा लिखित ‘खलङ्गामा हमला’मा भने विविध थिमहरु छन्। द्वन्द्वले के दिन्छ ? नर्सिङ पेसा के हो ? मान्छेले मेहनत र हिम्मत कसरी र कस्तो गर्नुपर्छ? त्यसपछि मात्र बाटाहरु खुल्छन् भनेर प्रस्ट्याउन खोजिएको छ। हामी गरीब हैनौँ । हामी भन्दा पनि धेरै गरीब छन् – यो संसारमा । हामीले तिनीहरुका लागि केही गर्नुपर्छ । यिनै थिमहरुको सेरोफेरोमा कथा घुम्दछ ।
शिरीषको फूल
भनिन्छ, पहिलो र दोस्रो विश्वयुद्ध पश्चात निरसता, निराशता र विसंगतिले भयावह रूप लियो ।
युद्ध लडेर घर फर्केका सैनिकहरुलाई युद्धको धङधङीले धेरै हदसम्म सतायो अनि भावनात्मक रूपमा एक किसिमले विक्षिप्त बनायो । त्यो विश्वयुद्धले उपहार स्वरूप दिएको खालीपनलाई इंगित गर्दै, दोस्रो विश्वयुद्धको सेरोफेरोमा धेरै समय बिताएका एउटा भूतपूर्व सैनिकको मनसिकतामा टेकेर कोरिएको उपन्यास हो, शिरीषको फूल।
सुयोगवीरले विश्वयुद्ध कालमा धेरै नारीहरुसँग रंगीन रातहरु बिताइसकेको भए पनि साँचो प्रेमको अदभूत स्वाद चाखेको हुँदैन । ऊ साँचो प्रेमको खोजीमा हुन्छ र भाग्यवश उसले सकम्बरीलाई भेट्छ तर गुमाउन पुग्छ । अधुरो मान्छे थियो, अधुरै रहन्छ। मानिस जहिले पनि साँचो प्रेमको खोजीमा हुन्छ।
शायद प्रेम भन्ने चिज दुई आत्माको मिलन हो, दुई शरीरको मिलन मात्र हैन। पारिजातले भन्न खोजेको कुरा यही हुनुपर्छ। पुस्तकको थिम यही होला।
खलिन जिब्रानले पनि ब्रोकन विङ्स पुस्तकमा प्रेम के हो ? प्रेम कस्तो हुनुपर्छ? भन्ने थिमहरु प्रस्तुत गरेका छन्।
यसमा चरित्रहरू भावनात्मक रूपमा निकै छन् । मानव भावनात्मक प्राणी भएकाले हामी कुनै न कुनै तरिकाले ती पात्रहरुसँग भावनात्मक रूपमा जोडिन्छौँ । राम्रा कथाकारहरुले यो कुरा बुझेका हुन्छन् ।
संकटको घडी
हरेक राम्रा सिर्जनामा एउटा महत्त्वपूर्ण कडीका रूपमा संकटको घडी आइपुग्छ । कथाका मुख्य पात्र अचानक कुनै विषम परिस्थितिमा फँस्न पुग्छन्। पुस्तक पढ्दै गर्दा हामी कहिलेकाहीँ एक्कासि झस्किन्छौँ।
अब यो पात्र कसरी यो परिस्थितिबाट बाहिर निस्किन्छ होला? अब शायद पात्रले हार मान्छ होला? यस्तै यस्तै कुराहरु हाम्रो मनमा खेल्न थाल्छ।
जब सुयोगवीरले प्रेमको लहरमा डुबेर एक्कासि सकमबरीको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा चुम्बन गर्छ, त्यहाँ एक्कासि संकटको घडी सुरु हुन्छ । सुयोगवीरलाई ‘के गरुँ, के भनुँ’ जस्तो भयो।
त्यो दोधारको अवस्थालाई उसले यसरी व्यक्त गर्छ, ‘डरलाग्दो सपनाबाट बिउँझे जस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ, मुटु कामिरहेको थियो । के गर्ने? स्थितीलाई साट्न सकिँदैन, त्यो धृष्टतालाई अब फिर्ता लिन सकिँदैन ।’
यो एउटा राम्रो ‘क्राइसिस’को उदाहरण हो।
यसले एक्कासि सुयोगवीरको बारेमा पाठकहरुको मनमा साहनुभूति (सफ्ट कर्नर) उत्पन्न गरिदिन्छ ।
पाठकहरुले आफ्ना प्रिय पात्रले जसरी पनि त्यो विषम परिस्थितिमाथि विजय प्राप्त गरोस् भन्ने चाहना राख्छन् ।
त्यसैले पाठकहरुले पढ्ने कार्य जारी राख्छन् ।
द्वन्द्व
राम्रा उपन्यासमा द्वन्द्व हुन्छ । द्वन्द्व भनेको कथाका मुख्य पात्रहरुले सामना गर्नैपर्ने दोधारे स्थिति हो । प्रेम वा परिवार, आत्मसमर्पण वा आत्मदाह दुईमध्ये एक चुन्नुपर्ने बाध्यता द्वन्द्वका उदाहरण हुन्।
यसले पुस्तकमा भएको कथावस्तुलाई प्रभावित गर्दै विभिन्न अपत्यारिलो मोडहरु दिने गर्छ। यसले मुख्य पात्रलाई दुबै ‘ताप र चाप’ दिने कार्य गर्दछ । त्यही ताप र चापको फलस्वरूप, पात्रले निर्णय लिन्छ।
कथाहरुमा प्रयोग हुने द्वन्द्वलाई निम्न प्रकारले वर्गीकरण गर्न सकिन्छ।
१) पात्र-पात्र बीचको शारीरिक तथा मानसिक द्वन्द्व ।
२) कथाका पात्रहरु र प्रकृति बीचको द्वन्द्व ।
३) कथाका पात्र र तिनहरुले भोग्नुपर्ने परिस्थिति (समाज वा अन्य) बीचको द्वन्द्व ।
४) पात्रहरु र तिनीहरुकै आफ्नो भावनाहरुसँगको द्वन्द्व।
माथि उल्लेखित तीन प्रकारका द्वन्द्वलाई बाह्य द्वन्द्व भनी नामकरण गरिएको छ । यद्यपि, पात्रले आफ्नै भावनासँग गर्नुपर्ने द्वन्द्वलाई भने आन्तरिक द्वन्द्व भनिदोरहेछ।
द्वन्द्व जे जस्तो भए पनि यसले कथामा मसलाको काम गर्छ। राम्रा पुस्तकहरुमा द्वन्द्वको प्रयोग सटिक रूपमा गरिएको हुन्छ। यसले पाठकमा ‘अब के हुन्छ होला?’ भन्ने उत्सुकता जगाइदिन्छ।
त्यही प्रश्नको उत्तर खोज्न हामी पुस्तक पढाइलाई निरन्तरता दिन्छौँ ।
चेन्ज (मोमेन्ट अफ एपिफेनी)
पात्रहरुले कसरी विषम परिस्थितिबाट आफूलाई बाहिर निकाल्छन्? तिनीहरुले अन्ततः के सिक्छन्? जीवनका कस्ता मूलमन्त्र प्राप्त गर्छन् ? यसमा झल्किन्छ ।
जब कथा अन्त्यतिर पुग्छ, पात्रहरुले धेरै प्रश्नको उत्तर खोजिसकेका हुन्छन् । साथसाथै, पाठकहरुले पनि धेरै कुराहरु थाहा पाउँछन् । पाठकभित्र रहेको चेतनाको आयतन बढेर आउँछ।
मलाई लाग्छ, माथि उल्लेखित यिनै कुराहरुलाई सशक्त ढंगबाट प्रस्तुत गर्नसक्ने क्षमताले गर्दा नै केही लेखकहरु ” शब्दहरुको जादुगर” बन्छन् र तिनीहरुले लेखेका कथा, उपन्यास र अन्य सिर्जना पुरस्कार विजेताका हकदार तथा बेस्टसेलर हुन्छन्।
(सजीवन प्रधान एक विचारक, सेल्स तथा लिडरसिप कोच हुन् । उनले विगत लामो समयदेखि यस क्षेत्रमा संलग्न भई नेपालका तथा विदेशी विभिन्न संघसंस्थाहरुलाई व्यापार अभिवृद्धि, नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरिरहेका छन् । उनी नेपाली साहित्यका प्रेमी पनि हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

