रविन गिरी
“हिजोआज सबैबाट एकमुखको माग यही भइरहेछ – सिद्धान्तकौमुदीका सूत्र जस्तै गरी नेपाली व्याकरण हामी घोक्न सक्तैनौं, तसर्थ ज्यादै सजिलो, ज्यादै छोटकरी, ज्यादै उदार कुनै नियम भए हाम्रो लेखाइमा एकता होला ।”
माग आजकै पुस्ताको जस्तै लाग्छ । तर, १९९१ सालमा नेपाली भाषा प्रकाशिनी समिति (नेभाप्रस) ले नेपाली कसरी शुद्ध लेख्ने ? पुस्तिका प्रकाशन गर्नुको अन्तर्य यहि रहेछ । प्रस्तावनामै यसो लेखिनुबाटै स्पष्ट संकेत पाइन्छ ।
विडम्बना, राणा प्रधानमन्त्री जुद्धशमशेरकै पालामा समस्या ठानिएको नेपाली भाषाका समस्या संघीय गणतन्त्र नेपालमा पनि समाधान हुन सकेनन् । ‘विद्यालय’ पढेका शिक्षक अहिले विद्यार्थीलाई चाहिं ‘विद्यालय’ सिकाइरहेका छन् । ‘शहर’ बसेकाहरु एकाएक ‘सहरवासी’ बनेका छन् । ‘कोशी’ को पानीमै आश्रितहरुलाई कतिखेर नदी पातलिएर ‘कोसी’ बन्यो पत्तै छैन । अवस्थामा कुनै परिवर्तन नआए पनि हिजोका ‘गरीब’ आज ‘गरिब’ बनेका छन् ।
‘नेपाली भाषालाई सरल बनाउन’ नेपाल प्रज्ञा प्रतिष्ठानले २०६९ सालमा प्रकाशित गरेको नेपाली बृहत् शब्दकोशको नवौं संस्करणले गरेको ‘वैज्ञानिक परिवर्तन’ धेरैका लागि सरकारद्वारा जबर्जस्ती लादिएको कानून बन्यो । संस्कृतबाट आएका तत्सम शब्द जस्ताको तस्तै लेख्ने, संयुक्त अक्षरलाई खुट्टा काटेरै लेख्नुपर्ने, उच्चारण अनुसार नै लेखिनुपर्ने जस्ता थुप्रै निर्देशनलाई त्रिभुवन विश्वविद्यालय समेतले आँखा चिम्लिदिंदा आज थुप्रै विद्यार्थी ‘फूल’ र ‘फुल’ मा भेद छुट्याउन नसक्ने बनेका छन् ।
त्रिभुवन विश्वविद्यालय समेतले आँखा चिम्लिदिंदा आज थुप्रै विद्यार्थी ‘फूल’ र ‘फुल’ मा भेद छुट्याउन नसक्ने बनेका छन् ।
भाषाभित्रको यो भाँडभैलोले संसारभर छरिएका नेपाली जनमानसलाई आफ्नो कखरामाथिको ज्ञानमै संशय पैदा गराउँदै प्रश्न गर्न बाध्य तुल्याएको छ – हामीले लेखिरहेको
गलत हो भने सही के हो त ? भाषाकर्मी शरच्चन्द्र वस्तीको नयाँ पुस्तक नेपाली कसरी लेख्ने ? ले यसको सूत्रबद्ध जवाफ पस्कने जमर्को गरेको छ ।
नेपाली कसरी लेख्ने ? अवधारणाका साथ शुरु हुने पुस्तकले हिज्जे, शब्द, वाक्य, अनुच्छेद र शैलीमा विशेष जोड दिएको छ । त्यसपछिको परिशिष्टमा लेखक शब्दानुशासनमा वर्ण, शब्द, बनोट, रुपविस्तार र वाक्य निर्माणका सतर्कताबारे विस्तार गर्छन् । अन्त्यमा हिज्जेको हेक्का शीर्षकमा प्रायः गलत लेखिने २९०७ शब्दका सही रुप दिइएका छन् । जस्तो, ‘अछुत’ नभई ‘अछूत’, ‘अतित’ नभई ‘अतीत’, ‘सकृय’ नभई ‘सक्रिय’, ‘स्वेत’ होइन ‘श्वेत’, ‘सन्यास’ होइन ‘संन्यास’, ‘सत्मार्ग’ होइन ‘सन्मार्ग’ आदि ।
यो पुस्तकको विशेषता भनेकै सरल हुनु हो । आफूले पहिल्यै जानिसकेका जस्ता लाग्ने कतिपय कुरा पुस्तक पढिरहँदा गलत पुष्टि हुदा नयाँ कुरा सिक्न पाएको अनुभूति हुन्छ । सर्वनाम प्रयोगको उदाहरण हेरौं – म संगीतकार होइनँ तर त्यसमा मेरो रुचि छ (रुचि केमा संगीतमा कि संगीतकारमा?) लेखकका यस्ता प्रश्नले वाक्यको सही शब्दको प्रयोग नभएको छर्लङ्ग पार्छ ।
पुस्तकमा नारायणगोपालले गाएका दुईवटा गीतका शब्दका गल्ती पनि औंल्याइएको छ । कालिप्रसाद रिजालरचित आँखाछोपी नरोऊ भनी बोलको गीतमा रहेको ‘परेलीका ओठबाट आँसु झारिरह्यो…’ भन्ने वाक्यमा लेखक ओठबाट आँसु झार्छ र ? भनी अशुद्धि देखाउँछन् । दिनेश अधिकारीको रचना ‘तिमी जुन रहरले’ गीतको ‘रक्ताम्य ती तिम्रा अधरहरुमा, न मैले कहिल्यै हरियाली पोतें’ हरफमा लेखक टिप्पणी गर्छन् – रक्ताम्यको अर्थ हो– रगतपच्छे/रगत लतपतिएको । प्रेमिकाका अधर (ओठ) कसको रगतले लतपतिएका ?
‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा कृत्रिमपन देख्ने लेखक बरु ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्नुमै नेपाली पारा र प्रभावकारिता देख्छन् । पुस्तकले सिद्धान्त रटानबाट भन्दा व्यावहारिक प्रयोगबाट जनमनबाट भाषाको वैधानिकता खोजेको बुझिन्छ, जसले नेपाली भाषाको सर्वस्वीकार्यतासँग सोझाे सम्बन्ध राख्छ ।
‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा कृत्रिमपन देख्ने लेखक बरु ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्नुमै नेपाली पारा र प्रभावकारिता देख्छन् ।
पुस्तकमा कतै कतै संयुक्त क्रियापद नजोडिएका मात्र होइन, अंग्रेजीका हिज्जेमै पनि फरक देखिन्छ । लिभ (बाँच्नु) र लीभ (विदा) मा ह्रस्व र दीर्घको तर्क र लामोको अंग्रेजी लेखाइ ‘लंग’ लेख्नुमा लेखकले दह्रो तर्क दिन सकेका छैनन् । ‘शब्दको स्वरुप ठीक भएपछि मात्र लेखाइ ठीक हुन सक्छ कि हुन्छ ? लेखक स्वयं अन्योल लाग्छन् । लेखकको अघिल्लो पुस्तक हाम्रो भाषा का कतिपय उदाहरण दोहोरिएका छन् ।
२०६९ सालको शब्दकोशको शैली विरुद्धको अभियानमा संलग्न लेखक स्वयंको सक्रियतामा नेपाली भाषा प्रयोगकर्ता समूहद्वारा गोजी पुस्तिका नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले–२०६९) जारी गरिएको थियो । यस्तै दबाबबीच एक वर्षअघि प्रज्ञा प्रतिष्ठानले शब्दकोशको विवादास्पद नवौं संस्करण खारेज गरी संशोधनसहित पुरानै स्वरुप अपनाएर दशौं संस्करण निकाल्ने निर्णय पनि गर्यो । तर, विद्यार्थीलाई पढाइने गलत हिज्जे सुधार्न अझै निर्देशन दिइएको छैन । यसले यो पुस्तकको सान्दर्भिकता बढाइदिएको छ ।
नेपाली कसरी लेख्ने? सिकाइसकेपछि वस्तीजस्ता भाषाविद्को दायित्व हुन्छ – ‘नेपाली कसरी बोल्ने ?’ ज्ञानको खाँचो पूर्ति गर्ने । यसो गर्नसके नेपाली लेख्दा, बोल्दा आधाआधी अंग्रेजी घुसाउनेहरुले फाइदा लिनसक्थे ।
(गिरी हिमाल खबर पत्रिकाका लेखक हुन्)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।