१. विषय प्रवेश
आख्यान विधाको सबैभन्दा ठुलो संरचनालाई उपन्यास भनिन्छ । साहित्यको वर्गीकरण गर्दा श्रव्यअन्तर्गत पर्ने गद्य विधामा आख्यान पर्दछ र त्यही आख्यानको बृहत् रूप नै उपन्यास हो । आख्यानका लघुतम रूपमा लघुकथा, लघु रूपमा कथा र बृहत् रूपमा उपन्यास पर्दछन् । अर्थात् कथाभन्दा ठुलो आख्यानात्मक संरचनालाई उपन्यास भनिन्छ । लघुकथामा घटनाको सूत्रात्मक प्रयोग भई संरचना खँदिलो प्रकृतिको हुन्छ, कथामा घटनाको थोरै विस्तार भई जीवन र जगत्को एउटा प्रभावकारी खण्डको चित्रण हुने गर्दछ भने उपन्यासमा जीवन र जगत्को समग्र पक्षलाई आख्यानात्मक स्वरूप प्रदान गरिएको हुन्छ । यसकारण उपन्यासमा जीवनको विराट् पक्ष र जगत्को समग्रतालाई उतार्ने काम गरिन्छ । यस लेखमा बृहत् आख्यानअन्तर्गत पर्ने त्यही शक्तिशाली एवं नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमा नै अत्यन्त लोकप्रिय विधाका रूपमा रहेको उपन्यासका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. उपन्यासको सैद्धान्तिक स्वरूप र परम्परा
‘न्यास’ मूल शब्दमा ‘उप’ उपसर्ग जोडिएर ‘उपन्यास’ शब्द बन्दछ । ‘अस्’ धातुमा ‘नि’ उपसर्ग र ‘घञ्’ प्रत्यय जोडिँदा ‘न्यास’ शब्द निर्माण हुन्छ । अर्थात् उपन्यास शब्दको निर्माण ‘उप+नि+अस्+घञ्’बाट भएको हो । यसको मूल रूप ‘अस्’ धातु हो जसको अर्थ ‘राख्नु’ वा ‘फ्याँक्नु’ भन्ने हुन्छ भने त्यसैबाट बनेको ‘न्यास’ शब्दको अर्थचाहिँ स्थापित गर्नु भन्ने हुन्छ । यसका आधारमा हेर्दा ‘उपन्यास’को व्युत्पत्तिपूर्ण अर्थ ‘समीपमा स्थापना गर्नु’ भन्ने हुन्छ । भरतमुनिको नाट्यशास्त्रदेखि नै संस्कृत काव्यशास्त्रीय परम्परामा उपन्यासलाई विविध अर्थमा चिनाउने गरेको पाइन्छ । विश्वनाथले त ‘उपन्यासः प्रसादनम्’ भनेर उपन्यास शब्दको स्पष्ट उल्लेख नै गरेका छन् ।

उपन्यास तत्सम शब्द हो र यसको प्रयोग संस्कृत काव्यशास्त्रहरूमा प्रचाीन कालदेखि नै हुँदै आएको भए पनि यसलाई अङ्ग्रेजीको ‘नोबेल’ शब्दको पर्यायका रूपमा लिने गरिन्छ । ल्याटिन भाषाको ‘नोवस्’ तथा ‘नोवलस्’ शब्दको रूपान्तरणका रूपमा ‘नोबेल’ शब्दलाई लिने गरिन्छ । अङ्ग्रेजी ‘नोबेल’ शब्दचाहिँ इटालियन भाषाको ‘नोबेले’ शब्दबाट आएको मानिन्छ । यसको अर्थ नयाँ समाचार वा घटना भन्ने हुन्छ । यसरी पूर्वीय जगत्मा होस् वा पाश्चात्य जगत्मा होस् शब्दको व्युत्पत्तिगत अर्थ जे जे भए पनि उपन्यास वा नोबेललाई विश्वसाहित्यका सन्दर्भमा एउटा साहित्यिक विधाविशेषका रूपमा चिन्न सकिन्छ ।

उपन्यासका बारेमा विभिन्न विद्वान्हरूका आआफ्नै अवधारणाहरू पाइन्छन् । हेनरी जेम्सले उपन्यासलाई जीवनको वैयक्तिक र प्रत्यक्ष प्रतिविम्ब मानेका छन् भने हर्बट मुलरले उपन्यास मानव अनुभवको निरूपण हो, चाहे त्यो यथार्थ होस् वा आदर्श तर उपन्यासमा अनिवार्यतः जीवनको आलोचना रहन्छ भनी परिभाषित गरेका छन् । यसरी नै राल्फ फक्सले चाहिँ उपन्यासलाई ‘मानव जीवनको गद्य’ भनी ध्वन्यात्मक रूपमा चिनाउने काम गरेका छन् । नेपाली साहित्य परम्परामा कृष्णचन्द्रसिंह प्रधानले उपन्यास मानवजीवनकै सम्पूर्णताको अभिव्यक्ति हो भनेका छन् भने वासुदेव त्रिपाठीले कुनै शाश्वत मानवीय मर्मको अविस्मरणीय कलात्मकताले नै उपन्यासलाई महान् बनाउँछ भनी चिनाएका छन् । यसरी नै हिमांशु थापाले मानवजीवनको विस्तृत पक्ष र सम्बद्ध परिवेशको प्रस्तुतिलाई, मोहनराज शर्माले मानवीय जीवनको चित्रण गर्ने विशालकाय आख्यानात्मक गद्यसंरचनालाई र राजेन्द्र सुवेदीले पूर्वापर तारतम्यमा सुसम्बद्ध गरेर लेखिएको आख्यानात्मक रचनालाई उपन्यासका रूपमा चिनाएका छन् । यी परिभाषाहरूलाई हेर्दा उपन्यासमा यथार्थ र काल्पनिक जुनसुकै कथावस्तु भए पनि जीवनको समग्रतालाई समेट्नुपर्ने, भावको प्रभावकारिता हुनुपर्ने, पात्र र परिवेशको स्वाभाविक सन्तुलन हुनुपर्ने र भीमकाय आयातन वा संरचना हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत रूपमा विस्तृतको, विषयगत रूपमा जीवन र जगत्को समग्रताको प्रतिनिधित्व गर्न सक्ने र भावगत रूपमा प्रभावकारी एक वा अनेक घटनाहरूको विन्यास नै उपन्यासको चिनारी हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने कवितापछि कथा र उपन्यास दुवैको आगमन एउटै कृतिबाट भएको देखिन्छ । नेपाली कथा र उपन्यास दुवैको प्रारम्भ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (वि.सं. १८२७) बाट भएको मानिन्छ । आकारगत रूपमा जे भए पनि कथागत संरचना वा घटनाविन्यासका आधारमा ‘महाभारत विराटपर्व’लाई कथा र उपन्यास दुवैको प्रारम्भविन्दु मानिएको हो । यसरी १८२७ देखि ‘वीरसिक्का’को प्रकाशन (१९४६) सम्मको समयलाई नेपाली उपन्यासको प्राथमिक काल भनिन्छ भने ‘वीरसिक्का’को प्रकाशनदेखि लिएर १९९० सालसम्मको समयावधिलाई नेपाली उपन्यासको माध्यमिक काल भनिन्छ । १९९१ मा उपन्यासकार रुद्रराज पाण्डेको ‘रूपमती’ उपन्यास प्रकाशन भएपछि नेपाली उपन्यास आधुनिकतामा प्रवेश गरेको हो । अनुवाद प्राथमिक कालीन उपन्यासको, जासुसी, तिलस्मी वा उडन्ते घटना माध्यमिक कालीन उपन्यासको र विषयगत विविधता, भावगत अनेकता र शैलीगत नवीनता आधुनिक नेपाली उपन्यासको चिनारी बन्ने गरेको छ । यसरी १८२७ देखि हालसम्मको २५० वर्षको अवधिमा नेपाली उपन्यासले अनेकौँ वाद, प्रवृत्ति र शैलीहरू अँगाल्दै आएको ऐतिहासिक तथ्यलाई भुल्न मिल्दैन । हालसम्म आइपुग्दा नेपाली उपन्यासमा परम्परागत परिभाषा, संरचना र चिनारीभन्दा भिन्न प्रयोगधर्मी सिर्जनाहरू पनि देखापरेका छन् । तिनलाई अउपन्यास, कथोपन्यास, आत्मोपन्यास, नाट्योपन्यास आदि आदि नाम पनि दिने गरिएको पाइन्छ ।

३. उपन्यास हुनका लागि के के चाहिन्छ ?
आख्यानको एउटा भेद भए पनि उपन्यास आफैँमा पूर्ण संरचना हो । यो लघुकथा वा कथाको विस्तार होइन । एउटा विशाल परिवेश बोक्न सक्ने घटनाको छनोट गरेर त्यसलाई आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाका आधारमा विकसित गर्दै गएर प्रभावकारी निष्कर्षका पुग्नु उपन्यासको संरचनात्मक चिनारी हो । एउटा उपन्यासकार उपन्यास लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

(क) घटना/कथावस्तु: केका बारेमा उपन्यास लेख्ने हो ? त्यसको निर्धारण ।
(ख) कथानक: कथावस्तुलाई कार्यकारण शृङ्खलाबद्ध कसरी गर्ने हो ? त्यसप्रतिको स्पष्टता ।
(ग) पात्र/चरित्र: कथावस्तुलाई लक्ष्यसम्म पु¥याउने जिम्मा ककसलाई दिने हो ? तिनको छनोट ।
(घ) परिवेश: उपन्यासका पात्रहरू उभिएको ठाउँ, समय र वातावरण के कस्तो राख्ने हो ? तिनको विश्वसनीय चयन ।
(ङ) उद्देश्य/भाव/विचार: यो उपन्यास किन लेख्न लागिएको हो ? त्यसको आन्तरिक शक्ति निर्धारण ।
(च) दृष्टिविन्दु: उपन्यासका पात्रहरूसँगको लेखकीय सम्बन्ध कस्तो बनाउने हो ? सम्बन्ध छनोट ।
(छ) कथोपकथन/संवाद: पात्रका बिचमा विचारविनिमय कसरी गराउने हो ? त्यसको निर्धारण ।
(ज) भाषाशैली: कथावस्तुलाई कसरी बाह्य रूपमा प्रकटीकरण गर्ने हो ? भाषिक स्वरूप निर्धारण ।

यिनका साथै उपन्यासकारले मूल घटनालाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका लागि आवश्यक प्रतीक र विम्बहरूको छनोट पनि उपन्यासमा गरेको हुनुपर्छ र अभिव्यक्तिको गतिशीलता र घटनाको स्वाभाविक वहावका लागि गति, यति र लयको पनि आन्तरिक व्यवस्थापन अनिवार्य मानिन्छ । यी कुराहरूका बारेमा उपन्यासकार यसरी अझै स्पष्ट हुनु जरुरी छ—
(द्रष्टव्य: तत्त्वगत रूपमा कथा र उपन्यासमा समानता देखिने हुनाले कथागत सन्दर्भबाट पनि अझै स्पष्ट हुन सकिन्छ ।)

(क) घटना अथवा कथावस्तु
उपन्यास जेका बारेमा लेखिने हो त्यसलाई ‘घटना अथवा कथावस्तु’ भनिन्छ । अर्थात् उपन्यासमा समाविष्ट मूल घटना नै उपन्यासको घटना हो र उपन्यासमा जुन कहानीलाई जोड दिइएको छ त्यो कथावस्तु हो । उपन्यासमा आएको कथावस्तु वा घटना पनि कथामा जस्तै कुनै रैखिक ढाँचामा, कुनै वृत्ताकारीय ढाँचामा र कुनै अमूर्त ढाँचामा हुने गर्दछन् । रैखिक ढाँचाको कथावस्तु सुरुदेखि अन्त्यसम्म सरासर अगाडि बढेको हुन्छ, वृत्ताकारीय ढाँचाको कथावस्तु घुमाउरो शैलीमा अगाडि बढेको हुन्छ भने अमूर्त ढाँचाको कथावस्तु शब्दगुम्फन, भावगुम्फन र शैलीगत नवीनताभित्रै हराएको हुन्छ । अमूर्त ढाँचाको कथावस्तु प्रयोग भएका उपन्यासलाई प्रयोगशील, प्रयोगधर्मी वा प्रयोगवादी भन्ने गरिन्छ । नेपाली उपन्यास परम्परालाई हेर्ने हो भने रुद्रराज पाण्डेको ‘रूपमती’ उपन्यासमा कथावस्तुको विकास रैखिक ढाँचामा अगाडि बढेको पाइन्छ, धनुषचन्द्र गौतमको ‘घामका पाइलाहरू’ उपन्यासमा कथावस्तुको विकास वृत्ताकारीय ढाँचामा अगाडि बढेको पाइन्छ भने इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासमा कथावस्तुको विकास अमूर्त, अस्पष्ट र प्रयोगात्मक ढाँचामा अगाडि बढेको पाइन्छ ।

(ख) कथानक
उपन्यासभित्रको घटनाको उपयुक्त विन्यास वा व्यवस्थापनलाई कथानक भनिन्छ । कथावस्तुलाई अगाडि बढाउनका लागि आन्तरिक रूपमा कार्यकारण शृङ्खला निर्माण गर्नु अनिवार्य मानिन्छ । त्यही कार्यकारण शृङ्खला नै कथानक हो । उपन्यासमा एउटा घटनाले अर्को घटना जन्माउँछ र त्यसले फेरि अर्को घटना जन्माउँछ । उपन्यासको संरचना एउटा सिक्रीको जस्तै वा मालाको जस्तै हुने गर्दछ । यो घटना नभएको भए यो हुने थिएन । यसका कारण यस्तो भयो, यस्तो हुनाले फेरि यस्तो भयो भन्ने पाठकका मनमा लागिरहनु नै कार्यकारण शृङ्खलाको प्रभाव हो । यसैले उपन्यासको अन्त्य सुखान्त वा दुःखान्त बनाउनलाई सहयोग पु¥याएको हुन्छ । पाठकका मनमा पछिसम्म पनि ‘यत्तिचाहिँ नभइदिएको भए त यस्तो हुने थिएन नि !’ भन्ने लागिरहनुको कारण कथानकको समुचित प्रयोग नै हो । यस्तो कार्यकारण शृङ्खलाले उपन्यासलाई कुतूहलपूर्ण, आकर्षक र जीवन्त बनाउँछ ।

(ग) पात्र/चरित्र/चरित्रचित्रण
कथावस्तुलाई वहन गर्नका लागि ‘पात्र वा चरित्र’को आवश्यकता पर्दछ भने पात्रको स्वरूप, प्रवृत्ति वा भूमिकाको चिनारीका लागि ‘चरित्रचित्रण’ आवश्यक हुन्छ । उपन्यासमा प्रमुक्त पात्रहरू सबै एकै खालका हुँदैनन् । कुनै पात्र मुख्य हुन्छन् भने कुनै सहायक र कुनै गौण पनि हुने गर्दछन् । कुनै सकारात्मक, कुनै नकारात्मक, कुनै नायक र कुनै खलनायक, कुनै पुरुष, कनै स्त्री, कुनै बद्ध, कुनै मुक्त, कुनै मञ्चीय र कुनै नेपथ्य आदि विविध प्रकारका पात्रको प्रयोग उपन्यासमा हुने गर्दछ । ती पात्रहरूमध्येमा कुनै एक वा दुई पात्र कथाकारको मुखपात्र हुन्छन् । तिनले कथाकारले दिन चाहेको मूल सन्देश प्रवाह गरेका हुन्छन् । त्यसैले उपन्यासको केन्द्रीय कथ्यको सबलीकरणमा पात्रको विशेष भूमिका हुने गर्दछ ।

(घ) परिवेश (देश, काल र वातावरण)
पात्र खेल्नका लागि ‘परिवेश’ चाहिन्छ । परिवेशभित्र देश (स्थान), काल (समय) र वातावरण (पर्यावरण) चाहिन्छ । यसको प्रत्यक्ष सम्बन्ध घटना र पात्रसँग हुन्छ । उपन्यासमा प्रयोग भएको परिवेशमा स्थानगत स्वाभाविकता, कालगत अनुकूलता र वातावरणगत विश्वसनीयता हुनु अनिवार्य छ । परिवेश अनुकूल भएन भने उपन्यासकारको ज्ञानमाथि प्रश्न उठ्ने हुनाले यसले कथावस्तुलाई विश्वसनीय बनाउने काम गर्दछ ।

(ङ) उद्देश्य/भाव/विचार
उपन्यास किन लेख्ने भन्ने बारेमा उपन्यासकार स्पष्ट हुनु आवश्यक छ त्यसैले ‘उद्देश्य’ उपन्यासका लागि आवश्यक छ । यो उपन्यासको अन्तर्वस्तु हो । यसमा उपन्यासकारले के उद्देश्य राखेर उपन्यास लेखेको हो ? यसको केन्द्रीय कथ्य वा भाव के हो र यसमा स्रष्टाको कस्तो विचार अभिव्यक्त भएको छ भन्ने कुरा थाहा पाइन्छ । पूर्वीय काव्यशास्त्रमा धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्गको प्राप्तिलाई सिर्जनाको उद्देश्य मान्ने गरिएको छ तर आजका सिर्जनामा त्यसको अक्षरशः पालना नभए पनि समाजअपेक्षित वा युगसापेक्ष एउटा न एउटा उद्देश्यमा उपन्यासकार केन्द्रित भएर उपन्यास लेख्नु आवश्यक मानिन्छ । यही उद्देश्यले उपन्यासकारको वैचारिक धरातल पनि निर्धारण गर्दछ ।

(च) दृष्टिविन्दु
उपन्यासमा पात्रको उपस्थितिलाई दृष्टिविन्दु भनिन्छ । यसले स्रष्टा र पात्रका बिचको सम्बन्धलाई समेत सङ्केत गरेको हुन्छ । उपन्यासमा ‘म’, ‘हामी’ जस्ता पात्रको प्रयोग गरिएको छ भने त्यसलाई प्रथम पुरुषात्मक आन्तरिक दृष्टिविन्दु भनिन्छ भने अन्य पात्र (ऊ, त्यो अथवा नाम) को प्रयोग गरिएको छ भने त्यसलाई तृतीय पुरुषात्मक बाह्य दृष्टिविन्दु भनिन्छ ।

(छ) संवाद/कथोपकथन
उपन्यासमा पात्रका बिचमा विचारविनिमय हुनु अनिवार्य छ । एउटा पात्रको विचारलाई अर्को पात्रसम्म पु¥याउनका लागि सेतुको काम संवादले गर्दछ । उपन्यासमा संवाद भयो भने कथानकलाई पात्रले नै अगाडि बढाउने काम गर्दछन् तर संवाद भएन भने उपन्यासकारले कथालाई वर्णनात्मक शैलीमा अगाडि बढाउनुपर्ने हुन्छ । संवादात्मक माध्यमबाट कथावस्तुलाई अगाडि बढाउने वा विषयवस्तुको कार्यकारण शृङ्खलाअनुकूल बनाएर गति दिने कार्यलाई कथोपकथन भनिन्छ । यसले उपन्यासमा गति, यति र लयको पनि काम गर्ने गर्दछ ।

(ज) भाषाशैली
कथावस्तुको सम्प्रेषणका लागि ‘भाषा’ चाहिन्छ भने प्रस्तुतिको कलात्मकताका लागि ‘शैली’को आवश्यकता पर्दछ । उपन्यासको भाषाशैली कतै वर्णनात्मक, कतै विवरणात्मक र कतै संवादात्मक हुने गर्दछ । वर्णनात्मक र विवरणात्मक भाषाशैलीको प्रयोग भएमा त्यहाँ उपन्यासकारको सक्रियता देखिन्छ भने संवादात्मक शैलीमा पात्रको सक्रियता हुने गर्दछ । उपन्यासको भाषा पात्र वा परिवेशअनुकूल भयो भने त्यो उपन्यास सुन्दर र स्वाभाविक पनि मानिन्छ । उपन्यासको शैली अत्यन्त आकर्षक, कुतूहलपूर्ण र पाठकमा उत्सुकता जगाउने खालको हुनुपर्छ । यसको आशय उपन्यासको प्रस्तुतीकरण घटनाको सरासर वर्णन गर्ने खालको हुनु हुँदैन । घटनाको विकास, कथानकको बुनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइरहनुपर्छ र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालको हुनुपर्छ ।

यत्ति कुरामा स्रष्टाले ध्यान दिने हो भने सुन्दर उपन्यास सिर्जना हुन सक्छ । उपन्यासलाई एउटा सुन्दर र प्रभावकारी शीर्षकले बाँध्ने गरिन्छ । शीर्षक समग्र उपन्यासको मियो हो जसका वरिपरि कथावस्तु घुम्दै गएर एउटा प्रभावकारी निष्कर्षमा पुग्दछ । शीर्षक छोटो र पद वा पदावलीको तहमा हुनु राम्रो मानिन्छ । सकेसम्म शीर्षक वाक्यात्मक तहमा हुनु हुँदैन । उपन्यासमा घटनाको व्यवस्थापन आदि, मध्य र अन्त्य तीनओटै चरणमा हुनुपर्छ । पूर्वीय जगत्मा प्रबन्धात्मक रचनाहरूका लागि विशेष व्यवस्थाको सङ्केत पाइन्छ । उपन्यास पनि महाकाव्यजस्तै प्रबन्धात्मक रचनाभित्र पर्दछ । त्यसैले उपन्यासमा पनि महाकाव्यमा जस्तै पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) यी तीनै तत्त्वको समुचित प्रयोग हुनुपर्छ भन्ने मान्यता पूर्वमा रहेको छ । यसले कथानकको विकासलाई सङ्केत गरेको छ ।

उपन्यासमा कथानकको आन्तरिक विकास गर्दाचाहिँ कथानकको बीज, विकास, चरमोत्कर्ष, प्रतिचरमोत्कर्ष र उपसंहार भाग गरी पाँचओटा चरणमा ध्यान दिनुपर्छ । यसका आधारमा रुद्रराज पाण्डेको ‘रूपमती’ उपन्यासलाई हेर्ने हो भने यस्तो अवस्था देखिन्छ—

(क) कथानकको बीज भाग: सुरुदेखि रविलालले तेल पोखेर रूपमतीलाई कुटाएसम्मको घटना ।

(ख) कथानकको विकास भाग: रूपमतीको माइतको वर्णनपछि एसएल शर्माको चर्चा, रविलाल र बरालपुत्रीको विवाह, रूपमतीको सन्तान नहुनाले सौताका लागि दबाब हुँदै शर्माको पढाइ प्रसङ्गसम्मको घटना ।

(ग) कथानकको चरमोत्कर्ष भाग: पं. छविलालको मृत्यु भएदेखि सासू र बरालपुत्रीको झगडा, रूपमतीको सहनशीलता, पुत्रप्राप्ति, छैटीमा बरालपुत्रीले मासु चोरेर खाएको प्रसङ्ग हुँदै रविलाल र बरालपुत्री छुट्टिएर बसेसम्मको घटना ।

(घ) कथानकको प्रतिचरमोत्कर्ष भाग: छुट्टिएर बसेपछि दुःख पाएको, चारओटी छोरी जन्मिएको, चारैतिर ऋण लागेको, बरालपुत्रीले केही समय माइतबाट खाने कुरा ल्याएको, बरालपुत्रीकी आमाको निधनपछि भाउजूहरूले रिस गरेको हुँदै रविलालले श्रीमती कुटेपछि बरालपुत्री माइत गएसम्मको घटना ।

(ङ) कथानकको उपसंहार भाग: रविलालको परिवारको अवस्था थाहा पाएपछि रूपमतीले ती सबैलाई घरमा ल्याएको, तीनओटी छोरीको विवाह गरिदिएको, मधेसतिरको आफ्नो जग्गा पनि दिएको प्रसङ्ग हुँदै सारा गाउँलेहरूले रूपमतीको आदर्शको चर्चा गरेसम्मको घटना ।

एउटा उपन्यासमा कथानकको आन्तरिक बुनोट यसरी गरिन्छ तर त्यहाँ यो यो भाग हो भनेर उल्लेख गरिँदैन । ती भागहरू कथानकको विकासका क्रममा स्वाभाविक रूपमा उनिँदै आउँछन् । यिनको उत्तरोत्तर गतिमा भने कुनै कृत्रिमता देखिनु हुँदैन । परम्परित उपन्यासहरूमा यस प्रकारको संरचना हुन्छ भने प्रयोगधर्मी उपन्यासहरूमा यस प्रकारको व्यवस्थापन नभएर यी सबै कुरा भित्रभित्रै खजमजिएको वा गुजगुजिएको अवस्थामा आउने गर्दछन् । साथै कथाका तन्तुहरूलाई भेला पारेर कथावस्तुको एउटा सिङ्गो रूप निर्माण गर्नुपर्ने अवस्था पनि कतिपय उपन्यासहरूमा देखिने गर्दछ ।

४. उपन्यास कसरी लेखिन्छ ?
उपन्यासमा जीवन र जगत्को सम्पूर्ण घटना वा अवस्थाको चित्रण हुने गर्दछ । यसमा सामाजिक, ऐतिहासिक वा काल्पनिक जुनसुकै क्षेत्रको विषयलाई आख्यानात्मक स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले उपन्यासकारले उपन्यास लेख्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरण: कथावस्तु, पात्र र परिवेशको निर्धारण
उपन्यास केका बारेमा लेख्ने वा कस्तो घटनाको चित्रण गर्ने हो ? उपन्यासकार स्पष्ट हुनुपर्छ । उपन्यास जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । त्यसैले उपन्यासकारले सबैभन्दा पहिला आफूले चाहेको घटना छनोट गर्नुपर्छ, त्यस घटनालाई वहन गर्न सक्ने पात्रको चयन गर्नुपर्छ र घटना एवं चरित्रका लागि अनुकूल हुने गरीको परिवेशको छनोट गर्नुपर्छ । यस चरणमा उल्लिखित विषयका लागि आवश्यक बुँदाहरूको टिपोट गर्नुपर्छ र ती बुँदाहरूलाई आदि, मध्य र अन्त्यका लागि व्यवस्थित रूपमा मिलाएर राख्नुपर्छ ।

दोस्रो चरण: उद्देश्यअनुकूल कथानकको विस्तार गरी खेस्रा लेखन
यस चरणमा माथि निर्धारित आदि, मध्य र अन्त्य भागको कथावस्तुलाई स्वाभाविक रूपमा विस्तार गर्न थाल्नुपर्छ । उपन्यासको निर्धारित सिद्धान्त र आवश्यक तत्त्वमा केन्द्रित रहेर कथावस्तुलाई पात्रको चरित्रचित्रणका साथ परिवेशअनुकूल बनाउँदै अगाडि बढाउनुपर्छ । कथानकको विकासका लागि आवश्यक संवाद, कथोपकथन आदिका माध्यमबाट पाठकमा कुतूहल सिर्जना गर्दै जानुपर्छ । यसरी आख्यानलाई रोचक बनाउँदै उपन्यासको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरण: आवश्यक परिमार्जन गरी साफी लेखन
यस चरणमा उपन्यासकार आफैँले लेखेको उपन्यासको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा उपन्यासको बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो उपन्यास प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका उपन्यासकारहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त एकै पटकमा अथवा एकै बसाइमा एउटा उपन्यासको साफी लेखन नै गर्न सक्छ । यति मात्र होइन, यो उपन्यास लेखनका लागि बाहिरी फ्रेम मात्र हो ।

आन्तरिक रूपमा रहने औपन्यासिक शक्तिचाहिँ प्रत्येक उपन्यासकारमा आआफ्नै प्रकारको हुन्छ । सिर्जना पाठशालामा उपन्यासको संरचनाका बारेमा जानकारी दिन सकिन्छ तर व्यक्तिभित्र रहेको सिर्जनाकला, सिर्जनाक्षमता वा सिर्जनाशक्ति भने कसैले कसैलाई दिन सकिँदैन । त्यसैले एउटै विषयमा दश जनाले उपन्यास लेख्ने हो भने तिनमा औपन्यासिक कला वा औपन्यासिक सौन्दर्यचाहिँ फरक फरक हुने गर्दछ । त्यसैलाई उपन्यासकारको निजी कला वा औपन्यासिक विशेषता भन्ने गरिन्छ ।

५. उपन्यासको प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १: घटना वा कथावस्तु (प्लट) को परिकल्पना (यथार्थ वा काल्पनिक) ।

चरण २: अनुकूल शीर्षक चयन (पद वा पदावलीका तहमा) ।

चरण ३: कथावस्तुलाई वहन गर्न सक्ने पात्र र परिवेशको निर्धारण (कथाअनुकूल र विश्वसनीय) ।

चरण ४: उपन्यास किन लेख्ने भन्ने कुराको निर्धारणसहित प्राक्कल्पना (मस्तिष्कको आन्तरिक संरचनामा) ।

चरण ५: समग्र कथावस्तुलाई समेट्ने गरी बुँदाटिपोट, बुँदाहरूको आदि, मध्य र अन्त्यको व्यवस्थापन र आन्तरिक रूपमा खण्ड वा परिच्छेदको वर्गीकरण कसरी गर्ने हो ? त्यसको निर्धारण ।

चरण ६: आवश्यकताअनुसार कतै वर्णनात्मक, कतै विवरणात्मक, कतै सूचनात्मक र धेरैचाहिँ संवादात्मक शैलीमा कथावस्तुको विस्तार गर्दै गएर खेस्रा लेखन ।

चरण ७: खेस्रा रूपमा तयार भएको उपन्यासको पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।

चरण ८: कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण, भूमिका र कृतज्ञता (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)

६. निष्कर्ष
उपन्यास विश्वसाहित्यकै अत्यन्त लोकप्रिय र प्रभावकारी आख्यान हो । यसमा घटनाको प्रधानता हुन्छ तर यसमा प्रयोग भएको घटनाले मानव जीवन र जगत्को चित्र खिच्ने क्षमता राख्दछ । घटना यथार्थ वा काल्पनिक जे होस् त्यसलाई साधारणीकरण गरेर साझा अनुभूतिको अभिव्यक्ति वा युगको प्रतिनिधि आवाज बनाउने प्रयास उपन्यासकारको हुनुपर्छ । वैयक्तिक भोगाइ वा अनुभवलाई पनि सार्वजनिक बनाउन सक्ने कलाले उपन्यासलाई लोकप्रिय बनाउँछ । बृहत् संरचना भए पनि पट्यारलाग्दो र गन्थनयुक्त नबनाई आन्तरिक रूपमा नै गरिएको कुतूहलपूर्ण तथा शक्तिशाली भावविधान उपन्यासको शक्ति हो भने लम्बेतान वर्णन र कथावस्तुको सपाट घटनाविस्तार यसको सीमा हो ।

क्रमशः अर्को हप्ता…