परिचय
लघुकथा आख्यान विधाको प्रभावकारी प्रविधा हो । यसलाई लघुतम आख्यान भन्नु उपयुक्त हुन्छ । लघुतमको अर्थ आकारगत लघुता मात्र होइन, घटनाहरूको अनगिन्ती हाँगाबिँगाले नजेलिएको पनि हो । कथ्य विषयको अगलबगल रिङ्दै लेखिनु र आफैंमा पूर्ण हुनु पनि लघुतमको घेरा हो । यसलाई सार कथा भनेर बुझ्नु हुँदैन । यो झिल्का हो, अग्रेठ होइन र अग्रेठबाट निकालिएको अगुल्टो वा कोइला पनि होइन यो । यो आफैंमा पूर्ण सानो टर्च लाइट हो तर सडकबत्ती होइन । टर्चलाई सडकबत्ती बनाउन सकिँदैन र सडकबत्तीलाई टर्च बनाउन पनि मिल्दैन । यो छोट्याइएको कथा होइन । भन्नुको मतलव लघुकथा आफैंमा पूर्ण सावयव सिङ्गो रचना हो ।

लघुकथाका अङ्गहरू

कथामा झैं लघुकथामा पनि कथानकको आदि, मध्य र अन्त्यको श्रृङ्खला रहन्छ । कथामा यो श्रृङ्खलाले विकसित हुने समय पाउँछ भने छोटो र छिटोमा सक्नुपर्ने भएकाले लघुकथाले धेरै समय पाउँदैन । अर्थात् लघुकथामा ती अङ्गहरूलाई छिटो व्यवस्थापन गर्नुपर्छ । थोरैमा आदि, मध्य र अन्त्य तीनवटै अङ्गलाई व्यवस्थापन गर्नुपर्ने भएकाले लघुकथालेखन चुनौतीपूर्ण छ । लघुकथाका अङ्गहरू र तिनका उपाङ्गहरूलाई आरेखमा यसरी देखाइन्छ—

१. आदि भाग:
आदि भाग अन्तर्गत विषयवस्तुको आरम्भ र विकासलाई समेटिन्छ । आरम्भ चिनारी हो, विषयको उठान हो । लघुकथामा यो प्रभावकारी बन्नुपर्छ । पाठकलाई ध्यानाकृष्ट गर्ने अङ्ग भएकाले लघुकथाका आरम्भिक वाक्यहरू कसिला र गहकिला हुनु अपरिहार्य हुन्छ । समस्याको रोपण, समस्याको विजाङ्कुरण, र द्वन्द्ववीजको सङ्केतन पनि यसै भागमा समायोजित हुन्छन् । समस्याको उठानमा लेखकले शैलीगत परिपाक देखाउनुपर्छ । शैलीगत परिपक्वता भएन भने समस्या जतिसुकै गहन उठाइएको भए पनि त्यसले पाठकलाई ध्यानाकृष्ट गर्न सक्दैन । लगभग ५०/६० शब्दको आसपासमै आदि भागलाई समायोजन गर्न सकिन्छ ।

२. मध्य भाग:

लक्ष्मण अर्याल

लघुकथाको आदि भागमा रोपिएको र विकसित समस्याले उत्कर्षता प्राप्त गर्ने अवस्था मध्य भागमै पाउँछ । यो द्वन्द्वको उठान र विकास अनि कौतुहलको उद्भव र उत्कर्षको चरण हो । यस भागमा समस्याका कारक तत्त्व बीच उत्पन्न द्वन्द्वले पाठकमा कुतूहल भरिदिन्छ । अब के होला को खुल्दुली नै कुतूहल हो । द्वन्द्व जति सघन भयो त्यति नै मात्रामा पाठकको मस्तिष्कमा खुल्दुली मच्चिन्छ । लघुकथाकारले यो भागमा पाठकको मनमा पसेर जति बढी खुल्दुली र हुँडलो मच्चाउन सक्छ त्यति नै मात्रामा लघुकथा सफल बन्छ । यो लघुकथाको उत्कर्षको अवस्था हो । आदि भागमा झैं यो भागमा पनि कसिलो भाषाशैलीको अनिवार्यता रहन्छ । लगभग १५० देखि २०० शब्दको आसपासमा मध्य भागलाई समायोजन गर्न सकिन्छ ।

३. अन्त्य भाग:

यो लघुकथाको बिट हो । यसलाई कौतुहलको बिसौंनी पनि भन्न सकिन्छ । यो द्वन्द्वको बैठान हो । लघुकथाको सफलता र असफलताको मापन यसै भागबाट गर्न सकिन्छ । आदि र मध्य भागको सफलताले मात्र लघुकथाको मानक निर्धारण हुँदैन । अन्त्य भागमा आएका चोटिला वाक्यहरू जसले पाठकलाई धेरैबेरसम्म रन्थन्याउँछ यसले लघुकथालाई सफलता उन्मुख बनाउँछ । २०/३० शब्दको आसपासमा अन्त्य भागलाई व्यवस्थित गर्न सकिन्छ । लघुकथाको अन्त्य भाग पाठकले कल्पना गरेभन्दा भिन्न भएमा लघुकथाको सफलता चुलिन्छ । यसै सन्दर्भमा लघुकथा सिद्धान्तका विश्लेषक गोपाल अश्क भन्छन् –

यसको (लघुकथाको) अन्त्य अप्रत्याशित र नाटकीय हुन्छ । लघुकथाको अन्त्य पूर्वानुमानितभन्दा अझ अर्थपूर्ण भएमा यसको प्रभाव चुलिने गर्छ । (अश्क, २६५, पृ. २८)

माथिका अङ्गहरूको विन्यास अवस्थालाई सरुभक्त लिखित ‘प्रेम’ लघुकथामा हेरौं —

अङ्ग अवस्था घटना विवरण
आदि आरम्भ (समस्याको रोपण)  हरिशरणले कमलालाई प्रेम गर्नु

 प्रेम गरेको अर्को वर्ष भागी बिहे गर्नु

विकास (समस्याको विजाङ्कुरण र द्वन्द्ववीजको सङ्केतन )  बिहे गरेको वर्ष दिन नपुग्दै हरिशरण र कमलाका बीच खटपट हुनु

 कमला घर छाडेर बेपत्ता हुनु

मध्य  

द्वन्द्वको उठान

द्वन्द्वको विकास

कौतुहलको सिर्जना

उत्कर्ष

 हरिशरणले पुनः विमलालाई प्रेम गर्नु, प्रेम गरेको छ महिना नबित्दै उही भागी बिहे गर्नु, ३ महिनापछि लोग्नेस्वास्नी बीच खटपट पर्नु, विमलाले आफ्नै सलले पासो लगाएर आत्महत्या गर्नु

 हरिशरणले अमलालाई प्रेम गर्नु, ३ महिना नपुग्दै भागी बिहे गर्नु, महिना दिन पछि नै लोग्नेस्वास्नीका बीच खटपट पर्नु, अमलाले लोग्नेलाई गरालाले टाउकामा प्रहार गर्नु र माइत हिंड्नु

अन्त्य  

द्वन्द्वको बैठान

कौतुहलको अवतरण

पटाक्षेप (आकस्मिक अवतरण)

  टाउकामा चोट लागे पनि हरिशरण नमर्नु

 दुई हप्ता घरमा आराम गर्नु

 दुई हप्ता घरमा आराम गर्नु

 जङ्गलको सिंह आखेटयात्रामा निस्केझैं प्रेमयात्रामा निस्कनु

 आजभोलि उसको प्रेम उर्मिलासँग चल्नु

 

लघुकथामा अन्त्य व्यवस्थापन

लघुकथामा अन्त्य व्यवस्थापनको प्रभावकारिता अत्यावश्यकीय हुन्छ । पाठकका मानसिकतामा तीब्र झनझनाहट पैदा गर्न सक्नु अन्त्य व्यवस्थापनको प्रभावकारिता हो । अत्यावश्यकीय यसकारण कि अन्त्य व्यवस्थापन राम्रोसित हुन सकेन भने राम्रा लघुकथा पनि दुर्घटनामा पर्छन् । लघुकथाको अन्त्य भाग अरु विधाको जस्तो हुँदैन । यस भागमा वाक्यहरू क्रमशः दरा र सघन बन्नुपर्छ । लघुकथाले अन्त्य व्यवस्थापनमा विलम्ब होइन आकस्मिकता खोज्छ । आकस्मिक अन्तले पाठकलाई उसको कल्पना बाहिरको सीमामा पु¥याउँछ । यसबाट धेरैवेरसम्म प्रभाव उत्पन्न भई पाठक खल्बलिन्छ । पाठक खल्बलिनु लघुकथाको सफलता हो । लघुकथाको अन्त्य औपदेशिक नभई वैचारिक स्थापनालाई जोड दिने हुनुपर्छ । लघुकथाको अन्त्य सम्बन्धमा दयाराम श्रेष्ठ भन्छन् –

“ … नाटकीय अन्त्य लघुकथाको आकर्षण हो । यस लघुरचनाले अन्त्यमा पाठकलाई पनि आफूभित्रै समाहित गर्ने कुरालाई अत्याधिक महत्व दिएर अन्त्यमा आफ्नो मूल आशयलाई नेपथ्यमा राखिदिन्छ ।” (श्रेष्ठ, २०७२, मधुपर्क, पृ. ७)

लघुकथाको समापन कस्तो हुनुपर्छ भन्ने विषयमा समालोचक लक्ष्मणप्रसाद गौतमले लघुकथाको समापन संवृत र विवृत हुन सक्छ भनेका छन् । उनी मानक लघुकथाको निर्माणमा विवृत समापन बढी उपयुक्त हुने धारणा राख्छन् ।
“लघुकथाको समापनको शैली अर्थात् टेक्निकले विशेष महत्व राख्दछ । समापन भनेको लघुकथाको टुंग्याउनी हो र यो समापन वा टुंग्याउनी अन्य विधाका तुलनामा लघुकथामा फरक हुन्छ । ….. लघुकथाको समापन संवृत र विवृत गरी दुई किसिमको हुन्छ ।” (गौतम, २०७२, पृ. ११८)

लघुकथाको अन्त्यमा वीजवाक्य रहेको हुन्छ जसका माध्यमबाट पाठकले रचनाको रसास्वादन गर्ने गर्छन् भन्ने धारणा राख्ने अनुसन्धाता पुष्करराज भट्टको विचार यस्तो छ – “आधुनिक लघुकथाको अन्त्यमा निश्चित प्रभावपूर्ण विचार वा सन्देशको प्रवाह हुनुका साथै लघुकथाको अन्त्य प्रभावपूर्ण हुनुपर्छ ।” (भट्ट, २०७३, पृ. २०)

लघुकथामा अन्त्य व्यवस्थापन गर्दा खुला (Open) र बन्द (Close) गरी दुई किसिमबाट गर्न सकिन्छ ।

(क) बन्द अन्त्य (Close ending)

बन्द अन्त्यमा लघुकथाकारले आफैंले निर्णय दिने गर्छ । यसमा पाठकले आशयबारे घोत्लिनु र निर्णय लिनु पर्दैन । अर्थको फोकस लघुकथाकार स्वयंले निर्धारण गर्ने हुँदा पाठकको काम लघुकथा पढ्ने र चित्त बुझाउने या नबुझाउने मात्र हुन्छ । धेरैजसो सिद्धान्तकारहरू पाठकलाई अर्थबारे घोत्लिन दिनुपर्छ भन्छन् र यस किसिमको लघुकथामा चित्त बुझाउँदैनन् । लघुकथामा आवश्यक पर्ने वीज वाक्यपछि अन्य वाक्य थप्दा जोखिम भने हुन्छ । सिकारु लघुकथाकारले मात्र होइन स्थापित लघुकथाकारहरूले पनि यस्ता लघुकथा लेखेका छन् । लेखक निर्णयक बन्नुलाई नराम्रो नै त भन्न सकिँदैन तर लघुकथाकारले दिएको निर्णयमा पाठक पूर्णतः सहमत बन्न सकेन भने लघुकथा दुर्घटित बन्न सक्छ । पाठकलाई खुला रूपमा छाडिदिँदा उसले आफ्नो रुचि अनुसारको चरमोत्कर्ष भने प्राप्त गर्छ ।

यस विषयमा सिद्धान्तकार लक्ष्मणप्रसाद गौतमको धारणा भने यस्तो छ –

लघुकथाकारले अन्त्यमा रहस्यको पटाक्षेप नगरीकनै वा रहस्यको पटाक्षेप गरेर पनि तत्पश्चात् आफ्नो निर्णय दिएर लघुकथा टुङ्ग्याउँदा सवृत समापन हुन्छ । (गौतम, २०७३, पृ. ११२)

बन्द समापन लेखकले लेखिदिएको प्राप्ति हो । हुन त बन्द समापन पनि नराम्रो होइन । लेखक केमा जोड दिन्छ भन्ने कुरा बन्द समापनबाट प्राप्त हुन्छ । लेखकको उद्देश्य एकातिर र पाठकीय ग्रहण अर्कोतिर हुने स्थिति रोक्न कतिपय लेखकहरू अन्जानमा नै बन्द समापन गर्छन् । यो बन्द समापनको टेक्निक भनेको सूचीकारको सीपजस्तै हो ।

कपडाको डिजाइन गर्दा कति खोल्दा राम्रो र कति खोल्दा भद्दा हुन्छ भन्ने कुरा कुशल सूचीकारको सीप र अनुभवले तय गरेजस्तै एउटा कुशल लघुकथाकारले पनि समापनमा कति खोल्ने र कति छोप्ने भन्ने कुशलता देखाएमा लघुकथाको स्तरीयता घट्दैन बढ्छ ।

नमुना एक

“अपरेसन गर्न ढिला भइसक्यो । तपाईंको श्रीमान् कहाँ जानुभयो ?” — नर्सले बडो ब्यग्र भएर सोधिन् ।
“उहाँ एकैछिनमा आउँछु भनेर जानु भएको थियो । अपरेसन नगरी हुँदैन र सिस्टर ?” — बिरामीले चिन्तित हुँदै सोधिन् ।
“बच्चा चल्न छाडिसक्यो मुटुको चाल घट्दै छ । तुरुन्तै अपरेसन कोठामा लैजाँदै गर्नु भनेर डाक्टरले भन्नु भएको छ । अपरेसन गर्ने कागतमा तपाईंको श्रीमान्को सही नभई भएन ।” — नर्सले आत्तिएर यताउता हेर्न थालिन् ।

एकछिनपछि डाक्टर आइपुगे ।

“सिस्टर यो बिरामीको केस क्रिटिकल छ भन्ने तपाईंलाई थाहा छैन ? किन अपरेसन थिएटरमा नलगेको ?” — डाक्टरले अलि झर्किंदै भने ।

“अपरेसनको कागतमा सही नै भएको छैन सर ।”

“बिरामीको कोही आफन्त छैन ?” — डाक्टरले सोधे ।

“उहाँको श्रीमान् अघिसम्म यहीं थियो । बाहिर निस्केको आएको छैन ।”

“यस्तो अवस्थाको बिरामीलाई पनि छाडेर जाने कस्ता कस्ता लोग्ने हुन्छन् । बिरामी तलमाथि भयो भने यस्तैले अस्पतालमा तोडफोड गर्छन् ।”

एकछिनपछि डाक्टर फेरी आए । बिरामीलाई जहाँको त्यहीं देखेर उनले आत्तिंदै सोधे — “होइन यो बिरामीको मान्छे अझै आएको छैन । अब ढिलो भयो भने आमाको ज्यान पनि खतरामा पर्नसक्छ ।”

“बिरामीको साथी आएको रै’छ । उनलाई सही गराए हुन्छ सर ?”

“हुन्छ चाँडै गराइहाल्नुस् ।”

झण्डै एक घण्टापछि हस्याँङफस्याङ गर्दै बिरामीका पति आइपुगे । बिरामीलाई ओछयानमा नदेखेपछि उनले नर्ससँग सोधे — “होइन अपरेसन भइसक्यो कि क्या हो ? के भयो ?”

नर्सले दुःख मान्दै भनिन् — “कहाँ जानु भएको थियो तपाईं ? अपरेसन गर्न ढिला भयो । बच्चालाई जोगाउन सकिएन । मुस्किलले आमालाई जोगायौं ।”

दुई हातले कपाल समात्दै पति थुचुक्क भुइँमा बसे । “होइन के भयो यस्तो ¤ म त ज्योतिष कहाँ गएको थिएँ ।

ज्योतिषले १२ बजे पछि अपरेसन भयो भने लक्षण भएको भाग्यमानी छोरा जन्मन्छ भन्थ्यो । यसैले १२ बजेपछि अपरेसन गर्न भनेर ढिला गरें । के मेरो भाग्यमानी छोरा बाँच्दैन अब ?”

नर्सले सान्त्वना दिंदै भनिन् — “अब पछुताएर के काम । जे हुनु भइसक्यो । तर मर्ने बच्चा छोरा होइन छोरी थिई ।”
“ए हो र ।” पति लामो सास फेर्दै उठे ।

(अपरेसनको साइत, विनय कसजु: मोलुङ लघुकथा सङ्ग्रह, पृ. २०९–२१०)

माथि उद्धृत विनय कसजुद्वारा लिखित लघुकथा बन्द अन्त्य भएको लघुकथाको उदाहरण हो । यस लघुकथामा नर्सबाट पति पात्रलाई अन्तिममा सान्त्वनाका साथ भनिएको “तर मर्ने बच्चा छोरा होइन छोरी थिई ।” नै वीज वाक्य हो । वीज वाक्यपछि लघुकथाकारले एउटा वाक्य थपेका छन्— “ए हो र ! पति लामो सास फेर्दै उठे ।” यो वाक्य नहुँदा पनि लघुकथाको संरचना पूर्ण हुने थियो ।

अन्तिमको वाक्य नराखेर पढ्दा पाठकका मनमा निम्नलिखित प्रश्नहरू उब्जिन्छन् — छोरीको मृत्युको सूचनाबाट पति पात्रको मन खुसी भयो कि दुःखी ? अपरेसनपछि यदि छोरी बाँचेकी हुन्थी भने के उसको मनले पापकर्म चिताउँथ्यो होला त ? छोरी पाउने श्रीमतीप्रति पति पात्रको हेराइ कस्तो हुन्थ्यो होला ? तर अन्तिम वाक्यले गर्दा पाठकलाई यी र यस्ता प्रश्न गर्नुपर्ने झन्झट भएन । “ए हो र ! पति लामो सास फेर्दै उठे” अन्तिम वाक्यबाट पति पात्रमा छोरी मर्नुमा कुनै विषाद थिएन भन्ने अर्थ लक्षित भएको छ । अन्तिमको वाक्यबाट पहिलो प्रश्नको उत्तर आएको छ तर अरु प्रश्न निरुत्तरित नै छन् । यहाँ पाठकलाई खुला रूपमा छाडिदिएको भए उसले आफ्नो रुचि अनुसारको चरमोत्कर्ष भने प्राप्त गर्न सक्ने थियो ।

(ख) खुला अन्त्य (Open ending)

खुला अन्त्यमा लघुकथाकार आफैं निर्णायक बन्दैन । यसमा लघुकथालाई रहस्यमा पुर्याएर छाडिन्छ । अर्थका दायरा बारे सोच्ने काम पाठकको जिम्मामा हुन्छ यो लेखकले पाठकलाई दिएको गृहकार्य हो । अर्थात् यसमा पाठकले मनमाफिक धारणा बनाउने छुट पाउँछ । लघुकथा पठनपश्चात् पाठक लघुकथाको धारणाप्रति सोचमग्न हुन्छ । यो पाठकलाई स्पेस दिइएको अवस्था हो । यस्तो अन्त्यले बौद्धिक पाठकको अपेक्षा गर्दछ तर स्वयम् धारणा निर्माण गर्न नसक्नेका लागि यो भेउ नपाउनाले अर्थ न बर्थको रचना बन्न पुग्छ । तुलनात्मक रूपमा बन्द अन्त्यका लघुकथाभन्दा खुला अन्त्यका लघुकथाहरू बढी सफल बन्छन् र लघुकथा दुर्घटित बन्नु पर्दैन । पाठकीय ग्रहण क्षमताअनुसार लघुकथाको अर्थ बुझ्नका लागि खुला समापन उपयुक्त तरिका हो भनिन्छ । यही धारणालाई जोड दिँदै सिद्धान्तकार लक्ष्मणप्रसाद गौतम भन्छन् –

“लघुकथाकारले भाव वा विचार अर्थात् सारवस्तुलाई सुरुदेखि नै क्रमशः अर्थात् उत्तरोत्तर उत्कर्षतिर लगी अन्त्यमा रहस्यको पटाक्षेप गरेर कौतुहलताका साथ त्यसपछिको अर्थ लगाउने जिम्मा पाठकलाई नै छाडी लघुकथा टुङ्याउँदा विवृत समापन हुन्छ ।” (गौतम, २०७३, पृ. ११२)

नमुना दुई

साहुको काम आज गजार छ, जानै पर्छ । — उसले प्रत्युत्तर फर्कायो ।

ऋण न खाएको हो, बिक्री भएको त होइन नि, सञ्चो नभएपछि ।

वर्ष दिनको अन्न लाउने बेला छ, साहुको काम गर्नै पर्छ, फेरी यसपल्ट पनि साहुको सहराँ बस्ने ज्वाइँ यहाँ चुनावमा उठ्ने अरे ।

दुबै जोइपोइको यसबारेमा बहस नै भयो । दिनभर काम ग¥यो र साहुको घर पुग्यो । साहुसाहुनी घरझगडा गर्दै थिए ।
त्यत्रो प्रधान हुनुभो डल्लीलाई बिगार्दा पनि केही भनिन । कमाएको सबै पोस्नु भो । एउटा अलि राम्रो घरघडेरी

काठमाडौंमा जोडौं न भनें । जाबो चार आनामा एउटा घर टिक्रिक्क ।

अब ज्वाइँले जोर्छन् के, प्रधान त बनाऔं ।

केही खानेकुरा मागेर घर लैजाउँला भन्ने ठानेको थियो । साहुसाहुनीका झगडा देखेर ऊ लखतरान परेर घर आयो । ऊ जहान नजिकै बस्यो । उसकी जहानले टाउको छामी र भनी — मान्ने होइनौ तिमी, हेर हन्हन्ती जरो ।

यसपल्टको चुनावले अधिकार दिन्छ रे बुढी । — उसले जहानलाई गहकिलो कुरा सुनायो ।

यी दिन्छ ? खाउला, झन्डै सोतारी जहानले र फेरी भनी — होइन ए बुढा हाम्रा दिन त फर्किंदैनन् त ?

उसले आकाशतिर हेर्यो र भन्यो — दिन फर्काउँछौं भन्छन् भोट त हालिरहेकै छौं, फर्केला नि बुढी ।

बुढीले ओठ लेर्प्याई र भनी — तिम्रा बाउले साहुका बाउलाई हाले, तिम्ले साहुलाई भोट हाल्यौ, अब छोरोले साहुको ज्वाइँलाई भोट हाल्छ ।

उसले एकतमासले हेर्यो । केही भनेन । बरु जहानले नै थपी — ए बुढा, यसपल्ट तिमी उठन हौ पर्धानमा, पर्धान नहुन्जेल साहुका बा पनि हामीजस्तै गरीब थे रे नि हौ ।

(खेमराज पोखरेल, भोट/सिमानामा आमा, पृ. ५८–६०)

माथिको लघुकथा लघुकथाकार खेमराज पोखरेलद्वारा लिखित लघुकथा खुला अन्त्य भएको लघुकथाको उदाहरण हो । यस लघुकथाको वीज वाक्य — “ए बूढा, यसपल्ट तिमी उठन हौ पर्धानमा, पर्धान नहुन्जेल साहुका बा पनि हामीजस्तै गरिब थे रे नि हौ” हो । यस वाक्य लेखेपछि लघुकथाकारले कथामा केही थपोट गरेका छैनन् । यसमा पाठक आफूखुसी अर्थ लगाउनमा स्वतन्त्र छ । पाठकले यहाँ प्रधानले भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेका थिए भन्ने आशय निकाल्छ । यस्तै बूढी पात्रको सुखको आशा र भरोसा अब चुनावमा प्रधान उठेर आर्थिक अवस्था सुधार्ने बूढोप्रति मात्र छ भन्ने अनुमान लगाउन पनि पाठक स्वतन्त्र छ ।

निष्कर्ष

अन्त्य व्यवस्थापन सबै विधाका लागि महत्वपूर्ण पक्ष हो तर सबै विधामा भन्दा अन्त्य व्यवस्थापनको सम्वेदनशीलता लघुकथामा ज्यादा हुन्छ । विषयवस्तु प्रभावकारी हुँदाहुँदै पनि अन्त्य व्यवस्थापन अप्रभावकारी भयो भने त्यसले लघुकथालाई क्षति पुर्याउँछ । यो एउटा कुशल चित्रशिल्पीले चित्रकारितामा चित्रको अन्तिम आकृतिका लागि कुची चलाउनुजस्तै हो । लघुकथाकारले यसमा हतार र हत्पतभन्दा सूक्तिमयताका लागि कोसिस गर्नु राम्रो हो । माझिएको भाषा, तार्किक र ओजपूर्ण शैली लघुकथाको अन्त्य व्यवस्थापनका लागि अपरिहार्य उपकरण ठानिन्छन् । यसलाई पाठक आकर्षण कलाका रूपमा बुझिनु पर्छ ।

सन्दर्भ
अश्क, गोपाल (२०६५), लघुकथा प्रक्रिया र पाठ, ललितपुरः साझा प्रकाशन ।
अर्याल, लक्ष्मण (२०७३), विधागत कसीमा लघुकथा, शहीद स्मृति जर्नल (५/२) पृ. ७८—१००) ।
गौतम, लक्ष्मणप्रसाद (२०७२), लघुकथाको रचनाविधान, काठमाडौं: लघुकथा समाज ।
श्रेष्ठ, दयाराम (२०७२), लघुकथाको आयामिक सौष्ठव, मधुपर्क (४८/५५५), पृ. ६—७ ।