जो आफ्नो पहिलो किताब लेख्दै हुनुहुन्छ ….
मलाई सामाजिक सञ्जालमा दिनहुँजसो एक किसिमको मेसेजहरु आइरहन्छन्- पहिलो किताब “लेखेँ”, “लेख्दैछु”, “लेखिसकेँ” वा “छाप्ने” सोचमा छु, के गरौँ ?
मेरो जिमेलमा मात्रै पचासभन्दा बढी पुस्तकका पाण्डुलिपि आएर थुप्रेका छन् । मलाई आफ्नो पाण्डुलिपिको प्रतिक्रिया दिन लायक सम्झिनु (यद्यपि म त्यसको लायक छुइँन) लाई मैले यहाँहरुको मप्रतिको प्रेम र विश्वासका रुपमा लिएको छु । तर यहाँहरुको सबै पाण्डुलिपि पढ्ने मन हुँदाहुँदै पनि लेखनलाई नै पूर्णकालीन पेसा बनाएकाले मसित यहाँहरुको पाण्डुलिपि पढ्ने फुर्सद र समय हुँदैन ।
“तर पुस्तक प्रकाशन गर्नुछ । पाण्डुलिपि कसले हेरिदिने ? पुस्तक कसले छापिदिने ?” यो सोचमा धेरै अल्मलिनु भएको छ भने म यहाँहरुलाई यो बताउन चाहन्छु यहाँहरुले पढ्नुभएका धेरै पुस्तकमा अगाडि, पछाडि, कतै न कतै प्रकाशकको नाम, ठेगाना, इमेल वा फोन नम्बर लेखिएको हुन्छ । त्यही हो सम्पर्कसूत्र ।
जसरी लेखकलाई राम्रो प्रकाशक चाहिएको हुन्छ, उसैगरी प्रकाशकलाई पनि राम्रो लेखकको खोजी सधैँ हुन्छ । यहाँहरुले प्रकाशकको ठेगाना, इमेल वा फोनमा सिधैँ सम्पर्क गर्न सक्नुहुन्छ ।
आफ्नो लेखाइमा दम छ जस्तो लाग्छ भने नआत्तिनूस् । ढिलोचाँडोको कुरा मात्रै हो । पहिलो किताबमा

सुबिन भट्टराई
अलिकति संघर्ष, अलिकति रिजेक्सन, अलिकति तनाव हुन्छ नै । ती संघर्षका भोलि छुट्टै कथा बन्छन् । होइन, आफ्नो लेखाइको स्तरमै अल्मलिनु भएको छ भने, पाण्डुलिपि थन्क्याउनूस् । अझै प्रशस्त पढ्नूस्, पुनर्लखेन गर्नूस् र राम्रो तयारीका साथ आउनूस् ।
हिजो म आफैँ पनि यो क्षेत्रमा नयाँ थिएँ । आफ्नो पहिलो पुस्तक आफ्नै लगानीले छापेको थिएँ । पुस्तक बिक्री नभएर झोलामा बोकी बोकी हिँडे । सित्तैमा पनि बाँडेँ । समीक्षाका लागि अनेक ढोका, झ्याल, फाटक ढक्ढक्याएँ । कैयौँ नउठ्ने कलहरु गरेँ । जान हुने ठाउँ पनि गएँ, जान नहुने, गर्न नहुने कामहरु पनि गरेँ ।
तिनका पनि छुट्टै मजा होलान् ।
र, अबका नवलेखकहरुलाई पनि यही भन्छु, लेख्न मजा आउँछ भने लेख्नचाहिँ कहिल्यै नछाड्नूस् । कसैले पाण्डुलिपि पढिदेओस्, नपढिदेओस्, कसैले तपाईँको नमस्ते फर्काओस् नफर्कओस्, कसैले तपाईँको क्षमता चिनोस् कि नचिनोस्, आफ्नो लेखाइलाई चिन्नूस्, आफैँलाई चिन्नूस्, तपाईँ आफ्नो भविष्य आफैँ बनाउन सक्नुहुन्छ ।
मेरो सधैँ सधैँ शुभकामना ।
(सभर लभ, साया, मनसुन तथा प्रिय सुफी जस्ता लोकप्रिय आख्यानका लेखक सुबिनको सामाजिक सञ्जालबाट ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

