‘द पोइट आइडल’ चङ्गा हो भने म धागो हुँ । छुटेका केही सम्झना बटुल्दै आफूलाई सम्हाल्दैछु । – छविना लुङ्गेली मगर
कविता र कविमाथिको पहिलो रियालिटी शो “द पोइट आइडल”को भोटिङ राउण्डबाट हरेक हप्ता एक जना कवि बाहिरिने क्रम जारी छ । भोटिङ राउण्डका लागि अन्तिम प्रतिस्पर्धीको रुपमा १४ जना कवि छानिएका थिए । भोटिङ राउण्डबाट बाहिरिने क्रममा गत माघ २६ गते प्रसारित आइडलको १३ औँ एपिसोडबाट सुनसरी निवासी कवि छविना लुङ्गेली मगर बाहिरिनु भएको छ । छविनाभन्दा अघि रोल्पाका कवि युग सर्वनाम र सुनसरीका कवि महेन्द्र राई बाहिरिसक्नु भएको छ ।
यो हप्ता फागुन ४ गते बिहीबार पनि स्याङ्जाका कवि अव्यग्र अस्मित आइडलबाट आउट हुनु भएको छ । उहाँसँगको कुराकानी अर्को हप्ता प्रकाशित हुने नै छ । आजलाई भने कवि छविना मगरसँग समग्रमा पोइट आइडलको यात्रा कस्तो रह्यो त ? भन्ने विषयमा गरिएको कुराकानी यहाँ राख्नेछु । आइडलको मञ्चमा अब ४ जना महिलासहित १० जना कविहरु बाँकी हुनुहुन्छ । पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार राती ८:३० बजे प्रसारण हुन्छ भने पछि OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ ।
कवि छविना मगर महेन्द्रनगरकी कवि पिङ्की बोहोरासँग रेड जोनमा पर्नु भएको थियो । उहाँहरुलाई कविता लेख्नका लागि एउटा साइकल आइडलको मञ्चमा ल्याइएको थियो । त्यही साइकलमाथि कविता लेख्नु पर्ने थियो । त्यस प्रतिस्पर्धामा कवि बोहोराले धेरै अङ्क प्राप्त गर्नु भयो र एक पटकका लागि आइडलको मञ्चमा आफ्नो स्थान सुरक्षित गर्नुभयो । दुई सय पूर्णाङ्कमा कवि बोहोराले १४४.५ र कवि छविनाले १२६.५ अङ्क प्राप्त गर्नुभएको थियो ।
कवि छविना पोइट आइडलको दोस्रो चरणको फिजिकल अडिसनबाट पहिले नै बाहिरिसक्नु भएको थियो । तर आइडलको उत्कृष्ट १४ मा छानिनु भएका कवि आयुषराज मण्डल आफ्नो परिक्षाका कारण आइडलको आगामी यात्रामा सहभागी हुन नसक्ने भएपछि उहाँको ठाउँमा कवि छविनालाई आइडल टिमले भित्र्याएको थियो । भाग्य भनेको सायद यही होला । एक पटक टुङ्गिसकेको यात्रा त्यसरी पुन: सुरु भएको थियो कवि छविनाको ।
कविता लेखनसँगै कवि छविना उद्घोषण र गायनमा पनि उत्तिकै रुची राख्नु हुन्छ । सुनसरी सामुदायिक एफएम १०४.६ मेगाहर्ज चक्रघट्टीमा २ वर्ष कार्यक्रम सञ्चालक र त्यस एफएमको पहिलो प्राविधिक भएर पनि उहाँले काम गरिसक्नु भएको छ । गायनमा विशेष रुची छ तर गीत गाउन आउँदैन भन्नुहुन्छ । तर एक दिन त्यस रहरलाई पनि पूरा गर्ने अठोट गर्नुहुन्छ उहाँ । उहाँको अर्को विशेष रुचीको विषय राजनीति पनि हो । त्यसकारण साहित्यिक र पत्रकारितासँग जोडिएका संघसंस्थाबाहेक अन्य विभिन्न राजनीति सङ्गठनमा पनि उहाँ आबद्ध हुनुहुन्छ । एक दर्जन बेसी संघसंस्थामा आबद्ध रहेर साहित्यिक र राजनीति रुपमा उहाँ सक्रिय जीवन बाँचिरहनु भएको छ ।
१४ वर्षकै उमेरबाट कविता लेखनको यात्रा सुरु गर्नुभएकी कवि छविनाको हालसम्म कुनै कृति प्रकाशित छैन । तर चांँडै नै कविता कृति बजारमा ल्याउने तयारीमा जुटिरहेको जानकारी गराउनु हुन्छ । कविता लेखनलाई साधनाको रुपमा हेर्ने कवि छविना आफूले देखेका दृश्य र भोगेका यथार्थ घटनाक्रमलाई शब्द तथा लयमा उतार्न पाएकोमा खुसी हुनुहुन्छ । कविताप्रतिको त्यही साधनाले यो ठाउँसम्म ल्याइपुर्याएको उहाँ उल्लेख गर्नुहुन्छ र यसलाई जीवनको एउटा ठुलो उपलब्धि मान्नुहुन्छ । जुन उहाँका लागि अति प्रिय पनि छ ।
कवि छविनाको जन्म भने भोजपुरको आमचोक गाउँपालिका- ८ स्थित गैरीगाउँमा २०५० साल साउन ०३ गते भएको थियो । आमा कर्णमाया मगर र बुबा अम्बर बहादुर मगरकी उहाँ एक्लो सन्तान हुनुहुन्छ । हाल भने उहाँ सुनसरीको बराहक्षेत्र नगरपालिका -७ स्थित बाङ्गेबजारमा आमाको साथमा बस्दै आउनु भएको छ । सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीबाट उहाँले व्यवस्थापन संकायमा स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।
कवि छविनासँगको कुराकानी प्रस्तुत गर्नुभन्दा पहिले आइडलको बारेमा थोरै केही भन्न मन लाग्यो ।
भोटिङ राउण्डबाट आउट हुने मामलामा अन्य रियालिटी शो भन्दा पोइट आइडलमा नियम अलिक फरक छ । हरेक हप्ता आफ्नो समूहमा सबैभन्दा थोरै भोट प्राप्त गर्ने दुई जना कविहरु रेड जोन अर्थात ‘बटम टु’मा पर्छन् । आइडलमा समूह A र समूह B गरी दुई समूहमा कविहरुलाई विभाजन गरिएको छ । बटम टुमा परेका दुई कविबिच पुन: प्रतिस्पर्धा गराइन्छ । त्यसका लागि तत्काल कुनै एउटा विषय निर्णायकहरुबाट दिइन्छ र ३० मिनेटभित्र कविता लेखिसक्नु पर्ने हुन्छ । जसलाई “आशु कवि राउण्ड” नाम दिइएको छ ।
आशु कवि राउण्डमा लेखिएको कवितामध्ये जसको कविताले निर्णायकहरुबाट बढी अङ्क पाउँछ उसको यात्रा आइडलमा निरन्तर रहन्छ । अर्को एक कविले बाहिरिनु पर्छ । फेरि यसमा निर्णायकहरुबाट धाँधली भयो कि ? भनेर शंका गर्ने ठाउँ पनि हुँदैन । किनभने चारै जना निर्णायक स्वयमलाई पनि थाहा हुँदैन कि कसले कुन कविको कवितालाई कति अङ्क दिएको छ भनेर । मतलब अन्तिम प्रतिस्पर्धामा रहेका दुई कविमध्ये कसलाई कति अङ्क दिने ? भनेर निर्णायकहरुले एक आपसमा सल्लाह गर्न पाउँदैनन् । जति दिने हो आफ्नो हिसाबले दिने हो । यति भएसी धाँधली गरे भनेर भन्न पाइयो त ? यसलाई भनिन्छ उपाय कौशलता ।
यति भएपछि “भोट कम्ती भएकै कारण मात्र म आउट भएँ” भन्ने गुनासो कविहरुले गर्न पाउँदैनन् । कम्ती भोट प्राप्त गर्ने दुई जनाले अन्तिम मौका पाउँछन् आफूलाई सुरक्षित गर्नका लागि । कविहरुले आफ्नो क्षमता देखाउने अन्तिम समय पनि त्यही हो ।
यही प्रक्रियाअनुसार अब ६ जना कविहरु आउट हुनेछन् । बाँकी रहेका ४ जनाबिच अन्तिम प्रतिस्पर्धा हुनेछ र तीमध्ये एक जनाले उपाधी हात पार्नेछ । यसरी आधा घण्टामा कविता लेख्नु आफैँमा ठुलो खुबी हो । त्यो ठाउँमा म भएको भए कविता नलेखी “पास” भनेर निस्किन्थेँ होला । धन्न पोइट आइडलमा रहनु भएका कविहरुले त्यो चुनौती सामना गरिरहनु भएको छ ।
०००
अब भने लागौँ कवि छविनासँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ :
अहिले कस्तो लागिरहेको छ ?
– कस्तो लाग्नु र ? त्यहाँको यादहरु बिस्तारै बिर्सिँदैछु । ‘द पोइट आइडल’ चङ्गा हो भने म धागो हुँ । छुटेका केही सम्झना बटुल्दै आफूलाई सम्हाल्दैछु ।
तपाईंभन्दा पहिले दुई जना कविहरु आइडलको भोटिङ राउण्डबाट आउट भइसक्नु भएको छ । उहाँहरु दुबै जना सामन्य रुपमै मञ्चबाट बिदा हुनुभएको थियो । तपाईं चाहिँ मञ्चमै रुनु भयो । त्यतिबेला के सम्झिनु भयो र त्यसरी रुन मन लाग्यो ?
– सायद हर कोहीको मन दुखिहाल्छ नि, मभन्दा अघि निस्कने होस् या पछि निस्कने होस् । म रुनु साहित्यप्रतिको माया थियो । जुन ठाउँले मेरो परिचय दियो, जुन धरातलले मलाई केही सिकाएको छ, जुन मञ्चको आँगनमा मेरो वेदना, हाँसो रोदन र भविष्यका सपनाहरू शब्दहरुमा साटेको छु, त्यो मञ्चलाई छोड्दै गर्दा कसको मन रुँदैन होला र ? त्यहाँदेखि बिदा हुँदै गर्दा सबै कुरा छुटेको अनुभव भइरहेको थियो । कति बाँकी रहेका कविताका शब्द, सिकाइ, साथीहरू अनि मेरो भरोसा, सपनाहरू सबै छुटिरहेको थियो । रुँदिन भन्दा भन्दै पनि आँसु झरेको पत्तै भएन । धेरै रोएछु । अहिले महसुस हुँदैछ ।
सबैभन्दा कम्ती भोट प्राप्त गर्ने दुई जनामा आफू पनि पर्नु, त्यसपछि दिइएको विषय बस्तुमाथि कविता लेखेर/प्रस्तुत गरेर निर्णायकहरुले दिएको अङकमा आधारमा आउट हुनु, यसलाई कसरी हेर्नुहुन्छ ?
– यो एउटा प्रक्रिया हो, हुनु नै पर्छ । यसलाई म ठुलो विषयको रुपमा लिँदिन । कुनै विषय दिइएको हुन्छ त्यो बखतमा लेखिएको कविता र वाचन शैली, कविताको नियमहरुले निर्णायकहरुको मन छुन सक्छ कि सक्दैन ? त्यो बखतको परिस्थिति र मनस्थितिमै भर पर्छ । त्यसैले म खुसी छु । स्वीकार्नु पनि पर्छ र यसलाई सहज रूपमा लिएको छु ।
भोटका आधारमा “रेड जोन” अर्थात बटम टुमा परेपछि आइडलको मञ्चमा एउटा पुरानो साइकल ल्याइयो र त्यसमाथि कविता लेख्नका लागि ३० मिनेटको समय दिइएको थियो । त्यसरी अरुले दिएको विषयमा आधा घण्टाभित्र कविता लेख्न कत्तिको गाह्रो हुँदो रहेछ ?
– त्यो कठिन परिस्थितिमा केही गाह्रो त अवश्य हुन्छ नै । कविता लेख्नु पर्ने चुनौती एकातिर थियो भने अर्कोतिर जो भए पनि एक जनाले त्यो मञ्च छोड्ने दिन, केही डर, केही नर्भस, त्यो बीचमा थुप्रै कुराहरू मनमा खेले । ती विचारहरुको बीचमा केही निर्णय गर्नु पर्ने हुन्थ्यो । मैले त्यही गरेँ । विषयमै आधारित रहँदै गर्दा सुरक्षित भइन्छ कि भइँदैन ? यो मेरो बसमा थिएन । त्यसैले दिइएको विषयलाई थोरै छुवाउँदै मेरो जीवनको यथार्थ घटनाक्रमलाई मज्जाले समेटेर कविता तयार पार्छु ताकी निस्कँदै गर्दा पनि खिन्न नहोस् भनेर लेखेँ । त्यसमा केही गुनासो छैन । मैले आधा घान्टामा लेखेको कवितामा म सन्तुष्ट छु । किनकी त्यो मेरो इतिहास हो । जहाँ मभित्रको भोगाइ लुकेको कविता तयार पार्न पाएँ । त्यो कविताले केही न केही सन्देश दिनेछ । त्यसैले गाह्रो भए पनि सहज रूपमा लिएँ भनुम् न ।
समूह A का ६ जना कविहरुमध्ये सुरुमै तपाईंलाई रेड जोनमा बोलाएर “तपाईं बटम टुमा पर्नु भयो” भनेर उद्घोषक दिव्यदेवले जानकारी गराउँदै गर्दा कस्तो महसुस गर्नुभएको थियो ?
– बटम टुमा मेरो नाम जब दिव्यदेव सरले उच्चारण गर्नुभयो तब मलाई झट्का लाग्यो नि । यति छिट्टै बटम टुमा पर्छु जस्तो लागेको थिएन । त्यो बखत मैले आफ्नै ठाउँ बराहक्षेत्रका बासिन्दालाई सम्झेँ । थुप्रै संस्थाहरुमा आबद्ध हुँदै गर्दा केही न केही योगदान दिएको थिएँ । केही पसिनाहरु बगाएको जस्तो लागेको थियो । तर त्यो बखत झुट झैँ साबित भयो । कसरी यस्तो हुन गयो ? भनेर अनेक कुराहरु मनमा खेल्यो । द पोइट आइडलको मञ्चमा म उभिए पनि मेरो मनले बराहक्षेत्रका बासिन्दालाई कति धेरै प्रश्नहरु मन-मनै गरिरहेको थियो । आफूले आफूलाई सम्हालेँ । यात्रा भिडमा भए पनि सङ्घर्षको समयमा एक्लै मैदानमा खडा हुनुपर्छ भन्ने पाठ सिकेँ । मनलाई दर्बिलो बनाएको छु । साहित्यको क्षेत्रमा अझै राम्रो गर्ने छु । विश्वास अरुलाई होइन आफूलाई गर्नेछु ।
महेन्द्रनगरकी कवि पिङ्की बोहोरासँग बटम टुमा परेपछि उहाँसँग अन्तिम प्रतिस्पर्धा गर्दै गर्दा पोइट आइडलमा आफ्नो यात्रा अघि बढ्छ अथवा यहीँ टुङ्गिन्छ, के लागेको थियो ?
– म यो कुरामा विश्वास गर्छु कि, म प्रतिस्पर्धा अरुसँग होइन आफूसँगै गर्छु, मेरो आत्माविश्वाससँग गर्छु । त्यसैले यो एउटा प्रक्रिया थियो र हुनु नै थियो । अघि बढ्न पनि सक्छ र यो यात्रा टुङ्गिन पनि सक्छ भन्दा-भन्दै निस्किने दिन नै पो आएको रहेछ । पिङ्की मेरो एकदमै मिल्ने साथी हो । त्यसैले ऊसँग प्रतिस्पर्धा गरे जस्तो लागेन । जो भए पनि खुसी हो । ऊ सुरक्षित भयो, म झन खुसी भएँ । उसले कविता राम्रो लेख्छ । मैले सबै कुरा समेटेर लेख्छु भनेर सोचेँ र लेखेँ पनि । त्यो आधा घण्टामा लेखेको कविताले म निक्कै सन्तुष्ट पनि छु । त्यो कविता काल्पनिक थिएन । मेरो जीवनको यथार्थ घटनाक्रम र भोगाइलाई द पोइट आइडलको मञ्चमा अन्तिम समयमा छोड्दै बिदा हुन पाएँ । यो नै मेरो जित र इतिहास हो ।
आइडलबाट बाहिरिएपछि साथीभाइ तथा शुभचिन्तकहरुबाट के कस्तो प्रतिक्रियाहरु पाइरहनु भएको छ ?
– म द पोइट आइडलदेखि बाहिरिँदै गर्दा शुभचिन्तकहरु दुई खालको पाएँ । दुबै मेरा प्रेरणाको स्रोत हुन् । त्यस्तो शुभचिन्तक चाहिँ आफूलाई मात्र थाहा हुन्छ । साँच्चि नै शुभचिन्तकहरुको प्रतिक्रिया, शुभेच्छा र म्यासेजहरुले म झन धेरै रोएँ । जति पटक हेरेँ, पढेँ त्यति पटक नै म रोएँ । एक हप्ताभन्दा बढी लाग्यो बानी हुन । आफूलाई सम्हालेँ यति धेरै माया पाएको छु भनेर ।
अनि त्यस्तै केही प्रतिक्रियाहरुले अझ बढी ऊर्जा दिएको छ, केही गर्नु पर्छ भनेर । यसरी नै चलिरहेको छ प्रतिक्रियासहितको जीवन ।
पोइट आइडलको अर्को सिजन आयो भने त्यसमा फेरि भाग लिनुहुन्छ ?
– द पोइट आइडलको पहिलो सिजनबाटै यति धेरै माया पाएको छु, दर्शक श्रोता, शुभचिन्तकहरु र द पोइट आइडलको पुरै टिमबाट । जीवनभरि पुग्ने माया आशीर्वाद र यादहरु लिएर आएको छु । त्यसैले आइडलको दोस्रो सिजनमा गएँ भने त्यो माया नपाउन पनि त सक्छु नि, हैन र ? अर्को सिजन आउँदा समय र परिस्थिति कस्तो हुन्छ त्यतिखेरसम्म । कुन ठाँउ कहाँ पुगिने हो यसै भन्न सकिँदैन । त्यसैले भाग लिने सम्भावना कमै छ । अनुभव भयो अब यसैमा चित्त बुझाउने हो । अवसर अरुलाई पनि दिनु पर्छ अब, कि कसो हौ ?
आइडलमा हरेक हप्ता एउटा विषय दिइन्छ । त्यसैमा केन्द्रित रहेर कविता लेख्नु पर्ने हुन्छ । अनि बटम टुमा पर्नेहरुलाई पनि कुनै एउटा विषय दिइन्छ । त्यसमा कविता लेख्नुपर्छ । कविता लेखाउने पोइट आइडलको यो तरिका कस्तो लाग्यो ?
– विषय दिनुहुन्छ त्यो एकदमै राम्रो तरिका हो । किनभने हामीले आफ्नो विषयमा त सधैँ लेखिरहेकै हुन्छौँ नि । तर उहाँहरुले दिनु भएको विषय र नियममा रहेर लेख्न पाउँदा निकै खुसी लागेको थियो । कविहरुको विशेषता नै यही असहज परिस्थिति र विषयलाई पनि सहज बनाउने हो नि त । अनि कविहरुको सिर्जनशिल र आत्माविश्वासमा पनि वृद्धि हुने भयो । त्यसैले पनि यो तरिका गज्जब लाग्यो मलाई चाहिँ ।
अब तपाईंको कविता लेखन यात्रा कसरी अघि बढ्ला ?
– अबको साहित्यिक यात्रा झन मज्जाले अगाडि बढ्छ नि । हिजोका दिनहरुभन्दा आज धेरै माया पाएको छु । धेरै कविहरुसँग चिनजान हुन पाएको छ । उहाँहरुसँग जोडिन पाएको छु । नजानेका कुराहरु सोधपुछ गर्छु । हिजोका दिनहरुमा जसरी अघि बढेको थिएँ त्यसरी नै निरन्तर कलम चलाइरहन्छु । कविताको माध्यमबाट अझै अरुको मन जित्ने कोसिस गर्नेछु अबको दिनमा ।
हिजोको कवि छविना र अहिले आइडलपछिको कवि छविनामा के कति परिवर्तन भएको महसुस गरिरहनु भएको छ ?
– हिजोको छविना र आजको छविनामा त्यति फरक त छैन । फरक यति हो कि हिजो आफ्नै ठाउँमा कविको रूपमा सीमित थिएँ । अहिले देश विदेश र अलिक धेरैले चिन्नु हुन्छ कि ? जस्तो लाग्छ । हिजोका दिनमा रहरले लेखिन्थ्यो भने अब साहित्यप्रति जिम्मेवारी अलिक बढेको छ । त्यति हो ।
केही समयसम्म आइडलको क्लोज क्याम्पमा बस्नुभयो । कस्तो थियो त्यहाँको माहोल ? साथै त्यहाँ हुने कविहरु आफैँमा एक अर्काका प्रतिस्पर्धी पनि हुन् । आपसी सम्बन्ध चाहिँ कस्तो रह्यो ?
– क्लोज क्याम्पमा बस्दा कस्तो हुन्छ होला ? भन्थेँ पहिले । त्यो अनुभव गर्न पाएँ । आजसम्म २ जनाको परिवारमा मात्र बसेको म, त्यहाँ आइडलमा १४ जनासँग बस्दा अनुभव अर्कै भयो । अन्य १३ जना कवि साथीहरूलाई प्रतिस्पर्धीको रूपमा मैले कहिल्यै हेरिनँ । किनकि सबै हामी दुई दिनको पाहुना हौँ आइडलमा । जति सक्दो मिलेर बस्ने कोसिस गरेँ । तर लामो समयसम्म घर छोड्ने मेरो बानी नभएकोले म धेरै रुन्थेँ । साथीहरूले सम्झाउँथे । कति समयसम्म त खाना पनि रुचेन । साथीहरूले पर्खेर भए पनि खुवाएरै छोड्थे । मलाई सबैले धेरै माया गर्नुहुन्थ्यो । सायद थोरै समय बस्नु रहेछ । त्यसैले यति धेरै माया पाएँ । आजभोलि बिर्सन निकै गाह्रो भएको छ । फेरि पनि सबै साथीहरू, द पोइट आइडलको सबै टिमलाई धेरै मायासहित मिठो सम्झना छ ।
चार जना निर्णायकहरु हुनुहुन्छ । उहाँहरूमध्ये कुनै निर्णायकको यो कुराले चाहिँ एकदमै प्रभावित भएँ भन्ने त्यस्तो केही छ ?
– मेरो लागि चारै जना निर्णायकहरु मैले घर छोडेपछिको दर्बिलो अभिभावक हो, द पोइट आइडलको मञ्चमा उभिँदै गर्दा । त्यसैले उहाँहरु चार जना नै मेरो लागि समान हुनुहुन्छ । उहाँहरु चार जनामा केही न केही विशेषता छ । त्यही विशेषतालाई मैले अपनाएको छु । उहाँहरुको सल्लाह सुझावलाई शिरोपर गरेर अगाडि बड्ने छु । उहाँहरु सबैबाट म प्रभावित छु र धेरै सम्झेको पनि छु ।
द पोइट आइडल हुँदैछ भनेर कहिले/कसरी थापा पाउनु भएको थियो र यो समाचार पहिलो पटक सुन्दा/पढ्दा कस्तो महसुस गर्नुभएको थियो ?
– द पोइट आइडल हुँदैछ भनेर सामाजिक सञ्जालबाट नै थाहा पाएको हो । त्यतिखेरदेखि नै म सहभागी हुन्छु भन्ने अठोट लिएँ र यो यात्रा यहाँसम्म तय भयो । कविहरुका लागि यो राम्रो अवसर पनि हो ।
पोइट आइडलमा भाग लिएर कहाँसम्म पुग्छु भन्ने सोच्नु भएको थियो सुरुमा चाहिँ ?
– सबैको सपना त पहिलो हुने नै हुन्छ चाहे त्यो कसैले व्यक्त गरोस् वा नगरोस् । तर सोचेजस्तो सजिलो हुँदैन । यो पनि एउटा यात्रा हो । सपना थियो कवि बनेर चिनिने । डिजिटल अडिसनमा छानिएला वा नछानिएला दोधारमा थिएँ । फोन आयो खुसी भएँ । फिजिकल अडिसन दिन पाएँ । सुरक्षित भएँ । तर उत्कृष्ट १४ जनामा म परिन । त्यसपछि मेरो यात्रा रोकियो । पछि फ़ेरि जोडिएको थिएँ आइडलको यात्रामा । यात्रा निकै रोचक नै थियो मेरा लागि । पाएको दोस्रो अवसरलाई उपयोग गर्न सकिन यसमा धेरै दुखी छु । द पोइट आइडलको यात्रा यसरी तय भएको थियो । मनले नचाहँदा नचाहँदै रुँदै बिदा भएँ । यति छिटो बिदा हुन्छु जस्तो लागेको थिएन । छोटो तर अविस्मरणीय यात्रा तय भयो । जीवनभरि यो यादगार रहनेछ मेरो साहित्यको यात्रामा ।
पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नुभयो कविता सम्बन्धि ?
– सिकाइको अन्त्य कहिल्यै हुँदैन र सिकाइ सानो पनि कहिल्यै हुँदैन । छोटो समयमा धेरै कुरा सिक्ने अवसर पाएँ । साहित्यको क्षेत्रमा अझै धेरै सिक्न बाँकी रहेछ । एक सयमा पाँच प्रतिशत पनि साहित्यका लागि मैले समय र मेहनत दिएको रहेनछु जस्तो लागेको थियो । शब्दहरु नाटक बन्दो रहेछ । जानी नजानी उभिने कोसिस गरेँ । धुनहरुलाई साथी बनाएर मञ्चमा दर्शकहरुको मन र आँखामा दर्पण बनेर खेल्न र बस्न सकेँ । यो नै मेरा लागि ठुलो उपलब्धि हो । द पोइट आइडलले दिएको उपहार र माया हो यो ।
पोइट आइडललाई सम्रगमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमहरुले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– द पोइट आइडललाई समग्र रूपमा हेर्ने हो भने एउटा ऐना हो कविहरुको लागि । युग हो, इतिहास हो, एउटा सुनौलो अवसर हो । जसले यो अवसरलाई स्वीकार गर्यो उसले जित्यो । त्यसैले त आज विश्वभरि छरिएर रहेका कवि, शुभचिन्तक, तपाईं र हाम्रो चिनजानको यात्रा तय भएको छ । द पोइट आइडलले विश्वभरि छरिएर रहेका नेपाली भाषी कवि तथा साहित्यिक मनहरुलाई एउटै मञ्चमा जोड्ने काम गरेको छ । यस्तो किसिमको कार्यक्रमले कविताको क्षेत्र र भोलि आउने पुस्ताका कविहरुलाई निक्कै सहज र राम्रो प्रभाव पार्नेछ । साथै सुनौलो अवसर पनि हो उहाँहरुका लागि । नयाँ कविहरु उत्पादन गर्ने एउटा राम्रो र सही ठाउँ पनि हो । यो अवसरलाई सबैले सदुपयोग गरौँ, यति भन्न चाहन्छु । मेरो सोचाइ सदैब सकारात्मक हुन्छ द पोइट आइडलप्रति । किनकी मैले नजिकदेखि नियालेको छु । मैले टेकेको धरातल हो । मैले चुमेको छु जहाँ मेरो आस्था लुकेको छ ।
जाँदजाँदै अन्त्यमा केही ?
अन्त्यमा युएई संयोजक डिजी शर्मा लगायत साहित्यपोस्ट परिवारप्रति कृतज्ञता प्रकट गर्दछु । मेरो मनभित्र दौडिरहेको विचारका तरङ्गहरुलाई लाखौँ जनमानससम्म मेरो शुभचिन्तक समक्ष पुर्याउनका लागि पुलको भूमिका खेलिदिनु भएकोमा आभारी छु । मलाई माया गरेर यहाँसम्मको यात्रामा साथ दिनुहुने देशविदेशमा रहनु हुने सबै शुभचिन्तकप्रति मिठो सम्झना, धेरै माया छ । साहित्यपोस्टको माध्यमबाट यही सन्देश छोड्न चाहेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।