उठान :
व्यक्तिगत चिठीपत्रहरूमा देखिने भाषिक अशुद्धिहरू सीमित व्यक्तिमै केन्द्रित रहने भएकाले त्यस्ता अशुद्धिले समाजमा प्रभाव पार्न नसक्लान् तर जुन सार्वजनिक सरोकार राख्ने लिखित सामग्रीहरू हुन्छन् तिनमा प्रयोग गरिने शब्दहरूको शुद्धताका बारेमा गम्भीर विचार पुऱ्याउनुपर्छ । हामीहरू धेरै सार्वजनिक गोष्ठी तथा कार्यक्रमहरूमा त जाने गरेका छौँ तर त्यस्ता कार्यक्रममा लेखिएका ब्यानरहरूको भाषा शुद्ध छ कि छैन ? भन्ने बारेमा हाम्रो ध्यान आकृष्ट हुन सकेको छैन । त्यसैगरी हामीले कुनै सफलता प्राप्त गऱ्यौँ भने हामीले बधाइ थाप्ने गरेका छौँ र कसैको सफलतामा हामीले खुसियाली प्रकट गर्दै बधाइ पनि दिने गरेका छौँ तर हामीले थाप्ने र दिने बधाइ लामो हुन्छ कि छोटो वा धेरै समयसम्म टिक्छ कि टिक्न सक्तैन भन्ने विषयमा हामीले ध्यान दिन सकेका छैनौँ ।
छैठौँ लेख्ने कि छैटौँ ?
नेपालका धेरैजसो कार्यालयहरूले आफ्ना लिखित सामग्रीहरूमा ‘छैठौँ’ शब्दको बढ्ता प्रयोग गर्न रुचाउँछन् । संस्कृतको पञ्चम, सप्तम, अष्टम, नवम, दशम आदि शब्दबाट नेपालीमा क्रमशः सातौँ, आठौँ, नवौँ, दशौँ आदि शब्दको विकास भएको हो । त्यसैगरी संस्कृतको ‘षष्ठ’ वा ‘षष्ठक’ शब्दबाट प्राकृतमा ‘छट्ठओ’ हुँदै नेपालीमा आउँदा प्राकृत ‘छट्ठओ’ शब्दका ठकारको लोप, आदि अकारका स्थानमा ऐकारको आदेश, मध्य अकारको लोप र अन्तिम ओकारका स्थानमा औकार आदेश भई सातौँ, आठौँ आदि शब्दका सादृश्यमा चन्द्रविन्दुको आगम भएर ‘छैटौँ’ शब्दको विकास भएको हो ।
नेपाली बृहत् शब्दकोशले पनि ‘छैटौँ’ शब्दलाई नै प्रविष्टि दिएको छ र ‘छैठौँ’ शब्दलाई प्रविष्टि दिएको छैन । नेपालीमा किन र कसरी ‘छैटौँ’ लेख्नुपर्नेमा ‘छैठौँ’ लेख्न थालियो भन्ने कुरा विचार गर्दा संस्कृतलाई नै आधार बनाएर टकारका ठाउँमा ठकारको प्रयोग गरिएको होइन रहेछ । प्राकृतबाट हिन्दीमा भित्रिँदा ठकारको लोप नभएर टकारको लोप भएको रहेछ । त्यसैले हिन्दीमा छठ, छठा, छठीजस्ता शब्दको प्रयोग हुन गएको हो र नेपालीमा हिन्दीकै अनुकरण गरेर टकारका ठाउँमा ठकारको प्रयोग गरेर छैटौँ, छैटी आदि लेख्नुपर्नेमा छैठौँ, छैठी आदि लेख्न थालिएको हो । त्यसैले प्रमादवश हिन्दीमोहका कारण ‘छैठौँ’ शब्दको प्रयोग नगरी नेपालीको मौलिक प्रयोगअनुसार ‘छैटौँ’ शब्दको प्रयोग गर्ने दिशातर्फ नेपालका हरेक सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालयलगायत सम्पूर्ण सङ्घसंस्थाहरूको गम्भीर ध्यान जानुपर्ने आवश्यकता देखिन्छ ।
उदाहरणका लागि २०७७ असार ८ गते मुस्ताङ जिल्लाको जोमसोममा घरबझोङ गाउँपालिकाले आयोजना गरेको छैटौँ गाउँसभाको ब्यानरमा ‘छैटौं’ लेखिएको छ भने २०७७ असार १० गते विराटनगर महानगरपालिका र भरतपुर महानगरपालिकाले छुट्टाछुट्टै आयोजना गरेको ‘छैटौँ’ नगरसभाको ब्यानरमा ‘छैठौँ’ लेखिएको छ । मुस्ताङमा भन्दा विराटनगर र भरतपुरमा पढेलेखेका बौद्धिक व्यक्तिहरू बढ्ता भेटिन्छन् भने गाउँपालिकाभन्दा महानगरपालिकाबाट बढी शुद्ध भाषाको प्रयोग हुन्छ भन्ने विश्वास पनि नागरिकमा रहेको हुन्छ । मूलको पानी सफा भए पनि बग्दै जाँदा पानीमा प्रदूषणको मात्रासमेत थपिँदै जानु स्वाभाविक भएजस्तै हिमाली र पहाडी गाउँघरतिर छँदा हामीले जेजस्तो मौलिकपनको सुरक्षा गर्न सक्छौँ बसाइसराइ गरेर तराई झर्दा र विदेशतिर बसाइँ सर्दा त्यस्तो सुरक्षा कामय गर्न नसक्ता रहेछौँ भन्ने कुरामा पनि असत्यता छैन । त्यसैले हामीहरूले आफ्नो थातथलो छाडेर हिँडेपछि आफ्नो भाषा, आफ्नो संस्कृति र आफ्नो परम्परा पनि क्रमशः छाड्दै त गइरहेका छैनौँ भनेर गम्भीर विचार गर्नु आवश्यक देखिन्छ ।
बधाई दिऔँ कि बधाइ ?
‘बधाइ’ शब्दको मूल स्रोत संस्कृतको ‘वर्धनम्’ शब्द हो । ‘वृध्’ धातुदेखि भावमा ‘ल्युट्’ प्रत्यय भई धातुका उपधामा रहेका ऋकारको गुण र ल्युट् प्रत्ययका युका स्थानमा ‘अन’ भएर बनेको ‘वर्धन’ कृदन्त प्रातिपदिकदेखि ‘सु’ विभक्ति लाग्दा ‘वर्धनम्’ बन्दछ । शिक्षणम्, लेखनम् आदिबाट नेपालीमा सिकाइ, लेखाइ आदिको विकास भएजस्तै ‘वर्धनम्’ बाट ‘बधाइ’ शब्दको विकास भएको हो । नेपालीमा ‘आइ’ प्रत्यय ह्रस्व नै भएकाले पनि ‘बधाई’ शब्द अनुपयुक्त ठानिएको हो । यसलाई नेपालीमा प्रकृति प्रत्यय छुट्ट्याउँदा ‘बढ्+आइ = बधाइ’ गर्न सकिएला तर यसबारे हाम्रा नेपाली व्याकरण र शब्दकोशहरूसमेत मौन छन् । नेपाली बृहत् शब्दकोशले ‘बधाई’ लेखेको देखियो र नेपाली युनिकोड फन्टमा पनि तयारी ‘बधाई’ शब्द लेखेको पाइयो भनेर प्रायः सबैजसो नेपाली विद्वान् र सर्वसाधारण प्रयोक्ताले पनि अनुपयुक्त ‘बधाई’ लेख्दै आएको हुँदा यसलाई सच्याएर उपयुक्त ‘बधाइ’ शब्दको प्रयोग गर्नु आवश्यक छ ।
सबैलाई बजारको तयारी खाजाजस्तो तयारी शब्द भए पुग्छ तर त्यसको स्रोत खोज्न नेपाली विद्वान्हरूले फुर्सद नै निकालेको देखिँदैन । नेपाली बृहत् शब्दकोशमा रहेका सबै शब्दहरू शुद्ध छैनन्, ‘बधाई’ शब्दजस्तै केही अनुपयुक्त शब्दहरूको पनि प्रविष्टि भएको छ । त्यसमा पनि संस्कृत स्रोतबाट आएका शब्दहरूमा प्रारम्भदेखि नै त्रुटिको शृङ्खला बढ्दै गएको छ । उदाहरणका लागि ‘वधू’ शब्दलाई ‘बधू’ लेखिएको छ र भानुभक्तको ‘वधूशिक्षा’लाई ‘बधूशिक्षा’ भनेर भाषासम्पादन गर्ने नेपाली वैयाकरणहरूको कमी छैन । ‘श्रद्धाञ्जलि’ शब्दलाई ‘श्रद्धाञ्जली’ भनेर पनि प्रविष्टि दिइएको छ ।
बैठान :
जुनसुकै चलचित्रमा जसरी अलि अलि अङ्ग प्रदर्शन गर्दा त्यसमा दर्शकहरूले कुनै आपत्ति प्रकट गर्दैनन् र त्यसलाई स्वाभाविक रूपमा लिने गर्छन् तर जब निर्वस्त्र भएको दृश्य देखाउन थालिन्छ तब सचेत दर्शकहरूले आपत्ति प्रकट गर्छन् र त्यस्ता चलचित्रहरू हेर्नै छाडिदिन्छन् । त्यसैगरी गतिशील भाषामा सामान्य कमजोरी रहनुलाई मानवीय प्रवृत्ति ठान्न सकिए पनि निर्वस्त्र नै हुने गरी भाषाका कमजोरीहरू रहँदा भाषाविद्हरूले मात्र होइन सर्वसाधारण प्रयोक्ताहरूले पनि आपत्ति प्रकट गर्न र शुद्धीकरणका लागि आवाज उठाउनु अस्वाभाविक मान्न मिल्दैन । हामीले जसरी शरीरभरि लुगा लगाएर आफ्नो लाज छोप्ने प्रयास गरिरहन्छौँ त्यसैगरी भाषाको शब्दरूपी शरीरमा सुहाउँदा शुद्ध र पवित्र वस्त्रहरू लगाइदिएर नेपाली भाषाका शब्दहरूको लाज बचाउने प्रयत्नमा हामी सबै आआफ्ना क्षेत्रबाट सचेततापूर्वक लाग्नु आवश्यक छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।