खोज पत्रकारिता केन्द्र
धेरै मिहिनेत गरेर खोजी गरेको स्टोरी बाहिर आउँदा कस्तो प्रभाव पर्ला भनेर सोच्ने बेलामा मसँग पाठकलाई बताउने स्टोरी साँच्चै छ त भनेर आफैंलाई सोध्नुपर्छ । अतुलनिय र उत्कृष्ट बन्न सक्ने खोजमूलक स्टोरी राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा स्टोरी कसरी तयार गरिएको छ र कसरी लेखिएको छ भन्नेमा भर पर्छ ।
स्टोरीको महत्वपूर्ण पक्षका बारेमा सोचविचार गरिएको र त्यसलाई सबैभन्दा शक्तिशाली बिम्बमार्फत व्यक्त गरिएको स्टोरीले पाठकलाई साँच्चै प्रभावित पार्छ । ‘स्टोरीको सुरूआतमा विषयवस्तुलाई रोचक ढंगले प्रस्तुत गर्नुपर्छ अर्थात् लिडले पाठकको ध्यान तान्नुपर्छ । लिडमा नभई नहुने जानकारी मात्र दिनुपर्छ । थप जानकारी पछि दिनुपर्छ’, वरिष्ठ अमेरिकी पत्रकार स्टेफेन फ्र्यान्कलिनले यस्तो सल्लाह दिएका छन् ।
यसका साथै आफूले पाएका जानकारीलाई इमानदारीपूर्वक लेख्नु पनि उत्तिकै जरूरी हुन्छ । आफ्नो स्टोरीसँग अमिल्दा बिम्ब राख्नुहुँदैन । घटनालाई सनसनीपूर्ण बनाउनु पनि हुँदैन । पाठकको विश्वास जित्नु ठूलो कुरा हो । पाठकलाई असत्य जस्तो लाग्ने कुरा वर्णन गर्दा पाठकले पत्याउँदैन ।
स्टोरीमा सबै जानकारी प्रस्तुत गरिसकेपछि स्टोरीको अन्त्यमा त्यसको सार खिच्नुपर्छ र त्यसलाई प्रमाणित गर्ने तथ्य दिनुपर्छ । गलत काम भएको छ भन्ने कुरालाई पुष्टि गर्न इन्कार गर्न नमिल्ने खालको प्रमाण पेश भएको स्टोरी नै राम्रो खोजमूलक स्टोरी हो । तर शब्द र प्रमाणको उपयोग गर्दा र प्रमाणलाई एकअर्कासँग जोड्दा हेलचेक्र्याइँ गरिएको छ भने विश्वसनीय जस्तो लाग्ने स्टोरी पनि अर्थहीन हुन्छ । अझ खराब कुरा के हुन्छ भने राम्रोसँग ध्यान दिइएको छैन भने स्टोरीले मानहानी गरेको ठहरिन सक्छ ।
परिभाषा र उदाहरणः विशिष्ट र जटिल शब्दावलीको परिभाषा दिनुपर्छ । एउटा स्टोरीका भिन्न ठाउँमा एउटै शब्दावलीलाई भिन्न भिन्न किसिमले परिभाषित गर्नुहुँदैन । अमूर्त जस्ता लाग्ने कुरालाई उदाहरण दिएर स्पष्ट पार्नुपर्छ ।
अप्रामाणिक सामान्यीकरणः ‘अधिकांश’, ‘धेरै’, ‘केही’, अथवा ‘अलिकति’ जस्ता शब्दका बीचको भिन्नता र अर्थ राम्रोसँग थाहा पाउनुपर्छ । तिनका बीचको अन्तर राम्रोसँग छुट्याउनुपर्छ । ‘अधिकांश’ र ‘धेरै’ को अन्तरमा विचार पुर्याउनुपर्छ । ‘सबै’ र ‘एउटा पनि होइन’ जस्ता शब्द बीचको भिन्नतामा अझ बढी चनाखो हुनुपर्छ । आफूले दिएको कारण ‘अकाट्य कारण’ हो कि ‘धेरै कारणमध्ये एक’ हो भनी ध्यान दिनुपर्छ । अनि ‘सधैंभरि’ लेख्नुपर्ने ठाउँमा ‘अक्सर’ पो लेखियो कि भनी विचार पुर्याउनुपर्छ ।
सामान्यीकरण गरिएका कुरालाई उदाहरण दिएर, ज्ञात स्रोतलाई उद्धृत गरेर स्पष्ट पार्नुपर्छ ।
पुष्टि गर्ने खालका तर्क आफ्ना भनाइलाई पुष्टि गर्न ठोस जानकारी दिनुपर्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । विचारको आलोचना गर्नुपर्ने ठाउँमा व्यक्तिमाथि आक्रमण गर्नुहुँदैन । तथ्य र तर्क वितर्क बारेमा छलफल गर्नुपर्छ । आफूले स्टोरीमा दिन खोजेको सन्देशलाई अत्यन्त स्पष्ट ढंगले बताइदिनु वा देखाइदिनुपर्छ । स्टोरीको अन्तिम वाक्यमा स्टोरीको सार हुनुपर्छ ।
प्रमाणस्वरुप आधिकारिक व्यक्तिका भनाइः आफूले स्टोरीमा उल्लेख गरेका कामका राम्रा र नराम्रा पक्ष उल्लेख गर्नुहोस् र तिनीहरूलाई सन्तुलित ढंगले प्रस्तुत गर्नुहोस् ।
अधिकारप्राप्त संस्था/व्यक्तिले कुनै काम गर्नुका पछाडि रहेका कारणमा ध्यान दिनु जरूरी हुन्छ । कसैले कुनै कुरा किन भन्यो ? पृष्ठभूमि अनुसन्धान गर्न र भनाइ लिनका लागि एकजनासँग मात्र होइन थरीथरीका सान्दर्भिक मानिससँग कुरा गर्नुहोस् ।
पूर्वाग्रह, पुराना ढर्रा अथवा आवेग सकारात्मक अथवा नकारात्मक जस्ता भए पनि पुराना ढर्रा नअपनाउनोस् । भाषा निष्पक्ष हुनुपर्छ र आफ्ना सबै स्रोत र समाचारमा उल्लेख भएका व्यक्तिलाई उत्तिकै मात्रामा स्वस्थकर शंका गर्नुपर्छ । आफूले भनेका कुरा पुष्टि गर्ने प्रमाण दिनुपर्छ । ठोस प्रमाण होइन विश्वसनीय प्रमाण बन्न सक्ने परिस्थिति देखाएर पनि सही र विश्वसनीय खोजमूलक स्टोरी तयार गर्न सकिन्छ । ठोस प्रमाणै जुटाउन सके त राम्रो । तर त्यसो गर्न नसक्दा प्रमाण बन्न सक्ने परिस्थितिका आधारमा पनि उत्तिकै दह्रो स्टोरी तयार गर्न सकिन्छ । यस्ता पर्याप्त प्रमाण भेला गरिएको छ भने तिनलाई खँदिलो पारेर स्पष्टसँग लेख्नुपर्छ ।
यस्ता प्रमाण हुनसक्ने परिस्थितिबारे विस्तारमा बताउनुपर्छ । आवश्यक परे आफ्ना स्रोतसँग थप कुरा बुझ्नुपर्छ । सन्दर्भ राम्रोसँग बताउनुपर्ने पनि हुनसक्छ । यसो गर्दा कुनै काम कस्तो अवस्थामा भएको थियो र त्यसको असर कस्तो अवस्थामा परेको थियो भन्ने कुरा पाठक/दर्शक/श्रोताले थाहा पाउँछन् । यसो गर्दा तपाईंले लेखेको स्टोरीमा जसमाथि जे काम गरेको भनी आरोप लगाइएको छ उनीहरूसँग त्यसो गर्ने क्षमता, नियत र अवसर थियो कि थिएन भन्ने कुरा पाठक/दर्शक/श्रोताले थाहा पाउँछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।