१. विषय प्रवेश
संस्कृत काव्यशास्त्रमा काव्य वा साहित्यलाई श्रव्य र दृश्य गरी दुई वर्गमा विभाजन गरिएको छ । सुनेर वा पढेर आनन्द र ज्ञान ग्रहण गरिने कविता, आख्यान, निबन्ध आदिलाई श्रव्यकाव्यअन्तर्गत राखिएको छ भने हेरेर आनन्द र ज्ञान प्राप्त गरिने नाटकीय रचनालाई दृश्यकाव्यअन्तर्गत राखिएको छ । नाटकीय संरचनामा आउने सबै प्रकारका विधा वा उपविधाहरूलाई समेट्ने एउटै शब्दचाहिँ ‘रूपक’ हो । रूपक नै दृश्यकाव्य वा दृश्यसाहित्यको समष्टिगत रूपलाई सम्बोधन गर्ने एक मात्र शब्द हो । ‘रूपक’ शब्दको प्रयोग अलङ्कारका सन्दर्भमा पनि गरिन्छ । साहित्यमा उपमान र उपमेयका बिचमा अभेद आरोप गरिने एक प्रकारको अलङ्कारलाई ‘रूपक’ भनिन्छ तर यहाँ भने ‘रूपक’को प्रयोग अलङ्कारका सन्दर्भमा नभएर नाटकीय संरचनामा आबद्ध नाटक, एकाङ्कीलगायतका सबै प्रकारका विधा तथा उपविधाहरूलाई चिनाउनका लागि गरिएको छ । ‘रूपक’ एउटा विशिष्ट समावेशक शब्द हो, यसभित्र विभिन्न नाटकीय विधाहरू समाविष्ट हुने गर्दछन् । यस लेखमा त्यही रूपकअन्तर्गत पर्ने सबै विधाका बारेमा परिचयात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. रूपकको सैद्धान्तिक स्वरूप
‘रूप्+ण्वुल्’ व्युत्पत्तिबाट बनेको ‘रूप’ शब्दको शाब्दिक अर्थ ‘आकृति, अनुहार वा चेहरा’ भन्ने हुन्छ । त्यही ‘रूप’ शब्दमा ‘कन्’ प्रत्यय जोडिँदा ‘रूपक’ शब्द निर्माण हुन्छ । अर्थात् ‘रूप्+ण्वुल्+कन्=रूपक’ निर्माण प्रक्रियाबाट बनेको ‘रूपक’ शब्दले व्यक्ति वा वस्तुको स्वरूपलाई सङ्केत गर्नुका साथै नाट्यकृतिका विविध प्रकारलाई बुझाउने गर्दछ । दृश्यकाव्यका लागि ‘रूपक’ शब्दको प्रयोग आचार्य भरतमुनिले आफ्नो नाट्यशास्त्रमा सर्वप्रथम गरेका हुन् । पछि यसैको प्रयोग अलङ्कारका रूपमा पनि भयो । विधागत स्वरूप वा अलङ्कार जहाँ प्रयोग भए पनि तिनमा अर्थगत सामीप्य पाइन्छ । आचार्य धनञ्जयले आँखाले देखिने हुनाले त्यसलाई रूप भनिएको हो भन्दै कसैको रूपको आरोप रूपक हो भनी चिनाएका छन् । यसले एकातिर नाटकमा कुनै दृश्य पात्रमा अर्को कुनै अदृश्य पात्रको रूपको आरोप हुने कुरालाई सङ्केत गरेको छ भने अर्कातिर रूपक अलङ्कारमा पनि उपमेयको रूपको आरोप उपमानमा गरिएको हुन्छ । ध्वन्यात्मक रूपमा यस्तो अर्थ निकाल्न सकिन्छ तर यहाँको ‘रूपक’ शब्दले अलङ्कारलाई नभएर दृश्यकाव्यलाई मात्र सङ्केत गरेको देखिन्छ । यस कुरालाई आचार्य विश्वनाथको यस भनाइले थप पुष्टि गरेको छ— “नटमा राम आदिका रूपको आरोप गरिने हुनाले दृश्यकाव्यलाई रूपक भनिएको हो ।”

सामान्यतः नाटकीय रचनाहरूमा पौराणिक वा ऐतिहासिक प्रसिद्ध पात्रहरूलाई नायकका रूपमा प्रस्तुत गरिएको हुन्छ । काल्पनिक वा यथार्थकेन्द्रित सामाजिक नाटकहरूमा पनि विषयवस्तुअनुकूल पात्रहरूको प्रयोग गरिएको हुन्छ । ती कुनै पनि वास्तविक पात्रहरू नाटक प्रदर्शनका बेलामा त्यहाँ सशरीर उपस्थित हुन सम्भव छैन । ती पात्रको चरित्र निर्माण त्यहाँ उपस्थित कुनै सामाजिक पात्रबाट गराइन्छ । तिनै दर्शकहरूको सल्लाहबमोजिम कसैलाई राम, कसैलाई सीता र कसैलाई रावण बनाइन्छ तर नाटक प्रदर्शन हुन थालेपछि दर्शकले राम बनेको व्यक्ति यो हो भन्ने कुरा बिर्सन्छन् । यसको तात्पर्य राम, सीता वा रावणको अभिनय गर्ने पात्रमा नै ती वास्तविक पात्रहरूको चरित्र आरोप भइसकेको हुन्छ । वेशभूषा, हाउभाउ, संवाद आदिका माध्यमबाट वास्तविक पात्रको रूपको आरोप निर्मित पात्रमा हुने र दर्शकसम्म पुग्दा तिनको साधारणीकृत रूप मात्र प्रस्तुत हुने हुनाले यस प्रकृतिको नाट्य रचनालाई ‘रूपक’ भनिएको हो । सैद्धान्तिक रूपमा व्यापक विधाहरूलाई समेट्न सक्ने यस शब्दअन्तर्गत समेटिएका भेद र उपभेदहरूको प्रयोग पूर्वीय एवम् पाश्चात्य साहित्यमा पनि विभिन्न नामले हुने गरेको देखिन्छ ।

आचार्य विश्वनाथले रूपकका लागि वस्तु, नेता र रस यी तीनओटा कुरालाई अपरिहार्य तत्त्वका रूपमा स्विकारेका छन् । यिनै तीन तत्त्वको प्रयोगले रूपकका विभिन्न भेद र उपभेदहरू निर्माण हुने गरेका हुन् । यिनको प्रयोग रूपकमा मात्र नभएर आख्यानात्मक संरचनाअन्तर्गत पर्ने विभिन्न विधाहरूमा हुने गर्दछ । उपन्यास र महाकाव्यका सन्दर्भमा पनि यिनको चर्चा अगाडि नै गरिसकिएको छ तापनि विश्वनाथले यिनलाई सुरुमा नाटकका सन्दर्भमा विशेष चर्चा गरेका हुन् । वस्तु भनेको रचनामा प्रयोग गरिएको विषयवस्तु, घटना वा कथावस्तु हो । यो श्रव्यकाव्य र दृश्यकाव्य दुवैमा हुने गर्दछ । समालोचक केशवप्रसाद उपाध्यायले ‘रूपक’को सैद्धान्तिक परिचय प्रस्तुत गर्ने क्रममा श्रव्यकाव्यका स्रष्टाहरू चित्रकार जस्ता हुने र दृश्यकाव्यका स्रष्टाहरू शिल्पकार वा कलाकार जस्ता हुने कुरालाई अगाडि सारी उल्लिखित तीनै कुराको व्यापक चर्चा गरेका छन् । रूपकका लागि आवश्यक वस्तुअन्तर्गत कथावस्तु, घटना र कथानक पर्दछन्, नेताअन्तर्गत नायक, पात्र वा चरित्र आदि पर्दछन् र रसअन्तर्गत भाव, विचार, ध्वनि, व्यञ्जना आदि पर्दछन् । रूपकको वस्तु वा कथावस्तुको प्रयोगमा पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) आदि सबै कुराको समुचित विन्यास हुनु आवश्यक मानिन्छ तर यी सबै कुरा रूपकका सबै प्रकारमा पर्दैनन् । कुनैमा कुनै कुराको बाहुल्य हुन्छ भने कुनैमा ती कुराहरू सामान्य हुन्छन् । यसरी रूपकका भेदअनुसार कथावस्तुको व्यवस्थापन पनि भिन्न भिन्न प्रकृतिको हुने गर्दछ ।

रूपकको नेताले नायक, पात्र वा चरित्रलाई सङ्केत गरेको छ । यसमा पनि नायक कस्तो हुनुपर्ने, अन्य पात्रहरूको चरित्र कुन प्रकृतिको हुनुपर्ने भन्ने कुराको निर्धारण रूपकको भेदअनुसार हुने गर्दछ भने रसले सङ्केत गरेको भाव, विचार, उद्देश्य, सन्देश, ध्वनि, व्यञ्जना आदिको निर्धारण पनि रूपकको कुन भेदअनुसारको संरचना हो त्यहीअनुसार हुने गर्दछ । यी सम्पूर्ण कुराको चर्चा सम्बन्धित भेदमा नै गरिने छ । रूपकका मूल दशओटा भेदहरू छन् भने अठारओटा उपभेदहरू छन् । संस्कृत नाट्यशास्त्रमा यति धेरै प्रकारहरूको चर्चा र तिनको सिर्जनात्मक प्रयोग भएको पाइन्छ तर अन्य भाषाका नाट्य रचनाहरूमा यिनको कुनै न कुनै प्रकारले प्रयोग गरिएको भए पनि नामतः तिनको उल्लेख गरेको पाइँदैन । त्यसैले नेपाली साहित्यमा नाटक, एकाङ्की, चलचित्र, प्रहसन, रेडियो नाटक आदिका रूपमा रूपकलाई प्रयोग गर्ने गरिएको पाइन्छ ।

३. रूपकका भेदहरूको सामान्य परिचय
रूपकभित्र नाटकीय संरचनामा पर्ने सबै विधा र उपविधाहरू समेटिने कुराको चर्चा माथि नै भइसकेको छ । रूपकका नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, इहामृग, अङ्क, वीथी र प्रहसन गरी दशओटा मूल भेदहरू पाइन्छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली साहित्यकोश’मा समालोचक केशवप्रसाद उपाध्यायद्वारा लिखित परिचयलाई आधार मानेर रूपकका उल्लिखित प्रमुख भेदहरूको सङ्क्षिप्त परिचय प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको छ ।

(क) नाटक
पूर्वीय नाट्यशास्त्रअनुसार प्रख्यात पौराणिक वा ऐतिहासिक कथावस्तुमा आधारित दृश्यकाव्यलाई नाटक भनिन्छ । यसमा माथि चर्चा गरिएका पञ्चसन्धि, पञ्चअर्थप्रकृति र पञ्चकार्यावस्था सबैको समुचित प्रयोग हुने गर्दछ । यसमा पाँचओटादेखि दशओटासम्म अङ्कहरू हुन सक्छन् भने घटना वा प्रसङ्गअनुकूल अनेकौँ दृश्यहरूको व्यवस्थापन गर्न सकिन्छ । घटनाको प्रकृति, पात्रको भूमिका, स्थान, काल र वातावरणको परिवर्तन आदिका आधारमा नाटकका अङ्क र दृश्यहरूको निर्धारण हुनुपर्छ । कथावस्तुको विकास, नायक वा अन्य पात्रहरूको आरोह–अवरोहको गति, दृश्य परिवेशप्रतिको सङ्केत आदिको रखाइ पनि स्वाभाविक रूपमा हुनुपर्छ ।

(ख) प्रकरण
कल्पित कथावस्तुमा आधारित भएर लेखिएको सामाजिक रूपकलाई प्रकरण भनिन्छ । यसमा शृङ्गार रसको प्रमुखता रहने, ब्राह्मण, मन्त्री वा व्यापारी नायक हुनुपर्ने र त्यो नायक धीरप्रशान्त प्रकृतिको हुनुपर्ने तर नायिकाचाहिँ खराब चरित्रकी र सहायक पात्रहरू धूर्त, जुवाडे आदि हुनुपर्ने मान्यता रहेको देखिन्छ ।

(ग) भाण
कल्पित कथावस्तुमा आधारित धूर्त व्यक्तिको चरित्रलाई चित्राङ्कन गरिएको रूपकलाई भाण भनिन्छ । संरचनामा यो एकाङ्की हो, यसमा एउटै अङ्क, एउटै पात्र हुन्छ र त्यही पात्र कथाको नायक हुन्छ । यसमा एकालाप नै प्रस्तुतिको माध्यम हुन्छ र बाह्य सन्दर्भहरू जोड्नुप¥यो भने आकाशवाणीको सहयोग लिने गरिन्छ ।

(घ) व्यायोग
यो पनि एकाङ्की रूपक हो । यसमा पौराणिक वा ऐतिहासिक कथावस्तुलाई प्रस्तुत गरिएको हुन्छ । यसमा राजर्षि वा दिव्य पुरुषलाई नायक बनाइन्छ र त्यो नायक धीरोद्धत स्वभावको हुने गर्दछ । यसमा पुरुष पात्रको बाहुल्य हुन्छ, नायिकाको उपस्थिति नै हुँदैन तर दासीका रूपमा नारी पात्रहरूलाई प्रयोग गर्ने गरिन्छ ।

(ङ) समवकार
यो युद्धकथामा आधारित हुन्छ । यसमा प्रायः देवता र दानवबिचमा युद्ध गराइन्छ । यो तीन अङ्कमा रचना गरिन्छ । यसमा १२ जना देवदानव पात्रलाई प्रस्तुत गरिन्छ र वीर रसलाई अङ्ग रसका रूपमा प्रयोग गरिन्छ ।

(च) डिम
दर्शकमा भ्रम सिर्जना गर्ने उद्देश्यले तयार पारिएको रूपकलाई डिम भनिन्छ । यसमा ऐतिहासिक प्रकृतिको कथावस्तुमा मायाजाल, इन्द्रजाल, सङ्ग्राम आदिलाई प्रवेश गराइन्छ । यसमा रौद्र रस मुख्य र अद्भुत रस सहायक बनेर आउने गर्दछन् । यसमा देवता, गन्दर्भ, भूत, प्रेत, पिशाच आदिको अभिनयलाई प्रस्तुत गर्ने गरिन्छ ।

(छ) इहामृग
यसमा प्रख्यात र काल्पनिक दुवै कथालाई मिसाएर प्रस्तुत गरिन्छ । यसको संरचना चार अङ्कमा हुनुपर्छ । यहाँ मनुष्य र देवताको नायक–प्रतिनायकका रूपमा उपस्थिति देखिन्छ । आफूलाई मन नपराउने अप्सराको अपहरण, निहुँ खोजी खोजी युद्धको सिर्जना आदि जस्ता कुराले गर्दा यसमा रौद्र रस प्रमुख र शृङ्गार रसको आभास हुने गर्दछ ।

(ज) अङ्क
यसलाई सृष्टिकाङ्क पनि भनिन्छ । यसमा प्रख्यात कथावस्तु हुन्छ तर त्यसलाई कल्पनाको सहायताले विस्तार गरिन्छ । यो पनि एकाङ्की हो । यसको प्रमुख रस करुण रस हो । यसमा मानवीय चरित्र नै हुन्छन् । यसमा वाक्युद्ध हुन्छ र त्यसैका आधारमा विजय र पराजय देखाइन्छ ।

(झ) वीथी
उत्तम, मध्यम वा अधम कुनै एउटा चरित्रलाई मुख्य बनाएर रचना गरिएको रूपकलाई वीथी भनिन्छ । यसको संरचना पनि एकाङ्की नै हो । यसको कथावस्तु काल्पनिक हुन्छ र पात्रहरू एक वा दुई मात्र हुन्छन् । शृङ्गार रस यसको प्रमुख रस हो र सहायक रसका रूपमा अन्य रस पनि आउन सक्छन् ।

(ञ) प्रहसन
हास्य प्रधान रूपकलाई प्रहसन भनिन्छ । यो कल्पित कथामा नै आधारित हुन्छ । सामान्यतः सबैले देखेको, भोगेको र अनुभव गरेकै कुरालाई कल्पनाले सिँगारेर हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गर्ने काम यसमा गरिन्छ । यसमा एउटा मात्र अङ्क हुन्छ । यसमा जस्तोसुकै चरित्र निर्माण गर्न सकिन्छ र त्यसले कुत्सित आचरण भएका, खराब काम गर्ने क्षुद्र वा निन्दनीय व्यक्तिहरूको चरित्र र व्यवहारप्रति तिखो प्रहार गरिएको हुन्छ ।

यसरी सैद्धान्तिक रूपमा रूपकलाई उल्लिखित दशओटा मूल भेदमा वर्गीकरण गरिएको पाइन्छ । संस्कृत नाट्य परम्परामा यी सबैको नामतः प्रयोग पाइन्छ तर नेपालीमा यिनले सङ्केत गरेका सबै विषयक्षेत्र, पात्र, परिवेश, प्रस्तुति आदिको प्रयोग विभिन्न स्थान र समयमा नाट्यप्रस्तुतिमार्फत हुने गर्छ तापनि तिनलाई उल्लिखित नामबाट भन्दा पनि नाटक, एकाङ्की र प्रहसन तीनओटा नामभित्रै समेटेर प्रस्तुत गर्ने गरिएको पाइन्छ ।

४. रूपकका उपभेदहरूको सामान्य परिचय
पूर्वीय नाट्य परम्परामा नाटकीय संरचनाभित्र आउने अतिसूक्ष्म विषय, प्रसङ्ग, चरित्र आदिका आधारमा तिनलाई भिन्न भिन्न रूपमा वर्गीकरण गरेर प्रस्तुत गर्ने गरिन्छ । रूपकका सन्दर्भमा पनि उल्लिखित दशओटा मूल भेदको चर्चा भइसकेपछि तिनको पनि सूक्ष्म वर्गीकरण गरी अठारओटा उपभेद रहेको चर्चा संस्कृत नाट्यशास्त्र एवम् काव्यशास्त्रहरूमा गरिएको पाइन्छ । रूपकका नाटिका, त्रोटक, गोष्ठी, नाट्यरासक, सट्टक, प्रस्थानक, उल्लाप्य, काव्य, प्रेङ्खण, रासक, संलापक, श्रीगदित, शिल्पक, विलासिका, दुर्मल्लिका, प्रकरणिका, हल्लीश र भाणिका गरी अठारओटा उपभेदहरू छन् । तिनको पनि अतिसङ्क्षिप्त चर्चा यहाँ गरिएको छ ।

(क) नाटिका
नारी पात्रको बाहुल्य हुने चार अङ्के सानो नाटकलाई नाटिका भनिन्छ । यसमा कल्पित कथा हुन्छ र प्रख्यात धीरललित नायकको प्रेमकथालाई देखाइएको हुन्छ ।

(ख) त्रोटक
विदूषकको विशेष उपस्थितिमा तयार गरिने देवता र मनुष्यको प्रेमकथामा आधारित रूपकलाई त्रोटक भनिन्छ । यसमा पाँच, सात, आठ वा नौ अङ्क हुन्छन् ।

(ग) गोष्ठी
एक अङ्कमा रचना हुने र शङ्गार रस प्रधान हुने उपरूपकलाई गोष्ठी भनिन्छ । यसमा पाँचछओटी नायिका र नौदश जना गाउँले नायक हुन्छन् । यसको कथावस्तु कल्पनामा आधारित हुन्छ ।

(घ) नाट्यरासक
नाचगानलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको एक अङ्कमा रचित उपरूपकलाई नाट्यरासक भनिन्छ । यसमा प्रेमपरक विषयवस्तु, धीरोदात्त नायक र शृङ्गार रसको प्रयोग हुने गर्दछ ।

(ङ) सट्टक
यसको रचना प्राकृत भाषामा मात्र हुन्छ । यसमा अङ्कलाई जबनिका भनिन्छ र यसको प्रमुख रस अद्भुत मानिन्छ ।

(च) प्रस्थानक
यो दुई अङ्कमा लेखिने उपरूपक हो । यसमा दास नायक र दासी नायिका हुन्छन् । यसको प्रस्तुति नाचगानका माध्यमबाट हुने गर्दछ ।

(छ) उल्लाप्य
यो धार्मिक कथामा आधारित हुन्छ । यसमा धीरोदात्त नायक र चारओटी नायिका हुन्छन् । यो एक अङ्कमा लेखिन्छ, हास्य, शृङ्गार र करुण रसको प्रयोग हुन्छ र संवादका बिचमा त्रिपदी गीतको प्रयोग हुने गर्दछ ।

(ज) काव्य
नृत्य, गीत र सङ्गीतका माध्यमबाट हास्य रसको उत्पत्ति गराउने उद्देश्यले तयार पारिएको एकाङ्कीलाई काव्य भन्ने गरिन्छ ।

(झ) प्रेङ्खण
हीन कोटिको अर्थात् तृच्छ प्रकृतिको नायक भएको उपरूपकलाई प्रेङ्खण भनिन्छ । यसमा सूत्रधार हुँदैन, रोषपूर्ण संवाद र युद्धको प्रयोग हुन्छ ।

(ञ) रासक
प्रख्यात नायिका र मूर्ख नायक हुने उपरूपकलाई रासक भनिन्छ । यसमा पाँच पात्र हुन्छन् । यसमा सूत्रधार हुँदैन । यसको संरचना एकाङ्कीमा गरिन्छ ।

(ट) संलापक
पाखण्डी नायक भएको, शृङ्गार र करुणबाहेक अरू रसको प्रयोग भएको उपरूपकलाई संलापक भनिन्छ । यसमा तीन वा चार अङ्क हुन्छन् । यसमा छलकपट र युद्धको प्रयोग गरिन्छ ।

(ठ) श्रीगदित
यो प्रख्यात कथा र धीरोदात्त नायक भएको उपरूपक हो । यसकी नायिकालाई लक्ष्मीका रूपमा उभ्याएर गीत नायनका माध्यमबाट विषयवस्तुलाई प्रस्तुत गर्ने गरिन्छ ।

(ड) शिल्पक
यसमा ब्राह्मण नायक हुन्छ र चार अङ्कमा लेखिन्छ । शान्त र हास्यबाहेक अन्य रसको प्रयोग गरिन्छ, तुच्छ प्रकृतिको उपनायक चयन गरिन्छ र मुर्दा, मसानघाट आदिको वर्णन गरिन्छ ।

(ढ) विलासिका
नीच नायक र विदूषकको प्रयोग गरिएको शृङ्गार रसप्रधान उपरूपकलाई विलासिका भनिन्छ । यसमा प्रख्यात कथावस्तुको प्रयोग हुने गर्दछ ।

(ण) दुर्मल्लिका
चार अङ्कमा लेखिएको, सहरी जीवनको चित्रण भएको र नीच कुलको नायकलाई प्रयोग गरिएको उपरूपकलाई दुर्मल्लिका भनिन्छ । यसमा विट र विदूषकको पनि प्रयोग गरिन्छ ।

(त) प्रकरणिका
यसको संरचना नाटिका जस्तै हुन्छ । यसमा व्यापारी, पुरोहित वा अमात्यलाई नायकका रूपमा प्रस्तुत गरिन्छ ।

(थ) हल्लीश
एक अङ्कमा लेखिने र उदात्तगुणी नायक हुने उपरूपकलाई हल्लीश भनिन्छ । यसमा एक पुरुष नायक र सात, आठ वा दश स्त्री पात्र हुन्छन् अनि नाचगानका माध्यमबाट विषयवस्तुलाई प्रस्तुत गरिन्छ ।

(द) भाणिका
नीच नायक र उदात्त नायिका भएको उपरूपकलाई भाणिका भनिन्छ । यसमा मुख र निर्वहण सन्धिको प्रयोग गरिन्छ ।

रूपकका उल्लिखित भेद र उपभेदहरूलाई हेर्दा संस्कृत नाट्य परम्परामा सूक्ष्मातिसूक्ष्म दृष्टिले नाट्य संरचनालाई हेर्ने गरेको देखिन्छ । यो यिनको सैद्धान्तिक स्वरूप हो । सिद्धान्तले व्यावहारिक सिर्जनालाई जन्म दिने होइन, सिर्जना भइसकेको सामग्रीका आधारमा सिद्धान्त निर्माण हुने हुनाले उल्लिखित दश रूपक र अठार उपरूपकहरूलाई हेर्दा पूर्वीय नाट्य परम्परामा नाटकको क्षेत्र कति विशाल थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

५. निष्कर्ष
निष्कर्षमा भन्नुपर्दा रूपक दृश्यकाव्य, दृश्यसाहित्य वा दृश्यप्रधान विधा हो । यसमा पाठकको भन्दा दर्शकको विशेष उपस्थिति हुने गर्दछ । यसका साथै सिर्जना जुनसुकै समयको होस्, कथावस्तु जुनसुकै युगको होस् र त्यसमा प्रयुक्त पात्रहरू जुनुसुकै समय र सन्दर्भका हुन् प्रस्तुतिमा भने तत्कालीन पात्रहरूमा नै ती सबैको चरित्र आरोप हुने गर्दछ । पूर्वीय नाट्य परम्परामा नाटकीय रचनाहरूलाई अत्यन्त गहिराइमा पुगेर विश्लेषण गरी तिनको सिद्धान्त निर्माण गरिने हुनाले रूपकका उल्लिखित अनेकौँ भेद र उपभेदहरू देखापरेका हुन् । नेपाली परम्परा तिनका केही प्रकारहरूलाई अँगाल्दै र केहीलाई छोडेर नयाँ प्रकृतिका नाट्य स्वरूपहरू निर्माण गर्दै अगाडि बढेको देखिन्छ । नेपालीमा विज्ञान नाटक, अमूर्त नाटक, कलानाटक, साङ्केतिक नाटक आदि विविध प्रकारका नाटकहरू निर्माण भइसकेका छन् । यिनलाई पनि रूपकअन्तर्गत नै समेटिने गरिन्छ । त्यसैले नेपाली साहित्य परम्परामा मूलतः नाटकका नामबाट परिचित विविध प्रकारका नाटकहरू, एकाङ्कीहरू, प्रकसनहरू, चलचित्रहरू, वृत्तचित्रहरू, रेडियो नाटकहरू र संवादात्मक संरचना र दृश्य स्वरूपमा आबद्ध हुने जुनसुकै रचनाहरू पनि रूपकअन्तर्गत समेटिन सक्ने देखिन्छ ।

क्रमशः अर्को हप्ता…