१. विषय प्रवेश
साहित्यका श्रव्य र दृश्य भेदमध्येमा दृश्यकाव्यअन्तर्गत नाटक पर्दछ । नाटक पढिनेभन्दा पनि हेरिने विधा भएका कारण यसलाई दृश्यकाव्य भनिएको हो । प्रायः नाटकलाई मञ्चबाट प्रदर्शन गर्ने परम्परा परापूर्व कालदेखि नै चल्दै आएको हो । पाठ्य नाटकमा पनि लेखकीय कलाका कारण दृश्यजत्तिकै सबै कुरा प्रतिविम्बित हुने गर्दछन् । नाटकमा कोष्ठकमा दिइने परिवेश तथा तत्कालीन वस्तुस्थितिको वर्णनले पाठ्य नाटकलाई पनि दृश्य नाटक नै बनाइदिन्छ । नाटकहरू धेरैओटा अङ्क र दृश्यमा लेखिन्छन् । नाटकमा घटना, परिवेश र पात्रको गतिविधिअनुसार अङ्क र दृश्यहरूको व्यवस्थापन गरिएको हुन्छ । घटना र परिवेशले निकै ठुलो मोड लिएमा अङ्क नै परिवर्तन गरिन्छ भने चरित्रको आन्तरिक भूमिका र परिवेशको सानो मोडमा दृश्यको परिवर्तन गरिन्छ । यस लेखमा साहित्यको त्यही लोकप्रिय विधा नाटक लेखनका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. नाटकको सैद्धान्तिक स्वरूप र परम्परा
‘नट्’ मूल धातुमा ‘ण्वुल्’ प्रत्यय जोडिएपछि ‘अक’ आदेश भएर बनेको ‘नाटक’ शब्दको अर्थ स्वाङ, नाट्य, अनुकरण, नक्कल वा अभिनय भन्ने हुन्छ । सिद्धान्त कौमुदीमा ‘नट् अवस्यन्दने’ धातुबाट ‘नट्+ण्वुल्+अक’ निर्माण प्रक्रियाबाट ‘नाटक’ शब्द निर्माण भएको प्रक्रियागत नियम पाइन्छ । ‘अवस्यन्दन’को अर्थ पनि ‘नाट्य’ हो । साहित्यका सन्दर्भमा भने नाटकलाई रूपकका दश भेदमध्येमा पहिलो भेदका रूपमा लिने गरिन्छ । लोकप्रियताका कारण पूर्वीय होस् वा पाश्चात्य साहित्यमा होस् नाटकलाई सबैले चिन्छन्, बरु रूपकलाई चिन्दैनन् । पूर्वीय जगत्मा नाटकलाई नाट्य, नट्, नृत्त् आदि विविध सन्दर्भबाट चिनाइएको पाइन्छ । नाट्यको अर्थ नाटक नै हो । नट्ले विशेषतः अभिनयलाई लक्षित गर्दछ भने नृत्त्ले नत्र्तनलाई सङ्केत गर्दछ । यही कारणले नाटकलाई केवल अभिनयसँग मात्र जोडेर हेरिँदैन । नाटकलाई गायन, नत्र्तन, लीला, खेल, प्रहसन आदि सबै पक्षबाट हेर्ने गरिन्छ ।

नाटकको शब्दप्रयोगगत प्राचीनतालाई खोज्न थाल्ने हो भने वैदिक ग्रन्थहरूसम्म पनि पुग्न सकिन्छ । विभिन्न वेद, उपनिषद्, ब्राह्मण ग्रन्थहरू हुँदै कौटिल्यको अर्थशास्त्र (इसापूर्व चौथो शताब्दी) मा पनि नट, नत्र्तक, गायक जस्ता शब्दको उल्लेख पाइन्छ तर आचार्य भरतमुनिलाई भारतवर्षकै आदिनाट्याचार्य मान्ने गरिन्छ र भरतमुनिको ‘नाट्यशास्त्र’लाई हालसम्म पनि नाटकको आधिकारिक लक्षणग्रन्थ मानिन्छ । भरतमुनिको समय इसापूर्व पहिलो शताब्दी मानिन्छ । सोही समयको केही अघि वा सेरोफेरोमा नै भासद्वारा लिखित ‘प्रतिमा नाटक’लगायतका विभिन्न नाटकहरू देखापरेका हुनाले पूर्वीय जगत्मा नाट्य लेखन र नाट्यसिद्धान्त निर्माणको युग लगभग सँगसँगै भएको देखिन्छ । यसपछिका कालिदास, शूद्रक, भट्टनारायण, भवभूति, श्रीहर्ष आदि जस्ता नाटककारहरूले संस्कृत नाटक रचनापरम्परालाई उत्कर्षमा पुर्‍याएको देखिन्छ ।

अङ्ग्रेजीमा नाटकलाई ‘ड्रामा’ (Drama) भनिन्छ । प्रस्तुति वा अभिनय अर्थ दिने ग्रिक शब्द ‘ड्रामा’को अधिकांश व्याख्या अनुकरणका केन्द्रीयतामा भएको देखिन्छ । यसमा पनि अभिनय, गायन, नृत्य आदिलाई जोडेरै प्रस्तुत गरेको पाइन्छ । पश्चिमी जगत्मा हरेक साहित्यिक विधाहरूको जन्मसन्दर्भमा ग्रिसेली वा ल्याटिन साहित्यको सम्बन्ध जोडिने गर्दछ तर नाटकका सन्दर्भमा भने ग्रिसेली साहित्यमा भन्दा अगाडि इजिप्टमा नाट्यप्रयोग भइसकेको मानिन्छ । इजिप्टका प्राचीन नाट्यचक्रहरूको पाश्चात्य जगत्मा निकै ठुलो प्रभाव देखिन्छ । ४००० वर्ष इसापूर्वको मानिएको ‘पिरामिड टेक्सस्’भित्रका नाट्य रूपान्तरित कथाहरूले ग्रिसेली समाजमा समेत प्रभाव पारेपछि मात्र ग्रिसमा नाटकको प्रयोग सुरु भएको चर्चा पाइन्छ । ग्रिसमा चाहिँ इसापूर्व छैटौँ शताब्दीमा नाटकको जन्म भएको देखिन्छ । यसपछि भने क्रमशः विकास हुँदै गएको नाटक विधा पाश्चात्य जगत्को सर्वाधिक लोकप्रिय सिर्जना बन्न पुग्यो । दुःखान्त (ट्रेजेडी) र सुखान्त (कमेडी) दुवैलाई सशक्त रूपमा अगाडि बढाउँदै विभिन्न प्रहसन, गीतिनाट्य, गीतिकाव्य आदिमार्फत पनि पश्चिमी जगत्ले नाटकमा निकै ठुलो गुन लगाएको देखिन्छ । सेक्सपियरको समय (१६ औँ शताब्दी) पछि भने नाटक विश्वसाहित्यकै सर्वाधिक लोकप्रिय विधाका रूपमा देखापरेको पाइन्छ ।

यता चीनमा पनि नाटकको निकै प्राचीन रूप फेला परेको छ । चीनमा सियावंशको समय (इ.पू. २२०५—१७६६) बाट नै नाट्यपरम्पराको थालनी भएको देखिन्छ । सुरुमा देवता, वीर योद्धा आदिका कथामा नाटकीय अभिनयहरू प्रस्तुत गर्दै आएर चाउवंश (इ.पू. ११२२—२५०) का पालामा तिनमा केही लोकजीवनले प्रवेश पाए पनि रङ्गमञ्चको निर्माण भने ताङवंश (सन् ६१८—९०७) का पालामा मात्र भएको देखिन्छ । सुरुमा खुल्ला परिवेशमा, बिचमा रङ्गमञ्चमा प्रदर्शन हुँदै आएको चिनियाँ नाट्यपरम्परामा युआनवंश (सन् १२८०—१३६८) का पालामा मात्र पहिलो लिखित नाटक देखापर्‍यो । कुआन हानचिङ चीनका प्रसिद्ध नाटककार हुन् र उनका ‘ताउइका पीडा’, ‘चाओ सियाङ’लगायतका छओटा नाटकहरूले विश्वसाहित्यमा चीनलाई चिनाउनमा निकै ठुलो काम गरेको देखिन्छ ।

नाटकलाई पूर्वीय तथा पाश्चात्य विद्वान्हरूले आआफ्नै तरिकाले चिनाएका छन् । पूर्वीय नाट्यजगत्का आदिआचार्य भरतमुनिले नाटक राजर्षि तथा देवताको लोकप्रसिद्ध कथामा आधारित त्यस्तो रचना हो जसमा प्रख्यात र धीरोदात्त नायक हुन्छ र उसको उन्नति एवम् विलासको प्रदर्शन गरिन्छ भनी चिनाएका छन् भने धनञ्जयले रसाश्रित रचनाका रूपमा र नन्दीकेशरले पूजनीय पूर्वकथामा आधारित रचनाका रूपमा नाटकलाई प्रस्तुत गरेका छन् । यसरी नै पाश्चात्य जगत्का विद्वान्हरूमा प्राचीन ग्रिसेली नाट्यचिन्तक अरिस्टोटलले नाटक वर्णनात्मक नभएर अभिनयात्मक हुन्छ भनी परिभाषित गरेका छन् भने नाट्यसमीक्षक निकोलले नाटक अभिनेताहरूका माध्यमबाट जीवनसम्बन्धी विचारहरूलाई त्यस्तो किसिमले अभिव्यक्त गर्ने कला हो जुन व्याख्याका लागि समर्थ अभिव्यक्तिका रूपमा प्रस्तुत हुन्छ र जुन शब्द सुन्न र कार्यव्यापार हेर्न एकत्रित प्रेक्षकहरूका निम्ति चाखलाग्दो हुन्छ भनी चिनाएका छन् । यी परिभाषाहरूलाई हेर्दा नाटकमा जीवन र जगत्को अनुकरण हुन्छ, विषयवस्तुलाई अभिनयका माध्यमबाट प्रस्तुत गरिन्छ र यसमा विषयवस्तु, अभिनेता र दर्शक तीनै पक्षको सोझो सम्पर्क हुन्छ भन्न सकिन्छ । यसका आधारमा हेर्दा जुनसुकै विषयलाई पनि दृश्यसंरचनामा ढालेर प्रस्तुत गरिने संवादात्मक वा अभिनयात्मक रचनालाई नाटक भनिन्छ जो विभिन्न अङ्कमा र दृश्यमा रचना गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

नेपाली साहित्यमा नाटकको इतिहास पनि लोकजीवनसँगै जोडिन पुग्दछ । परापूर्व कालदेखि नेपाली लोकजीवनमा प्रचलित लोकनाट्य रचनाहरू नै यसका लागि आधार हुन् । लिखित साहित्यमा भने वि.सं. १८५५ मा शक्तिवल्लभ अर्यालद्वारा आफ्नै संस्कृत नाटकबाट नेपाली भाषामा अनूदित ‘हास्यकदम्ब’लाई नेपाली नाटकको पहिलो कृति मान्ने गरिन्छ । यसपछि भवानीदत्त पाण्डेको ‘मुद्राराक्षस’ (१८९८) पनि संस्कृतकै अनुवाद हो । यसपछि एकैपटक मोतीराम भट्टका १९४४—१९४८ को सेरोफेरोमा लेखिएका ‘अभिज्ञान शाकुन्तलम्’, ‘प्रियदर्शिका’, ‘पद्मावती’ जस्ता नाटकहरूको आगमन भएपछि भने यसले अनुवादबाट विस्तारै मौलिकताको यात्रा तय गरेको देखिन्छ । जब बालकृष्ण समको ‘मुटुको व्यथा’ (१९८६) नाटकको आगमन भयो अनि यसले आधुनिक कालमा प्रवेश पाएको हो । यसरी १८५५ देखि हालसम्मको झन्डै २२५ वर्षको अवधिलाई हेर्दा नेपाली नाटकले अनेकौँ वाद, प्रवृत्ति र शैलीहरू अँगाल्दै आएको देखिन्छ । हालसम्म आइपुग्दा नेपाली नाटकमा परम्परागत परिभाषा, संरचना र चिनारीभन्दा भिन्न प्रयोगधर्मी लेखनले पनि प्रशस्त प्रवेश पाएको देखिन्छ । पछिल्लो समयमा विकसित विभिन्न थिएटरहरूको निर्माण र सडकनाटक आदिको लेखन र प्रस्तुतिका क्रममा विभिन्न प्रयोगशील, अमूर्त, विम्बात्मक, साङ्केतिक वा चित्रात्मक शैलीका नाटकहरूको पनि विकास भएको देखिन्छ ।

३. नाटक हुनका लागि के के चाहिन्छ ?
नाटक साहित्यको दृश्यविधा हो । यसको संरचना आफैँमा पूर्ण हुन्छ । यो संवादात्मक शैलीमा लेखिन्छ र विभिन्न अङ्क तथा दृश्यहरूमा विभाजित हुन्छ । पूर्वीय नाट्यशास्त्रअनुसार प्रख्यात पौराणिक वा ऐतिहासिक कथावस्तुमा आधारित दृश्यकाव्यलाई नाटक भनिन्छ । यसमा पाँचओटादेखि दशओटासम्म अङ्कहरू हुन सक्छन् भने घटना वा प्रसङ्गअनुकूल अनेकौँ दृश्यहरूको व्यवस्थापन गर्न सकिन्छ भन्ने मान्यता संस्कृत नाट्यशास्त्रमा पाइन्छ । आचार्य विश्वनाथले दृश्यकाव्यका लागि वस्तु, नेता र रस यी तीनओटा कुरालाई अपरिहार्य तत्त्वका रूपमा स्विकारेका छन् । यिनको चर्चा उपन्यास र महाकाव्यका सन्दर्भमा अगाडि नै गरिसकिएको छ तापनि विश्वनाथले यिनलाई सुरुमा नाटकका सन्दर्भमा विशेष चर्चा गरेका हुन् । वस्तु भनेको रचनामा प्रयोग गरिएको विषयवस्तु, घटना वा कथावस्तु हो । यो श्रव्यकाव्य र दृश्यकाव्य दुवैमा हुने गर्दछ । नाटकका लागि आवश्यक वस्तुअन्तर्गत कथावस्तु, घटना र कथानक पर्दछन्, नेताअन्तर्गत नायक, पात्र वा चरित्र आदि पर्दछन् र रसअन्तर्गत भाव, विचार, ध्वनि, व्यञ्जना आदि पर्दछन् । नाटकको वस्तु वा कथावस्तुको प्रयोगमा पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) आदि सबै कुराको समुचित विन्यास हुनु आवश्यक मानिन्छ । त्यसैले एउटा नाटककार नाटक लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

(क) वस्तु (घटना/कथावस्तु): नाटकमा केको वर्णन गर्ने हो ? त्यसको निर्धारण र दृश्याङ्कनका लागि प्राक्कल्पना ।
(ख) नेता (पात्र/चरित्र): घटनालाई लक्ष्यसम्म पुर्‍याउने जिम्मा ककसलाई दिने हो ? तिनको छनोट ।
(ग) रस (भाव/विचार/उद्देश्य/कथ्य): यो नाटक किन लेख्न लागिएको हो ? त्यसको ध्वन्यात्मक अर्थ वा आन्तरिक शक्ति वा केन्द्रीय कथ्यको निर्धारण ।
(घ) परिवेशः नाटकका पात्रहरू उभिएको ठाउँ, समय र वातावरण के कस्तो राख्ने हो ? तिनको विश्वसनीय चयन ।
(ङ) संवाद/अभिनयः पात्रका बिचमा विचारविनिमय कसरी गराउने र त्यसलाई पात्रको चरित्रमा र हाउभाउमा रूपान्तरण कसरी गर्ने ? त्यसको निर्धारण ।
(च) द्वन्द्वविधानः लेखकीय अभीष्ट पूरा गर्नका लागि बिचमा आइपर्ने आन्तरिक वा बाह्य विरोधाभासहरूको व्यवस्थापन कसरी गर्ने ? त्यसप्रतिको सचेतता ।
(छ) भाषाशैलीः विषयवस्तुलाई बाह्य रूपमा प्रकटीकरण गर्नका लागि कस्तो भाषा र कस्तो शैलीको प्रयोग गर्ने हो ? त्यसको निर्धारण ।

यिनका साथै नाटककारले मूल घटनालाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका लागि आवश्यक नयाँ शैली, प्रतीक र विम्बहरूको छनोट पनि नाटकमा गरेको हुनुपर्छ र संवादको प्रभावकारिता, अभिनयको जीवन्तता र अभीष्टको सहजताका लागि आवश्यक आन्तरिक व्यवस्थापनलाई पनि विशेष ध्यान दिएको हुनुपर्छ । यी कुराहरूका बारेमा नाटककार यसरी अझै स्पष्ट हुनु जरुरी छ—

(क) वस्तु (घटना अथवा कथावस्तु)
नाटकमा वस्तुअन्तर्गत घटना, कथावस्तु वा विषयवस्तु पर्दछन् । नाटक जेका बारेमा लेखिने हो त्यसलाई ‘वस्तु’अन्तर्गत राख्ने गरिन्छ । अर्थात् नाटकमा समाविष्ट मूल घटना वा विषयवस्तु नै नाटकको वस्तु हो । नाटकमा आएको कथावस्तु वा घटना कुनै रैखिक ढाँचामा, कुनै वृत्ताकारीय ढाँचामा र कुनै अमूर्त ढाँचामा हुने गर्दछन् । रैखिक ढाँचाको कथावस्तु सुरुदेखि अन्त्यसम्म सरासर अगाडि बढेको हुन्छ, वृत्ताकारीय ढाँचाको कथावस्तु घुमाउरो शैलीमा अगाडि बढेको हुन्छ भने अमूर्त ढाँचाको कथावस्तु संवादात्मक प्रयोगशीलता, दृश्यगत विम्बात्मकता र अभिनयात्मक नवीनताभित्रै हराएको हुन्छ । अमूर्त ढाँचाको कथावस्तु प्रयोग भएका नाटकलाई प्रयोगशील, प्रयोगधर्मी वा प्रयोगवादी भन्ने गरिन्छ । नेपाली नाटक परम्परालाई हेर्ने हो भने बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’ नाटकमा कथावस्तुको विकास रैखिक ढाँचामा अगाडि बढेको पाइन्छ, विजय मल्लको ‘कोही किन बरबाद होस्’ नाटकमा कथावस्तुको विकास वृत्ताकारीय ढाँचामा अगाडि बढेको पाइन्छ भने ध्रुवचन्द्र गौतमको ‘भष्मासुरको नलीहाड’ नाटकमा कथावस्तुको विकास प्रयोगात्मक ढाँचामा अगाडि बढेको पाइन्छ । अरिस्टोटलले कथावस्तुमा एकान्विति, पूर्णता, सम्भाव्यता, सहज विकास, कुतूहल र साधारणीकरण जस्ता गुणहरू आवश्यक हुन्छन् भनेका छन् ।

(ख) नेता (पात्र/चरित्र)
नाटकमा घटनालाई वहन गर्नका लागि छनोट गरिएका विविध ‘पात्र वा चरित्र’हरूलाई नेताअन्तर्गत समेटेको पाइन्छ । नाटकमा पात्रको स्वरूप, प्रवृत्ति वा भूमिका झल्काउने कलाकारिता नाटककारमा हुनु आवश्यक छ । त्यसैलाई ‘चरित्रचित्रण’ भनिन्छ । नाटकमा चरित्रको छनोट प्रसिद्ध वंश, पुराण, प्रख्यात कथा वा चर्चित कुलबाट हुनुपर्ने मान्यता पनि पाइन्छ । एकै प्रकारका पात्रहरूको रखाइले केन्द्रीय कथ्य परिपाक अवस्थामा पुग्न सक्दैन त्यसैले नाटकमा पात्रगत विविधता चाहिन्छ । नाटकको नायकचाहिँ धीरोदात्त वा धीरोद्धत हुनुपर्ने मान्यता पनि त्यत्तिकै रूपमा पाइन्छ तर वर्तमानमा लेखिने नाटकमा चाहिँ प्राचीन परिभाषाहरूको अक्षरशः अनुसरणभन्दा पनि हरेक कुरामा नवीनताको खोजी भएको देखिन्छ । त्यसैले नाटकमा छनोट भएका नायक, खलनायक, विदूषक आदिमा पनि फरकपनको खोजी भएको देखिन्छ । यसरी नै नाटकमा स्त्री, पुरुष, मुख्य, सहायक, गौण, सत्, असत्, मञ्चीय, नेपथ्य, सूच्य आदि विविध पात्रको संयोजन गरिएको हुन्छ । नाटकमा मानवीय वा मानवेतर जुनसुकै पात्रहरू हुन सक्छन् । प्रयोगशील नाटकहरूमा त क, ख, ग, एक, दुई, तीन अथवा कुनै सङ्केत पात्रहरू पनि राख्ने प्रचलन छ । ती पात्रहरूमध्येमा कुनै एक वा दुई पात्र नाटककारको मुखपात्र हुने गर्छ । त्यसले नाटकले दिन चाहेको मूल सन्देश प्रवाह गरेको हुन्छ । त्यसैले नाटकको केन्द्रीय कथ्यको सबल सम्प्रेषणमा पात्रको विशेष भूमिका हुने गर्दछ ।

(ग) रस (भाव/विचार/उद्देश्य/कथ्य)
नाटकमा रसले आन्तरिक भाव अथवा अर्थगत विविधतालाई सङ्केत गरेको हुन्छ । अर्थात् नाटकमा प्रयुक्त अन्तर्वस्तु नै रस हो । यसअन्तर्गत भाव, विचार, उद्देश्य, सन्देश वा केन्द्रीय कथ्य पर्दछन् । नाटक किन लेख्ने भन्ने बारेमा स्रष्टा स्पष्ट हुनु अनिवार्य छ त्यसैले ‘उद्देश्य’ नाटकका लागि आवश्यक छ । यसमा नाटककारले के उद्देश्य राखेर नाटक लेखेको हो ? यसको केन्द्रीय कथ्य वा भाव के हो र यसमा स्रष्टाको कस्तो विचार अभिव्यक्त भएको छ भन्ने कुरा थाहा पाइन्छ । पूर्वीय नाट्यशास्त्रले अपेक्षा गरेअनुकूल चतुर्वर्गको प्राप्ति वर्तमानका नाटकहरूको उद्देश्य नहुन सक्छ तापनि समाजअपेक्षित वा युगसापेक्ष एउटा न एउटा उद्देश्यमा केन्द्रित भएर नाटकको रचना हुने गर्दछ । यसका साथै नाटकभित्र अनेकौँ ध्वन्यात्मक अर्थहरू समेटिन सक्छन् र स्रष्टाको वैचारिक धरातलअनुकूलका दार्शनिक पक्षहरू एवम् समाजसापेक्ष सन्देशहरू पनि अभिव्यक्त भएका हुन्छन् । यही कारणले रस नाटकका लागि आन्तरिक शक्ति मान्ने गरिन्छ ।

(घ) परिवेश (देश, काल र वातावरण)
नाटकमा पात्र खेल्नका लागि ‘परिवेश’ चाहिन्छ । परिवेशभित्र देश (स्थान), काल (समय) र वातावरण (पर्यावरण) पर्दछन् । यसको प्रत्यक्ष सम्बन्ध घटना र पात्रसँग हुन्छ तर त्यसको उद्घाटन अभिव्यक्तिबाट हुने गर्दछ । नाटकमा प्रयोग भएको परिवेशमा विश्वसनीयता अनिवार्य मानिन्छ । परिवेश अनुकूल भएन भने नाटककारको ज्ञानमाथि प्रश्न उठ्ने गर्दछ । नाटककार बालकृष्ण समले ‘मुटुको व्यथा’ नाटकमा आँप नै नपाइने जुम्लामा आँपको बोटको चर्चा गरेबाट र सनक र कपिलाले ऐँसेलुका रुखमा सैसैला खेलेको प्रसङ्गको उल्लेख गरेबाट आलोचना खप्नुपरेको थियो । यसरी विश्वसनीय र यथार्थ परिवेशको उल्लेख भएन भने नाटककार आलोचनाको पात्र बन्ने सम्भावना रहन्छ ।

(ङ) संवाद/अभिनय
नाटकको मूल तत्त्व नै संवाद वा अभिनय हो । संवादात्मक घटना विस्तार वा अभिनयात्मक विषय सम्प्रेषणले गर्दा नै नाटक अन्य विधाभन्दा फरक हुने गर्दछ । नाटकमा पात्रका बिचमा विचारविनिमय हुनु अनिवार्य छ । एउटा पात्रको विचारलाई अर्को पात्रसम्म पु¥याउनका लागि सेतुको काम संवादले गर्दछ । नाटकमा संवाद हुनै पर्छ र त्यस संवादलाई पात्रले हाउभाउका साथ प्रस्तुत गर्नुपर्छ । नाटकको लेख्य स्वरूपमा नै कोष्ठकमा (तत्कालीन दृश्य, परिस्थिति, मुखाकृति, हाउभाउ आदि) सङ्केत गरिने हुनाले पाठ्य नाटकमा पनि संवाद वा अभिनयको झलक स्वतः देखिने गर्दछ । यसले नाटकलाई साँच्चै दृश्यकाव्यको स्वरूप प्रदान गर्ने हुनाले संवाद वा अभिनय नाटकका लागि अनिवार्य तत्त्व नै मानिन्छ ।

(च) द्वन्द्वविधान
नाटकमा पात्रहरूका बिचमा कुनै पनि विषयप्रतिको सहमति र विमतिबाट द्वन्द्वको जन्म हुने गर्दछ । कुनै पनि कुरामा देखिने वैचारिक मतभेद नै द्वन्द्व हो । नाटकमा द्वन्द्वको प्रयोग अनिवार्य मानिन्छ जसको प्रकटीकरण संवादका माध्यमबाट हुने गर्दछ । द्वन्द्व दुई प्रकारको हुन्छ, बाह्य द्वन्द्व र आन्तरिक द्वन्द्व । पात्रको संवादका क्रममा व्यक्त हुने, भनाभनबाट विरोध प्रकट गरिने वा भौतिक रूपमा हुने कुटाकुटबाट अभिव्यक्त हुने द्वन्द्वलाई बाह्य द्वन्द्व भनिन्छ भने भित्रभित्रै विकसित भएको अन्तर्विरोध, अव्यक्त विमति वा मान्छेका मनमा मात्र रहने विरोधपूर्ण विचार आदिलाई आन्तरिक द्वन्द्व भनिन्छ । बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’ नाटकमा द्वन्द्वको उपस्थिति बाहिरै देखिन्छ भने गोविन्दबहादुर मल्ल गोठालेको ‘भुसको आगो’ नाटकमा द्वन्द्वको प्रयोग आन्तरिक रूपमा भएको पाइन्छ । अर्थात् सामाजिक नाटकमा बाह्य द्वन्द्वको प्रयोग देखिन्छ भने मनोवैज्ञानिक नाटकमा आन्तरिक द्वन्द्वको प्रयोग पाइन्छ ।

(छ) भाषाशैली
नाटकमा प्रयुक्त विषयवस्तुको सम्प्रेषणका लागि ‘भाषा’ चाहिन्छ भने प्रस्तुतिको कलात्मकताका लागि ‘शैली’को आवश्यकता पर्दछ । नाटकको भाषाशैली कम चित्रात्मक र बढी संवादात्मक हुनु अनिवार्य मानिन्छ । चित्रात्मक शैलीको प्रयोग परिवेश वर्णनमा हुने गर्छ भने विषयवस्तुको विस्तार संवादात्मक शैलीमा हुन्छ । यसको विस्तृत चर्चा एकाङ्कीका सन्दर्भमा भइसकेको छ । प्रस्तुतिगत एकरूपताका कारण नाटक र एकाङ्कीको भाषाशैलीमा समानता पाइन्छ ।
यी कुराहरू सुन्दर नाटक सिर्जनाका लागि आधार हुन् । नाटकलाई एउटा सुन्दर र प्रभावकारी शीर्षकले बाँध्ने गरिन्छ । शीर्षक समग्र नाटकको मियो हो जसका वरिपरि विषयवस्तु घुम्दै गएर एउटा प्रभावकारी निष्कर्षमा पुग्दछ । शीर्षक छोटो र पद वा पदावलीको तहमा हुनु राम्रो मानिन्छ तर नेपाली नाटक परम्परामा बालकृष्ण समले ‘म’ जस्तो एउटा पद मात्रको अत्यन्त छोटो शीर्षक पनि राखेका छन्, भीमनिधि तिवारीले ‘सहनशीला सुशीला’ (दुई पद), मोहनराज शर्माले ‘यातनामा छटपटाएकाहरू’ (दुई पद), सरुभक्तले ‘युद्धः उही ग्यासच्याम्बरभित्र’ (तीन पद) पदावलीका तहमा पनि शीर्षक राखेका छन् भने विजय मल्लले ‘कोही किन बरबाद होस्’, वासु शशीले ‘सबै थोक गर्नुपर्छ’, गोविन्द गोठालेले ‘दोष कसैको छैन’ जस्ता वाक्यात्मक तहका शीर्षकहरू पनि राखेका छन् । त्यसैले नाटकमा शीर्षक भाव सुहाउने खालको जुनसुकै तहको पनि हुन सक्ने देखिन्छ ।

४. नाटक कसरी लेखिन्छ ?
नाटकमा जीवन र जगत्को जुनसुकै घटना विषयवस्तु बनेर आउन सक्छ । यसमा सामाजिक, ऐतिहासिक वा काल्पनिक जुनसुकै क्षेत्रको विषयलाई नाटकीय स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले नाटककारले नाटक लेख्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरणः कथावस्तु, पात्र र परिवेशको निर्धारण र दृश्याङ्कन
नाटकका लागि वस्तु छनोट यसको पहिलो कार्य हो । यसका लागि सबैभन्दा पहिले कथावस्तुको छनोट गर्नुपर्छ, त्यसका लागि सुहाउँदो पात्र र परिवेश निर्धारण गर्नुपर्छ र त्यसलाई नाटकीय स्वरूप प्रदान गर्नका लागि दृश्याङ्कन गर्नुपर्छ । यसका लागि बुँदा टिपोट, तिनको व्यवस्थान र लेखनको थालनी गर्नु राम्रो मानिन्छ ।

दोस्रो चरणः संवादात्मक शैलीमा घटनाको विस्तार र खेस्रा लेखन
यस चरणमा टिपोट गरिएका बुँदा र आदि, मध्य र अन्त्यको व्यवस्थापनका आधारमा संवादका माध्यमबाट विषयवस्तुको विस्तार गर्न थाल्नुपर्छ । नाटकको निर्धारित सिद्धान्त र आवश्यक तत्त्वमा केन्द्रित रहेर मञ्चीय प्रयोग, नेपथ्य प्रयोग र सूच्य ढाँचाको समेत प्रयोग गरी कथावस्तुलाई अगाडि बढाउनुपर्छ । कथानकको विकासका क्रममा द्वन्द्व, उत्सुकता र कुतूहलको समेत सिर्जना गर्दै जानुपर्छ । यसरी निर्धारित विषयवस्तुलाई रोचक बनाउँदै गएर नाटकको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरणः आवश्यक परिमार्जन र साफी लेखन
यहाँसम्म आइपुग्दा नाटकको एउटा स्वरूप निर्माण भइसकेको हुन्छ । अब त्यसलाई नाटककार आफैँले निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा नाटकको परिवेश निर्देश, दृश्यविधान, बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो नाटक प्रदर्शन र प्रकाशन गर्न योग्य हुन्छ ।
यी कुराहरू सिकारु चरणका नाटककारहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त सरासर एउटा नाटकको साफी लेखन नै गर्न सक्छ । यति मात्र होइन, यो नाटक लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने नाटकीय कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यसैलाई स्रष्टाको मौलिकता भन्ने गरिन्छ ।

५. नाटकको प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १ ः विषयवस्तु, घटना वा कथावस्तु (प्लट) को परिकल्पना (यथार्थ वा काल्पनिक) ।
चरण २ ः अनुकूल र आकर्षक शीर्षक चयन (पात्रकेन्द्रित, विषयगत वा ध्वन्यात्मक) ।
चरण ३ ः कथावस्तुलाई वहन गर्न सक्ने पात्र र परिवेशको निर्धारण र तिनको दृश्याङ्कन (कथाअनुकूल, मञ्चीय र विश्वसनीय) ।
चरण ४ ः नाटक किन लेख्ने भन्ने कुराको निर्धारणसहित प्राक्कल्पना (मस्तिष्कको आन्तरिक संरचनामा) ।
चरण ५ ः समग्र घटना वा कथावस्तुलाई समेट्ने गरी बुँदाटिपोट, बुँदाहरूको आदि, मध्य र अन्त्यको व्यवस्थापन र आन्तरिक रूपमा दृश्य विभाजन गर्ने वा नगर्ने ? त्यसको निर्धारण ।
चरण ६ ः अभिनयलाई ध्यानमा राखी संवादात्मक शैलीमा कथावस्तुको विस्तार गर्दै गएर खेस्रा लेखन ।
चरण ७ ः खेस्रा रूपमा तयार भएको नाटकको पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।
चरण ८ ः पूर्वअभ्यास, मञ्चबाट प्रदर्शन वा कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण, भूमिका र कृतज्ञता (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)

६. निष्कर्ष
नाटक साहित्यको दृश्यविधा हो त्यसैले यसलाई पठनका लागि भन्दा पनि प्रदर्शनका लागि सिर्जना गर्ने गरिन्छ । यसमा घटनाको साधारणीकरण अत्यधिक मात्रामा हुने गर्दछ । नाटकमा पात्रका रूपमा पौराणिक, ऐतिहासिक वा जुनसुकै प्रसिद्ध पात्रहरू आए पनि ती एकछिनका लागि हराउँछन् र लोकजीवनका पात्रमा रूपान्तरण हुन्छन् । साथै लोकजीवनका अभिनेताहरू राम, कृष्ण आदिमा पनि रूपान्तरण हुन सक्छन् । त्यसैले नाटक स्वाभाविक विषयवस्तुमा आधारित प्रदर्शनमैत्री, अभिनयमैत्री वा दृश्यात्मक सम्प्रेषणका लागि अनुकूल हुनु आवश्यक मानिन्छ ।

क्रमशः अर्को हप्ता…